काठमाडौँ – मानवअधिकारवादी नेता, शान्ति अभियन्ता, मातृभाषा अभियन्ता तथा साहित्यकार पद्मरत्न तुलाधरको आठौँ स्मृति दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
स्मृति दिवसका अवसरमा पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानले काठमाडौंको रत्नपार्कस्थित शङ्खधर साख्वा स्मृति पार्कमा आयोजना गरेको कार्यक्रममा तुलाधरको शालिकमा माल्यार्पण गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले मानवअधिकार, नेपाल भाषा, संस्कृति र शान्ति स्थापनाका क्षेत्रमा तुलाधरले पुर्याएको योगदानको चर्चा गर्दै उहाँले देखाएको बाटो पछ्याउनुपर्नेमा जोड दिएका थिए।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको क्षेत्रमा तुलाधरले पुर्याएको योगदानको सम्मान गर्नुपर्ने बताए। उनले तुलाधरले देखाएको बाटोमा अघि बढ्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरे।
त्यस्तै, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले राष्ट्रका लागि एकजुट भएर शान्ति प्रक्रियालाई अघि बढाउनुपर्ने तुलाधरको सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताइन्।
कार्यक्रममा वक्ताहरूले तुलाधरको योगदान र विचारलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा समेत जोड दिएका थिए ।














प्रतिक्रिया