नेता गिरिको निधनले शोकमा डुब्यो बस्तीपुर « Khabarhub

नेता गिरिको निधनले शोकमा डुब्यो बस्तीपुर


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- “आब ककरा बाबु कहबै, के कर साहारामे रहबै” (अब कसलाई बुबा भन्नु ? कसको सहारामा बाँच्नु ?) लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले रोई कराइ गरेपछि उपस्थित गाउँलेहरूले पनि आँसु थाम्न सकेनन् ।

समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबर सुने लगत्तै विक्षिप्त बनेकी जितनीदेवीको आँसु रोकिएको छैन । “आफूलाई छोरी जस्तै बाल्यकालबाटै पाल्नुभएका प्रदीप बाबु छोडेर गएपछि टुहुरी जस्तै भएकी छु”, जितनीदेवीले भनिन्, “अब कसलाई बुवा भनेर बोलाउने ? समस्या पर्दा कसलाई सुनाउने ? अब कोही रहेन, बेसारा जस्तै भएकी छु ।”

भारतको नयाँ दिल्लीमा उपचार गराउन जाने क्रममा उनले जितनी म उताबाट आएपछि तिम्रो सबै समस्या सुनिदिन्छु भनेर गएका सम्झँदै जितनीदेवीले भनिन्, “आश्वासन दिएर जानु भएको प्रदीप बाबु अब मेरो समस्या कहिले नसुन्ने गरी सदाका लागि जानुभयो । अब मेरो समस्या सुनिदिने कोही रहेन, आफू टुहुरी जस्तै भएकी छु”, जितनीले बिलौना गरिन्।

“कुनै बेला पेसाको समस्या पर्दा प्रदीप बाबुले कहिले मसँग छैन, दिन्न भन्नु भएन”, जितनीले भनिन्, “उहाँ कतैबाट आश्रममा आउँदा पहिला जितनी भन्नेर बोलाउनुहुन्थ्यो, मैले ल्याइदिएको पानी खानुहुन्थ्यो त्यसपछि मेरो समस्याबारे सोध्नु हुन्थ्यो ।” अब ती सबै कुराहरु सम्झनामा आइरहन्छ, उनको भनाइ छ ।

जहिले पनि पढ्नुपर्छ, दलितहरू पनि ठूलो मान्छे बन्नुपर्छ भन्ने प्रेरणा दिने व्यक्तिका रूपमा रहेका प्रदीप ठूलो बुवाको निधनले आफूले अभिभावक गुमाएको स्थानीय २० वर्षीय दीप परियार पनि शोकमा छन्।

“आश्रममा जहिले आउँदा मेरो पढाइका बारेमा सोध्नुहुन्थ्यो, अनि पढ्ने नयाँ नयाँ कुरा सिकाउनुहुन्थ्यो”, लहानस्थित जेएस मुरारका क्याम्पसको कक्षा १२ मा अध्ययनरत परियारले भने, “उहाँको प्रेरणाका कारण मेरो पढ्ने, वातावरण बन्यो मेरो पढाइमा उहाँको ठूलो योगदान छ ।” अब उहाँ जस्तो व्यक्तित्व पाउन मुस्किल रहेको उनको भनाइ थियो ।

“प्रदीप बाबु असाध्यै सरल, भावुक स्वभावका व्यक्ति हुनुहुन्थ्यो”, बस्तीपुर गाउँका ५० वर्षीय चेतबहादुर भुजेलले भने , “उहाँ गाउँको मात्र होइन, देशकै प्रतिष्ठा थियो, उहाँको निधनले हामी अभिभावकविहीन भएका छौँ, उहाँको निधनले हामी शोकाकुल भएका छौँ, हामी असल र स्वाभिमानी नेता गुमाएका छौँ”, उनको कथन छ ।

जितनी, दीप र चेतबहादुर मात्र होइन, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधन भएपछि यति बेला बस्ती गाउँ नै शोकमा डुबेको छ । गाउँलेहरू नेता गिरीको पुर्खौली घर अगाडि भेला भएर शोक मनाइरहेका छन् भने कतिपयले गिरीलाई सम्झेर आँसु बगाइरहेका छन् ।

“सरल स्वभावका प्रदीप बाबुसँग चुनावका बेला सँगै घुमेँ”, बस्तीपुरका ५६ वर्षीय महेन्द्र साहले भने, “उहाँले जहिले पनि गाउँको विकास र समाज सुधारका विषयमा कुरा गर्नुहुन्थ्यो, उहाँबाट समाजले थुप्रै सुधारको अनुभूति गरेको छ । उहाँसँग हिँड्दा कहिले पनि बिरानो जस्तो अनुभूति पाइनन्”, उनको भनाइ छ ।

यसैबीच नेता गिरीले कक्षा १ देखि १० सम्म अध्ययन गर्नुभएको बस्तीपुर माविमा पनि आज व्यक्त गरिएको छ । “उहाँ यस विद्यालयमा अध्ययन गर्नुका साथै विद्यालयको विकासका लागि योगदान गर्नुभएको छ”, विद्यालयका लेखापाल सिन्धुप्रसाद साहले भने, “उहाँ यस विद्यालयका पूर्वविद्यार्थीका साथै अभिभावक पनि हुनुहुन्थ्यो, त्यही भएर हामी उहाँको शोक मनाएका छौँ ।”

समाजवादी नेता गिरीले विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । उनी गत २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सिराहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । नेता गिरीको शोकमा सिराहाको लहान नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले असल अभिभावक गुमाएकाले शोकमा बिदा दिने निर्णय भएको नगरप्रमुख महेश चौधरीले बताए। आफूहरूले मत दिएर जिताएका आफ्ना नेता एवं अभिभावक गिरीको उपचार काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीयले शनिबार बिहानैदेखि गाउँमा भजन कीर्तन गरेका थिए । गए राति नै उनको निधन भएको खबर सुनेपछि उनको जन्मस्थल र जिल्लाका स्थानीय शोकमग्न भएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ३ : ५० बजे

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै

आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डिङमा

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु

ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि

कांग्रेसबाट स्वर्णिमले खोसेको तनहुँ-१ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनमा हुने निर्वाचन नजिकिँदै गर्दा झापा- ५, सर्लाही-