व्यवस्थाप्रतिको विद्रोहसँगै आत्मसम्मानको खोजी हो ‘प्रकाश’  | Khabarhub Khabarhub

व्यवस्थाप्रतिको विद्रोहसँगै आत्मसम्मानको खोजी हो ‘प्रकाश’ 


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदीप खड्का फिल्म ‘प्रकाश’ मा भिन्न छन् । दर्शकमाझ परिचित प्रदीप यस पटक आफ्नो क्यारेक्टर ‘प्रकाश’ मार्फत चिनिन चाहन्छन् । निम्न वर्गीय परिवारमा जन्मिएका ‘प्रकाश’ को सपना शिक्षक बन्ने छ । किनकि उनलाई शिक्षक बन्दा समाजले इज्जत गर्छ भन्ने देखेका छन् । पर्दामा देखिने प्रकाश र रिलभन्दा बाहिरका प्रदीप फरक छन् ।

उपत्यकाको ललितपुरमा हुर्किएका प्रदीपले जुम्लामा प्रकाशले बिताएको जीवन कल्पनासमेत गरेका थिएनन् । ‘म एसएलसी दिँदासम्म धरहरा पनि आएको थिइन् । ललितपुरमा हुँदा पनि म त्यही सेरोफेरोमा अल्झिएको थिए । त्यसैले हुन सक्छ मलाई उपत्यकाभन्दा बाहिरको जीवन क्यारेक्टरले नै जिउने अवसर दिएको छ,’ प्रदीपले भने । उनले यस पटक क्यारेक्टरलाई एडप्ट गर्न निकै मेहनत गरेका छन् । अफर भएका केही फिल्म छाडेका छन् । लकडाउनको समयलाई सदुपयोग गर्दै कलाकार बन्ने प्रयास गरेका छन् । यो सब उनलाई कथावस्तुले दिएको आकर्षण हो ।

‘मलाई फिल्मको आइडिया सुन्दा नै निकै मन परेको थियो । त्यसैले म त्यो क्यारेक्टरलाई गर्न चाहन्थेँ । तर, आफूलाई प्रकाश बनाउन मलाई सहज थिएन,’ उनले भने । निर्देशक दिनेश राउतसँग अन्य प्रोजेक्टका लागि भेटघाट बाक्लिँदै गर्दा उब्जिएको आइडिया हो ‘प्रकाश’ । प्रदीपले आफूलाई फरक रूपमा प्रस्तुत गर्न आँट गरे । उनको गतिविधि र फिल्म चेतना देखेर निर्देशक राउत शीर्ष भूमिका दिन तयार भए । तर अभिनय कक्षा लिने समयमा भने प्रदीपलाई डर पनि लाग्यो । आफ्नो स्टारडम पनि जाने अनि क्यारेक्टर पनि कमजोर देखिने हो कि ? भन्ने डर उनमा थियो ।

‘मैले गर्न सकिनँ भने कसैको लगानी डुब्छ । मेरो करियर पनि डुब्न सक्छ । किनकि यसअगाडि मैले चकलेटी लभरब्वाईको भूमिकामा आफूलाई प्रस्तुत गर्दै आइरहेको थिएँ,’ उनले भने । यद्यपि निर्देशक राउतलाई प्रदीपप्रति भरोसा थियो । त्यसैले उनले प्रदीपलाई स्टारडमको छायाँभन्दा बाहिर निकालेर प्रकाश बनाउने प्रण गरे ।

आखिर निर्देशक राउतले त्यस्तो के देखेका थिए त प्रदीपमा ? उनले जवाफ दिए, ‘फिल्मप्रतिको चेतना’ । प्रदीपले हेर्ने फिल्म, बुझेको फिल्म उनले गरिरहेको भन्दा फरक थियो । त्यही कुराले निर्देशक राउतलाई स्टारमा कलाकार देखायो । ‘उसले फिल्मलाई लिएर दिने अभिव्यक्ति र गरिरहेको फिल्ममा भिन्नता पाएकै कारण प्रकाश बनाउन तयार भएको हुँ । किनकि स्टार मात्र नभएर प्रदीपमा मैले राम्रो कलाकार पनि देखेँ,’ निर्देशक राउतले भने । प्रदीपले प्रकाश बन्न अभिनय सिके, अडिसन दिए, जुम्लाको भाषा सिके । एउटा स्टारले क्यारेक्टर एडप्ट गर्न गरेको यस्तो मेहनतले निर्देशकलाई विश्वस्त नबनाउने कुरै भएन । त्यसैले प्रदीपलाई ‘प्रकाश’ बनाउने तयारीमा टिम लाग्यो ।

फिल्ममा उनले जिउने मौका पाएको ‘प्रकाश’ निकै फरक छ । माओवादी द्वन्द्वमा आफ्नो पितालाई गुमाएपछि शिक्षित हुँदाहुँदै पनि शिक्षक बन्न संघर्ष गर्ने पात्र हो प्रकाश । सिस्टमविरुद्ध विद्रोहको प्रतीकको रूपमा देखाइएको प्रकाश जनआन्दोलनले दिएको उपलब्धिलाई महसुस गर्न सकेको छैन । सिस्टम फेरिने वा आमजनताका लागि सहज हुने आसमा रहेको सहिद परिवारमध्येको एक परिवारको जीवनलाई फिल्ममा देखाइएको छ ।

शिक्षक बन्दा सबैले इज्जत गर्ने भएपछि उनले शिक्षक बन्ने अठोट गर्छन् । आफ्नो अभिभावक सिस्टम फेर्नका निमित्त गुमाएका प्रकाशले सिस्टम, समाज र आफैँसँग लड्ने लडाइँ नै फिल्मको कथा सार हो । ‘हामीले चाहेको परिवर्तन आइसकेको छ त ? त्यसलाई आमजनताले महसुस गरेका छन् त ? यी यस्तै प्रश्न प्रकाशमार्फत देखाइएको छ,’ प्रदीपले भने ।

भौगोलिक हिसाबमा कर्णालीको जुम्लाको सेटअपमा कथा भनिए पनि सिस्टमविरुद्ध गर्ने संघर्ष सबैतिर उस्तै रहेको बुझाई उनको छ । ‘हामीले हिजो गरेको संघर्षले उपलब्धि नदिँदा फेरि अर्को संघर्ष हुन सक्छ । विद्रोहको बिम्ब पनि हो प्रकाश । किनकि उसले देशको नागरिकलाई संविधानले दिएको अधिकारलाई उपयोग गर्न पाएको छैन,’ प्रदीपले भने । जुम्लामा झन्डै दुई महिना बिताएका प्रदीपले त्यहाँको जीवनलाई महसुस गरेका छन् । छायांकनकै समयमा उनी स्थानीयको घरमा समेत बसे । सँगै खान खाए । यसले उनलाई घुलमिल हुन मद्दत गर्‍यो । ‘मैले स्थानीयसँग सामीप्ययता गाँस्दा क्यारेक्टरलाई जीवन्त बनाउन मदत गर्‍यो । म प्रकाशमा प्रदीप खड्काको बिम्ब न देखियो भन्ने चाहन्थे । प्रयास पनि त्यही थियो,’ उनले भने ।

त्यसो त छायांकन प्रारम्भ हुने समयमा उनलाई स्थानीय हेर्न पनि आएका थिए । ‘प्रेम गीतको हिरो आएको छ भन्दै हेर्न आउनु हुन्थ्यो । तर प्रेम त प्रकाश बनिसकेको थियो । मेरो छायांकन हरेक दिन हुने भएकाले म गेटअपमै हुन्थे । हेर्न आउनेले यो पनि हामी जस्तै रहेछ भन्नु हुन्थ्यो । त्यो नै मेरो पहिलो सफलता थियो प्रकाश बनेपछि,’ प्रदीपले भने ।

उनी आफ्नो स्टारडमको दममा नेपालको मौलिक कथा भन्न चाहन्छन् । त्यसैले प्रकाशमा अभिनय गरेका छन् । उनले फिल्ममार्फत दिन खोजेको सन्देश दर्शकसम्म पुर्‍याउन स्टारडमको आड लिएको बताए । ‘मेरो उपस्थितिले आउने दर्शकलाई हामीले देखाउने समाजसँग कनेक्ट गर्न सक्यौँ भने त्यो नै सफलता हो । मेरो अघिल्ला फिल्महरूमार्फत बनेका दर्शकले प्रचारप्रसार सामग्रीहरू हेरेर दिइरहेको प्रतिक्रिया हलबाट निस्किँदै गर्दा पनि पाउनेमा विश्वत छु । त्यो दर्शकलाई हलसम्म ल्याउन प्रयासरत छु,’ उनले भने ।

उनी कमर्सियल भ्यालु बोकेको फिल्ममा रमाउने दर्शकले केही मनोरञ्जनसँगै यथार्थ बोकेको फिल्म हेरेर निराश नहुने बताउँछन् । ‘हामीले आर्ट फिल्म रुचाउनेलाई थोरै मनोरञ्जनसँगै आर्ट र मसालेदार फिल्म रुचाउनेलाई पनि त्यही शैलीमा हलसम्म तान्नु जरुरी छ । हाम्रो जस्तो सानो फिल्म उद्योगमा दर्शक बाँडिनु हानिकारक छैन । मेरो प्रयास दुवै दर्शकलाई हलसम्म ल्याएर सन्तुष्ट बनाउनु नै हो,’ उनले भने ।

स्टारडमको छायाँबाट निस्किएर कलाकार बनिरहेका प्रदीपले यस किसिमको फिल्ममा लगानी गर्ने निर्माता महेन्द्र अधिकारीलाई धन्यवाद दिए । उनको चाहना हुँदाहुँदै पनि यस अगाडि यस किसिमको फिल्ममा जोडिन नपाएको उनले सुनाए । ‘मलाई यस किसिमको फिल्म गर्न मन हुँदा पनि लगानीकर्ताको इच्छा भने देखिनँ । त्यसैले गर्दा महेन्द्र दाइ जस्तो निर्माता आउनुपर्छ । जसले हामीलाई पनि आँट गर्न मद्दत गर्छ,’ प्रदीपले भने । उनी आउँदो समयमा ‘प्रकाश’ ले दिएको सिकाइलाई अन्य फिल्ममा प्रयोग गर्न तत्पर छन् । यसअगाडिका फिल्महरूमा गरेको अभिनयको तुलनामा उनमा परिपक्वता बढेको छ । ‘यसपछि मैले गर्ने फिल्ममा मेरो अनुभव पक्कै प्रयोग हुनेछन् । क्यारेक्टरमा बाँच्ने तरिकामा सुधार देख्नु हुनेछ भन्नेमा विश्वस्त हुनु भए हुन्छ,’ उनले भने ।

‘प्रकाश’ मा अभिनय गरेपछि आएको परिवर्तनले आउँदो फिल्ममा काम गर्ने उनको बुझाइ छ । उनी अब समीक्षक र दर्शक दुवैका लागि फिल्म गर्न चाहन्छन् । दर्शकलाई पनि उनी एक बनाउन चाहन्छन् । प्रकाशले मेकर्स र दर्शकमा दिलाउने विश्वास र प्रेमले हलसम्म ल्याउने दर्शकलाई हुने फिल्म गर्ने योजना प्रदीपको छ । किनकि उनी छिमेकी मुलुक भारतमा स्टारको रूपमा आफूलाई स्थापित गर्न खोज्दै छन् भने नेपालमा कलाकारको रूपमा । कुनै समय नेपालमा आफ्नो भविष्य नदेखेर अस्ट्रेलिया जाने तयारीमा रहेका प्रदीप यति बेला नेपालमा खोजिने कलाकारहरूमा अग्र पङ्क्तिमा पर्छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ४ : ०१ बजे

कांग्रेसको सय दिने अभियान स्थगित, दसैंमा चियापान पनि नगर्ने

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले पार्टीको सय दिने अभियान स्थगन

झ्याप्ले खोलाको पहिरोमा गुल्मीको दुई परिवारका ६ जनाले गुमाए ज्यान

काठमाडौं- शुक्रबार राति लेदोसहित झरेको पहिरोले पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेंसी

रास्वपा केन्द्रीय समिति बैठक जारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको

झ्याप्ले खोला पहिरोमा पुरिएका तीनवटा गाडी भेटिए, २९ यात्रुको शव निकालियो

धादिङ- पृथ्वी राजमार्गाअन्तर्गत नागढुंगा-नौबिसे सुरुङमार्ग नजिकै झ्याप्ले खोलामा पहिरोले यात्रुवाहक

कांग्रेसले बाढीपहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं– नेपाली कांग्रेसले बाढी पहिरो पीडितहरूका लागि ५० लाख रुपैयाँ