विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज भदौ ५, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट २१, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

भारतमा बाढी

भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु हुनाका साथै अन्य आठ जना बेपत्ता भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ । अविरल वर्षाले राज्यको मण्डी र चम्बा जिल्ला सबैभन्दा बढी प्रभावित भएको बताइएको छ ।

मण्डी जिल्लाका एक बासिन्दाले सिन्ह्वालाई फोनमा भनेका छन् ‘यी ठाउँहरूमा सामान्य जनजीवन अस्तव्यस्त भएको छ।’

रिपोर्टका अनुसार मण्डी जिल्लाको एउटा गाउँमा पहिरोमा परी घर भत्किँदा एकै परिवारका आठ जनाको मृत्यु भएको छ । उनीहरुको शव फेला परिरसकेको छ ।

सोही जिल्लामा छुट्टै बाढीमा दुई जनाको मृत्यु भएको छ भने पाँच घर डुबानमा परेका छन् । यसबाहेक चम्बा जिल्लामा पहिरोले घर भत्किँदा एक महिलासहित तीन जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण घर भत्किने यस्ता थुप्रै घटनाहरू अन्यत्र पनि रिपोर्ट गरिएको छ जसमा कम्तीमा दुई जनाको मृत्यु भएको बताइएको छ। सो क्षेत्रहरूमा स्थानीयहरूलाई सचेत रहन आग्रह गरिएको छ ।

सोमालियाको होटेलमा जारी हिंसा ३० घण्टापछि समाप्त

अल शबाब आतङ्ककारीहरूले अफ्रिकी मुलुक सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा गरेको आक्रमणपछि जारी हिंसा अन्ततः समाप्त भएको छ ।

सरकारी सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार अल शबाब आतङ्ककारीले गराएको आक्रमणको झण्डै ३० घण्टापछि हिंसा अन्त्य भएको हो ।

अल शबाब आतङ्ककारीहरूले गरेको आक्रमणमा ४० जनाको मृत्यु हुनुका साथै ७० भन्दा बढी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा अधिकारी र आक्रमणकारीहरूबीच झण्डै ३० घण्टासम्म गोली हानाहान भएको थियो ।

अल कायदा आतङ्ककारी समूहसँग आबद्ध अल शबाबले सोमालियाको सरकारविरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेको छ । अल शबाबले अझै पनि देशको दक्षिणी र मध्य भागमा ठूलो भूभागमा नियन्त्रण गरिरहेको छ ।

यता, भारतले मोगादिसुको हयात होटलमा भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । यसले पीडित परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरेको छ । भारत सोमालियाको सरकार र जनताको आतङ्कवादविरुद्धको लडाईमा साथ रहने आश्वासन दिएको छ ।

संदिग्ध कार बम आक्रमणमा प्रभावशाली रुसी राजनीतिक सिद्धान्तकारकी छोरीको मृत्यु

प्रभावशाली रुसी राजनीतिक सिद्धान्तकार अलेक्जाण्डर डुगिनकी छोरीको संदिग्ध कार बम आक्रमणमा मृत्यु भएको छ ।

डुगिनकी छोरी डार्या डुगिनाको संदिग्ध कार बम आक्रमणमा शनिबार मृत्यु भएको रुसी अधिकारीले आइतबार जानकारी दिएका छन् ।

मस्को क्षेत्रका अनुसन्धानकर्ताहरुले उनी चढेको टोयोटा ल्याण्ड क्रुजरमा राखिएका विस्फोटक पदार्थ विस्फोट भएका कारण उनको मृत्यु भएको जानकारी दिएका छन् ।

रुसको तास समाचार संस्थाले डुगिनाका साथी आन्दे्रइ क्रास्नोभलाई उद्धृत गर्दै जनाएअनुसार उक्त कार उनका बुवाको रहेको थियो ।यसकारण आक्रमणको प्रमुख निशानामा अलेक्जाण्डर डुगिन नै रहेको हुनसक्ने अनुमान गरिएको छ ।

टेलिभिजनमा प्रसारण गरिएका तस्वीर एवम् भिडियोहरुमा घटनास्थलबाट अनुसन्धानकर्ताहरुले कारको भग्नावशेष र अवयवहरु संकलन गरिरहेको देखाइएको छ ।

अनुसन्धानकर्ताहरुले घटनालाई हत्या अपराधको रुपमा अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् ।

अलेक्जाण्डर डुगिन रुसमा निकै प्रभावशाली राजनीतिक सिद्धान्तकार मानिन्छन् । उग्र रुसी राष्ट्रवादी छवि भएका उनले बारम्बार रुसले युक्रेनलाई आफ्नो मुलुकमा विलय गराउनुपर्ने धारणा राख्दै आएका छन् ।

अमेरिकी प्रतिबन्धको सूचीमा समेत रहेका डुगिनको राजनीतिक सिद्धान्तलाई त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनले समेत शिरोपर गर्ने गरेको बताइन्छ ।

विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६० करोड पुग्यो

विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाखभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ६० करोड २ लाख नाघेको हो । यस्तै २४ घण्टामा एक हजार एक सय कोरोना सङ्क्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६४ लाख ७० हजारभन्दा धेरै पुगेको छ ।

५७ करोड ४२ लाख जनाले भने कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ७ लाख ३२ हजार सङ्क्रमित निको भएका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ९ करोड ५३ लाखमा कोरोना पुष्टि हुँदा ९ करोड ६ लाख निको भएका छन् । १० लाख ६५ हजारको भने मृत्यु भएको छ। नेपालमा कोरोनाको चौंथो लहर चलिरहेको छ । संक्रमण दर बढ्दै गए पनि परीक्षण गर्नेको संख्या भने घटेको देखिन्छ ।

टर्कीमा सवारी दुर्घटना

दक्षिणपूर्वी टर्कीमा भएको दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । पहिलो दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट गुलले बताए ।

दुर्घटनामा अन्य २० जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको छ । त्यस्तै, मार्डिनको डेरिक जिल्लामा भएको अर्को दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

क्युबामा पनि मङ्कीपक्सका बिरामी फेला

क्युबामा पनि मङ्कीपक्सका बिरामी फेला परेका छन् ।

देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको शनिबार अबेर यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नाम सार्वजनिक नगरिएका ती पुरूष पर्यटक गत साउन ३० गते क्युबा आइपुगेका थिए । गम्भीररूपमा बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको उक्त मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ । बिरामी पर्यटक भाडाको घरमा बसेका थिए र उनले पश्चिमी क्युबाली प्रान्तका धेरै ठाउँको भ्रमण गरेका थिए ।

चीनको सम्भावित आक्रमणको जवाफ दिन जापानले लामो दूरीको क्रुज क्षेप्यास्त्र तैनाथ गर्ने

चीनको सम्भावित आक्रमणको जवाफका लागि जापानले लामो दुरीको क्रुज क्षेप्यास्त्र तैनाथ गर्नेबारे तयारी गरिरहेको खुलासा भएको छ ।

जापानको योमिउरी अखबारले आइतबार जनाएअनुसार जापानले १ हजार लामो दुरीसम्म मार हान्न सक्ने क्रुज क्षेप्यास्त्र तैनाथ गर्न लागेको हो ।

सरकारी स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले दिएका जानकारीअनुसार जापानले हाल प्रयोग गर्दै आएका क्षेप्यास्त्रलाई नै सुधार गरी लामो दुरीको क्रुज क्षेप्यास्त्रमा परिणत गरिनेछ । यसअनुसार १ सय किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्रलाई १ हजार किलोमिटरसम्म मार हान्न सक्ने गरी सुधार गरिने समाचारमा जनाइएको छ ।

युद्धपोत एवम् लडाकु विमानमार्फत् प्रहार गर्न सकिने ती क्षेप्यास्त्र जापानको दक्षिणी सानसेई टापुमा तैनाथ गरिनेछ । त्यहाँ तैनाथ गरिएका क्षेप्यास्त्रले उत्तर कोरिया र चीनको तटीय क्षेत्रसम्म मार हान्न सक्ने जनाइएको छ ।

यसबारे जापानको विदेश मन्त्रालयले कुनै टिप्पणी नगरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

दोस्रो विश्वयुद्धयता शान्तिपूर्ण संविधान अङ्गिकार गरेको जापानमा आफ्नो प्रतिरक्षाका लागि मात्र सैन्य शक्तिको प्रयोग गर्ने व्यवस्था छ ।

यद्यपि पछिल्ला केही वर्षयता जापानले आफ्नो रक्षा शक्तिलाई तीव्र गतिमा वृद्धि गरिरहेको बताइन्छ ।

पछिल्लो समय अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेसँगै पूर्वी एसियामा तनाव बढिरहेको अवस्थामा जापानले लामाु दुरीको क्षेप्यास्त्र तैनाथ गर्न लागेको हो ।

चीनले स्वशासित शासन व्यवस्था रहेको ताइवानमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

अल्बानियामा जासुसीको आरोपमा दुई रुसी र एक युक्रेनी पक्राउ

दक्षिणी अल्बानियास्थित एक सैन्य केन्द्रमा जासुसी गरेको आरोपमा दुई जना रूसी र एक युक्रेनीलाई पक्राउ गरिएको छ ।

अल्बेनियाली रक्षा मन्त्रालयका अनुसार २४ वर्षीय एमजेड भनेर चिनिने रूसी नागरिकलाई राजधानी तिरानाबाट ८० किलोमिटर दक्षिणमा रहेको ग्रामसस्थित सैन्य केन्द्रको मैदानमा प्रवेश गरी फोटो खिच्ने क्रममा पक्राउ गरिएको हो ।

गिरफ्तारीको प्रतिरोधका क्रममा उनले दुई जना सैनिक सुरक्षाकर्मीलाई घाइते बनाएको जनाइएको छ । घाइतेको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

एसटी नाम गरेकी ३३ वर्षकी रूसी महिला र एफए भनिने २५ वर्षीय युक्रेनी नागरिकलाई उनीहरू सवार गाडीसहित केन्द्रबाहिरबाट पक्राउ गरिएको हो ।

सैनिक प्रहरी, सेनाको गुप्तचर प्रहरी र नागरिक तथा आतङ्क प्रतिरोध प्रहरीले उनीहरूविरूद्धको मुद्दामा समन्वय गरिरहेको तथा सम्बन्धित निकायसँगको समन्वयमा अनुसन्धान गरिने रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

सन् १९६२ मा स्थापना भएको ग्रामस मिलिटरी प्लान्टले एके–४७ राइफल उत्पादन गथ्र्यो तर सन् १९९० मा साम्यवादको पतनपछि यसले राइफल उत्पादनको सट्टा पुराना हतियारहरू मर्मत गर्दै आएको छ ।

सन् २००९ मा उत्तर एटलाण्टिक सन्धी सङ्गठन (नेटो) को सदस्याता लिएको अल्बानियाले युक्रेनमाथि रूसले गरेको हमालाको विरोध गर्दै आएको छ भने युरोपेली सङ्घ र अमेरिकाले मस्कोमाथि लगाएको प्रतिबन्धको समर्थन गरेको छ ।

साथीका बुवासँग विवाह अस्वीकार गरेपछि पाकिस्तानमा युवतीलाई यातना

पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नी साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको प्राप्त विवरणमा जनाइएको छ ।

विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख पाकिस्तानी रुपैयाँ माग गरेको बताइएको छ । मागेको रकम नदिएको युवतीको भिडियो भिडियो सामाजिक सञ्जालमा राखिदिने चेतावनी दिइएको जनाइएको छ ।

लाहोरबाट १५० किलोमिटर टाढा रहेको फैसलाबादमा उक्त घटना भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । युवतीलाई दुव्र्यवहार गरेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो जसमा युवतीलाई संदिग्धले कुटपिट गरेको, उनको टाउको र आँखीभौ खौरिएको र पीडितलाई जुत्ता चाट्न लगाइएको थियो ।

प्रहरीले मुख्य संदिग्ध शेख दानिश, उनकी छोरी र अन्य पाँच जनालाई पक्राउ गरेको जनाएको छ । ‘पुलिसले दानिश र उनकी छोरीसहित सात संदिग्धलाई पक्राउ गरेको छ र बाँकी संदिग्धलाई पक्राउ गर्न छापा मारिरहेको छ’, पञ्जाब प्रहरीका प्रवक्ताले भने ।

पीडित युवती आफ्नी वृद्ध आमासँग बस्दै आएकी थिइन् । उनका दुई भाइ बेलायत र अष्ट्रेलियामा छन् ।

जापानी प्रधानमन्त्रीलाई कोरोना भाइरसको सङ्क्रमण

जापानका प्रधानमन्त्री फुमियो किशिदा कोरोना सङ्क्रमित भएका छन् । प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार उनीमा सङ्क्रमणसँगै हल्का लक्षणहरू पनि देखिएको छ ।

उनी अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहेका छन् । उनलाई शनिबार राति हल्का ज्वरो र खोकी जस्ता लक्षणहरू देखिएको थियो ।

जापानको स्थानीय सञ्चारमाध्यम क्योडोले जनाएअनुसार ६५ वर्षीय प्रधानमन्त्रीले आफ्नो परिवारसँग करिब साता लामो गर्मी बिदा मनाएर सोमबारदेखि नियमित काममा फर्किने कार्यक्रम तय गरिएको थियो ।

तर शनिबारदेखि सङ्क्रमणको लक्षण देखिन थालेपछि उनी अहिले आराम गरिरहेका छन् । जापनामा पछिल्ला दिनहरूमा कोरोना सङ्क्रमण तीव्र हुँदै गएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ७ : ५९ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का