दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. गठबन्धन बैठक : नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक
सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा संघीय संसद्ले पास गरेर पठाएको १५ दिनसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा छलफल भएको थियो । बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष  निकालेको हो ।

२. राष्ट्रपतिको पुत्ला दहन 
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । जनमत पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्दै सिराहामा राष्ट्रपति भण्डारीको पुत्ला जलाएका हुन् । उनीहरूले एमालेसँगै कांग्रेसलगायतका प्रमुख दलहरू पनि नसच्चिए मधेस प्रदेश प्रवेशमा रोक लगाउने भन्दै नाराबाजी गरेका छन् ।

३. राष्ट्रपतिको समर्थनमा प्रदर्शन
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको छ ।त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले आज बिहान राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नभएको खुसीयालीमा प्रदर्शन गरेको हो । उनीहरूले गठबन्धन सरकार चाहिँदैन, नागरिकता बेच्न पाइँदैन भन्दै नागरिकता विधेयक प्रतिमा जलाएका थिए ।

४. नेपाल–भारत सहसचिव स्तरीय बैठक काठमाडौँमा सुरु 
नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक काठमाडौँमा सुरु भएको छ ।  आजबाट दुई देशबीचका सहसचिवहरूको दुई दिने बैठक सुरु भएको हो । बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिँचाइको पानी छोड्नेबारे, सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोसी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुने जनाइएको छ ।

५. हिउँदका लागि ३६५ मेगावाटसम्म विद्युत् किन्न टेन्डर आह्वान
आगामी हिउँद यामका लागि ३६५ मेगावाटसम्म विद्युत् किन्न विद्युत् प्राधिकरणले गरेको टेन्डर आह्वान गरेको छ । प्रतिस्पर्धामार्फत विद्युत् खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको हो । आगामी मंसिर १५ देखि  २०८० जेठ १६ सम्म भने भारतबाट विद्युत् आयात गर्न टेन्डर आह्वान भएको हो । भारतबाट विद्युत् बिक्री गर्ने एजेन्सीहरूले प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । हिउँदमा नेपालमा बिजुलीको मागअनुसार उत्पादन नहुने भएकाले प्राधिकरणले प्रतिस्पर्धाबाटै बिजुली किन्न टेन्डर आह्वान गरेको हो ।

६. डेँङ्गु बाट बागमती प्रदेशमा ११ जनाको मृत्यु
बागमती प्रदेशमा डेँङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक, सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए।

७. दुई जना मृत फेला
कैलालीका दुई छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । गोदावरी नगरपालिका–१२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका–१ मा दुई जना मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डीएसपी) वेदप्रकाश जोशीले गोदावरी १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएको जानकारी दिए। बडेला आज बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको बताउँदै जोशीले घटना शंकास्पद रहेको बताए। त्यस्तै, धनगढी उपमहानगरपालिका १ को कैलाली कारागार पछाडि कञ्चनपुरको कृष्ण नगरपालिका ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत भेटिएको प्रहरीले जनाएको छ ।

८. नुहाउने क्रममा डुबेर मृत्यु
उदयपुरमा गर्मी छल्न खोलामा नुहाउने क्रममा डुबेर एक महिलाको ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका– ३ कि २२ वर्षीय लक्ष्मी सदाको त्रियुगा खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

९. भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन
भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण दिल्लीको ’अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स’मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा आज विहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्   । व्यायामका क्रममा उनलाई हृदयाघात भएको थियो । सो पछि ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको अस्पतालमा उपचार भइरहेको थियो । सन् २००५ को कमेडी सो ’द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ को पहिलो सिजनबाटै उनले ख्याति कमाएका थिए।

१०. नेदरल्यान्ड्स प्रस्थान 
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, निवर्तमान अध्यक्ष मनोरञ्जन रमण शर्मा र पूर्व राष्ट्रिय महिला खेलाडी कोपिला उप्रेती नेदरल्यान्ड्स प्रस्थान गरेका छन् । नेदरल्यान्ड्समा सेप्टेम्बर २२ देखि २५ सम्म आयोजना हुने एफआईभीबीको ३८ औँ वर्ल्ड कांग्रेस  र एभीसीको २४ औँ साधारण सभामा सहभागिता जनाउन अध्यक्ष चन्द र निवर्तमान अध्यक्ष शर्मा नेदरल्यान्ड्स प्रस्थान गरेका हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १ : १३ बजे

सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज संकलन केन्द्र 

सिन्धुपाल्चोक– कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४

परराष्ट्रमन्त्री मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवको भेट

अमेरिका – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् ।

पून्यमानलाई भेट्रान चेस उपाधि

काठमाडौं – पूर्व राष्ट्रिय च्याम्पियन पुन्यमान कमाचार्यले प्रथम एफएम सुजेन्द्रप्रसाद

दुई वर्षमा बन्नुपर्ने पुल आठ वर्षमा निर्माण सम्पन्न

तुलसीपुर– दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल आठ वर्षमा निर्माण