ओमान र बहराइनका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र | Khabarhub Khabarhub

ओमान र बहराइनका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र



दोहा – ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र बहराइन अधिराज्यका लागि नेपाली राजदूत तीर्थराज वाग्लेले त्यहाँको सरकारलाई ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले ओमानका राजा सुल्तान हाइथम बिन तारिक समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । राजदरबारमा आगमनसँगै राजदूत अर्याललाई सलामी दिइनुको साथै नेपालको राष्ट्रिय गान बजाइएको थियो ।

ओहोदाको प्रमाणपत्र बुझाए पश्चात् सुल्तान हाइथम बिन तारिक र राजदूत अर्यालबीच भएको छोटो भेटवार्तामा राजदूत अर्यालले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट सुल्तानको व्यक्तिगत सुस्वास्थ्य तथा खुसीका साथै समग्र ओमानी जनताको शान्ति, प्रगति एवम् समृद्धिको शुभकामना सन्देश व्यक्त गरेका थिए ।

राजदूत अर्यालले नेपाल र ओमानबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धबारे उल्लेख गर्दै आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो र अझ प्रगाढ बनाउने तर्फ आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

सो अवसरमा उनले नेपालको रणनीतिक अवस्थितिको महत्त्वबारे चर्चा गर्दै त्यसले नेपालमा व्यापार, पर्यटन तथा लगानीका लागि प्रचुर सम्भावनालाई थप बढाएको बताएका थिए। साथै राजदूत अर्यालले नेपालको वर्तमान नीति तथा योजनाहरू पनि देशको सामाजिक-आर्थिक विकासलाई केन्द्रबिन्दुमा राखेर तय गरिएको बताएका थिए ।

सुल्तान हाइथम बिन तारिकले राजदूत अर्याललाई नेपालको राजदूतको रूपमा ओमानमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

उक्त अवसरमा ‌ओमानका परराष्ट्र मन्त्री, राजदरबार मामिला सम्बन्धी मन्त्री, राजदरबार सुरक्षा प्रमुख, राजदरबारका शिष्टाचार महापाल तथा राजदूतकी श्रीमती स्वदेश अर्याल र नेपाली दूतावास, मस्कटका कर्मचारीहरू उपस्थित रहेको थियो ।

यसैगरी, बहराइन लागि नेपाली राजदूत तीर्थराज वाग्लेले बुधबार बहराइनको सखीर राजदरबारमा आयोजित एक विशेष समारोहका बीच बहराइनका राजा हमाद बिन इसा अल खलिफा समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यसअघि त्यहाँका परराष्ट्र मन्त्री डा. अब्दुललातिफ बिन राशिद अलजायनीसँग पनि राजदूत वाग्लेले शिष्टाचार भेटवार्ता गरेका थिए । उनीहरुबीच भएको भेटमा दुई देशको कूटनैतिक, आर्थिक विकास, पर्यटन तथा श्रम सम्बन्धका विषयमा छलफल भएको थियो ।

साथै, आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने बारेमा कुराकानी भएको थियो । राजदूत वाग्ले आफ्नो कार्यभार सम्हाल्न गत साउन १६ गते (१ अगष्ट) बहराइन पुगेका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : ०१ बजे

ट्रम्पलाई  इरानी राष्ट्रपतिको आग्रह- युद्धको जोखिम नबढाउनू

वासिङ्टन– इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै

कवाड व्यवसायीमाथि बालेनको धरपकडको विरोधमा उत्रियो मधेश सरकार

जनकपुरधाम- पछिल्लो एक वर्षयता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कवाड

मादीनदीमा दोस्रो लिफ्ट खानेपानी योजना सुरु

तनहुँ– साना सहरी खानेपानी सरसफाइ आयोजना र दमौली खानेपानी तथा

अध्यादेशबारे के भन्छन् नागरिक अगुवा ?

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा सोमबार चारवटा अध्यादेश जारी

आशिका तामाङलाई पक्राउ गर्न पुग्यो प्रहरी

काठमाडौं- पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी