स्थानीय निकाय, प्रकृति दोहन र टिपर आतंकको ‘कनेक्सन’  | Khabarhub Khabarhub

स्थानीय निकाय, प्रकृति दोहन र टिपर आतंकको ‘कनेक्सन’ 



काठमाडौँ– नेपालमा हाल प्रचलित विकास मोडल बिस्तारै ‘सामाजिक आतंक’ मै परिणत हुने हो कि भन्ने खतरा उत्पन्न हुँदैछ । अहिले राजधानीलगायत देशका विभिन्न भागमा जग्गा प्लटिङका नाममा पहाड खोस्रने क्रमले तीव्रता लिएको छ भने क्रसर उद्योगमार्फत नदी र पहाड दोहनसँगै बस्तीहरुमा टिपर आतंक मौलाएको छ ।

प्रकृति दोहन, जग्गा प्लटिङ र टिपर आतंकको त्रिपक्षीय ‘कनेक्सन’मा स्थानीय नेता, जनप्रतिनिधि, गुण्डा नाइके र प्रशासनको समेत मिलेमतो देखिन्छ । भ्यू टावर निर्माण यसको एउटा पाटो मात्र हो ।

बितेका तीन दशकमा रातारात उदाएको नव धनाढ्य वर्गले शहरमा कम्तीमा तीन–चार तल्ले घर निर्माण गरिरहेकै छ । तिनले ‘रेसीडेन्सीएल’ क्षेत्रमा गाडी जाने बाटो निर्माण या जग्गा प्लटिङका नाममा वन, बारीका पाटा र डाँडा फाँड्न थालेका छन् ।

परिवर्तनको दुहाइ दिएर एकाएक माथि उठेको वर्गको ध्याउन्न पनि जग्गा प्लटिङ र आलिसान भवन निर्माणमै केन्द्रित छ । अनि उनीहरु नै निर्माण ठेक्का, डोजर, टिपरदेखि जग्गा दलालीसम्ममा संलग्न छन् । केही नेताका सन्तान अचेल नदी दोहन गरेर बालुवा ठेक्कामा भिडेका छन् ।

जनताका मुख्य प्राथमिकताका विषय शिक्षा, स्वास्थ्य, कृषि उत्पादन र पर्यटन प्रवर्धन रहेको भए पनि सरकारको विकास मोडलमा भ्यू टावर, फास्ट ट्रयाक, व्यापारिक प्रयोजनका भवन निर्माण, अनावश्यक ठाउँमा आकाशे पुल निर्माणमा बजेट खन्याइँदैछ ।

विकास भइरहेको देखिने, तर जनताको जिवनस्तर उकास्न त्यसले खासै योगदान नदिने मोडलको विकासको होडमा दिनहुँ टिपरहरु गिटी, बालुवा र ढुँगा बोकेर मानव वस्तीहरुमा आतंक मच्चाउँदै, धूलो उडाउँदै र मान्छे मार्दै कुदिरहेको दृश्यले हरेक नेपालीको मन पिरोलिइरहेको छ ।

टिपर आतंकको अन्तरवस्तु

‘विचौलिया विकासे मोडल’को विभत्स सिलसिला टिपर आतंकसम्म जोडिन्छ । एउटा विद्यार्थी सुन्दर भविष्यको आशमा स्कूल गइरहेको हुन्छ। विचौलिया दलालको कुनै टिपरले आएर उसलाई किचेर मार्छ र गुण्डा र पहुँचका भरमा क्षतिपूर्तिको बहानामा मुद्दा सामसुम पारिन्छ ।

टिपरले दिनहुँ मान्छे मार्न थालेपछि वि.सं. २०७५ असार २७ मा सरकारले काठमाडौँ उपत्यकाका तीन सहरमा दिउँसो टिपर चलाउन नपाउने नियम लागू गरेको थियो । राति ८ बजेपछि मात्र टिपर कुदाउन पाउने नियम भए पनि राजनीतिक नेता र गुण्डाका टिपर दिउँसै कुदिरहेको देखिन्छ ।

स्कूल र कार्यालय समयमै टिपर कुदीरहेका छन् भन्ने त गोकर्णमा विद्यालय गइरहेका दुइ बालिका मारेको घटनाबाटै स्पष्ट हुन्छ । केही दिनअघि गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा आफ्ना बुवासँग मोटरसाइकलमा विद्यालय गइरहेका दुई कलिला बालबालिकालाई टिपरले किचिक्कै पार्‍यो ।

बुबा रोहन तामाङसँग विद्यालय गइरहेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङ टिपरको ठक्करबाट मारिए । बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको यो घटना सेलाउन नपाउँदै सप्तरीमा टिपरले अर्का मान्छे मारिहाल्यो ।

सप्तरीको खडक नगरपालिका–५ रञ्जितपुर सडकखण्डमा टिपरको ठक्करबाटै एक बोलेरो चालकको मृत्यु भयो । बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादवले चलाइरहेको विद्युत कार्यालयको बोलेरोलाई बिहीबार साँझ पछाडिबाट ना ७ ख २६५८ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

गत फागुनमा दाङमा त टिपरले साइकल यात्रीलाई नै पेल्यो । पाखापानीकी डिला पौडेल साइकल चलाउँदै थिइन् । पछाडिबाट आएको रा १ ख १२८६ नम्बरको टिपरले डयाम्मै ठक्कर दिँदा उनको मृत्यु भयो । त्यसको एक महिनापछि नेपालगञ्जमा भे १ क ६५७ नम्बरको टिपरको ठक्करबाट हुम्लाका ६५ वर्षीय वीरवल भण्डारीको मृत्यु भयो ।

इतिहास खोतल्दै जाने हो भने बितेका केही वर्षमै टिपरको ठक्करबाट मारिएकाहरुको संख्या सयबाट हजार नाघ्छ ।

टिपर आतंकका कहालीलाग्दा देशव्यापी भइरहेकै छन् । २०७८ माघ २१ मा मुग्लिनबाट भरतपुरतर्फ जाँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यानलाई विपरीत दिशाबाट आइरहेको लु २ ख १७०१ नम्बरको टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो । धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका नौ वर्षीय छोरा निमेश ढुंगानाको मृत्यु भएको थियो ।

२०७८ पुस २ मा सिराहाको लहान–ठाडी सडकखण्डअन्तर्गत लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भयो । सप्तरीको बलान विहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाति अभिषेक यादवको मृत्यु भएको थियो ।

यस्तै २०७८ असार ३ मा पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कञ्चनरुपमा सडक खण्डमा टिपरले ठक्कर दिँदा सोही ठाउँकी ४० वर्षीया साइकल यात्री कौसिला चौधरी मारिइन् । २०७८ वैशाख २७ मा भक्तपुर, सूर्य बिनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंँदा भक्तपुर सूर्यविनायकनगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवाल ठहरै भए ।

२०७७ माघ ३० मा संखुवासभा, मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालक मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई मारिए । २०७७ मंसिर ७ मा पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गयो।

२०७७ मंसिर १४ मा महोत्तरीको औरही नगरपालिका–८ टिम्किया गाउँको भित्री सडकमा टिपरले ठक्कर दिँदा एक बालिका ठहरै भइन् । औरही–८ निवासी नागेन्द्र बैठाकी छोरी १२ वर्षीया रोशनीलाई टिपरले किचिमिची पारेको थियो ।

२०७६ जेठ ९ मा मोरङको खोर्साने केराबारी सडक खण्डमा टिपरले ठक्कर दिँदा   मोटरसाइकल चालक केराबारी ९ कै ४८ वर्षिय बम बहादुर बस्नेतको निधन भयो ।  टिपरको ठक्करले उछिटिएका बस्नेतलाई चालकले टिपर ब्याक सारेर मारेको मृतकका परिवारको आरोप थियो । २०७६ चैत्र ४ मा मिनी टिपरले ठक्कर दिँदा भक्तपुर, चाँगुनारायण, जय ब्रम्हायणी इँटाभट्टामा कार्यरत सर्लाही–जिरायलका ईश्वर मोक्तानका १८ महिने छोरा शिशिर मोक्तान मारिए ।

इतिहास खोतल्दै जाने हो भने बितेका केही वर्षमै टिपरको ठक्करबाट मारिएकाहरुको संख्या सयबाट हजार नाघ्छ । यस्ता घटनामा कति त आपसी सहमतिमा क्षतिपूर्तिपछि सामसुम गराइन्छ भने कति त्यसै गुपचुप राख्ने गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७७-२०७८ मा देशभर ५ सयभन्दा बढी टिपर दुर्घटना भइसकेका छन् । यसैगरी आर्थिक वर्ष २०७६-०७७ मा देशभर ७ सय ८० र आर्थिक वर्ष २०७५-०७६ मा देशभर ७ सय १९ र टिपर दुर्घटना भएको तथ्यांक छ। आर्थिक वर्ष २०७४-७५ मा देशभर ४ सय बढी टिपर दुर्घटना भएका थिए ।

नेता, गुण्डा र प्रकृति दोहन

देशभर प्रकृति दोहन, नदी नाला दोहन र निर्माण कार्य बढिरहँदा सडकमा टिपरको जगजगी पनि बढिरहेको हो । अहिले देशका पहाडदेखि तराईसम्म प्रकृति दोहन तीव्र छ । नदीहरूमा जथाभाबी क्रसर उद्योग सञ्चालन भइरहेका छन् ।

देशभर ७ हजारभन्दा बढी क्रसर उद्योग सञ्चालन भइरहेका छन् । तीमध्ये कमै मात्र दर्ता भएको पाइन्छ । पहाड खोस्रेर, नदी नालाको प्राकृतिक बहाव नै रोकेर दोहनको क्रम बढिरहेको छ । यसरी रोडा, ढुंगा तथा बालुवा चोरी निकासी र अवैध क्रसर उद्योग सञ्चालनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र गुण्डाहरु संलग्न देखिन्छन् ।

ठेकेदार, जनप्रतिनिधि र गुन्डाहरूको कनेक्सनमा अवैधानिक ढंगले सञ्चालन हुने क्रसर उद्योग र बालुवा ठेक्काले प्रकृति दोहन त गरिरहेकै छ । त्यहाँबाट रोडा, डुङ्गा गिट्टी, बालुवा बोकेर आउने टिपरले मानव बस्तीमै आतंक मच्चाइरहेका छन् ।

प्रकृति दोहन र टिपर आतंकमा दलका नेता र गुण्डाहरुको कनेक्सन भएकाले टिपरले मान्छे मारे पनि उम्काउने प्रयास हुँदै आएको छ । अझ टिपर व्यवसायमा गुण्डाहरुकै लगानी बढी देखिन्छ । नदीमा बालुवा ठेक्कादेखि टिपरसम्मको धन्दामा फ्याउरे गुण्डाहरुबीच झै–झगडा पनि हुँदै आएको छ ।

तथ्यांक अनुसार नेपालका प्रमुख शहरहरुमा अहिले पनि दिनहुँ १० हजार बढी टिपर कुदिरहेका हुन्छन् ।

धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेलगायतका नदीहरूमा गुण्डाहरुले एक साथ तिन काम गर्छन् । क्रसर उद्योग संचालन, त्यसबाट उत्पादित निर्माण सामग्रीको विक्री र टिपर ढुवानीको समेत कारोबारमा उनीहरुकै बोलबाला ।

खेपमाथि खेप माल ढुवानीको हानाथापका कारण टिपर चालकहरुले घना वस्तीमा पनि बेगका साथ टिपर कुदाउँछन् । टिपरको बनावट नै यस्तो छ कि त्यसमा चालकले छेउमै आएको सवारी साधन देख्दैनन् । देखिसकेपछि पनि तीव्र बेगको टिपरले ठक्कर दिइहाल्छ ।

तीव्र गतिमा टिपर चलाउने, ट्राफिक नियम नमान्ने, अन्य सवारी तथा यात्रुलाई ओभरटेक गर्न खोज्ने मात्र हैन, ओभरलोड बोकेर सडक नै बिगार्ने काममा बदनाम छन् । जतिबेला सर्वेन्द्र खनाल महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख थिए, त्यतिबेला उनले सडकमा आतंक मच्चाउने टिपरमाथि कारबाहीको जमर्को गरेका थिए । उनले त्यसबेला टिपर व्यवसायमा गुण्डाको लगानी बढ्दै गएकोसमेत जानकारी दिएका थिए ।

काठमाडौँको बग्गीखानामा ट्राफिक ब्यवस्थापनबारे भएको छलफलमा खनालले टिपर व्यवसायी संघका प्रतिनिधि सामु भनेका थिए, ‘प्लटिङका नाममा डाँडा पाखामा खोस्रने, क्रसर चलाउने र सडकमा टिपर आतंक फैलाउने प्रवृत्ति बढिरहेको छ । टिपरले सडकमा मललाग्दी गर्नुको एक कारण यसमा गुण्डाको लगानी पनि हो ।’

हुन पनि एक तथ्यांक अनुसार नेपालका प्रमुख शहरहरुमा अहिले पनि दिनहुँ १० हजार बढी टिपर कुदिरहेका हुन्छन् । अधिकांश टिपरमा गुण्डा, नेता र स्थानीय जनप्रतिनिधिको लगानी भएको पाइन्छ । पछिल्लो कालखण्डमा डोजरमै लगानी गर्न थालेका स्थानीय जनप्रतिनिधिसँग चार–पाँच वटा टिपर हुनु सामान्य मानिन्छ ।

हरिया डाँडामा भू–माफिया

डोजर र टिपर आतंकका पछाडि त्यही वर्ग छ, जो जग्गा दलाली र भू–माफियाको सञ्जाल फैलाइरहेका छन् । अहिले काठमाडौँ उपत्यकाका वरिपरिका हरिया डाँडामा बिस्तारै पहेँला टाटेपाटे क्षेत्र देखिन थालेका छन् । भू–माफियाले जग्गा प्लटिङका नाममा डोजर लगेर डाँडापाखा खोस्रिन थालेपछि ती मरुभूमिजस्ता देखिन थालेका हुन् ।

केही वर्षअघिसम्म घना हरित डाँडो चन्द्रागिरीमा केबलकारले त पहाड खोस्रियो नै, अचेल त्यहाँ रिसोर्टहरुले खोस्रन थालेका छन् । काठमाडौँ बूढानीलकण्ठ–११ कपनको भिरालो जग्गामा डोजर आतंक छ । भिरालो जमिन नै भासिने खतरा छ ।

ललितपुरको गोदावरी नगरपालिकाको गोदामचौर, चापागाउँ, ठेचो र विशंखुनारायण क्षेत्रमा सार्वजनिक बाटो, वन, राजकुलो मिचेर भू–माफियाले डाँडा पाखा सबै मासिरहेका छन् । काठमाडौँको बूढानीलकण्ठ, टोखा, नागार्जुन, तारकेश्वर, चन्द्रागिरि, गोकर्णेश्वर, शंखरापुर आदिमा स्थानीय जनप्रतिनिधि, गुण्डा समूह र भू–माफियाको मिलेमतोमा प्रकृति दोहन तीव्र छ ।

सरकारले २०७४ साउन २६ मा कृषियोग्य जग्गा कित्ताकाट गरी घडेरीका रूपमा विक्रीवितरण गर्न-गराउन नपाउने निर्णय गरेको थियो । तर, जग्गा खण्डीकरण रोक्दा सर्वसाधारणलाई समस्या भएको भन्दै २०७५ पुस २७ मा भूमिको वर्गीकरण र उपयोगसम्बन्धी कानुन तर्जुमा नहुञ्जेल फर्म, संस्था वा कम्पनीले स्थानीय तहको स्वीकृति लिएर कित्ताकाट गर्न पाउने व्यवस्था गरियो ।

सरकारको कित्ताकाट खुलाउने निर्णयलाई सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश मनोजकुमार शर्माको संयुक्त इजलासले बदर गरिदिएको थियो । सर्वोच्चको आदेश त भयो, तर प्लटिङसँगै प्रकृति विनास चलिरहेकै छ ।

भक्तपुरको साँगा होस् या ललितपुरको गोदावरी । चारैतिर जग्गा प्लटिङका नाममा सामुदायिक वनदेखि सार्वजनिक जग्गासमेत मिचिन थालेका छन् । अहिले सबैभन्दा बढी गोदावरी नगरपालिकामा डाँडा मासेर प्लटिङ भइरहेको छ र यसमा स्थानीय जनप्रतिनिधि, भू–माफिया र गुण्डाहरुको मिलेमतो देखिन्छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरण, ललितपुर जिल्ला आयुक्तको कार्यालयले महालक्ष्मी, ललितपुर र गोदावरी नगरपालिकामा स्वीकृतिविना ७३ स्थानमा प्लटिङ भइरहेको भन्दै प्लटिङ गर्ने समूहलाई सम्पर्कमा आउन २०७८ मघ २८ मा सूचना जारी गरेको थियो । यसमा गोदावरी नगरपालिकामा मात्र ३१ ठाउँमा प्लटिङ भइरहेको उल्लेख थियो । मापदण्ड विपरीत प्लटिङ गर्नेहरुले सार्वजनिक सम्पत्ति र ऐलानी जग्गाहरुसमेत मिचेको कार्यालयले जनाएको थियो । तर, गुण्डा, नेता र शक्तिको आडमा प्रकृति विनाश जारी छ ।

काउली बारीमा डोजर

भक्तपुरमा कुनै बेला मुला, काउली, चुकन्दर, चम्सुर र रायोको साग फल्ने मलिला जग्गा त करिब–करिब मासिइनै सकेको छ । अब भिराला जमिनमा पनि भू–माफियाका डोजर कुद्न थालेका छन् ।

भक्तपुरको सूर्य विनायक नगरपालिका–८, ९ र १० का विभिन्न स्थानमा जग्गा व्यवसायीले जग्गा सम्म्याउने भन्दै जग्गा कटान गरिरहेका छन् । डोलेश्वर ठूलोगाउँ, दोर्लाङ, नंखेल, चित्तपोललगायतका ठाउँमा डाँडा नै भत्किने गरी प्लटिङ भइरहेको छ । स्थानीय बासिन्दाका अनुसार सिपाडोल र नलिञ्चोकमा भू–माफियाले  राजनीतिक शक्तिको आडमा खोलासमेत मिचेर जग्गा प्लटिङ गरिरहेका छन् ।

यसरी डाँडा भत्काउने क्रममा केही दिनअघि भक्तपुरको ताथलीमा जग्गा प्लटिङको ढिस्को खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भयो । चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको नालाछापमा गरिएको सो प्लटिङको ढिस्को खस्दा काभ्रेका दुई जनाको ज्यान गएको थियो । साँझ करिब ५ बजे काम गरिरहेको ढिस्को खस्दा काभ्रेको रोसी गाउँपालिका ५ का चतुरसिङ लामा र चौरी देउराली गाउँपालिकाका वसमान तामाङ मारिए ।

भक्तपुर जिल्लामा अहिले अनुमति नै नलिई प्लटिङ गर्ने होड नै छ । चाँगुनारायण–८ सुडाल पात्लेवनको स्विटी खोला अतिक्रमण गरेर पर्खाल  गरिएको छ ।  भक्तपुर सूर्य विनायक–९ नंखेलस्थित अरनिको राजमार्ग आसपास धमाधम डोजरले जमिन खोस्रिरहेका छन् ।

यसरी जथाभावी प्लटिङ भइरहेका भक्तपुरका सूर्य विनायक, मध्यपुर थिमि र चाँगुनारायण नगर क्षेत्रभित्र ९२ ठाउँमा जग्गा नकिन्न सरकारले नै आम जनतालाई आग्रह गरिरहेको छ । उपत्यका विकास प्राधिकरणले स्वीकृति नलिई भक्तपुरका चार नगरपालिकामा मापदण्ड विपरीत डाँडा, पाखा, सार्वजनिक सम्पत्ति र ऐलानी पर्ती जग्गासमेत मिचेर अवैध प्लटिङ भइरहेको सूचनामा उल्लेख गरेको थियो ।

सार तत्व

पँक्तिकारले माथि उल्लेख गरेका दृष्टान्तको सार वस्तु के हो भने स्थानीय निर्वाचनमा गठबन्धन, दल बदल र अनेक माध्यमबाट पुनः डोजर सञ्चालन, ठेक्कापट्टा, प्रकृति दोहन गर्नेहरु नै चुनिने सम्भावना बढेको छ । गठबन्धन संस्कृतिका कारण स्थानीय तहमा गलत प्रवृत्तिको विरोध गर्नुपर्ने विपक्षी शक्ति पनि भागबण्डामा सामेल भएको छ ।

अर्थात् नेपाली कांग्रेसले जितेका निकायमा उसले गलत गरेमा विरोध गर्नुपर्ने अन्य दल पनि भागबण्डामा समाहित भएपछि यो एक हिसाबको मिलिभगतको सिण्डीकेट हुनेछ । कतै कांग्रेस र माओवादीको सिण्डीकेट, कतै एमाले र अन्य दलको सिण्डीकेट । अनि कतै सबै दलको छ्यासमिस संरचना ।

यस्तो सिण्डीकेटले अन्ततः ठेक्कापट्टा, प्रकृति दोहन, टिपर आतंक र जग्गा प्लटिङलाई झन् बढवा दिनेछ, जसबाट रातारात धनी हुने माफिया वर्गको निर्माण हुनेछ । अनि यही वर्ग पुनः राजनीतिमा हाबी हुनेछ, जसले समाजवादको त कुरै छाडौँ, लोक कल्याणकारी र सामाजिक न्यायमूलक राज्यको निर्माणमा समेत अवरोध सिर्जना गर्नेछ ।

अतः जनताले यसपाली कुनै अमुक दलको उम्मेदवारको साटो सच्चा र इमानदार स्वतन्त्र उम्मेदवारतर्फ पनि दृष्टि लगाउनुपर्ने देखिन्छ । दलको हैन, दरिलो उम्मेदवार । गठबन्धनका नाममा केन्द्रबाट थोपरिएको आदेशलाई उपेक्षा गर्दै आफ्नै क्षेत्रको आवश्यकता हेरेर योग्य उम्मेदवारलाई जिताउने दायित्व जनताको काँधमा आएको छ ।

यस्तो उम्मेदवारले जितोस्, जसको कुनै डोजर नहोस्, जसले ठेक्का पट्टा नगरोस् र जसले चुनाव जित्न साम, दाम, दण्ड, भेदका उपयोग नगरेको होस् । दलबाट त्यस्ता उम्मेदवार उठेका छैनन् भने जनता आफैले सल्लाह गरेर योग्य उम्मेदवार खोज्न पनि त सक्छन् । सधैँ दल र नेतालाई गाली गर्नुको साटो यसपटक जनता आफै सजग भएर स्वच्छ छविका र भरपर्दा उम्मेदवारलाई जिताउने हो कि ?

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ९ : ३० बजे

५० रन नपुग्दै कर्णालीले ओपनरसहित गुमायो ३ विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुरविरुद्ध कर्णाली

अफगानिस्तानमा बस दुर्घटना, ५२ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्यांकर र

कर्णालीलाई पहिलो झट्का, जयकिशन १ रनमै आउट

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई

पहिलो पटक ओजन तहमा सुधार, वैज्ञानिकहरू खुसी

काठमाडाैं– पृथ्वीको निरन्तर तापक्रम अहिले यस ग्रहमा बस्ने हरेक मानिसका

मञ्जुश्री फाइनान्सको ६.३५ प्रतिशत नगद लाभांश घोषणा 

काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य