समाचार

चार प्रदेशका प्रहरी प्रमुखको सरुवा, नयाँ डीआईजीहरूको पदस्थापन

By खबरहब

April 22, 2022

काठमाडौँ– नेपाल प्रहरीले चार प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले चार प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई सरुवा गर्दै ती प्रदेशहरूमा हालै डीआईजीमा बढुवा भएका चार जनालाई पदस्थापन गरेको हो ।

बढुवा भएका डीआईजी नलप्रसाद उपाध्यायलाई लुम्बिनी, मोहनकुमार आचार्यलाई सुदुपश्चिम, मसाउद आलम खाँलाई मधेश प्रदेश र राजेन्द्रप्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ ।

पाँच डीआईजीको सरुवासमेत गरिएको छ । जसअनुसार बाग्मती प्रदेशमा डीआईजी पूजा सिंहको सरुवा भएको छ । बाग्मती प्रदेशका डीआईजी प्रकाशजंग कार्की सेवा निवृत हुने भएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ ।

त्यस्तै पुरुषोत्तम कडेललाई सीआईबी, मुकुन्दराज आचार्यलाई लुम्बिनी प्रदेशबाट कार्य विभाग र मधेश प्रदेशका उमेश रञ्जितकारलाई महिला तथा बालबालिका निर्देशनालयमा सरुवा गरिएको हो ।