ओलीबाहेक वाम एकताको रिहर्सल ! | Khabarhub Khabarhub

ओलीबाहेक वाम एकताको रिहर्सल !

बाहिर वामदेव र बाबुरामसहितको ‘समाजवादी केन्द्र निर्माण’को चर्चा


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीको एकलौटी शैलीका कारण राष्ट्रिय राजनीतिबाट किनारा लागेका वामदेव गौतमको पहलमा फेरि वाम एकताको रिहर्सल भएको छ । मंगलबार सिंहदरबारमा तत्कालीन माओवादी र एमाले मिलेर बनेको नेकपाका बहुमत सचिवालय सदस्य रहेका नेताहरुबीच ओलीबाहेकको वाम एकताको रिहर्सल भएको हो ।

यसको प्रस्तावक तथा योजनाकार वामदेव गौतम नै हुन् । उनी पछिल्लो समय फेरि माओवादी र एमाले मिलाउन लागिपरेका छन् । भारत भ्रमणबाट फर्केपछि प्रचण्डले पनि वाम एकताको रिहर्सलमा ‘ग्रीन सिग्नल’ दिएपछि वामदेवसहितका नेताहरु मंगलबार सिंहदरबारमा भेटेर छलफल गरेका हुन् ।

आफ्नै संसदीय दलको कार्यालयमा प्रचण्डले मंगलबार वामदेव, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग भेटवार्ता र छलफल गरे । छलफलमा सहभागी एक नेताका अनुसार प्रचण्ड लगायतका नेताहरुबीच चुनावसम्म ओलीबाहेकको वाम एकता गर्ने प्रयासमा छन् ।

कांग्रेससँग प्याकेजमा सहमति र बलियो बार्गेनिङ

कांग्रेससँग एक्ला एक्लै छलफल गर्दा सिट बाँडफाँटमा समस्या हुने भन्दै ‘प्याकेजमै सहमति खोज्न’ मंगलबार सिंहदरबारस्थित प्रचण्डको कार्यकक्षमा छलफल भएको ती नेताको भनाई छ । छलफलमा वामदेवले भने पुरानै योजना सुनाएका थिए ।

उनले अहिले पनि कांग्रेससँगभन्दा एमालेसँग मिल्दा कार्यकर्तालाई न्याय हुने तर्क प्रस्तुत गरेका थिए । जसमा नारायणकाजीले सही थापेका थिए । तर सो कुरामा माधव नेपाल र झलनाथ खनालले चासो दिएनन् ।

ओलीलाई ‘साइजमा राख्न’ कांग्रेससँगको गठबन्धन गरेरै चुनावमा जानुपर्ने माधव नेपालको भनाई थियो । स्थानीय तहको चुनावमा कांग्रेसले धोका दिए पनि पहिले नै स्पष्ट सम्झौता हुनुपर्ने नेपालको भनाई छ ।

भोलिका दिनमा कांग्रेसले सहमति पालना नगरे ओलीसँग पनि छलफल खुला राख्ने गरी वाम एकताको रिहर्सल सिंहदरबारमा भएको छ । जसले कांग्रेससँग बार्गेनिङ गरेर बढीभन्दा बढी सिट लिन सकियोस् र आफ्नो नेता तथा कार्यकर्ताले पनि चुनाव जित्ने वातावरण बनोस् भन्ने प्रचण्डसहितका शीर्ष नेताहरूको चाहना छ ।

चुनाव जित्ने हतियार र कांग्रेस विकल्पको खोजी

वाम एकतामा माओवादी र समाजवादीसहित बाबुराम भट्टराईदेखि उपेन्द्र यादव र जनमोर्चालाई पनि समेट्ने प्रयास छ । तर यसमा बाबुरामबाहेक अरूले समर्थन जनाइसकेका छैनन् । यस्तोमा नेता र कार्यकर्तालाई पनि खुसी राख्न वाम एकताको प्रस्ताव अघि सारेर छलफलै गरिएको नेताहरूको भनाई छ ।

‘पहिले नेकपा हुँदा पनि छलफल हुन्थ्यो, अहिले नेकपा नहुँदा ओली नभएका मात्रै हुन’ भेटमा सहभागी एक नेताको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर सारमा कांग्रेससँग बलियो गरी बार्गेनिङ गर्ने र ओलीबाहेक पनि वाम एकता गर्न सकिन्छ भन्ने निष्कर्षमा कुरा भएको छ । बाँकी नेताहरूको छलफलले बताउला ।’

सिंहदरबार बैठकको छलफलका विषयमा भने नेताहरूको फरक धारणा छ । वामदेवले सो छलफलबारे मुख नखोल्दा प्रचण्डले गठबन्धनलाई बलियो बनाउने गरी कुरा भएको टिप्पणी गरेका छन् । तर उनले भारत भ्रमणबारे मौनता साँधेका थिए ।

यसलाई भोलिका दिनमा निरन्तरता दिने नेताहरूको तयारी छ । जसको नाम वाम एकता होइन, वामदेव र बाबुरामसहितको ‘समाजवादी केन्द्र निर्माण’ भनेर राख्न खोजिएको छ ।

सिंहदरबार बैठकमा वामदेवलाई पनि चुनावमा स्पेश दिने तयारी छ । त्यसका लागि नेकपा एकिकृत समाजवादीले थप छलफल गर्नेछ । कांग्रेससँग सिटमा कुरा नमिले एमालेसँगको वार्तालाई पनि अघि बढाउने मनसाय नेताहरूको छ ।

एक समय एमसीसी पास गर्न कांग्रेसले माओवादीलाई ‘वायस’ गरेर एमालेसँग लगातार छलफल गरेको थियो । अहिले माओवादी पनि कांग्रेसलाई त्यसैगरी झस्काउन एमालेसँग छलफल अघि बढाउने तयारीमा छ । जसमा नारायणकाजी लगायतका नेताहरुले छलफल सुरु गरिसकेका छन् ।

भोलिको सत्ताका लागि वाम रिहर्सल

वाम एकताका लागि छलफल सुरु गर्दा चुनाव र भोलिका दिन सत्ता साझेदारी गर्न सजिलो होस् भन्ने नेताहरूको चाहना छ । राजनीतिमा स्थायी शत्रु हुँदैन भनेजस्तै गरी अहिले प्रचण्ड र एमाले अध्यक्ष ओलीको व्यक्तिगत टकरावका कारण वाम एकता ओझेलमा छ ।

दोस्रो तहका नेताहरू एकले अर्कोसँग माफी मागेर वाम एकता अघि बढाउनुपर्नेमा जोड दिइरहेका छन् । तर यति बेला ओलीभन्दा देउवा आफ्नाका लागि बढी उपयोगी भएको निष्कर्षमा प्रचण्ड छन् । सोही कारण ओलीले आफूलाई गरेको अपमान उनैका लागि महँगो पार्न प्रचण्ड लागिपरेका छन् ।

विगतमा सत्ता र बहुमतको दम्भको बेला चालेका कदमले ओलीलाई पनि व्यक्तिगत र पार्टीगत क्षति धेरै भएको छ । यसको महसुस पनि ओलीलाई भएको छ । केही समय पहिले एमसीसी पास गर्ने बेलामा ओलीसँग प्रचण्ड र कांग्रेस सभापति देउवाले बारम्बार भेटेका थिए ।

भेटेर गरिएका सबै छलफलमा एक अर्कासँग सहकार्य सम्भावना बाँकी रहेको बताएका थिए । तर त्यो निर्णायक बिन्दु एमालेभन्दा कांग्रेस र माओवादीबीच मिलिरहेको छ । भोलि एकले अर्कोलाई धोका दिने अवस्थामा एमाले उपयोगी हुनसक्छ भनेर कांग्रेस र माओवादी बराबर सम्भावनाको खेल हेरेर बसेका छन् ।

यस्तो अवस्थामा कांग्रेसभन्दा एक कदम अगाडि बढेर प्रचण्डसहितका नेताहरू वाम एकताको नामलाई फेरि एकपटक भजाउन चाहन्छन् । जसको तत्काल एकता जटिल भए पनि रिहर्सल सुरु भइरहेको छ ।

चुनाव आउन अझै चार महिना बाँकी रहेका बेला स्वार्थी प्रवृत्तिका नेताहरू आफ्नो ठूलो भाग परेको खण्डमा वाम एकता गर्न पनि पछि पर्दैनन् । त्यसको सम्भावना कायमै रहेको तथ्य स्वयंम माधव नेपाल र नारायणकाजीदेखि ओलीसम्मका नेताहरू स्वीकार गरिरहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ३ : ५५ बजे

पूर्वीचितवनको सिमसारमा ५५ प्रजातिका चरा भेटिए

चितवन– पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका

रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने

हाडेभिर र खारा जोड्ने झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धवलागिरी र मालिका गाउँपालिको सिमाना भएर बग्ने म्याग्दी

बिरामीलाई निःशुल्क रगत

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिकाका बिरामीलाई आवश्यकतानुसार निःशुल्क रगत उपलब्ध हुने

काभ्रेको संसारीदेवी विद्यालयमा कम्युटर प्रयोगशाला

काभ्रे– अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४