रुसी आक्रमणले रोक्न नसकेको एउटा अठोट | Khabarhub Khabarhub

रुसी आक्रमणले रोक्न नसकेको एउटा अठोट


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आन्द्रेइ प्रोटसेन्कोले आफूले जे गर्न सक्थे, त्यो गरे। युक्रेनको एउटा गाउँमा बसोबास गर्ने उनी युद्धको समाप्तिसँगै दिनहरू सामान्य बन्ने समयको प्रतीक्षा गरेर बसेका थिए। सुरुवातमा उनको एउटा मात्र ध्यान भनेको अभिभावकलाई कतै सुरक्षित स्थानमा राख्नु थियो। यस कुरामा सफलता पाए पछि उनी आफूलाई विश्व च्याम्पियनसिपका लागि कसरी तयार गर्ने भन्ने कुरामा केन्द्रित गरे। यो मार्च महिनाको कुरा थियो।

२४ फेब्रुअरीको दिन रुसले युक्रेनमा आक्रमण गरेपछि प्रोटसेन्कोले दुई छोरी ५ वर्षकी सोफिया र ९ महिनाकी पोलीनासहित श्रीमती काटरिनालाई लिएर खार्सेनको गाउँ छाडेका थिए।

नयाँ स्थानमा ज्यान त सुरक्षित महसुस भयो। तर, प्रशिक्षणलाई कसरी निरन्तरता दिने भन्ने समस्या थियो। उनले आफूलाई आवश्यक पर्ने कुराको तयारी आफ्नै ढङ्गले गरे। कारको टायरको खोजी गरेर तौल प्रशिक्षणलाई निरन्तरता दिनु थियो। काठको प्रयोग गरेर नाघ्ने स्थान पनि आफैले बनाएका थिए। उनले घरको आँगनमै नियमित अभ्यास र स्प्रीन्टको समेत तयारी गरेका थिए।

‘त्यहाँ हाई जम्प त हुँदैन थियो। तर, मैले दौडीरहने प्रयास गरेको थिएँ ’, आफ्नो प्रशिक्षणको बारे उनले भने। सामग्री जुटाउन त पक्कै कठिन थियो। तर, उनका लागि आफूलाई मानसिक रूपमा तयार गर्न अझ बढी कठिन भएको थियो। बहुतै कठोरसँग उनले यसका लागि आफूलाई तयार पारेका थिए।

अमेरिकामा जारी विश्व च्याम्पियनसिपमा सोमबार रातिको समयमा उनले यो समर्पण र मेहनतको पुरस्कार पाएका छन्। उनले हाइजम्पको कास्य पदक जिते। यस क्रममा उनले २.३३ मिटर नाघेका थिए। विश्व च्याम्पियनसिपमा यो उनको सातौँ सहभागिता हो। सन् २००९ मा बर्लीनमा भएको विश्व च्याम्पियनसिपदेखि उनी हरेक संस्करणमा सहभागी हुँदै आएका छन्। आउटडोर विश्व च्याम्पियनसिप उनको यो पहिलो फाइनल प्रवेश हो।

१३ वर्षको उमेरमा उनको हाई जम्पप्रति आकर्षण बढेको थियो। त्यस समयदेखि अनेक सङ्घर्ष र दुख गरेका उनको मोह कहिल्यै भङ्ग भएन। उनी बच्चामा ३ सय मिटर दौड पनि कुद्ने गरेका थिए। त्यसै समयमा उनका प्रशिक्षक जीयोभ गेनाडीले जम्पमा ध्यान दिँदा राम्रो हुने बताएका थिए।

‘मलाई थाहा छैन किन त्यो इभेन्ट सही लागेको हो’, गेनाडी भन्छन्। विस्तारै उनको प्रतिभा निखारिँदै गएको थियो। गेनाडीले आफ्नो शिष्यलाई निखार्दै गएपछि यसको फल पनि पाएका थिए। १९ वर्षको उमेरमा उनले २.२१ मिटर नाघ्दै युरोपेली यू–२० मा रजत पदक जितेका थिए। २० वर्ष भएपछि उनले पहिलो पटक २.३० मिटर नाघेका थिए।

सन् २०१४ मा उनले विश्व इनडोर च्याम्पियनसिप र युरोपेली च्याम्पियनसिपमा नै रजत पदक जितेका थिए। त्यसै समयमा उनले २.४० पनि नाघेर संसारका सर्वकालीन उत्कृष्ट ६ को सूचीमा पनि आफूलाई राखेका थिए। सन् २०१६ को रियो ओलम्पिकमा उनी चौथो भए। उनी र अर्को युक्रेनी खेलाडी बोगडान बोडरेन्कोले समान २.३३ मिटर नाघे पनि काउन्ट ब्याकमा उनी पछि परेका थिए।
उनले आउटडोर विश्व च्याम्पियनसिपमा जितेको यो पदक भने अपत्यारिलो थियो।

अनुमान गर्नै कठिन हुने समयमा यो सफलता उनले पाएका थिए। उनको सहरलाई रुसी सेनाले नियन्त्रणमा लिएपछि उनी एउटा झोलाको भरमा त्यहाँबाट हिँडेका थिए। ‘सबै कुरा सापेक्षिक हुँदा रहेछन्। सुरुमा त त्यहाँ शान्त थियो’, उनले भने, ‘तर केही समयपछि त त्यहाँ पनि रुसी सेना पुगि हाल्यो। हामीले त्यो स्थान छाड्न उपयुक्त ठान्यौ।’

१३ अप्रिलमा उनले आफ्नो ठाउँ छाडेका थिए। जसोतसो उनले २२ अप्रिलमा पश्चिम युक्रेनमा आफ्नो बसोबासको व्यवस्था मिलाए। पछि उनले पोर्चुगल र स्पेनमा पनि समय बिताए। ‘ ती देशका नागरिक र एथलेटिक्स सङ्घबाट नै मैले सहयोग पाए’, विगतका केही अनुभव सम्झँदै उनले भने।

प्रोटसेन्कोको परिवार अहिले फ्रान्समा छ। दातृ निकायको सहयोगमा उनीहरू त्यहाँ पुगेका हुन्। उनी फ्रान्समा पुगेर परिवारसहित पोल्यान्ड जाने छन्। पोल्यान्डमा युक्रेन टोलीका अन्य सदस्य र उनका प्रशिक्षक हुने छन्। आफूले पाएको नतिजासहित प्राप्त उपहारको झोलासहित परिवार भेट्न उनलाई हतारो भई सकेको छ।

प्रतियोगिताको दौरान उनी केही नर्भस नभएका होइनन्। २.२७ मिटर उनले तेस्रो प्रयासमा मात्र नाघेका थिए। त्यसपछि २.३० र २.३३ उनले एकै प्रयासमा नाघेका थिए। २.३५ मा उनी दुई पटक असफल भए भने २.३७ मा एक पटक असफल भए। ओलम्पिक च्याम्पियन जियनामार्को टाम्बेरीले पनि २.३३ नाघे पनि काउन्ट ब्याकमा प्रोटसेन्को अगाडि रहे।

यस अगाडि बेइजिङमा भएको विश्व इनडोर च्याम्पियनसिपमा टाम्बेरीले पनि प्रोटसेन्कोसँग मिलेर झन्डा बोकेका थिए। टाम्बेरीले उनको खुलेर प्रशंसा गरेका छन्। २.३७ नाघेर तेस्रो पटक विश्व च्याम्पियन बनेका कतारका मुस्ताज इसा बस्रीमले पनि प्रोटसेन्कोको खुलेर प्रशंसा गरे।

‘उ च्याम्पियन हो’, उनले भने, ‘सबै कुरा सही नभए पनि उसले सङ्घर्ष गरेको थियो। उसले त्यसको पुरस्कार पाएको छ। यस्तो अवस्थामा पदक पाउनु पक्कै सहज होइन।’ प्रोटसेन्कोको प्रायोजक संस्था एडीडासले पनि उनलाई खेल टिक्नका लागि धेरै सहयोग गरेको थियो। एडीडासकै कारण उनी आफ्नो प्रशिक्षणलाई निरन्तरता दिन सफल भएका थिए। अर्को महिना म्युनिखमा आयोजना हुने युरोपेली च्याम्पियनसिप तथा सेप्टेम्बरमा जुरिचमा हुने वान्डा डाइमन्ड लिगसम्म एडीडास उनको साथमा नै रहने छ।

यसका बाबजुद उनको जीवन धेरै कुरामा अनिश्चित छ। ‘यो साँच्चै कठिन अवस्था हो’, उनले भने, ‘मलाई अहिलेको घटना लामो समय जान सक्ने कुरामा चिन्ता लागेको छ। युक्रेनलाई अहिले संसारको सहयोग चाहिएको छ।’उनले युक्रेनीहरु बहादुर भएको बताउँदै संसारले केही सहयोग गरे चाँडो नै यस समस्याबाट बाहिर आउन सक्ने बताउँछन्।

उनले आफूले पाएको यो पदक युद्ध पीडित युक्रेनीका लागि समर्पित गरेका छन्। उनको योजना अझ रोकिएको छैन। सन् २०२४ को पेरिस ओलम्पिकको लक्ष्य राख्दै उनले प्रशिक्षणलाई अगाडि बढाउँदै छन्।

प्रोटसेन्कोले कास्य पदक जितेको एक दिन पछि भएको महिला हाई जम्पमा भने स्वर्ण पदककी प्रबल दाबेदार रहेकी युक्रेनकी यारास्लोभा माखुची रजत पदकमा सीमित भइन्। उनी र अष्ट्रेलियाकी एलेनर पेटरसनले समान २.०२ मिटर नाघे पनि राम्रो काउन्टब्याकको आधारमा माखुची रजतमा खुम्चिएका हुन्। माखुची ओलम्पिक स्वर्ण विजेतासहित विश्व इनडोर च्याम्पियन पनि हुन्।

यस विश्व च्याम्पियनसिपमा थुप्रै सफलताका कथा लेखिए। सानी अल फ्रेजीयरले पाँचौँ पटक महिला १ सय मिटर दौडको उपाधि जितेकी छन्। एक बच्चाकी आमा समेत रहेकी जमैकाकी यी स्प्रीन्ट क्वीनको ट्रायकमा सन् २००८ देखि प्रभाव जमाएकी छन्। अमेरिकाका फ्रेड केर्लीले ४ सय बाट १ सय मिटरमा आफूलाई परिमार्जित गर्ने निर्णय सही थियो भनेर यस पटक स्वर्ण पदक जित्दै पुष्टि गरेका छन्।

अमेरिकी स्टार एलीसन फेलीक्सले १७ औं विश्व च्याम्पियनसिप पदक जितेकी छन्। मिश्रित ४ गुणा ४ सय मिटर रिलेमा उनी सहितको अमेरिकी टोलीले कास्य पदक जितेको हो। यी स्टारको २ दशक लामो सनसनीपूर्ण यात्रा सायद संसारले कहिले पनि बिर्सन सक्दैन। यी सबै सफलताबीच प्रोटसेन्को सङ्घर्ष र सफलताको कथा विशेष छ। स्रोत : वर्ल्ड एथलेटिक्स

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : ५६ बजे

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख