विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन ६, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २२, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

अडियो सुन्नुहोस्-

द्रौपदी मुर्मु भारतको पन्ध्रौँ राष्ट्रपति निर्वाचित

द्रौपदी मुर्मु भारतको पन्ध्रौँ राष्ट्रपति निर्वाचित भएकी छिन् । बिहीबार अबेर राति मतगणना सकिएसँगै राज्यसभाका महासचिव एवम् राष्ट्रपति चुनावका निर्वाचन अधिकृत पिसी मोदीले द्रौपदी मुर्मुलाई दिल्लीस्थित उनको निवासमा राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेर आधिकारिक रूपमा देशको पन्ध्रौँ राष्ट्रपति घोषणा गरेका हुन् ।

मतपरिणामअनुसार मुर्मुले दुई हजार आठसय २४ र उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले एक हजार आठसय ७७ मत प्राप्त गरेका थिए । निर्वाचनमा चार हजार सातसय ५४ मत मत खसेको थियो जसमा ५३ मत बदर भएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नवनिर्वाति राष्ट्रपति मुर्मुलाई उनको निवासमा भेटेर बधाई ज्ञापन गरेका थिए । अल्पसङ्ख्यक जातीय समुदायकी मुर्मु भारतको पहिलो आदिवासी महिला राष्ट्रपति भएकी छन् । आगामी सोमबार उनले पद तथा गोपनीयता शपथ लिने कार्यक्रम छ । भारतको संविधानअनुसार प्रधानमन्त्री कार्यकारी सरकार प्रमुख हुन् भने पदीय मर्यादाअनुसार प्रधानमन्त्रीभन्दा माथिको ठूलो औपचारिक पद हो ।

पूर्वी राज्य उडिसाकी ६४ वर्षिया मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको राज्यपाल थिइन् । राजनीतिमा प्रवेश गर्नु अघि उनी विद्यालय शिक्षिका थिइन् । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीबाट दुई पटक सांसद भएकी उनका बुबा र हजुरबुवा उडिसाको मयुरभञ्ज जिल्लाको बैदापोसीमा गाउँका प्रमुख थिए ।

यस्तै राष्ट्रपति चुनावमा पराजित भएका विपक्षी उम्मेदवार यशवन्त सिन्हाले हार स्वीकार्दै द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन् ।

पराजित भएलगत्तै ट्वीटरमार्फत उनले बधाई दिएका हुन् । उनले राष्ट्रपतिको रुपमा भारतको संविधानको रक्षकको भूमिका कुशलतापूर्वक निभाउने विश्वास व्यक्त गरेका छन् ।

श्रीलङ्काका १५ प्रधानमन्त्री दिनेश गुणवर्धनाद्वारा शपथ ग्रहण

श्रीलङ्काको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन् ।

श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

विभिन्न दलका विधायक एवम् राजनीतिक दलका नेताहरूसँग बिहीबार भएको सघन छलफलपछि आज उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको हो । भूतपूर्व राष्ट्रपति गोताबाया राजापाक्ष र रनिल विक्रमासिङ्घेको नेतृत्वमा उनले गृहमन्त्रीका रुपमा काम गरेका थिए ।

आगामी बुधबार संसद् बैठकपछि राष्ट्रिय सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । राजनीतिक दलहरू मिलेर राष्ट्रिय सरकार गठन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

यसैबीच, राष्ट्रपति सचिवालय बाहिर ठूलो सङ्ख्यामा उपस्थित प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न भारी मात्रामा सशस्त्र सुरक्षाकर्मी परिचालन गरिएको थियो । उनीहरूले राष्ट्रपति विक्रमासिङ्घको विरोध गरिरहेका छन् । यहाँस्थित सरकार विरोधी प्रदर्शन शिविरमा सुरक्षाकर्मीले छापा मारेको थियो ।

युरोपेली केन्द्रीय बैंकले ब्याजदर बढायो

युरोपेली केन्द्रीय बैंकले ब्याजदर बढाएको छ । ११ वर्षपछि युरोपको केन्द्रीय बैंक इसीबीले ब्याजदर बढाएको छ ।

बजारमा मुद्रास्फीति बढ्दै गइरहेको अवस्थामा इसीबीले ब्याजदर शून्य दशमलब ५ प्रतिशत बढाएर शून्य प्रतिशतमा पु¥याएको थियो । यसअघि सन् २०१४ यता इसीबीले ब्याजदर ऋणात्मक शून्य दशमलब ५ प्रतिशत कायम गरेको थियो ।

व्यावसायिक वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकमा पैसा जम्मा गर्ने भन्दा पनि कर्जा दिन प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कदम चालिएको हो ।

यसबाहेक इसीबी यही वर्ष पुनः ब्याजदर बढाउने तयारीमा समेत रहेको बीबीसीले जनाएको थियो ।

युरोपेली बजारमा मुद्रास्फीति बढेर ८ दशमलब ६ प्रतिशत पुगेको छ । इसीबीले यो वर्ष मुद्रास्फीति २ प्रतिशतसम्म सीमित राख्ने लक्ष्य लिएको थियो ।

युक्रेनी अन्न

कृष्ण सागरबाट युक्रेनी अन्न निर्यातलाई सहज पहुँच दिने विषयमा रुससँग सहमति जुटेको टर्कीले जनाएको छ ।

यसबारे टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा युक्रेन, रुस, टर्की र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजबीच हस्ताक्षर हुने बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेसँगै विश्वभर अन्नको भाउ उच्च भएको छ । रुस र युक्रेन विश्व बजारमा अन्नको सबैभन्दा महत्वपूर्ण आपूर्तिकर्ता मुलुक रहेको बताइन्छ ।

रुसले युक्रेनी बन्दरगाहबाट अन्न एवम् अन्य अत्यावश्यक खाद्यसामग्री निर्यात गर्न बन्देज लगाइदिएको छ । यसबाट युक्रेनमा २ करोड टन अन्न युक्रेनमा नै सञ्चित भएको छ ।

यता अमेरिकाले भने संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको उक्त सहमतिको स्वागत गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले यस सहमतिको कार्यान्वयन भने चुनौतिपूर्ण रहेको टिप्पणी गरेका छन् ।

‘पहिलो कुरा त सुरुमा हामीले यस्तो अवस्था आउनै दिनु हुँदैनथ्यो । रुसी महासंघले जानाजान खानेकुरालाई हतियारका रुपमा प्रयोग गरिरहेको छ ।’ प्राइसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मालीमा हमला

पश्चिम अफ्रिकी मुलुक मालीमा बन्दुकधारीले देशको सबैभन्दा महत्वपूर्ण सैनिक अखडालाई लक्षित गरी आक्रमण गरेका छन् । राजधानी बामाको नजिकै रहेको सैनिक अखडालाई लक्षित गरी आक्रमणकारीले हमला गरेका हुन् ।

बामाकोबाट १५ किलोमिटर टाढा रहेको काटी क्याम्पमा शुक्रबार सबेरै गोलाबारी र विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

आक्रमण सुरु भएलगत्तै हाल मालीको शासन चलाइरहेको सैनिक सरकारका अन्तरिम राष्ट्रपति कर्णेल असिमी गोइटा राजधानी तर्फ भागेका थिए ।

हमलामा भएको हताहतीबारे कुनै विवरण सार्वजनिक गरिएको छैन । यद्यपि मालीको सुरक्षा बलले आक्रमणमा दुई जना आक्रमणकारीलाई ‘तटस्थ’ पारेको दाबी गरेको छ ।

मालीको सेनाले आक्रमण निस्तेज पारिदिएको दाबी गरेको छ । ‘मालियन सेनाले काटी आधार शिविरमा गराइएको आतंककारी आक्रमणलाई निस्तेज पारेको छ । बिहान सबेरै ५ बजे दुई कार बम विस्फोट भएका थिए ।’ मालीको सुरक्षा बलले सामाजिक सञ्जालमा ट्विटरमा जानकारी दिएको छ ।

काटी आधार शिविर मालीमा हालैका वर्षहरुमा भएका सैनिक विद्रोहको केन्द्रमा रहने गरेको छ । सन् २०१२ र सन् २०२२ मा दुईवटा सफल सैनिक तख्तापलट पनि यही आधार शिविरबाट सुरु भएको रोयटर्सले जनाएको छ ।

मालीमा अल कायदा र इस्लामिक स्टेटजस्ता आतंककारी समूहहरुले सैनिक तथा गैरसैनिक सार्वजनिक निशानालाई लक्षित गरी बेलाबेला यस्ता आक्रमण गर्दै आएका छन् ।

विश्व कोरोना अपडेट

पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरसका ८ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सोही समयमा कोरोनाका कारण १ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा विश्वमा ८ लाख १८ हजार ४६४ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा सबैभन्दा बढी जापानमा १ लाख ३५ हजार २३९ जना संक्रमित थपिएका छन् ।

यसैबीच, जापानले कोभिड १९ को सातौँं लहरले देशव्यापी प्रभाव पारेको जनाएको छ । कोभिड–१९ बाट सङ्क्रमितको दर उच्च बन्दै गएपछि जापानको यो भनाइ आएको हो ।

पछिल्लो २४ घण्टामा जापानमा एक लाख ८६ हजार २४६ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राजधानी टोकियोमा सङ्क्रमणहरू अहिलेसम्मकै सबैभन्दा बढी देखिएको छ । पछिल्लो २४ घण्टामा राष्ट्रव्यापी सङ्क्रमितको सङ्ख्या यसअघि रिपोर्ट गरिएका एक लाख ५२ हजार ५३६ भन्दा करिब २० हजारले बढी अर्थात् एक लाख ८६ हजार २४६ रहेको छ ।

ओसाका र फुकुओका प्रिफेक्चरहरूले पनि बिहीबार नयाँ दैनिक सङ्क्रमितको उच्च रेकर्ड रहेको जनाएको छ । यो भाइरसको अत्यधिक सर्नसक्ने क्षमता रहेको मानिएको बीए–५ ओमिक्रोन उप–प्रजातीले सङ्क्रमण दरलाई उच्च बनाएको छ ।

सरकारी अधिकारीले राजधानीका बासिन्दाहरूलाई बुस्टर मात्रा प्राप्त गर्न र अन्य एन्टिभाइरल उपायहरू अपनाउन आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्का मुख्य सचिव तथा प्रवक्ता हिरोकाजु मात्सुनोले भने, “चिकित्सा प्रणालीमा अधिकतम सावधानीपूर्वक प्रभाव हेर्नु आवश्यक छ । तथापि, नियमित गतिविधिमा लगाइने प्रतिबन्धले अर्थतन्त्रलाई प्रभाव पार्ने हुँदा अहिलेको अवस्थामा नियन्त्रणका लागि कुनै प्रतिबन्ध लगाउने सम्भावना छैन ।”

त्यस्तै, छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ । यता अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि कोरोना संक्रमण भएको छ । उनलाई संक्रमण भएको पुष्टी व्हाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले गरेकी हुन् ।

कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको व्हाइट हाउसले जनाएको छ । उनले एन्टीभाइरल औषधी पनि लिइरहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडनको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । ‘७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ र उहाँले सबै आफ्नो काम गरिरहनु भएको छ,’ प्रवक्ता करिन जीन–पियरेले भनिन् ।

राष्ट्रपति बाइडेन कोरोना निको नहुन्जेलसम्म आइसोलेसनमा रहने व्हाइट हाउसले जनाएको छ । राष्ट्रपति बाइडेनले यसअघि नै कोरोना भाइरसको खोपको बुस्टर डोज समेत लगाइसकेको उनका चिकित्सक डा. केविन ओ कोनोरले बताएका छन् ।

नाइजेरियामा सडक दुर्घटना

अफ्रिकी मुलुक नाइजेरियामा भएको सडक दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियाको कादुना राज्यमा सवारी दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

सडकमा गुडिरहेका तीनवटा बस एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि बसहरुमा आगो लागेको थियो ।

दुर्घटनामा अरु दर्जनौँ घाइते भएको जनाइएको छ । जारिया र कानो सहरलाई जोड्ने राजमार्गमा उक्त दुर्घटना भएको हो ।

नाइजेरियाको सडक सुरक्षा निकायका क्षेत्रीय कमाण्डर हफिज मोहम्मदले बीबीसीलाई दिएको जानकारीअनुसार पीडितहरु अधिकांश महिला एवम् बालबालिका रहेका छन् ।

अधिकारीहरुले सवारी चालकको अधैर्यताका कारण दुर्घटना भएको जानकारी दिएका छन् । नाइजेरियामा यस्तो प्रकृतिका सडक दुर्घटनाहरु बेला बेला हुँदै आएको बताइन्छ ।

अष्ट्रेलियाको जन्मदर निरन्तर घट्दो

अष्ट्रेलियाको जन्मदर निरन्तर घटिरहेको सरकारी तथ्याङ्कले देखाएको छ । देशको जन्मदर १० वर्ष यताकै न्यूनस्तरमा झरेको सरकारी तथ्याङ्कले देखाएको हो ।

अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआईएचडब्ल्यु) ले आज सार्वजनिक गरेको विवरणअनुसार सन् २००७ मा प्रति एक हजारमा ६६ जना महिलाले बच्चा जन्माएकामा सन् २०२० मा त्यो दर घटेर ५६ कायम भएको छ ।

कोभिड–१९ महामारीको पहिलो महिनाको तथ्याङ्क प्रस्तुत गर्दै एआईएचडब्ल्युले सन् २०१९ र २०२० को बीचमा शिशुजन्ममा २.३ प्रतिशतले गिरावट आएको बताएको छ । सन् २०२० मा बच्चा जन्माएका आमाहरूको औषत उमेर ३० वर्ष नौ महिना थियो भने सन् २०१० मा ३० वर्षकै उमेरमा उनीहरूले सन्तानोत्पादन गरेका थिए ।

अष्ट्रेलियामा ४० वर्ष र त्यसभन्दा माथिका आमाहरूको उच्च अनुपात अर्थात् सन् २०१० मा ४ दशमलब १ प्रतिशतको तुलनामा सन् २०२० मा ४.५ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ८ : १८ बजे

महाधिवेशनको दस्तावेज टुङ्गो लगाउन सचिवालय बैठक आह्वान

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनमा छलफल गरिने दस्तावेजमा

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी

दिपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

काठमाडौं – निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले प्राकृतिक प्रकोपबाट हुनसक्ने