'उद्यमी र किसान नै मुलुकको आर्थिक विकासको मेरुदण्ड'  | Khabarhub Khabarhub

‘उद्यमी र किसान नै मुलुकको आर्थिक विकासको मेरुदण्ड’ 


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको हुनाले यसतर्फ राज्यका निकायहरूको ध्यान जानुपर्नेमा जोड दिएकी छिन् । आजदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उनले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले राज्यको क्षमताअनुसार सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सबैको ध्यानाकर्षण गराए । 

स्वदेशी उत्पादनको प्रयोग, तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी तथा रोजगारी सिर्जना गर्ने कार्यमा सहजीकरण गरिदिनु राज्यको गहन जिम्मेवारी भएको उनको भनाइ छ । राष्ट्रपति भण्डारीले वर्तमान अवस्थामा देशको राष्ट्रिय अर्थतन्त्रले धेरै गम्भीर प्रकारका चुनौतीहरूको सामना गरिरहेको भन्दै व्यापार घाटा र आयातमाथि हाम्रो निर्भरता  विस्तारले विदेशी मुद्राको सञ्चितिमा अभूतपूर्व चाप परेको बताइन्। यी चुनौतीबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बनाउनुपर्ने उनको जोड छ । 

‘मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उत्पादन बढाउने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन र जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू अवलम्बन गर्नु अति आवश्यक छ’, राष्ट्रपति भण्डारीले भनिन् ।

हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाई युवा जनशक्ति र किसानहरूलाई उत्प्रेरित गर्न उद्योगी-व्यवसायीसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताइन् । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने अत्यन्त सामयिक विषयवस्तुका साथ आयोजना गरिएको यस प्रदर्शनीले विगत करिब तीन वर्षदेखि कोभिड-१९ महामारीका कारण शिथिल हुन पुगेको आर्थिक गतिविधिलाई नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरिन्। 

‘विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको काखमा आज तपाईँहरूले समृद्ध नेपाल निर्माण गर्न र स्वदेशी उद्यमशीलतालाई विस्तार गर्नुपर्ने अत्यन्त असल विचार अगाडि सार्नुभएको छ’, उनले भनिन्। हाम्रो सभ्यताले विकास गरेका प्राचीन शास्त्रहरूले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया’ को परिकल्पना गरेको बताउँदै उनले जसमा हरेक व्यक्तिलाई सुखी रहनका निम्ति निरोगी र उद्यमशील हुन आवश्यक पर्ने सन्देश अन्तर्निहित रहेको उल्लेख गरिन्।  

बुद्धका उपदेशको सार पनि निःस्वार्थ परिश्रम र मानव सेवासँग नै सम्बन्धित रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले हाम्रो सभ्यताका यिनै मार्गदर्शनसमेतलाई आधार मानेर  हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा तय गरेको स्पष्ट पारिन्। 

उनले प्रदर्शनीले मुलुकको समृद्धि र जनताको सुखको अपेक्षालाई प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरिन्। विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको मात्र नभई विश्वभरिका बौद्धमार्गीहरूको पवित्र तीर्थस्थल समेत भएकाले यो क्षेत्र अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको उनको भनाइ थियो । उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकास गर्दै सभ्यता र आधुनिकताको नयाँ सङ्गमस्थल बनाउन व्यक्तिगत तथा संस्थागत साथ रहने प्रतिबद्धता जनाइन्।

उनले हालै सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण लुम्बिनी प्रदेशको पर्यटनलगायत समग्र आर्थिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै मुलुकको पर्यटन उद्योगलाई थप सुदृढ गर्नका लागि लुम्बिनीको भ्रमणमा आउने पर्यटकहरूले अन्य क्षेत्रको समेत भ्रमण गर्ने सम्भावनाहरूको खोजी गर्नुपर्ने धारणा राखिन् । 

पछिल्ला दिनमा लुम्बिनी प्रदेशका आर्थिक तथा औद्योगिक गतिविधिमा महिलाहरूको  सहभागिता र नेतृत्वले धेरै सकारात्मक सन्देश दिएको बताउँदै राष्ट्रपति भण्डारीले महिलाको व्यावसायिक नेतृत्व विकास तथा क्षमता अभिवृद्धिमा आर्थिक एवं मानवीय लगानी बढाउँदै लैजानुपर्ने उल्लेख गरिन्। उनले उद्यमी महिलालाई अझ मेहनत गर्दै स्वावलम्बी बनेर अगाडि बढ्न आह्वान गरिन् ।

नेपाली उत्पादनको प्रवर्द्धन, उद्योगीलाई उत्साह र उपभोक्तालाई सचेतना जगाउने उद्देश्यले प्रदर्शनी आयोजना हुनु खुसीको कुरा भएको बताउँदै उनले प्रदर्शनीले स्वदेशी उत्पादनको व्यावसायीकरणका लागि मद्दत मिल्ने बताइन् । उद्घाटन समारोहमा गृहमन्त्री बालकृष्ण खाणले नेपालमा औद्योगिक वातावरण निर्माणका लागि सरकार संवेदनशील बन्ने बताइन्। उनले यस्ता प्रदर्शनीले उद्योगीका समस्या उजागर गर्ने काम गरेको जनाउँदै समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।

‘बुटवलमा औद्योगिक प्रदर्शनीको लामो सिलसिला छ । यहाँका उद्योग सङ्घ, व्यापार सङ्घ र वाणिज्य सङ्घको प्रयत्नमा स्थायी संरचना बनेको छ, अब यो छिट्टै निर्माण हुनेछ भन्ने विश्वास छ’, उनले भनिन्। उद्योगी व्यवसायीका समस्या समाधान गर्ने सबैको साझा दायित्व भएको बताउँदै उनले नयाँ सरकारको पहिलो प्राथमिकता आर्थिक गतिशीलता हुने र उद्योग व्यवसायको प्रवर्द्धनमा ध्यान केन्द्रित गर्ने बताइन् । उद्योगी व्यवसायीको संवर्द्धन नै सबै दलको साझा दायित्व भएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ६ : १२ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य