सम्पन्न नहुँदै सुनकोसीको पुल सञ्चालन गर्ने हतारो | Khabarhub Khabarhub

सम्पन्न नहुँदै सुनकोसीको पुल सञ्चालन गर्ने हतारो


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटार पुल निर्माणको काम सम्पन्न नहुँदै सञ्चालनमा ल्याइएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज निर्माणको काम सम्पन्न नहुँदै बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । पूर्णरुपमा पुलको काम नसकिए पनि गाडी वारपार गर्न मिल्ने अवस्था बनेपछि खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम राई, उपाध्यक्ष रुपेश राई लगायतको उपस्थितिमा सञ्चालनमा ल्याइएको हो ।

गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगत फोक्सिङटारमा बनेको १२० मिटर लम्बाई भएको पुलको वेरिङकस, रंगरोगन लगायतका काम बाँकी नै छ । खोटाङको ‘वेटिङ प्रोजेक्ट’का रुपमा रहेको पुल निर्माण सामग्री तथा उपभोग्य सामग्री ढुवानीका लागि बनिनसक्दै सञ्चालनमा ल्याइएको निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीका साईड इन्चार्ज मदन मगरले बताए ।

२०७५ सालमै बनिसक्नु पर्ने पुल ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण चार वर्ष ढिलागरी अन्तिम चरणमा पुगेको हो । फोक्सिङटारमा पुल सञ्चालनमा ल्याइएसँगै खोटाङलाई पुर्वी शहर जोड्ने छोटो दूरीको स्थायी नाका खुलेको छ । पुलका कारण जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्यामा कमी आउने अपेक्षा गरिएको छ । पुल निर्माणको काम अन्तिम चरणमा पुगेपछि जिल्लाका नेताबीचमा ‘जसलिने’ होड नै चलिरहेको छ । गत ४ मंसिरको चुनावमा कतिपयले फोक्सिङटार पुललाई चुनावी एजेण्डा नै बनाएका थिए ।

फोक्सिङटारमा २२ चैत २०७३ भित्र ‘सस्पेन्सन’ ब्रिज बनाउने गरी २३ चैत २०६९ मा सम्झौता गरिएको थियो । तर, २०७३ साल कात्तिकमा डिजाईन परिवर्तन गरेर मुग्लिनकोजस्तो ‘आर्क’ ब्रिज निर्माणको काम अघि बढाइएको थियो । कामै नगरी २२ चैत २०७३ सम्मको म्याद सकिएपछि पुःन २०७५ साल चैत ३० गतेसम्मका लागि सम्झौता अवधि लम्व्याइएको थियो । तर, सो अवधिमा पनि पुलको काम नभएपछि नवौं संशोधन अनुसार पुलको प्रथम म्याद १३ पुस २०७७ सम्म थप भएको थियो । पुःन कोभिड–१९ को महामारीलाई कारण देखाएर दोश्रोपल्ट थप भएको म्याद १२ असार २०७८ मा सकिएपछि पुःन २०७८ चैतसम्मका लागि तेश्रो म्याद थप भएको थियो ।

फोक्सिङटार पुल २२ करोड ६७ लाख ११ हजार (भ्याट र पिएस सहित)मा पूरा गर्नेगरी गौरी पार्वती वाईपी जेभीले ठेक्का लिएको थियो । पुल निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै तत्कालिन प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले गृहमन्त्री समक्ष २०७५ कात्तिक ५ गते ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका थिए ।

ठेक्का लागेको लामो समय बित्दा समेत फोक्सिङटार पुल लगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लाबासीले पटक–पटक बिरोध गर्दैआएका छन् ।

ढिलासुस्तीका बिरुद्ध २०७२ माघ २४ गते सडक बिभागमा धर्ना दिएका जिल्लाबासीले पुःन २०७२ चैत २३ गते घेराउ गरेका थिए । सडक बिभाग घेराउकाक्रममा सांसद, नेता र जिल्लाबासीमाथि प्रहरी हस्तक्षेप भएको थियो । २०७२ चैत २४ गते पुल र सडक चाँडो निर्माणको माग गर्दै कांग्रेस दिक्तेल नगर समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए र सदरमुकाम दिक्तेलमा बिरोध र्‍याली निकालेको थियो ।

हट्यो बेलिब्रिजको सकस

गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने पुल निर्माणमा ढिलासुस्ती हुँदा विगत ६ वर्षदेखि फोक्सिङटारमा बेलिब्रिज राख्ने गरिएको थियो । बेलिब्रिजमार्फत यात्रु तथा मालबाहक सवारी साधन ओहोरदोहोर गर्थे । बेलिब्रिज राख्ने र झिक्नेक्रममा राज्यको करोडौं खर्च भइसकेको छ ।

फोक्सिङटारमा हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी अस्थायी बेलिब्रिज राख्ने गरिएको थियो । फोक्सिङटारको बेलिब्रिज हटाइएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा तथा उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता थियो । तर पुलका कारण फोक्सिङटारमा बेलिब्रिज राख्नुपर्ने वाध्यता हटेको छ ।

खुल्यो पुर्व जोड्ने नाका

फोक्सिङटारमा ‘आर्क’ ब्रिज सञ्चालनमा आएपछि दिक्तेल–गाईघाट सिधा यातायात सेवा सुरु भएको छ । पुल सञ्चालनमा ल्याइएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर, काँकडभिट्टा जाने दोश्रो र छोटो बाटो खुलेको छ ।

पुलका कारण दिक्तेलबाट सिधा गाईघाट पुगेपछि पुर्वी तराईका जिल्ला पुग्न र आउन सकिने वाताबरण बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । पुलका कारण बार्‍हैमास दिक्तेलबाट पुर्वी शहर आउ–जाउ गर्ने छोटो मार्ग खुलेको हो ।

पुल बन्यो, सडकको बेहाल

गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत सुनकोसीमा बनिनसक्दै पक्की पुल सञ्चालनमा ल्याइएको छ । तर सो पुलसँग जोडिएको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काम भने अत्यान्तै सुस्त छ । महुरे–सिमपानी (राजापानी) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सनरसिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवनरमैनाचुलीरखाम्पाचे जेभीको जिम्मामा छ ।

पुल उद्घाटनमा हतारो भइरहँदा सोही पुलसँग जोडिएका सडक कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका विषयमा भने एकादुईको मात्र ध्यान गएको देखिन्छ । कालोपत्रेको काम नहुने हो भने वर्षामा सडक हिलाम्मे हुने र पुल उपयोग नहुने चिन्ता उत्तिकै छ ।

-दमन राई/न्युज कारखाना

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ८ : २५ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार