कलकत्ते काईंयो र टेबलमा ऐना छ, तर जयनन्द छैनन् | Khabarhub Khabarhub

कलकत्ते काईंयो र टेबलमा ऐना छ, तर जयनन्द छैनन्



काठमाडौं–रत्नराज्य कलेजमा पंक्तिकार पत्रकारिता पढदै गर्दा छेउमै रहेको ललितकला क्याम्पसमा पढने मित्रहरु डेस्क ठटाउँदै एउटा गीत खुबै गाउँथे,

‘कलकत्ते काईंयो केस मेरो बांगो, टेबलमा ऐना छ,
पीरती मैले नलाको हैन तकदिरमै रैनछ’

प्रेम वियोग भोगेका ठिटा ठिटीलाई यो गीतको ‘तकदीरमै रैनछ’ शब्दले बढी प्रभाव पार्ने गथ्र्यो । तामाङ सेलो लयमा गाइएको यो गीत हिजोआज पनि पिकनिक, जमघटदेखि सांगीतिक रियालीटी शोमा समेत गुञ्जिरहेकै छ ।

कलकत्ते काईंयो पनि छ, टेबलमा ऐना पनि छ । तर, अब रहेनन्, यो गीत गाउने लोक गायक जयनन्द लामा । अब रहेनन् ति रसीक अनि हास्यरसले भरिएका चरित्र अभिनेता, जो हरेक साता टिभीमा दर्शकलाई ‘हल्का रमाइलो’ गराइरहेका थिए । गायन, अभिनय, लेखन, संगीत सिर्जनादेखि चलचित्र निर्माता र निर्देशनमा रमाइरहेका कलाकार जयनन्द लामा अब हामीमाझ रहेनन् ।
०००
२०५६ सालताका रेडियो नेपालबाट विहान ७ बजेको समाचारलगत्तै प्रशारण हुने ‘परिवेश’ कार्यक्रमको सह–सञ्चालक हुँदा पंक्तिकारले पहिलोपटक लोक गायक एवं अभिनेता जयनन्द लामासँग भेटने मौका पाएको थियो । हँसी मजाक गरिरहने र हार्दिक व्यवहार देखाउने जयनन्दजीले सोही भेटमा आफ्ना लोकगीतहरुको संग्रह ‘जयनन्द लामाका लोकगीतहरु’को अडियो क्यासेट दिएका थिए ।

तर, त्यतिबेलासम्म पनि पंक्तिकारलाई थाहा थिएन, ‘कलकत्ते काईंयो’का गायक जयनन्द नै हुन् । रेडियोमै कार्यरत रहँदा एक दिन ‘कलकत्ते काईंयो’ बज्यो । उदघोषकबाट सुनियो, ‘यो थियो जयनन्द लामा र साथीहरुको स्वरमा मिठो लोकगीत’ ।

अनि अनायासै सम्झना भो, २०५४ सालतिर ‘कान्तिपुर दैनिक’मा काम गर्दाको एउटा प्रसंग । कान्तिपुरका रिपोर्टिङ सेक्सनका पंक्तिकारका सहकर्मीहरु नारायण वाग्ले, गुणराज लुईंटेल कृष्णमुरारी भण्डारी, रवी श्रेष्ठ, राजेन्द्र सुनुवार, गिरिश गिरी, कार्टुनिस्ट राजुबाबु शाक्य ‘शारव’ र बालचन्द्र मिश्रका साथ एक साँझ नगरकोट गइयो ।

रात्री रमझमका क्रममा कसैले नारायण गोपालका गीत गाए, कसैले किशोर कुमारका । नारायण वाग्लेले हिमालतिर घुम्न जाँदा संकलन गरेको ‘भेंडाको उनजस्तो’ सुनाए । मात चढ्दै गयो । अब केटाहरुलाई गम्भीर प्रकृतिका गीतहरुले छुन छाड्यो । अनि एक्कासी गिरीश गिरीले भने, ‘धेरै भो, स्याड गीत, अब म गाउँछु ।’

अनि उनी गाउन थाले, ‘कलकत्ते काईंयो, केस मेरो बांगो ।’

यो गीत गाउँदा जब ‘तकदीरमा रैनछ’ शब्द आउँथ्यो, एकखालको फोर्सका साथ गिरिशले गाएका थिए । अनि त केटाहरु नाच्न थाले । पंक्तिकारलाई सम्झना छ, रातको मध्य प्रहरसम्म ‘कलकत्ते काईंयो’ नै बारम्बार रिपिट गर्दै गाउने र नाच्ने काम भयो ।

यो सबै जयनन्द लामाको स्वर र लयको कमाल थियो । आखिर मौलिक रैथाने भाका कसलाई मन नपर्ला र ? तर, गाउँदै, नाच्दै र झुम्दै गर्दासमेत यो गीत जयनन्दले नै गाएका हुन् भन्ने पंक्तिकारलाई थाहा थिएन । यो नै गायकको महानता हो । असली सर्जक ओझेलमा पर्छ, उसको सिर्जना चाहिँ प्रकाशित हुन्छ । सिर्जनाको नियम नै यही हो । ईश्वर पनि ओझेलमा छन्, तर उनको सिर्जना जाज्वल्यमान छ ।

एकाध गीत हिट हुनासाथ भाइरल हुने र लाइमलाइटमा आउने अन्य कलाकारको दाँजोमा जयनन्द लामा सदा लो प्रोफाइलमै रहे, तर लोक संगीत र कलाकारितामा उनको योगदानसँग कसैको तुलना हुन सक्दैन । तामाङ समुदायको लोक संस्कृति मात्र हैन, नेपाली लोक संस्कृतिको उत्थानमा उनले पछिको पुस्तासम्मका लागि उपयोगी देन छाडेका छन् ।

स्कुलेवयमै भए गायक
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले गाउँमा विभिन्न जातिले गाउने भाका सुन्दै आए । साकेला, रोदी, हाक्पारे, तामाङ सेलो आदि भाका उनले सानैदेखि टिप्दै आए । जात्रा पर्वमा झुण्ड झुण्ड उभिएर गाइने गीत पनि मनमा घोल्दै गए ।

उनी लोकसंगीतमा भिज्दै जानुको एउटा किस्सा रोचक छ । उनी त्यसबेला बाह«बिसेमा कक्षा पाँचमा पढ्थे । २०२६ सालमा राजा महेन्द्रको जन्मोत्सवमा काठमाडौंमा लोकगीत सम्मेलन हुने भयो । लोकसंगीत क्षेत्रमा लागेका कलाकार र अनुसन्धानकर्ता देशभरी डुलेर नौला भाका संकलन गर्थे ।

सोही सिलसिलामा संगीतकार भैरवबहादुर थापाको नेतृत्वको टोली लोकभाका खोज्न बाह«बिसे आउने भयो । यो खबर जयनन्द लामाको कानमा पनि प¥यो । उनी बसपार्क पुगे । संगीतकार थापाको भारी बोकेर लामा पनि गाउँ–गाउँ पुगे । लोकभाका खोज्दै, गाउँदै, नाच्दै हिँड्ने क्रममा लामामा लोकसंगीतको गहिरो चस्का पस्यो ।

संगीतकार थापाले लामाको स्वरमा एकखालको मौलिकपन पाएका रहेछन् । काठमाडौं फर्केपछि थापाले पत्रमार्फत लामालाई काठमाडौं डाके । काठमाडौंमा आयोजित कार्यक्रममा गीत गाएर उनले सान्त्वना पुरस्कार स्वरुप एक हजार रुपैयाँ पाए । त्यति मात्र हैन, रेडियो नेपालमा चार वटा गीत रेकर्ड गर्ने अवसर पनि पाए । उनले पहिलो पटक रेकर्ड गरेका ती चार वटा गीत थिए, ‘पानी परो बलेसी हेरन बैनै झलल’, ‘रोको मनलाई बुझाउने को छ र ?’, ‘पहिलो चरण कुन गीत गाउने’ र ‘सरस्वती मुखैमा नआउने’ ।

कलिलै उमेरमा लोक गीतले सबैलाई झुमाएका लामाले त्यसबेला राजा महेन्द्र र राजा वीरेन्द्रलाई समेत प्रभावित तुल्याए । अनि त दरबारले पनि उनलाई अघि बढाउन कुनै कसर बाँकी राखेन । दरबारमै बसेर पढे, फाइन आर्टमा स्नातक गरे ।

काठमाडौंको सांगीतिक माहौलमै उनी रमाउन थाले । पञ्चायती व्यवस्थाको जगजगी । तैपनि गीत संगीत क्षेत्र भने रमाइलै थियो । लामाले गाउँ पञ्चायतदेखि पाँचै विकास क्षेत्रसम्मका कार्यक्रममा सहभागिता जनाउन थाले । तिनताका राजारानीको जन्मोत्सव र फागुन ७ को प्रजातन्त्र दिवसमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा लामाको प्रस्तुती छुट्दैनथ्यो ।

ख्याती कमाउँदै गएपछि उनले प्रज्ञा प्रतिष्ठानमा जागीर खान थाले । लोकसंगीतको अध्ययन, अनुसन्धानमा जुटे । नेपालका कुना कन्दरामा पुगेर लोकगीतका नौला नौला भाका संकलन गरे । प्रज्ञा प्रतिष्ठानमा रहँदा उनले लोकगीतको अनुसन्धानमा उल्लेखनीय काम गरेका छन् ।

लोकसंगीतको अध्ययन अनुसन्धानमा उनको लगाव देखेर प्रज्ञा प्रतिष्ठानले भारतको इलाहाबाद संगीत विद्यालयमा पढन पठायो, जहाँबाट मास्टर डिग्री गरेर फर्केदेखि उनले लोकसंगीतमै आफुलाई समर्पित गरे ।

‘कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ’ बोलको गीतले लामालाई बालकदेखि वृद्धसम्म लोकप्रिय बनायो । ‘चट्ट परेको चुल्ठी’, ‘हेर्दैमा राम्रो’, ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘नाच्यो झिल्के नाच्यो’, ‘मूलाको चाना’ र ‘सलल पानी’जस्ता गीतहरु लामाले नेपाली लोकसंगीतमा छाडेका अनुपम सम्पदा हुन् ।

पहिलो एलबमबाटै हिट
जयनन्द लामा नै यस्ता कलाकार हुन्, जसले हिन्दी गीतको बोलबाला भएको बेला नेपाली लोकगीतको क्यासेट निकालेर पनि बाँच्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरे । उनले पहिलो पटक ‘जयनन्द लामाका गीतहरु–भाग १’ निकाले । सुरु सुरुमा नेपाली क्यासेट बेच्न पसलेहरुले आनाकानी गरेका थिए । तर, विस्तारै उनको मौलिक स्वरले श्रोतालाई लठ्याउँदै गयो । पहिलो अडियो क्यासेटबाटै उनले सोचेभन्दा बढी नाम र दाम कमाए ।

अनि त म्युजिक नेपालले उनलाई बोलाइहाल्यो, भाग दुइ क्यासेट निकाल्न । उनको रोयल्टी पनि बढेर प्रति क्यासेट एक रुपैयाँ भयो । तिनताक अहिलेजस्तो सिडीको जमाना थिएन । एफएम प्रशारण पनि थिएनन् । श्रोताले क्यासेट चक्का किनेरै गीत सुन्थे र लोकप्रिय कलाकारका क्यासेटको निकै विक्री हुन्थ्यो । जयनन्द लामाका क्यासेट पनि खुबै विक्री भए ।

२०३० सालमा ‘मनको बाँध’ चलचित्रमार्फत अभिनयमा होमिएका लामाले चरित्र अभिनेताका रुपमा एक सय बढी चलचित्रमा अभिनय गरेका छन् । दर्जनौं टेलिश्रृंखलामा उनको अभिनय छ । लामाले नै तामाङ भाषाको पहिलो चलचित्र ‘छोरङन’को निर्माण र निर्देशन गरेका थिए ।

अमेरिकाको किस्सा
यो २०४६ सालको प्रसंग हो । उनी रेडियो नेपालमा शाखा अधिकृत तहको जागिरे भइसकेका थिए । जनआन्दोलनका बेला उनीमाथि कसैले ‘मण्डले’को आरोप लगाए । उनको चित्त कुँढियो । अनि उनी तीन महिनाको भ्रमणका लागि अमेरिकातिर लागे ।

नेपालमा बहुदल आइसकेको थियो । मण्डलेको आरोप पनि लागिरहेकै थियो । उनलाई लाग्यो, अब अमेरिकातिरै बस्नुपर्ला । अनि उनले ग्रीन कार्डको आवेदन दिए । प्रख्यात कलाकार, उनलाई ग्रिन कार्डका लागि अन्तर्वार्ता लिन डाकियो ।

अमेरीकी ग्रिन कार्ड लिनेले नेपाली नागरिकता त्याग्नुपर्ने प्रावधान । उनले प्याच्चै भनिदिएछन्, ‘नेपाली नागरिकता नत्यागी ग्रिन कार्ड दिने भए लिन्छु, नत्र लिन्न ।’

उनलाई सात दिनभित्र नेपाल छाड्न भनिएछ । अनि उनी अमेरिकामा सेटल हुने सपना त्याग्दै नेपाल फर्किए । किनकी, नेपालमा उनले अझै धेरै गीत गाउनु थियो र चलचित्रमा अभिनय गर्नु थियो । आजीवन उनी संगीत र अभिनयमै समर्पित भए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १ : ३२ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको