इलामको माङसेबुङमा आज च्याब्रुङ महोत्सव « Khabarhub

इलामको माङसेबुङमा आज च्याब्रुङ महोत्सव


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज च्याब्रुङ महोत्सव (केःलाङ प्रदर्शन) हुँदैछ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ–१ स्थित गजुरमुखी धाममा एकदिने महोत्वस आयोजना गर्न लागिएको  हो ।

महोत्सवमा सांस्कृतिक झाँकीसहित आदिवासी लिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गर्ने, धाननाच (याःलाङ), पालाम, हाक्पारेलगायतको प्रस्तुतिसहित र सांस्कृतिक पोसाकहरुको प्रदर्शनी रहने किरात याक्थुङ चुम्लुङ माङसबुङ अध्यक्ष मनरस लिम्बूले जानकारी दिए । महोत्सवमा ५०० बढी च्याब्रुङ एकसाथ प्रदर्शन गरिने उनको भनाइ छ ।

‘केलाङ केवल नाच वा बाजा मात्र होइन, यो लिम्बू समुदायको इतिहास, सभ्यता र सांस्कृतिक पहिचानसँग जोडिएको अमूल्य सम्पदा हो’, अध्यक्ष लिम्बूले भने, ‘युवापुस्तालाई मौलिक संस्कृतिसँग जोड्दै यसको संरक्षण र पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता रहेकाले हामीले महोत्सव आयोजना गर्न लागेका हौँ ।’
‘महोत्सवमा च्याब्रुङ नाच (केःलाङ), धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायत सांस्कृतिक कला प्रस्तुति र लिम्बू पोसाक प्रदर्शनी गरिनेछ । ‘कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्न ५०० बढी च्याब्रुङ नृत्य (केःलाङ) सहितको सांस्कृतिक कलाहरु रहनेछन्’, अध्यक्ष लिम्बूले भने । उनका अनुसार तागा (पुरुषले लगाउने सांस्कृतिक पोशाक) र मेख्ली (महिलाले लागाउने सांस्कृतिक पोशाक) पनि प्रदर्शन गरिनेछ ।

धार्मिकस्थल गजुरमुखी धाम परिसरमा हुने महोत्सवमा इलामको १० वटा स्थानीय तहसहित झापा र पाँचथरका किरात याक्थुङ चुम्लुङको सहभागिता रहनेछ । नयाँ र पुराना पुस्ता मिलेर पुर्ख्यौली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सचिव असिम योङहाङले बताए ।

महोत्सव आयोजना गर्न माङसेबुङ गाउँपालिकाले सात लाख सहयोग उपलब्ध गराएको छ । स्थानीय जातजातिको कला, संस्कृति र पहिचानको संरक्षणमा माङसेबुङ गाउँपालिकाको प्राथमिकता रहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।

च्याब्रङ नाच (केःलाङ) को आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकार मोहनसिंह थेवे बताउँछन् । च्याब्रङ नाच (केःलाङ) विभिन्न जनावर र पशुपक्षीको अभिनय गर्दै समेत नाच्ने गरिन्छ । च्याब्रङ नाच (केःलाङ) मा परिवेशअनुसार च्याब्रुङको ताल पनि फरक हुन्छ । लिम्बू जातिले शताब्दीऔँ अघिदेखि नाच्दै आएको च्याब्रङ नाच (केःलाङ) लाई व्यवस्थित गर्न किरात याक्थुङ चुम्लुङसहित लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय सङ्घसंस्थाहरूले प्रयास गर्दै आएका छन् । यद्यपि, राज्यले लगानी र संरक्षणका लागि चासो र तदारुकता नदेखाएको उनीहरुको गुनासो छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्या तीन लाख ५९ हजार ३७९ रहेकामा इलाममा मात्र ४५ हजार सात रहेको छ ।



प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ८ : ३९ बजे

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय