महाठग भिक्टर, जसले कवाडीको मोलमा आइफल टावर बेचे | Khabarhub Khabarhub

महाठग भिक्टर, जसले कवाडीको मोलमा आइफल टावर बेचे



काठमाडौँ – बुद्धि भएर पनि यदि त्यो सही ठाउँमा प्रयोग भएन भने त्यसले विनाश निम्त्याउँछ । विश्वमा यस्ता बुद्धिमान र चलाख मानिसको पनि जन्म भयो, जसको बुद्धि गलत दिशामा गयो । विश्वका चर्चित पाँच ठगहरू यस्ता छन्, जसको बुद्धि देखेर मानिस चकित त भए, तर हर्कत देखेर निराश । ती पाँच ठगहरूमध्ये कसैले राष्ट्रपति भवन त कसैले आइफल टावर नै बेचेर करोडौँ ठगे ।

चार्ल्स सोभराज, मिस्टर नटवरलाल, ठग बहराम, जर्ज सी पार्कर र भिक्टर लस्टिग यस्ता ठग हुन्, जसको ठगीका किस्सा सुन्दा मानिसलाई पत्याउनै हम्मे–हम्मे पर्छ । यी पाँच ठगमध्ये पनि महाठग हुन्, भिक्टर लस्टिग । भिक्टर लस्टिगले ठगीका सारा रेकर्ड तोडे । उनले आइफल टावर एक पटक हैन, दुई पटक बेचिदिए ।

चुनावी माहौलमा राजनीतिक समाचार र नेताका भाषण सुन्दा र पढ्दा बोर लागेको भए आउनुस्, केही बेर असली ठग भिक्टर लस्टिगकै किस्सा सुनौँ ।

अमेरिकन प्रहरीको हालसम्मको दाबी अनुसार भिक्टरको जन्म सन् १८९० मा अस्ट्रियाको हंगेरीस्थित होस्टिनमा भएको थियो । अहिले यो चेक गणराज्यका रूपमा विद्यमान छ । मध्यमबर्गीय परिवारका भिक्टरले स्कुल पढ्दादेखि नै विभिन्न भाषा सिक्न थालेका थिए । तन्नेरी हुँदासम्म उनलाई पाँच वटा भाषाको ज्ञान भइसकेको थियो ।

भिक्टरले आफ्नो पहिचान लुकाउन कयौंपटक नाम परिवर्तन गरे । उनका कूल ४७ नाम थिए । चार्ल्स ग्रोमर, एलबर्ट फिलिप्स, रोबर्ट जर्ज बेग्नस आदि । कसैले पनि दाबीका साथ भन्न सक्दैनथ्यो कि ४७ नाममध्ये उनको असली नाम कुन हो । आइफल टावर बेच्दासम्म उनको असली नाम कसैलाई थाहा थिएन । आइफिल टावर बेच्दा चाहिँ भिक्टर लस्टिग नाम चर्चामा आयो ।

भिक्टरको असली नाम, माता, पिता र परिवारबारे लामो समयसम्म कसैलाइ केही थाहा भएन । भिक्टर अन्य मानिसहरूसँग आफ्नो परिवारका बारेमा पनि कहिल्यै सही विवरण दिँदैनथे । कसैसँग आफ्ना पिताजी ठूलो सहरमा मेयर भएको बताउँथे भने कसैलाई भन्थे, ‘मेरा पिताजी ठूला व्यापारी हुन् ।’

अमेरिकाको अनुसन्धान एजेन्सी ‘फेडरल ब्युरो अफ इन्भेस्टीगेशन (एफबीआइ)ले पछि मात्र पत्ता लगायो, उनका माता–पिता सामान्य किसान रहेछन् । एफबीआइको फाइलमा चाहिँ यो ठगको नाम भिक्टर लस्टिग नै रह्यो ।

भिक्टरसँग करिब एक दर्जन जारी पासपोर्ट थिए । उनी भेष बदल्न पोख्त थिए । भाषाको ज्ञानले उनलाई आफ्ना पहिचान लुकाउन सहयोग गरेको थियो । भाषा, पहिचान र परिवारका बारेमा झुट बोल्दै हरेक दिन उनी नयाँ नयाँ ठगी काण्ड रचाउन अग्रसर हुन्थे ।

नोट छाप्ने मेशिन

स–साना चोरी र ठगी त भिक्टरले निकै गरिसकेका थिए । आफ्नो ठग जीवनमा पहिलो पटक उनले ठूलै रकम ठगे, जब नोट छाप्ने नक्कली मेसिन बेचे । त्यस बेला उनी अमेरिका थिए । उनको साथमा काठले बनेको एउटा सानो बक्सा थियो । त्यसभित्र धातुका तारहरूले बनेको एक मेसिन थियो, जसमा रेडियम लगाइएको थियो । उनले हल्ला चलाए कि त्यो बक्सामा खाली कागज हाल्यो भने सय डलरको नोट छापिएर निस्कन्छ ।

भिक्टरले ‘मनि बक्स’ भन्दै त्यसको डेमो पनि देखाउन थाले । मानिसहरूको भीडमा उनी सबैले देख्ने गरी सय डलरको नोटको आकारकै खाली कागज हाल्थे, कसो कसो गरेर केही घण्टापछि त्यहाँबाट सय डलरको नोट निस्कन्थ्यो । भिक्टर भन्थे, ‘मेसिनमा एक पटक सय डलर निस्केपछि अर्को पटक डलर बन्न ६ घण्टा लाग्छ ।’

एक पटक भिक्टर पानी जहाजमा यात्रा गरिरहेका थिए । उनले जहाजका अन्य यात्रुसँग आफू ठूलै धनी मानिस भएको परिचय दिए । व्यापार, अर्थतन्त्र र अन्य विषयमा विज्ञले झैँ गफ पनि दिए । यस्तैमा कुरैकुरामा उनले आफूसँग नोट छाप्ने मेसिन भएको दाबी गरे ।

भिक्टरको चलाखी के थियो भने उनले पहिल्यै सय डलरका केही नोटहरू त्यो बक्साभित्र राखेका हुन्थे । जहाजका अन्य यात्रुलाई पनि उनले डेमो देखाए । सेतो खाली कागज राखेर केही बेरमै सय डलर निकालिदिए, जुन उनले पहिल्यै त्यो बाकसमा राखेका थिए । हेर्नेहरू त छक्कै परे । किनकि, उनीहरूको आँखै अगाडि खाली कागज राखेर भिक्टरले बकाइदा नोट निकालिदिएका थिए ।

जहाजका यात्रुहरूलाई लाग्यो, मेशिन त काइदाको रहेछ । सात दिनको जहाज यात्राका क्रममा हरेक दिन भिक्टरले नोट निकाल्ने चमत्कार देखाए । जब जहाज गन्तव्य नजिक टापुनेर आइपुग्यो, भाग्न समय पाइने भएकाले उनले आफूसँग यस्तो ‘मनि बक्स’ अरु पनि भएकाले इच्छुकहरूले खरिद गर्न सक्ने सूचना दिए ।

नोट छाप्ने चामत्कारिक बक्सा कसले नकिन्ला ? यात्रुबीच लिलाम बढाबढ हुन थाल्यो । अन्ततः पहिलो पटक भिक्टरले १० हजार डलरमा त्यो काठको फाल्तु डब्बा बेचेर एक व्यापारीलाई बेवकुफ बनाए । जहाज किनारमा रोकिइसकेको थियो, बक्साको पोल खुल्नुअघि नै भिक्टर त्यहाँबाट अलप भइहाले । यसरी जहाजका यात्रुलाई बारम्बार बेवकुफ बनाएर उनले नोट छाप्ने मेसिन भन्दै एक डलर पनि मूल्य नपर्ने काठको सामान्य बाकस तीस हजार डलरसम्ममा बेचे ।

यसरी बेचे, आइफल टावर

सन् १९२५ मा भिक्टर युरोप आए । उनलाई क्यानडा र अमेरिकाका प्रहरीले खोजिरहेका थिए । अतः उनी पेरिसमै बस्न थाले । भर्खर पहिलो विश्वयुद्ध समाप्त भएको थियो र पेरिसमा पुन निर्माणको काम चलिरहेको थियो । निर्माणका खबरहरू विभिन्न पत्रिकामा छापिएका हुन्थे ।

एक दिन भिक्टर पेरिसको एउटा सामान्य होटेलमा बसिरहेका थिए । बिहानीपख पत्रिका पढ्दै गर्दा भिक्टरको ध्यान एउटा सामाग्रीले तान्यो, जसमा आइफल टावरमा खिया लागेको र कुनै पनि बेला ढल्न सक्ने भएकाले त्यसको मरम्मत हुने सन्दर्भ थियो । फ्रान्स सरकारले आइफल टावरको मरम्मतका लागि धेरै रकम खर्चिँदै थियो, तर कतिपय मानिस चाहिँ एउटा फलामे संरचनाका लागि जनताको करको पैसा खर्चिनुभन्दा आइफल टावर नै भत्काउनु उत्तम पनि भनिरहेका थिए, जुन धारणा पनि पत्रिकामै प्रकाशित थियो ।

आइफल टावरका बारेमा पत्रिकामा पढिसकेपछि भिक्टरको दिमागमा एउटा चतुर आइडिया आयो । उनले आइफल टावर बेच्ने योजना बनाए । यसका लागि सबैभन्दा पहिला उनले आफू बसिरहेको सस्तो होटेल छाडेर पेरिसकै उस बेलाको सबैभन्दा महँगो होटेल ‘द क्रोनिकल’ मा रुम बुक गरे । एउटा महँगो गाडी भाडामा लिए ।

अब भिक्टरको खोजी सुरु भयो, पेरिसका त्यस्ता सबैभन्दा धनी मानिसको, जो कवाडी सामान खरिद गर्थे । उनले कवाडीको काम गर्ने धनीहरूको सूची बनाए । उनले आफूलाई हुलाक तथा टेलिग्राफ मन्त्रालयको उप महानिर्देशकको पहिचानमा ढाले । छापाखानाबाट फर्जी कागजात तयार गरे, जसमा आइफल टावरसँग सम्बन्धित सूचना समावेश गरे ।

अब उनले हुलाक तथा टेलिग्राफ मन्त्रालयको उप महानिर्देशकका रूपमा केही सीमित कवाडी व्यापारीसम्म खबर पुर्‍याए , ‘आइफिल टावरको मर्मत गर्न नसकिने भएकाले सरकार अब आइफिल टावर बेच्दै छ । यो गोप्य योजना भएकाले सरकारले यसको धेरै प्रचार नगरेको हो ।’

केही दिनपछि भिक्टरले इच्छुक व्यापारीहरूलाई आफू बसेको होटेलमा बैठकका लागि बोलाए । ६ जना व्यापारी उनको जालमा फसेँ र होटेलमा पुगे । उनीहरू सामु मन्त्रालयको उप महानिर्देशकका रूपमा प्रस्तुत भएका भिक्टरले भने, ‘आइफल टावरको मर्मत निकै खर्चालु भयो । जनता पनि यसलाई भत्काउन चाहन्छन् । अब यो मर्मत गरेर पनि फाइदा छैन, यसको इन्जिनियरिङ नै गलत छ । त्यसैले सरकार टावर भत्काउन चाहन्छ । त्यसबाट सात हजार टन फलाम निस्कन्छ । तपाईँहरूमध्ये जसले धेरै बोली लगाउँछ, उसैलाई आइफल टावरको फलाम सरकारले बिक्री गर्नेछ ।’

भिक्टरले एउटा लिमोजिन गाडी भाडामा लिएका थिए । सोही गाडीमा राखेर सबै व्यापारीलाई निरीक्षण गर्ने बहानामा आइफल टावरमा पनि लगे । उनले कहाँबाट टावर भत्काउने र कसरी फलाम सङ्कलन गर्ने आदिबारे सरकारको योजना भन्दै नाना भाँती कुरा सुनाए । व्यापारीहरूले पनि सहजै पत्याए, किनकि भिक्टरको तौरतरिका नै विश्वस्त पार्ने खालको थियो ।

आइफिल टावरको निरीक्षण गरेर सबै होटेलमा फर्किए । हरेक व्यापारीले गोप्य रूपमा भिक्टरलाई टेन्डर बुझाए । यसैबीच भिक्टरले ती ६ जना कवाडी व्यापारीमध्ये सहजै फस्नसक्ने एक पात्रको लेखाजोखा गरिसकेका थिए । तीमध्ये एन्ड्री पोयजन नाम गरेका व्यापारी थिए, जो भर्खरै मात्र पेरिसमा आएर व्यवसाय गर्न थालेका थिए । भिक्टरले एन्ड्रीलाई नै ठगी जालमा पार्ने सोच बनाए । अरु व्यापारी गए पनि एन्ड्रीलाई उनले होटेलमै रोके ।

भिक्टरसँग एक्लै भेट्न पाएको अवसरमा एन्ड्रीले आइफिल टावरको कवाडी ठेक्का आफ्नो नाममा पारिदिन आग्रह गरे । भिक्टरले भने, ‘म त सामान्य सरकारी कर्मचारी हुँ । यदि तपाईं मलाई केही आर्थिक सहयोग गर्नुहुन्छ भने म यो ठेक्का तपाईंलाई दिलाउन सहयोग गर्नेछु ।’

एन्ड्रीले भिक्टरलाई त्यो बेला घुसका रूपमा २० हजार डलर दिए । त्यसपछि एन्ड्रीले सोधे, ‘तपाईं मलाई अन्य व्यापारीहरूले न्यूनतम र अधिकतम रकम कति तय गरेका छन्, त्यसको जानकारी दिनुस्, ताकि म अधिकतम रकम राखेर ठेक्का हात पार्नसकुँ । त्यसबापत म तपाईंलाई थप ५० हजार डलर दिनेछु ।’

भिक्टरले एन्ड्रीसँग त्यो साँझको डिलमा कूल ७० हजार डलर घुसबापत लिए । एन्ड्री पनि आइफिल टावरको कवाडी ठेक्का पक्का भएको ठानी होटेलबाट बिदा भइहाले । त्यसको पाँच घण्टाभित्रै भिक्टर पनि होटेलबाट चेक आउट गरेर अस्ट्रिया भागे । ठगी खतम, पैसा हजम ।

अस्ट्रिया पुगेपछि उनी भोलिपल्टको पत्रिका पढ्न आतुर थिए । किनकि, आइफिल टावर भत्काएर त्यसको कवाडी बेच्ने नक्कली ठेक्का दिलाउने नाममा ७० हजार डलर कमीसन खाइसकेका थिए । त्यो ठूलै ठगी थियो, जसकाबारेमा पत्रिकामा खबर त पक्कै आउला भन्ने उनको अपेक्षा थियो । तर, फ्रान्सका कुनै पनि पत्रिकामा चार पाँच दिनसम्म यसबारेमा कुनै समाचार प्रकाशित भएन ।

भिक्टरलाई लाग्यो, सायद आफू ठगिएको खबर सार्वजनिक गर्दा आफ्नै बदनामी हुने डरले एन्ड्रीले यसलाई गोप्य राखे । हुन पनि एन्ड्रीले कालान्तरमा बयानका क्रममा भनेका थिए, ‘आइफिल टावर भत्काउने र त्यसको कवाडी बेच्ने सरकारको योजनाजस्तो हावादारी कुरा मैले कसरी सहजै पत्याएँ र त्यो ठगलाई सत्तरी हजार डलर दिएँ भनेर आफैलाई लाज लाग्यो, त्यसैले मैंले आफूमाथिको ठगीबारे प्रहरीमा रिपोर्ट गरिन ।’

एक सातासम्म पत्रिकामा कुनै खबर प्रकाशित नभएपछि भिक्टरमा पुनः सोही शैलीको ठगी दोहो¥याउने सोच पलायो र उनी पेरिस फर्किए । पहिला बसेको भन्दा फरक होटेलमा बसे र नयाँ ‘शिकार’ खोज्न थाले । केही कवाडी व्यापारीलाई होटेलमा बैठकका लागि बोलाए । र, एन्ड्रीसँग जस्तै अर्का एक जना व्यापारीलाई एक्लै भेटेर ठेक्का दिलाइदिने भन्दै निश्चित रकम एडभान्स पनि लिए । अर्थात् दोस्रो पटक पनि आइफल टावरको सौदाबाजी भयो ।

दोस्रो पटक चाहिँ भिक्टरको चलाखी काम लाग्दैन । एक जना व्यापारीलाई उनीमाथि एकाएक शङ्का हुन्छ । ती व्यापारी सोझै प्रहरी कार्यालय जान्छन् र आइफल टावरको लिलामी हुँदै गरेको खबर प्रहरीलाई दिन्छन् । तर, प्रहरी पुग्नुअघि नै भिक्टर होटेलबाट भागिसकेका हुन्छन् ।

नक्कली नोटको कारोबार

दोस्रो पटक आइफल टावरका नाममा ठगेर भिक्टर पेरिसबाट सोझै अमेरिका पुगे । त्यहाँ पुगेर उनले आफ्नो पुरानै नोट छाप्ने मेसिनको धन्दा सुरु गरे । पहिलेदेखि नै उनलाई अमेरिकी प्रहरीले खोजिरहेको थियो । पेरिसको ठगीको खबर पनि फैलिइसकेको थियो ।

यसबीचमा भिक्टरले टेक्सासको एक प्रहरी अधिकारीलाई नै नोट बनाउने बाकस बेचेर १ लाख २३ हजार अमेरिकी डलर असुलिसकेका थिए। यसैगरी सिकागोका एक व्यापारीलाई पनि त्यो बेकारको बाकस महँगै दाममा बेचेर ठगेका थिए ।

बिस्तारै भिक्टरको मनमा एउटा भयले डेरा जमाउन थाल्छ । आफूले नोट छाप्ने भन्दै जसजसलाई ती बाकस बेचेका थिए, असलीको पोल खुलेपछि उनीहरूले मार्न सक्ने भयले सताउन थाल्यो । अमेरिकामा बसिरहे कुनै पनि बेला प्रहरीको फन्दामा पर्न सकिने खतरा पनि उनले महसुस गरे । अब उनी यस्तो सेल्टरको खोजी गर्न थाले, जहाँ उनी सुरक्षित रहन सकुन् ।

अमेरिकाको सिकागोमा उतिबेलाका कुख्यात ग्याङस्टर थिए, अल्कापोने । अमेरिकामा अल्कापोनेको दबदबा थियो । एक दिन भिक्टर खोज्दै खोज्दै अल्कापोने कहाँ पुग्छन् । उनले ती डनलाई भन्छन्, ‘मलाई पचास हजार डलर चाहिएको छ । म वित्तीय कारोबारमार्फत दुई महिनामा यसलाई डबल बनाइदिन सक्छु । तपाईंको पैसा फिर्ता गर्नेछु र नाफा पनि बाँडेर लिउँला ।’

अल्कापोनेलाई सिकागोमा ठग्ने हिम्मत त्यो बेला कसैसँग थिएन । अल्कापोनेले भिक्टरमाथि विश्वास गरे र ५० हजार डलर झिकेर दिए ।

भिक्टर आफ्नो कोठामा फर्कन्छन् र अल्कापोनेले दिएको ५० हजार डलर एउटा बाकसमा राख्छन् । दुई महिनासम्म उनले बाकसमा राखेको पैसा तर्फ हेर्दा पनि हेर्दैनन् । दुई महिनापछि त्यो पैसा निकाले भिक्टर पुनः अल्कापोनेकहाँ जान्छन् र भन्छन्, ‘तपाईंसँग लिएको यो ५० हजार डलर फिर्ता गर्न आएको छु । जुन वित्तीय कारोबारमा पैसा लगाएको थिएँ, त्यो डुब्यो, त्यसैले तपाईंलाई नाफा दिन चाहिँ असमर्थ छु, तर जोडजाड गरेर तपाईंको पैसा चाहिँ फिर्ता ल्याएको छु ।’

भिक्टरको इमानदारीबाट डन अल्कापोने निकै प्रशन्न हुन्छन् । भिक्टरलाई पाँच हजार डलर पुरस्कार स्वरुप दिन्छन् र भन्छन्, ‘आजदेखि तिमी मेरो दोस्त भयौ, कुनै सहयोग चाहिए भन्नु ।’ भिक्टरले अल्कापोनेबाट यही अपेक्षा गरेका थिए । आफूमाथि डनको आशीर्वाद भएको खण्डमा प्रहरी र स्थानीय गुन्डाहरूले धम्काउन सक्दैनन् भन्ने उनको चाहना थियो । अन्ततः अल्कापोनेको अखाडा भिक्टरका लागि सुरक्षित सेल्टर बन्न पुग्यो ।

अब चाहिँ भिक्टरले नोट छाप्ने नक्कली मेसिन बेच्नुको साटो नक्कली नोट नै छाप्ने धन्दामा लाग्ने सोच बनाए । सन् १९३० मा उनको भेट फुलटर्नको नेब्रास्का शहरका एक फार्मासिस्ट बिलियम वाट्ससँग भयो । बिलियम र भिक्टर मिलेर ठगी धन्दा चलाउने सहमति गरे । बिलियमले आफ्नो नाम टम शा राखेका थिए । प्रिन्टिङ प्रेसमा नक्कली नोट छाप्न थाले । नयाँ भए पनि उनीहरूलाई यो काममा नाफा भइरहेको थियो ।

उनीहरू कुरियर मार्फत अमेरिकाका विभिन्न सहरमा नक्कली नोट पठाउँथे । संयोगले केही बैङ्कहरूको आँखा भिक्टरको धन्दामाथि पर्छ । नक्कली नोट बरामद हुन्छ । एफबीआइले यसको अनुसन्धान थाल्छ । तर, भिक्टरको असली नाम, हुलीया र ठेगाना केहीको अत्तोपत्तो नभएकाले प्रहरीलाई बडा कठिनाइ हुन्छ ।

आफ्नै प्रेमिकाबाट धोका
१५ वर्ष भइसकेको थियो, एफबिआइले भिक्टरको खोजी गरेको । यस्तै भिक्टरका पार्टनर बिलियम (टम शा) पक्राउ पर्छन् । उनले भिक्टरका बारेमा सारा यथार्थ प्रहरी सामु ओकल्छन् । तर, त्यस बेलासम्म भिक्टर फरार भइसकेका थिए । कहिले लामो कपाल पालेका त कहिले तालु खुइले । कहिले लामो जुँगा पालेर त कहिले दारी पालेर उनले प्रहरीलाई छक्याइरहे । भिक्टरलाई रंगे हात पक्राउ गर्न प्रहरीले मौका खोजिरहेको थियो र जासुसहरू पनि छ्यापछ्याप्ती तैनाथ गरिएको थियो । तैपनि प्रहरीले भिक्टरको कुनै सुराक पाउन सकिरहेको थिए ।

अन्ततः मानिसको सबैभन्दा कमजोर कडीले नै उसलाई समस्यामा पार्छ । भिक्टरकी बिली नाम गरेकी एक प्रेमिका थिइन्, अमेरिकामै । भिक्टरले सयौं मानिसलाई धोका दिए, ठगी गरे, आखिरमा उनकै प्रेमिका बिलीले उनलाई धोका दिइन् ।

बिलिलाई शङ्का थियो, भिक्टरको अफेयर उनकै एक साथीकी श्रीमितसँग छ । यसबीचमा केही मानिसले बिलीलाई भिक्टरले अर्कैसँग चक्कर चलाइरहेको खबर सुनाए । कुरा लगाउनेहरूले थपथाप पनि गरे । भिक्टरले आफूलाई धोका दिइरहेको महसुस भयो, बिलिलाई ।

बिलीमा भिक्टरप्रति घृणा जाग्यो । अब यो घृणा भिक्टरसँग बदला लिने हदसम्म चुलियो । उनलाई थाहा थियो, भिक्टरको धन्दाबारे । प्रहरीले खोजिरहेको कुरा पनि बिलिसँग छिपेको थिए । बदला लिनकै लागि बिलिले एफबिआइका एक अधिकारीलाई फोन गरीन् र भिक्टरका बारेमा सारा सूचना दिइन् । उनले प्रहरीलाई भिक्टर फेला पर्ने ‘पर्फेक्ट लोकेसन’ पनि बताइदिइन् ।

पक्राउको दोस्रो दिन फरार

अन्ततः बिलिले बताए अनुसारको लोकेसनमा प्रहरीले छापा मारेर भिक्टरलाई पक्राउ गर्छ । पहिलो पटक प्रहरीहरू भिक्टरको अनुहार देख्छन् । पक्राउ गरेर उनलाई एफबीआइको मुख्यालयमा ल्याएर राखिन्छ ।

भोलिपल्ट अदालतमा भिक्टरको पेशी थियो । एफबिआइ मुख्यालयको तेस्रो तल्लामा भिक्टरलाई राखिएको थियो । अदालतमा पेस गर्ने बिहान करिब १० बजे मानिसहरूले एफबिआइ भवनको तेस्रो तलामा सफाइ मजदुरकै पोसाकमा एकजना मानिस डोरीमा झुण्डीएर झ्यालको सफाइ गरिरहेको देखे ।

सामान्यतया अग्ला भवनमा कामदारहरूले त्यसरी बलियो डोरीमा झुन्डिएरै भवनका सिसाहरू सफाइ गर्ने गर्छन् । तल सडकमा सयौँको भिड थियो । मानिसहरू ओहोरदोहोर गरिरहेका थिए । एफबिआइकै सयौं कर्मचारी त्यहाँ आवत जावत गरिरहेका थिए । उनीहरू भवननेरबाट गुज्रनेक्रममा माथि हेर्दा कसैले झयाल सफा गरिरहेको देखेका पनि थिए । तर, हरेक मानिस आफ्नै काममा व्यस्त थिए । कसैले त्यतातिर ध्यान नै दिएनन् ।

झ्याल सफा गरिरहेका ती मानिस बिस्तारै काम गर्दै गर्दै तेस्रो, दोस्रो हुँदै भुइतलासम्म झरे । एफबीआइको मुख्य द्वारबाटै सफाइका सबै सरसामान बोकेर उनी बाहिर निस्किए । उनी अरू कोही नभएर भिक्टर नै थिए । अदालतमा पेशी हुने दिन नै भिक्टर एफबीआइको मुख्यालयबाटै फरार भए ।

एफबिआइमै कार्यरत सफाइ कर्मचारीलाई प्रलोभन देखाएर भिक्टरले उनीहरुका पोशाक र सामान हत्याउन सफल भएका रहेछन् । फरार भए पनि २७ दिनपछि उनी पुनः पक्राउ परे । अदालतले उनलाई २० वर्षको सजाय सुनायो । तर, सन् १९४७ मा जेलमै विभिन्न रोगका कारण निधन भयो ।

अहिलेसम्म पनि दाबीका साथ भिक्टरको असली नाम, उनको जन्मथलो र उनले कतिलाई ठगे भन्नेबारे प्रहरीले भन्न सकेका छैनन् ।

-एजेन्सीहरुको सहयोगमा

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १ : ११ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत