नेपाली फिल्म 'लाइनअप' मा | Khabarhub Khabarhub

नेपाली फिल्म ‘लाइनअप’ मा



काठमाडौँ- कोरोना भाइरसद्वारा सिर्जित तेस्रो लहरको महामारीको प्रभाव न्यून भएसँगै नेपाली चलचित्र निर्माताहरु उत्साहित भएका छन् । यसैबिच निर्माण सकिएर बसेका चलचित्रहरुको प्रदर्शन मिति घोषणा हुन थालेका छन् । स्थानीय तहको निर्वाचन बैशाख ३० मा मिति तोकिएसँगै विदेशी ठूला व्यानरका चलचित्रहरुले घोषणा गरेको मिति हटाएर नेपाली चलचित्रको डेट घोषणा गर्न सकस देखिएको छ । यद्यपि निर्माताहरुले खाली मितिमा आफ्नो चलचित्र रिलिज हुने घोषणा गरिरहेका छन् । हलिउड‚ भारतीय चलचित्रसँग मिति नजुध्ने गरि चलचित्र रिलिज घोषणा गर्नु पर्ने बाध्यताकै कारण केहि चलचित्रहरु एउटै मितिमा समेत घोषणा भएका छन् ।

वितरकहरुले निर्मातालाई विदेशी ठूला चलचित्रहरुसँग नजुधाउन सुझाउने गरेका छन् । यसैले गर्दा हलिउड र हिन्दी भाषामा रिलिज हुने चलचित्रहरुसँग खासै नेपाली चलचित्रसँगै ल्याउने आँट निर्मातामा देखिएको छैन। हलिउडका प्रतिक्षित चलचित्रहरु‚ बलिउडका ठूला चलचित्रसँगै दक्षिण भारतीय चलचित्रहरुलाई पनि मध्यनजर गर्दै चलचित्रको रिलिज मिति घोषणा गरिएका छन् ।

चलचित्र हेर्न दर्शक हलसम्म आएपछि आफुले लगानी गरेर तयार गरिसकेको चलचित्र चाँडो भन्दा चाँडो रिलिज गर्ने तयारीमा निर्माता निर्देशकहरु रहेका छन् । नेपाली चलचित्रका निर्माता‚ निर्देशकले वितरकसँग सेट गरेको नेपाली चलचित्रको रिलिज क्यालेन्डर यस्तो छ ।

चिसो एष्ट्रे

गत शुक्रबारबाट प्रदर्शनरत फिल्म ’चिसो एष्ट्रे’ लाई पनि क्यालेन्डरमा समावेश गरियो । नेपाली फिल्म बन्ने शैली भन्दा भिन्न रहेर तयार भएको फिल्मलाई फिल्मकर्मीले ज्यादै तारिफ गरे । यद्यपि त्यसको प्रभाव दर्शकमा देखिएन । फिल्मले विशेष शो, प्रिमियर शो, च्यारेटी शोमा पाएको प्रतिक्रियाले व्यापार बढाउन सकेन । यद्यपि फिल्म हेर्नेले यसको कथ्यशैलीको खुलेर प्रसंसा गरेका छन् । विशेष गरेर नेपाली दर्शकले स्थापित गरिदिएका फिल्मकर्मीहरु यो फिल्मलाई हलमै हेरेर मनोरञ्जन लिइरहेकाछन् । निर्देशक दिन्स पाल्पालीको निर्देशनमा तयार फिल्ममा दिव्य देव , सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ । फिल्म निर्माता महेशबाबु तिमल्सिना रहेको फिल्ममा दिन्स पाल्पालीकै लेखन रहेको भने अजर जंगमको संगीत छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । यसमा सह निर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन्। निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्। फिल्म हलमा प्रदर्शनरत छ ।

हेल्लो जिन्दगी

चैत्र १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हेल्लो जिन्दगी’ मा ‘मर्डर मिस्ट्री’ सँगै बदला र मित्रताको कथा देखाइने छ । फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् । बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेज मार्फत डेब्यु गरेका थिए । त्रिकोणत्मक प्रेम कथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय रहेको छ । नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सुर्य बोहराले निर्देशन गरेका छन् । फिल्ममा विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय पनि रहेको छ ।

हिराल जोशी र बिक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छिन् । निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथासँगै सम्वादमा रहेको छ । फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको छ भने प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको पाश्र्वगायन छ । यसमा पुरुषोत्तम प्रधानको छायाँकन, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।

ए मेरो हजुर ४

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ को २०७९ सालको बैशाख १ गते प्रदर्शनमा आउँदै छ । पछिल्लो समय नेपाली दर्शकले सर्वाधिक खोज्ने अभिनेता अनमोल केसी र सुहाना थापा अभिनित फिल्ममा प्रेम, रोमान्स र बिछोडलाई देखाइएको छ । संजय लामाको छायांकन रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

शिव रेग्मी तथा सुनिलकै निर्माणमा तयार भएको ‘ए मेरो हजुर’ सफल भएपछि झरनाले यसकै सिरिज मार्फत निर्देशनमा डेब्यु गरेकी हुन् । ए मेरो हजुर २ र ए मेरो हजुर ३ लाई दर्शकले रुचाइ सकेका छन् । यसैले गर्दा पनि यसको चौथो सिरिज दर्शक माँझ प्रतीक्षामा छ ।

मन्त्र

सौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’ आउँदो वर्ष २०७९ सालको वैशाख १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । हिमाली भेगको प्रेम कथामा आधारित फिल्ममा सौगातको को–स्टार छिन् , दीया पुन । यी दुइको प्रेम र त्यसमा आउने उतारचढावलाई हिमाली भेगको रमणीय दृश्यमा तयार गरिएको छ । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्ममा सौगात र दीयासँगै बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारको अभिनय रहेको छ ।

कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ फिल्ममा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ । गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मले केहि दिन अगाडी मात्र रिलिज घोषणा गरेको हो ।

लक्का जवान

हाँस्यकलाकार शिवहरी पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘लक्का जवान’ को रिलिज डेट आउँदो वर्ष २०७९ को वैशाख २३ घोषणा गरिएको छ । दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरुको अभिनय रहेको फिल्मले पाका उमेरका मानिसहरुको कथा भन्छ । फिल्ममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् ।

ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह–निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ स्वदेशसँगै विदेशमा पनि प्रदर्शनमा आउने छ ।

कबड्डी ४ : द फाइनल म्याच

प्रतिक्षित फिल्म मध्येको एक ‘कबड्डी ४ : द फाइनल म्याच’ जेठ १३ गरे रिलिज घोषणा गरेको छ । निर्देशक रामबाबु गुरुङले फिल्मको नयाँ पोस्टरसँगै नयाँ डेटबारे केहि दिन अगाडी जानकारी दिएका थिए । नेपाली फिल्मको हिट फ्रेन्चाईज ‘कबड्डी’ को चौथो शृंखलालाई ‘द फाइनल म्याच’ भनिएको छ । यस शृंखलामा कथा सकाइने बताइएकोले गर्दा पनि फिल्म झनै प्रतिक्षित बनिरहेको छ ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको छ । फिल्ममा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी छ ।

कौसीद

अभिनेत्री ऋचा शर्मा स्टारर फिल्म ‘कौसीद’ ले जेठ २७ मा प्रदर्शन मिती घोषणा गरेको छ । वित्तिय ऋणको प्रभावमा परेको परिवारको कथा बोल्ने फिल्मको केन्द्रीय द्वन्द्व पैसाकै वरिपरी घुमेको जनाइएको छ । कुमार भास्करको निर्देशनमा बनेको फिल्ममा ऋचा शर्मा, भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भुमिकामा छन् ।

केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् । फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भिम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा फिल्म ‘कौसीद’ निर्माण भएको हो । यो फिल्मको कोरोना महामारीको बीच निर्माण सम्पन्न भएको थियो । हाल पोष्ट प्रोडक्सनको काम सम्पन्न भइ फिल्म प्रदर्शनको लागि तयार भएको हो । आर आर फिल्मस्ले फिल्मको वितरण अधिकार लिएको छ ।

कृष्ण लीला

प्रेम कथामा आधारित फिल्म ‘कृष्ण लीला’ आउँदो वर्ष अर्थात् २०७९ को भाद्र ३ गते प्रदर्शनमा आउने भएको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री स्टारर फिल्म ‘कृष्ण लीला’ लाई कृष्ण अष्टमीकै दिन रिलिज गर्न लागिएको हो । यसअघि यो फिल्म गत वर्षको चैत २७ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण सरकारले हलहरु बन्द गरेपछि फिल्म प्रदर्शन हुन सकेको थिएन ।

दीपक ओलीको निर्देशनमा तयार भएको फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतको अभिनय छ । लभस्टोरी जनरामा निर्मित फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यस फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्मातामा छन् । फिल्ममा पुष्पले सुस्त मनस्थिति भएको युवकको भूमिका निर्वाह गरेका छन् । फिल्ममा रंग पत्रकार तथा लक्ष्मण सुवेदीको लेख्न रहेको छ । उनले फिल्ममा प्रेम कथासँगै सस्पेन्स मार्फत पनि दर्शकले मनोरञ्जन पाउने बताए ।

प्रेमगञ्ज

केहि अगाडीसम्म पोस्टर मार्फत घोषणा गरिने डेटलाई ‘प्रेमगञ्ज’ युनिटले भिडियो मार्फत भाद्र ३ गते प्रदर्शनमा आउने घोषणा गरेको हो । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन रहेको छ ।

पानीफोटो

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने फिल्म ‘पानीफोटो’ भाद्र १० गते प्रदर्शन हुँदैछ। टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद , धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफुलाई ‘भर्सटायल अभिनेता’ को रुपमा परिचित गराइसकेका छन् । उनी फिल्म ‘पानीफोटो’ बाट निर्देशनमा होमिएका हुन् । कोरोना भाइरसको महामारीका कारण रिलिज डेटमा केहि समय ढिलाई भएको ‘पानीफोटो’ आउँदो वर्ष विक्रम संवत २०७९ सालको भद्र १० अर्थात सन् २०२२ अगस्ट २६ मा प्रदर्शनमा आउने घोषणा भएको छ ।

स्वयम् खगेन्द्रले आफु लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन् । उनले फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथालाई दर्शक माँझ लिएर आउन लागेका हुन् । यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । फिल्ममा खगेन्द्रसंगै अनुप बराल , मेनुका प्रधान , प्रकाश घिमिरे , माओत्से गुरुङ , बुद्धि तामाङ्ग , कमलमणि नेपाल, अशान्त शर्मा , मलिका महत , प्रकाश घिमिरे, राधा श्रेष्ठ ,अजस्र ढुङ्गाना, कमल देवकोटा , अनोज पाण्डे , अनिल पाण्डे , नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको छायांकन काठमाडौँसँगै बर्दिया, रोल्पा र स्याङ्गजामा गरिएको छ । खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए । ‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्याउने मेरो सपना नै थियो । मैंले नाटक मन्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए ’ खगेन्द्रले भने । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ । यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यसफिल्म निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीटको रुपमा अनिल खड्का रहेका छन् । फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रकाश

अभिनेता प्रदीप खड्का फरक रुपमा प्रस्तुत फिल्म ‘प्रकाश’को प्रदर्शन मिति आउँदो वर्ष अर्थात २०७९ को भदौ १० गतेलाई घोषणा गरिएको छ । चकलेटी ब्वाईको रुपमा प्रस्तुत हुदैँ आइरहेका प्रदीप यसमा गाउँले भूमिकामा छन् । प्रदीप यसप्रकारको गेटअपमा पहिलो पटक देखिएका हुन् । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्मले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा वाचन गरेको छ ।

महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रदीपसँगै दीय मास्के , रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय रहेको छ । विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।

द सिक्रेट अफ राधा

सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को प्रदर्शन आउँदो वर्ष २०७९ सालको भाद्र २४ गते हुने जानकारी निर्माण पक्षले गराएका छन् । कोरोना भाइरस महामारीका कारण भएको दोस्रो लकडाउनको समयमा पालुङ आसपासमा छायांकन भएको फिल्मले आफ्नो प्रदर्शन मिती तय गरेको हो ।

फिल्ममा सौगात मल्ल , सृष्टी श्रेष्ठ , खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ । साथै , यसमा दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा छन् । फिल्ममा निर्देशक थापासँगै अभिनेता सौगात मल्लको समेत लगानी रहेको छ । आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा संयुक्तरुपमा निर्माण भएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत रहेकोछ ।

बाबरी

आउँदो वर्ष २०७९ को भाद्र ३१ गतेलाई ‘बाबरी’ रिलिज हुने घोषणा गरिएको छ । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ मा धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भुमिका रहेको छ । फिल्ममा अदितिले विजेता, धिरज मगरले विक्रान्त र धिरज नाडकरले रोनिशको भूमिका निर्वाह गरेका छन् ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित छ । फिल्मको कथा स्वयम् निर्देशक पौडेलले नै लेखेका हुन् । पुष्पा अधिकारी निर्माता रहेको फिल्ममा सह–निर्मातामा सुष्मा गुरुङ छन् । नरेन्द्र मैनाली सिनेम्याटोग्राफर रहेको फिल्मलाई काठमाडौँसँगै झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ । यसमा मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।

लाखे

फिल्म ‘लाखे’ आउँदो वर्षको भदौ ३१ गते रिलिज हुने भएको छ । फिल्म टिमले वितरकमा आरआर फिल्मस्का लागि रोहित कट्टेल र रत्न श्रेष्ठ तय गरेपछि रिलिज को घोषणा गरेको हो । कार्यकारी निर्माता हरि मल्ल ठकुरी रहेको फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा , आर्यन अधिकारी, सुशील सिटौला, बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकार, संजोक राणा र कालु राना लगायतको अभिनय रहेको छ ।

सम्राट बस्नेतको निर्देशक रहेको ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी (जिएम) प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

२ नम्बरी

आउँदो चैत्र १५ बाट छायांकन सुरु गर्ने तयारीमा रहेको फिल्म ’२ नम्बरी’ टिमले अभिनेत्रीमा उपासना सिंह ठकुरीलाई अनुबन्धित गर्दै रिलिज डेट समेत घोषणा गरेको छ । फिल्म युनिटले दयाहाङ राई , उगेन छोदेन, सौगात मल्ल , उपासना सिंह ठकुरी लगायतको लाइन–अप सेट गरेपछि फिल्म कार्तिक ४ मा रिलिज हुने घोषणा गरेको छ ।

२०७६ सालको फागुन अन्तिममा फिल्म ‘दुई नम्बरी’को छायांकन सुरु गरिएता पनि कोरोना भाइरसको महामारीका कारण छायांकन रोकियो । त्यसपछि छायांकनमा जान नसकेको फिल्म चैत्र १५ बाट सुरुवातबाटै छायांकनको तयारी गरेसँगै पल शाहको स्थानमा सौगात मल्ल र वर्षा राउतको स्थानमा उपासना सिंह ठकुरीलाई अनुबन्धित गरेको हो ।

फिल्मका निर्देशक दीपेन्द्र लामाले फिल्मको छायांकन एक दुई दिन ढिला हुन् सक्ने तर त्यो भन्दा बढी नसर्ने बताएका छन् । ‘२ नम्बरी’ मा सौगातसँगै दयाहाङ राई, उगेन छोदेन लगायतको मुख्य भूमिका रहनेछ । दुईजना साथीको मित्रताको कथामा बन्न लागेको फिल्मलाई आउँदो वर्षको कार्तिक ४ गते तिहारमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे र अमला देवी राई निर्माता र कार्यकारी निर्मातामा सरोज नेपाली छन् ।

परस्त्री

नेपाली फिल्म ‘लभ लभ लभ’ बाट नायकको रुपमा उदाएका सुरज पाण्डे निर्देशक बनेका छन् । उनको डेब्यु निर्देशनमा तयार हुने फिल्म शुभ मुहुर्त भएसँगै निर्माण टीमले गीत खिचेर दृश्य खिच्ने सेड्युल अनुसार काममा छ । पेशाले निर्देशक भएता पनि यस फिल्ममा लेखक तथा निर्माता भूमिका निर्वाह गरिरहेका दिपेन्द्र के खनालले सवैभन्दा पहिले आफुहरु गीतको छायांकन गर्ने अनी मात्रै काठमाडौँमा सिन खिच्ने गरी तयारी गरेका थिए ।

नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने फिल्म आउँदो वर्ष २०७९ को कार्तिक ६ गते रिलिज गरिने पनि बताइएको छ । डिएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् । यस फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहनेछ । यसमा निरज पाण्डेको छायांकन रहने छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ५ : ३६ बजे

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा