युक्रेनमाथि आक्रमणको खर्चले आर्थिक रुपमा कंगाल बन्दैछ रुस ! | Khabarhub Khabarhub

युक्रेनमाथि आक्रमणको खर्चले आर्थिक रुपमा कंगाल बन्दैछ रुस !



युक्रेनमाथि तत्काल विजय हासिल गर्ने उद्देश्यसहित सैन्य आक्रमणमा उत्रेको रुसले युद्धको महँगो मूल्य सामना गर्नुपर्ने देखिएको छ । युद्धसम्बन्धी अध्ययन गर्ने विभिन्न संस्थाहरूको अध्ययनहरूले युक्रेन आक्रमण रुसका लागि अत्याधिक महँगो गरिरहेको र कठोर आर्थिक नाकाबन्दी सामना गरिरहेको रुस आफै कंगाल हुनसक्ने आँकलन गरेका छन् ।

आक्रमणबाट ठूलो सैन्य क्षति भोगीरहेको रुसले युद्धमा बढेको खर्चका कारण आर्थिक विनाश व्यहोरिरहेको तथ्यांक आएको छ । युक्रेन आक्रमणको सजायस्वरूप अमेरिका, युरोपेली संघ लगायत अन्य सहयोगी राष्ट्रहरूले रुसमाथि अर्थतन्त्र नै ध्वस्त पार्ने कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । पश्चिमा प्रतिबन्धहरूले रुसको आर्थिक अवस्था तहसनहस बनाइदिएको छ ।

रुसले गत २४ फेब्रुअरी देखि युक्रेनमाथि आक्रमण गरिरहेको छ । केही दिनको अन्तरालमै रुसले युक्रेनलाई काँचै खाइहाल्ने अनुमानका विपरीत झण्डै महिना बितिसक्दासम्म पनि अपेक्षाअनुसारको नतिजा हासिल गर्न सकेको छैन ।

स्विडेनस्थित रक्षा मामिलामा दखल राख्ने स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको पछिल्लो तथ्यांक अनुसार रुसको रक्षा खर्च ६१ अर्ब अमेरिकी डलर प्रतिवर्ष छ । रुसको तुलनामा युक्रेनको रक्षा खर्च १० गुणा कम करिब ६ अर्ब डलर प्रतिवर्ष मात्रै छ ।

हुन पनि युक्रेनी सेना र युक्रेनी जनताले निकै सहनशीलता र बहादुरीका साथ अमेरिकापछि विश्वकै दोश्रो सबैभन्दा शक्तिशाली सैनिक क्षमता भएको विश्वास गरिने रुसी फौजको सामना गरिरहेका छन् । यतिसम्म कि रुसी फौजले आफ्नो सीमाभन्दा केबल ४० किलोमिटरको दूरीमा रहेको खार्किभ शहरमा समेत नियन्त्रण जमाउन सकेको छैन ।

अर्कोतर्फ युद्ध जति जति लम्बिँदै गइरहेको छ, रुस सरकार र रुसी फौजको व्यग्रता र निराशा पनि उति उति बढ्दै गइरहेको छ । फलस्वरुप रुसी फौज आवासीय भवन, नाटकघर र अस्पतालजस्ता गैरसैनिक एवम् संवेदनशील क्षेत्रमा जथाभावी आक्रमणमा उत्रेको छ ।

लम्बिँदो युद्धले रुसको युद्धखर्च पनि बढाइरहेको छ । अहिलेको समयमा युद्ध सञ्चालन गर्न निकै ठूलो धनराशी खर्च गर्नुपर्ने हुन्छ । ब्राउन विश्वविद्यालयको तथ्यांक अनुसार सन् २००१ देखि सन् २०२१ सम्म अमेरिकाले अफगान युद्धमा ५८ खर्ब अमेरिकी डलर खर्च गरेको थियो । अर्थात् करिब ३० करोड अमेरिकी डलर प्रतिदिन ।

तर, अहिले रुसले हालसम्म युक्रेन आक्रमणमा कति खर्च गर्यो होला ? ठ्याक्कै यति नै भनेर यसको यकिन जवाफ पाउन निकै कठिन छ । यद्यपि युक्रेन आक्रमणको शुरुआती दिनहरुमा सेन्टर फर इकोनोमिक रिकभरी, सिभिटा र इजी बिजनेशले यस विषयमा एक अध्ययन गरेको थियो । उक्त अध्ययनअनुसार रुसले युद्धका प्रथम चार दिनमा ७ अर्ब डलरको हानी व्यहोरेको थियो । अर्थात् झण्डै पौने दुई अर्ब प्रतिदिन ।

सोही अध्ययनलाई उद्धृत गर्दै सिभिटाले जनाएअनुसार ‘बन्दोबस्तीका सामान, मानव श्रोत, रकेट लन्चरजस्ता खर्च जोड्ने हो भने रुसको दैनिक युद्धखर्च २० देखि २५ अर्ब डलर हुन आउने देखिएको छ ।’

यही अध्ययनलाई आधार मानेर पौने दुई अर्ब डलरको उदार अनुमान गर्दा पनि चार साता अर्थात् २८ दिनमा रुसले औसत ४९ अर्ब डलर खर्च गरिसकेको छ । यो भनेको विश्व बैंकको पछिल्लो तथ्यांक अनुसार झण्डै ३४ अर्ब डलर रहेको नेपालको कूल ग्राहस्थ उत्पादनको झण्डै डेढ गुणा हो ।

यसबाहेक युक्रेनी फौजको आक्रमणबाट रुसले हतियार, लडाकु विमान, बख्तरबन्द गाडी, ट्यांकजस्ता हतियार र अन्य सैनिक उपकरण पनि गुमाइरहेको छ । यसबाट रुसलाई परेको आर्थिक हानीको पनि बेग्लै हिसाब छ ।

युक्रेनी सेनाले दिएको जानकारीअनुसार आक्रमण थालेयता हालसम्म रुसले ४९८ ट्यांक, १५ सय ३५ बख्तरबन्द गाडी, २४० आर्टिलरी, ९७ लडाकु विमान, १२१ हेलिकोप्टर गुमाएको छ ।

युरोपेली कन्सल्टेन्सीका अनुसार औसत रुसी लडाकु विमानलाई ८ करोड ५० लाख डलर पर्छ । यसअनुसार लडाकु विमान गुमाएबाट मात्रै रुसलाई ८ अर्ब २४ करोड डलर हानी भएको छ । त्यस्तै, सोही तथ्यांक अनुसार औसतमा प्रतिएकाई हेलिकोप्टरलाई १ करोड ४० लाख, आर्टिलरीलाई १५ लाख ६६ हजार, ट्यांकलाई २३ लाख ६८ हजार र बख्तरबन्द गाडीलाई ९ लाख ८१ हजार डलर पर्छ ।

यसअनुसार रुसलाई त्यहाँ हेलिकोप्टर गुमाएबाट झण्डै १ अर्ब ७० करोड डलरको नोक्सान भएको छ भने ट्यांक गुमाएबाट १ अर्ब १८ करोड डलर, आर्टिलरी गुमाएबाट ३७ करोड ५८ लाख र बख्तरबन्द गाडी गुमाएबाट १ अर्ब ५० करोड हानी भइसकेको छ । समग्रमा हिसाब गर्दा युक्रेनमा गुमाएका सैनिक उपकरणबाट मात्रै रुसलाई झण्डै १३ अर्ब डलरको नोक्सान भइसकेको छ ।

यसबाहेक युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसमाथि पश्चिमा मुलुक र उनीहरुका अरु साझेदारहरुले कठोर नाकाबन्दी र प्रतिबन्ध लगाइरहेका छन् । यसबाहेक विभिन्न बहुराष्ट्रिय कम्पनीहरुले पनि रुसमा आफ्नो कारोबारलाई बन्द गर्ने घोषणा गरेका छन् । यसबाट रुसको अर्थतन्त्रमा परेको असरको हिसाब बेग्लै छ ।

जेपी मोर्गन बैंकलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशित हुने द हिल अनलाइनले जनाएअनुसार यस्ता प्रतिबन्ध र नाकाबन्दीले यो वर्षमात्रै रुसको कूल ग्राहस्थ उत्पादन ७ प्रतिशतले ह्रास आउने छ भने रुसी अर्थतन्त्रले १४ प्रतिशतसम्मको मुद्रास्फीति व्यहोर्नुपर्नेछ । सोही अनलाइनका अनुसार व्यापार गर्ने आत्मविश्वास र लगानीकर्तामा अनिश्चितताकाका कारण देशभित्रको पुँजी बाहिर जाने र यसले त्यहाँ सम्पत्तिको मूल्यमा असर पार्ने अन्तर्राष्ट्रिय मुद्राकोषको अनुमान छ ।

प्रतिबन्धले रुसको विदेशी ऋण तिर्ने क्षमतामा पनि असर पर्ने र यसले विश्वकै वित्त बजारलाई प्रभावित बनाउने चिन्ता पनि व्यक्त हुँदै आएका छन् । रोयटर्सका अनुसार रुसले ४० अर्ब डलर बराबरका १५ अन्तर्राष्ट्रिय ऋणपत्रहरुको भुक्तानी गर्नुपर्ने छ । रुसमा अहिले डलरको सञ्चिती घट्दै गइरहेको बताइन्छ ।

रुसले युक्रेनमा आक्रमण गरेयताको पहिलो युरोबण्ड ऋणपत्रको भुक्तानी अमेरिकी डलरबाटै गरेर जोगिएको छ । यसबाहेक रुससँग १ खर्ब ३२ अर्ब डलर बराबरको सुन पनि सञ्चिती छ । तैपनि यसअघि रुसले सुन बेच्नका लागि अन्तर्राष्ट्रिय ग्राहक नभेटेको समाचार आएको थियो ।

अर्कोतर्फ युक्रेन र रुसबीचको युद्धले विश्वव्यापी अर्थतन्त्रमा पारेको नकारात्मक असरको पाटो बेग्लै छ । आक्रमणका कारण इन्धन, खाद्यान्न, जहाजी बीमा, हवाई भाडा, तेलहनका उत्पादनजस्ता वस्तुको भाउ विश्वभर बढेको छ ।

कोरोना महामारीले विश्वव्यापी आपूति व्यवस्थालाई अस्तव्यस्त बनाएर विस्तारै विश्व अर्थतन्त्रले गति लिने कोसिस गरिरहेका बेला रुसको युक्रेन युद्धले फेरि विश्व अर्थतन्त्रलाई सुस्त बनाउने चिन्ता व्यक्त हुन थालेका छन् । विज्ञहरुका अनुसार यो युद्धबाट उत्पन्न आर्थिक कठिनाइले नेपालजस्तो आयातमा निर्भर विशेषगरी विकासशील मुलुकहरुलाई धेरै असर पुर्‍याउने छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ६ : ५० बजे

सरकारी औषधि कम्पनीका महाप्रबन्धकको दु:खेसो– ‘आफैँले उत्पादन गरेको औषधि सरकारले किन्दैन’

नेपाल औषधि लिमिटेड औषधि उत्पादनका लागि सरकारले सञ्चालन गरेको संस्थान

महाराष्ट्रमा बिजेपी नेतृत्वको गठबन्धनलाई २१६ सीटमा अग्रता

मुम्बई– महाराष्ट्रमा नोभेम्बर २० मा सम्पन्न विधानसभा निर्वाचनको मतगणना जारी

प्रधानमन्त्री ओलीका पिताको स्वास्थ्यमा समस्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओली फोक्सोमा

गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता

गुल्मी– अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा चालु आर्थिक वर्षको

कृषि आधुनिकीकरण परियोजनाको ‘धान जोन’ मा उत्पादन घट्यो

अत्तरिया – कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’