नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित) | Khabarhub Khabarhub

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध अन्तरिम आदेश भएन
सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारी नियुक्ति बदर गर्न माग गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले अध्यादेश ल्याएपछि बसेको संवैधानिक परिषदको बैठकको सिफारिसबाट नियुक्त संवैधानिक पदाधिकारीको पद कायम रहने भएको छ ।

५२ जना संवैधानिक पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा आज संवैधानिक इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, र ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद लगायतका निकायमा नियुक्तिको आधार र कारण पेश गर्न आदेश दिएको हो । तत्कालीन केपी ओली सरकारले विभिन्न आयोगका प्रमुख तथ पदाधिकारी नियुक्त गरेको थियो । उनीहरूले संसदीय सुनुवाइविनै राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्ति पाएका थिए । सो नियुक्ति बदरको माग गर्दै रिट परेको थियो ।

विद्यार्थी संघ र तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिका अध्यक्षहरू नियुक्त
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिका अध्यक्षहरू नियुक्त गरेका छन् । देउवाले नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलमा पर्वतका विद्वान गुरुङ नियुक्त गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत जानकारी दिए ।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने प्रावधान छ ।

एमालेको केन्द्रीय कमिटी बैठकः ओलीको राजनीतिक प्रतिवेदन पेश
प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपीशर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आज काठमाडौँमा बसेको केन्द्रीय कमिटीको पहिलो दिन अध्यक्ष ओलीले अहिलेको अवस्थामा पार्टीको दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन पेश गरेका एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

अध्यक्ष ओलीको प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुन जरुरी रहेको उल्लेख गरिएको छ । त्यस्तै ओलीले स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरूलाई एक तह मुनिको भूगोलमा खटिन निर्देशन पनि दिए ।

आगामी तिनै तहको निर्वाचनमा ५ दलबीच गठबन्धन हुने नेताहरूको दाबी
नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने दाबी गरेका छन् । रिपोटर्स क्लबले आज काठमाडौँमा गरेको साक्षात्कारमा उनले गठबन्धन रहर नभएर बाध्यता भएको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धन जारी रहने बताए । काँग्रेसका नेता डा. रणबहादुर रावलले अहिलेपनि पाँच दलीय गठबन्धनको आवश्यकत्ता रहेको भन्दै निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्ने बताए ।

साक्षात्कारमा नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले अहिले पनि नेपाली राजनीतिमा सहमति, सहकार्य र एकता हुने कुरा स्वभाविक नै भएको भनाई राखे । त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता नवराज सुवेदीले सबै तहमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल र गठबन्धन हुने बताए ।

उद्यमशीलताको प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्यमशीलताको प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज काठमाडौँमा ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनको उद्घाटन गर्दै मुलुकको आर्थिक विकासमा उद्यमशीलताको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै यसको प्रवद्र्धनमा सरकार प्रतिवद्ध रहेको बताए ।

उहाँले उद्यमशीलताको विकास, स्टार्टअप व्यवसायलाई नेपाल सरकारले प्रोत्साहित गर्ने नीति लिएको पनि बताए । सरकारले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन, वैदेशिक लगानी भित्रयाउन लगानीमैत्री नीति लिएको र सेवा प्रवाहलाई सरलीकृत गर्दै प्रक्रियागत झन्झटलाई हटाइएको उनले बताए ।

शिक्षा क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानीलाई सरकारले सुरक्षा गर्छः शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानीलाई सरकारले सुरक्षा गर्ने बताएका छन् । आज काठमाडौँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनको शिक्षा मन्दिर उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि नीजि क्षेत्रलाई पनि समावेश गरेर अघि बढ्ने र नीजि क्षेत्रको लगानीलाई सुरक्षा गर्ने बताए ।

उनले शिक्षा क्षेत्रको सुधारका लागि नीजि क्षेत्रले राखेका विषयहरूलाई राज्य गम्भीर रहेको उल्लेख गरे । मन्त्री पौडेलले शिक्षा प्रणाली सुधार गर्नु राज्यको एक्लो दायित्व नभएकाले त्यसका लागि निजी क्षेत्रको पनि उत्तिकै आवश्यकता रहने जिकिर गरे ।

त्रिविमा लागेका घाउलाई निको पार्दै अघि बढ्नुपर्छः काँग्रेस महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयमा लागेका घाउलाई निको पार्दै अघि बढ्नुपर्ने बताएका छन् । आज कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको सम्मेलनमा थापाले विश्वविद्यालयलाई घाउ लाग्दै गर्दा सबैको मन दुखेको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए ।

उनले विश्वविद्यालयमा देखिएका समस्याहरू समाधानका लागि प्रधानमन्त्रीदेखि सरोकारवाला सबैको ध्यानाकर्षण गराउनुपर्ने पनि बताए । थापाले विश्वविद्यालय राजनीतिक दलसँग आबद्ध भएका व्यक्तिले बिगारेको भन्ने आरोपलाई असत्य सावित गर्न त्रिवि सुधार गर्नुपर्नेमा जोड दिए ।

पर्यटनमन्त्री आले र बलिउड अभिनेता खानबीच भिडियो संवाद
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानबीच भिडियो संवाद भएको छ । ओडिसी इन्टरटेन्मेन्टले बैशाख ३ गते आयोजना गरेको एक सांस्कृतिक कार्यक्रमका लागि काठमाडौँ आउने तयारीमा रहेका सलमानसँग मन्त्री आलेले आज भिडियो संवाद गरेका हुन् ।

बैशाख ३ गते आयोजना हुने कार्यक्रमको लागि सलमानलाई औपचारिक रूपमा निमन्त्रणा दिइएको छ । मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तो दिँदै समय अनुकुल भए सगरमाथाको हवाइ सफर गराउने प्रस्ताव पनि राखेका छन् । अभिनेता सलमान पनि सकारात्मक देखिएको जनाइएको छ ।

आयल निगमद्वारा इन्धन खरिद बापतको दोस्रो किस्ता भारतीय आईओसीलाई भुक्तान
नेपाल आयल निगमले मार्च महिनाको इन्धन खरिद बापतको दोस्रो किस्ता भारतीय आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गरेको छ । आज आईओसीलाईे दोस्रो किस्ता बापतको १२ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिएको निगमका निमित्त नायब कार्यकारी एवं अर्थ प्रशासन प्रमुख नागेन्द्र साहले जानकारी दिए ।

गत मार्च ८ मा निगमले इन्धन खरिद बापतको पहिलो किस्ता १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको थियो । यस पटकको भुक्तानीका लागि निगमको नियमित बिक्रीबाटै रकम पुगेको निगमले जनाएको छ । निगम अझै मासिक १० अर्ब घाटामा रहेकाले आउँदो अप्रिल ८ मा भुक्तानी गर्न थप समस्या हुने साहको भनाई छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३८ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ८ सय ५५ पिसिआर परिक्षणका क्रममा ३४ जना र १ हजार ५ सय २१ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप २ सय ६९ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ हजार ४ सय ५३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सेयरबजारमा आज दोहोरो अंकको गिरावट
सेयरबजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २० दशमलव ३४ अंकले घटेर २ हजार ६ सय ३० दशमलव ३६ बिन्दुमा पुगेको हो । आज कुल ३ करोड ९८ लाख ५ हजार ५ सय ७४ कित्ता शेयर २ अर्ब ४६ करोड ३५ लाख २ हजार ५ सय ४७ रुपैँयामा कारोबार भएको छ ।

आज राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको मूल्य १० प्रतिशत बढेको छ । बुद्धभूमि हाइड्रोको मूल्य ३.५ प्रतिशत घटेको छ ।यस्तै कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक, जीवन विकास लघुवित्त, अरुणभ्याली हाइड्रो, टेलिकम र अपी पावर क्रमशः अगाडि रहेको छ ।

बागमती प्रदेशमा बर्डफ्लू देखिएका स्थानमा ५८ हजार २ सय ६१ पन्छी नष्ट
बागमती प्रदेशमा बर्डफ्लू देखिएका स्थानमा ५८ हजार २ सय ६१ पन्छी नष्ट गरिएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै प्रदेशका विभिन्न जिल्लामा बर्डफ्लु देखिएको ठाउँका ५८ हजार २ सय ६१ पक्षी नष्ट गरेको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेशका ६ वटा जिल्लामा बर्डफ्लू फैलिइसकेको छ। बर्डफ्लु देखिएका स्थानका २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ किलो दाना नष्ट गरिएको मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले जानकारी दिए । हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लू देखिएको छ ।

काठमाडौँस्थित चोभारमा सुमोको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौँको चोभारमा सुमोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका ६ का समिर गिरी र काठमाडौँ महानगरपालिका १४ का नवीन्द्र तिमल्सिना रहेका छन् ।

आज हेटौंडाबाट बल्खुतर्फ आइरहेको ना१ज ६३५४ नम्बरको गाडीले बा९२प २३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिने सुमो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

यातायात कार्यालयहरूबाट दिने सबै सेवा भोलि विहान ६ बजेसम्मका लागि बन्द
यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा भोलि विहान ६ बजे सम्मका लागि बन्द गर्ने भएको छ ।

विभागले आज दोस्रोपटक जारी गरेको सूचनामा विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले आज अपरान्ह ५ बजेदेखि भोलि विहान ६ बजेसम्मका लागि विभागको सर्भर बन्द रहने जानकारी दिएको हो । यसअघि जारी गरिएको सूचनामा अनिश्चतकालका लागि यातायात कार्यालयहरूबाट दिने सबै बन्द गर्ने निर्णय गरिएको थियो ।

जनकपुर–पोखरा नियमित हवाई उडान हुने
जनकपुर–पोखरा नियमित हवाई उडान हुने भएको छ । यात्रुको चाप बढेपछि जनकपुर–पोखरा दैनिक उडान हुन लागेको हो । यसअघि साताको तीन दिन सोमबार, बिहीबार र शनिबार मात्रै उडान भर्दै आएको थियो ।

नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले जनकपुरधाम–पोखरा हवाई सेवा अब दैनिक चल्ने जानकारी दिए । नियमित रुपमा एउटा उडान भर्ने छ । यसअघि गत फागुन २१ गतेदेखि जनकपुरधाम–पोखरा साताको तीन दिन चल्ने गरी सुरु भएको थियो ।

मकवानपुर प्रहरीद्वारा ४२ किलो गाँजासहित ४ जना पक्राउ
मकवानपुरमा प्रहरीले ४२ किलो गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना. ६ ख ४४०९ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा चालक बस्ने पछाडी गाँजा बरामद गरिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ बस्ने ३१ वर्षीय टिपर चालक ईश्वर पाठक, सहचालक २२ वर्षीय सागर थिङ, रामग्राम नगरपालिका १२ बस्ने ६० वर्षीय राजेशप्रसाद रौनियार र ४० वर्षीया रेश्मा भर रहेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ९ : ४५ बजे

जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल

काठमाडौं– जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई

बन्दीपुरमा पर्यटकको चहलपहल

दमौली– जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

चाडपर्व लक्षित बजार अनुगमनमा तीन लाख बढीको सामान नष्ट

तनहुँ– बडादशैँलाई लक्षित गरी गरिएको बजार अनुगमनका क्रममा तीन लाख

हेटौँडा–काठमाडौं यात्रामा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह

मकवानपुर– हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३

पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन

धुलिखेल– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट