धनगढी– स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कैलाली र कञ्चनपुरमा ४८ घण्टा नेपाल भारत सीमा नाका बन्द गर्ने सहमति भएको छ ।
नेपाल भारत सीमा सुरक्षा बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै ४८ घण्टा अगाडिदेखि नै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
शनिबार कैलालीमा बसेको दुई पक्षीय सीमा सुरक्षा बैठकले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सीमा नाका बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । सीमा नाका बन्द हुँदा अत्यावश्यक सेवा भने सुचारु नै रहने उनले बताए ।
बैठकमा कैलाली कञ्चनपुर र भारतको लखिमपुर खिरीका सुरक्षा अधिकारीको सहभागिता थियो । बैठकले सीमा नाकामा हुने अन्य शान्ति सुरक्षाका विषयमा पनि छलफल गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।
‘यस पटकको बैठक निर्वाचन सुरक्षामा केन्द्रित रहेको थियो,’ प्रजिअ थापाले भने, ‘अन्य विषयमा पनि सामान्य छलफल भयो ।’ नेपाल भारतको सिमानाका बारेमा देखिएका विवादबारे पनि सामान्य छलफल भएको प्रजिअ थापाले बताए ।
बैठकमा सहभागी भारतको लखिमपुर खिरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी संजयकुमार सिंहले नेपालमा हुने स्थानीय तहको निर्वाचनका लागि सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।