औलो रोग निवारण कार्यक्रम जारी « Khabarhub

औलो रोग निवारण कार्यक्रम जारी


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पुर्‍याउनका लागि कार्य अगाडि बढाएको हो ।

औलो रोग निवारणको लक्ष्य हासिल गर्न स्वास्थ्यकर्मीलाई कोचिङग, कीटजन्य रोगको परिमार्जित निर्देशिका बमोजिम सरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिने कार्य अगाडि बढाइएको निर्देशनालयका कार्यक्रम अधिकृत हेमराज जोशीले जानकारी दिए। उनका अनुसार स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थासँगै औलो रोग निवारणका लागि प्रतिबद्धता कायम गराउने कार्यसमेत भइरहेको छ । 

‘नेपाल सरकारले सन् २०२५ सम्ममा नेपालबाट औलो निवारण गरिसक्ने लक्ष्य लिएको छ’, उनले भने, ‘लक्ष्य हासिल गर्नका लागि लगातार तीन वर्षसम्म औलो पोजिटिभ बिरामीको सङ्ख्या शून्य कायम हुनुपर्छ, शङ्कास्पद औलो रोगीको जाँच पनि उच्च जोखिम क्षेत्रमा कूल जनसङ्ख्याको १० प्रतिशत, मध्यम जोखिम क्षेत्रमा पाँच प्रतिशत र न्यून जोखिम क्षेत्रमा कूल जनसङ्ख्याको तीन प्रतिशत कायम हुनुपर्दछ ।’ रोगीको सङ्ख्या शून्यमा झार्न र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पुऱ्याउनका लागि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले विभिन्न कार्यक्रम अगाडि बढाएको उनले बताए ।

नेपालका सात वटै प्रदेशमध्ये सुदूरपश्चिममा अन्य प्रदेशको तुलनामा औलो बिरामीको भार अत्यधिक रहेको तथ्याङ्क स्वास्थ्य निर्देशनालयसँग रहेको छ । आव  २०७७/७८ मा कूल औलोका बिरामीको सङ्ख्या ३७७ मध्ये सुदूरपश्चिममा मात्र २२३ फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

चालु आर्थिक वर्षको आजसम्म कूल ४५० औलोका बिरामी देखा परेका छन् । त्यसमध्ये सुदूरपश्चिममा मात्रै १७१ बिरामी देखा परेका छन् । धेरै औलो बिरामी सुदूरपश्चिम प्रदेशमा मात्र भएको हुनाले सुदूरपश्चिमले औलो रोग निवारणको लक्ष्य समयमै हासिल गर्नका लागि अन्य प्रदेशको तुलनामा झन् बढी काम गर्नु पर्ने  स्वास्थ्य निर्देशनालयका कार्यक्रम अधिकृत जोशीले बताए ।

सुदूरपश्चिमका तराईका कैलाली र कञ्चनपुरका बासिन्दा मात्रै औलोका बिरामी नभएर पहाडी क्षेत्रका जिल्लाका बासिन्दामा समेत उत्तिकै औलोको जोखिम रहेको छ । सुदूरपश्चिमको पहाडी क्षेत्रमा बसोबास गर्ने बासिन्दामा समेत औलो रोग देखा पर्न थालेको छ । जलवायु परिवर्तनसँगै लामखुट्टे पहाडी क्षेत्रमा समेत बाँच्नसक्ने भएपछि औलोको जोखिम बढेको स्वास्थ्य निर्देशनालयका कार्यक्रम अधिकृत जोशी बताउँछन् ।

‘पहिला तराई क्षेत्रमा मात्रै लामखुट्टे पाइन्थ्यो, औलोको जोखिम तराईका बासिन्दामा मात्रै सीमित थियो’, उनले भे, ‘तापक्रममा वृद्धि हुने क्रमसँगै लामखुट्टेले पहाडी क्षेत्रको हावापानीमा बाँच्न सक्ने क्षमता विकास गरेपछि औलोका बिरामीसमेत देखिन थालेका हुन ।’ केही वर्षयतादेखि लामखुट्टेबाट बच्नका लागि झुलको प्रयोगलाई व्यापक बनाउने कार्यसँगै कीटनाशक औषधी छर्कने कार्यले औलोका बिरामी घट्दै जान थालेका छन् ।

सरकारले निःशुल्क रुपमा ग्रामीण क्षेत्रका बासिन्दालाई औलोबाट जोगाउन कीटनाशक झुल वितरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । औलो रोग पोथी एनफिलिज लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्दछ । औलो लागेका बेलामा ज्वरो आउने, थकान महसुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षण देखिन्छन् । यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजर आउने, कोमामा जाने र मृत्यु हुने सम्भावना बढी हुन्छ । 

लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्‍यो भने त्यसको १० देखि १५ दिनमा लक्षण देखिन सुरु हुन्छ । औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनको प्रयोग गरेर लामखुट्टेको टोकाई कम गर्न सकिन्छ । लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने कार्यसँगै घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ । 

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १ : १९ बजे

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग

भारतको ८० करोड अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना बन्ने

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि

पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड

एजेन्सी– सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ

सुगौली सन्धिको सक्कल प्रतिबारे भारतको जवाफ, ‘द्विपक्षीय संयन्त्रमार्फत कुरा गर्न सकिन्छ’

नयाँदिल्ली- सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति नभेटिएको चर्चा

निशान छापको दुरुपयोग गर्ने एक जना पक्राउ

काठमाडौं– प्रहरीले अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरुपयोग गर्ने