विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

आज असार ९, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन २३, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

श्रीलंकाली प्रधानमन्त्रीद्वारा मुलुकको अर्थतन्त्र ‘पूर्ण रुपमा टाट पल्टेको’ घोषणा

श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गरेका छन् । संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गरेका हुन् । ‘हाम्रो अर्थतन्त्र पूर्ण रुपमा टाट पल्टेको छ ।’ विक्रमासिंघेलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

विदेशी मुद्रा सञ्चितीको चरम अभाव रहेको श्रीलंकामा खाद्यान्न, इन्धन, विद्युत्, खानेपानीजस्ता अत्यावश्यक वस्तुको हाहाकार रहेको बताइएको छ । यो संकट सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब रहेको बताइन्छ । उनले संसद्मा मुलुकले अभावभन्दा ‘धेरै गम्भीर अवस्था’ को सामना गरिरहेको बताउँदै यो अझै खस्केर ‘पानी मुनी’ पुग्ने सम्भावना रहेको समेत टिप्पणी गरेको गार्जियनले जनाएको छ ।

उनको टिप्पणी विपक्षीतर्फ लक्षित रहेको बताइएको छ । मुलुकको अवस्था अत्यन्त भयावह रहेको र यो समस्याको हल निस्कन समय लाग्ने संकेतस्वरुप विक्रमासिंघेले यस्तो अभिव्यक्ति दिएको हुनसक्ने टिप्पणी गरिएको छ । ‘उनले मानिसहरुको अपेक्षालाई अत्यन्त साँघुरो बनाइरहेका छन् ।’ अमेरिकाको राजधानी वाशिंटन डिसीमा रहेको सेन्टर फर ग्लोबल डेभलपमेन्ट नामक संस्थाका अर्थशास्त्री अनित मुखर्जीले भने ।

यसबाहेक उनको टिप्पणी ऋणदाता मुलुक एवम् संस्थाहरुतर्फ पनि लक्षित रहेको टिप्पणी गरिएको छ । ‘यतिको रणनीतिक रुपमा महत्वपूर्ण मुलुकलाई टाट पल्टिन दिनु हुन्न ।’ अत्यन्त व्यस्त पानीजहाज मार्गमा अवस्थित श्रीलंकाको ठूलो रणनीतिक महत्व रहेको बताउँदै मुखर्जीले भने । श्रीलंकाको अर्थतन्त्र विशाल वाह्य ऋण, पर्यटन क्षेत्रको गिरावट, महामारीपछि उत्पन्न लकडाउन र यसबाट आपूर्ति सिलसिलामा पर्न गएको असर, विश्व बजारमा इन्धनको बढ्दो मूल्यवृद्धि लगायतका कारण संकटग्रस्त बन्न पुगेको जानकारहरु बताउँछन् ।

यसबाट श्रीलंकामा ग्यास, खानेकुरा, टोइलेट पेपर, दूध लगायतका अत्यावश्यक वस्तुको आयात गर्न पैसा नरहेको बताइएको छ । एक महिनाअघि प्रधानमन्त्री बनेका विक्रमासिंघेले मुलुकको अर्थतन्त्र उकास्ने बाचा पूरा गर्न नसकेको भन्दै त्यहाँका दुई महत्वपूर्ण विपक्षी पार्टीहरुले संसदीय सत्र बहिष्कार गरेका छन् ।

उनले आफ्नो मुलुकको आयल निगमले विदेशी साहूसँगको उधारो तिर्न बाँकी रहेको भन्दै आयातित इन्धन खरिद गर्न नसकेको समेत जानकारी गराएका छन् । उनका अनुसार सिलोन पेट्रोलियम कर्पोरेसन ७० करोड अमेरिकी डलर ऋणमा छ । ‘परिणामस्वरुप विश्वका कुनै पनि मुलुक वा संस्थाले हामीलाई इन्धन दिन चाहिरहेका छैनन् । उनीहरु नगद मै पनि इन्धन दिन हिचकिचाइरहेका छन्’ उनले भने ।

यस संकटबाट श्रीलंकाली मध्यमवर्ग प्रभावित हुन थालेको बताइएको छ । श्रीलंकाको सहरी जनसंख्याको १५ देखि २० प्रतिशत मध्यमवर्गीय रहेको द गार्जियनले जनाएको छ । सन् १९७० मा आर्थिक उदारीकरणपछि त्यहाँ मध्यमवर्गको उदय हुन थालेको बताइन्छ । पछिल्लो केही समयसम्म त्यहाँको मध्यमवर्गले आर्थिक सुरक्षाको प्रत्याभूति गरिरहेको भएपनि हाल उनीहरु दैनिक छाक टार्नै समस्यामा रहेको जनाइएको छ ।

अफगानिस्तानमा भूकम्प – तालिबानद्वारा अन्तर्राष्ट्रिय सहयोगको अपिल

अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।  विनाशकारी भूकम्पपछिको अवस्थाको सामना गरिरहेको बेला तालिबानले सहयोगको अपिल गरेको छ । बुधबार बिहान आएको ६ दशमलव १ म्याग्निच्युडको भूकम्पमा परेर १ हजारभन्दा भन्दा बढी मानिसको मृत्यु भएको छ । भूकम्पमा कम्तीमा १५ सय घाइते भएका छन् ।

भूकम्पबाट दक्षिण पूर्वको पक्तिका प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । संयुक्त राष्ट्रले आपतकालीन आश्रय र खाद्यान्न सहायता प्रदान गर्ने प्रयास गरिरहेको छ । भारी वर्षा र असिनाले उद्धार कार्य प्रभावित भएको प्राप्त विवरणमा जनाइएको छ । विनाशकारी भूकम्पले तालिबानका लागि ठूलो चुनौती मानिएको छ । खोस्ट सहरबाट ४४ किलोमिटर टाढा गएको उक्त भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो ।

‘दुःखको कुरा सरकारमाथि प्रतिबन्ध छ । तसर्थ, सरकार जनतालाई आवश्यक सहयोग गर्न आर्थिक रूपमा असमर्थ छ’, तालिबानका वरिष्ठ अधिकारी अब्दुल काहर बल्खीले भने । ‘अन्तर्राष्ट्रिय राहत निकायले सहयोग गरिरहेका छन्, छिमेकी तथा क्षेत्रीय देशहरू र विश्वका विभिन्न देशले सहयोगको प्रस्ताव गरेका छन्, जसलाई हामी प्रशंसा र स्वागत गर्दछौँ ।’

यौन दुव्र्यवहार गर्ने अलिबाबाका ग्राहकलाई जेल सजाय

यौन दुर्व्यवहारको अभियोगमा चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका एक ग्राहकलाई १८ महिनाको जेल सजाय सुनाइएको छ । ती ग्राहकले कम्पनीका एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेका थिए । पूर्वी सहर जिनानको अदालतले उक्त सजाय सुनाएको हो । महिलालाई आक्रमण गर्नुअघि रक्सी पिउन बाध्य पारेको फैसलामा उल्लेख छ ।

ती महिलाले आफ्नो आरोप सार्वजनिक गरेपछि अलिबाबाले उनलाई बर्खास्त गरेको थियो । उनीमाथि भएको यौन दुर्व्यवहारको घटना चिनियाँ सञ्चार माध्यममा छाएको थियो । उनीमाथिको दुर्व्यवहार चिनियाँ महिलाहरूले कार्यस्थलमा भोग्नुपरेको उत्पीडनलाई उजागर गरेको छ । फैसलाको ग्राहकले अपिल गर्ने बताएका छन् । चीनमा धेरैजसो यौन दुर्व्यवहारका मुद्दाहरू अदालतमा पुग्दैनन् ।

अलिबाबाका कर्मचारीले गत अगस्टमा कम्पनीले कारबाही गर्न असफल भएको सार्वजनिक रुपमा गुनासो गरेकी थिइन् । उनले सोही यात्रामा एकजना वरिष्ठ सहकर्मीलाई पनि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि उनलाई बर्खास्त गरियो, तर पछि उनीविरुद्धको फौजदारी मुद्दा खारेज गरिएको थियो । डिसेम्बरमा यो महिलालाई अलिबाबाले बर्खास्त गरेको थियो । उनले झूटा कुराहरू फैलाए कम्पनीको प्रतिष्ठालाई हानि पु¥याएको उनको बर्खास्ती पत्रमा उल्लेख थियो ।

इन्डोनेसियाका राष्ट्रपतिले रुस र युक्रेनको भ्रमण गर्ने

इन्डोनेसियाका राष्ट्रपति एवम् जी २० का अध्यक्ष जोको विडोडोले रुस र युक्रेनको भ्रमण गर्ने भएका छन् । युक्रेनमाथि रूसले आक्रमण गरेपछि उत्पन्न आर्थिक तथा मानवीय परिस्थितिबारे छलफल गर्न उनी यसै महिना युक्रेन र रुसको भ्रमणमा जाने भएका हुन् । इन्डोनेसियाको बाली टापुमा नोभेम्बरमा हुने विश्वका प्रमुख अर्थतन्त्रहरूको समूहको शिखर सम्मेलनमा आमन्त्रण गर्ने निर्णयलाई लिएर विवादमा परेका बेला राष्ट्रपति विडोडो रुस र युक्रेनको भ्रमणमा जान लागेका हुन् ।

रूसले युक्रेनमाथि युद्ध अपराध गरेकाले उसलाई सम्मेलनमा आमन्त्रण गर्न नहुने समूहका अन्य सदस्यले बताएपछि विवाद बल्झेको हो । इन्डोनेसियाले यसवर्ष जी २० को अध्यक्षता गरिरहेको छ । उमाथि अमेरिकाको नेतृत्वमा केही पश्चिमी देशहरूबाट रुसलाई बैठकबाट बहिष्कार गर्न दबाब परेको बताइएको छ । विडोडोले जुन २६ र २७ मा जर्मनीमा हुने जी २० शिखर सम्मेलनमा इन्डोनेसियाको अतिथि देशको रूपमा प्रतिनिधित्व गरेपछि किभ र मस्कोको भ्रमण गर्ने र युद्ध सुरु भएदेखि दुबै देशको भ्रमण गर्ने योजना रहेको बताइएको छ ।

यससँगै उनी युक्रेनमाथि रुसले आक्रमण थालेयता ती मुलुकहरुको भ्रमण गर्ने पहिलो एसियाली नेता बन्ने इन्डोनेसियाका परराष्ट्रमन्त्री रेत्नो मार्सुडीले बताएका छन् । दुबै मुलुकको भ्रमणमा राष्ट्रपति विडोडोले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेट्ने मार्सुदीले बताए । इन्डोनेसियाले युक्रेनमा जारी संकटमा तटस्थताको नीति अपनाउने प्रयास गर्दै महिनौं लामो द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि आह्वान गरेको छ ।

विडोडोले मानवीय सहायताको सट्टा जेलेन्स्कीको अनुरोधको जवाफमा युक्रेनलाई हतियार पठाउन अस्वीकार गरेका थिए । इन्डोनेसियाले युक्रेनलाई जी २० शिखर सम्मेलनको अतिथि सदस्यको रूपमा आमन्त्रित गरेको छ । जेलेन्स्कीले भने आफ्नो इन्डोनेसिया भ्रमण युद्धको स्थितिमा निर्भर हुने भन्दै कम्तिमा भर्चुअल उपस्थिती जनाउने बताएका छन् ।

भारतमा १३ हजार भन्दा धेरै कोरोना सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टाको समयावधिमा भारतमा कोरोना भाइरसबाट थप १३ हजार ३१३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल भारतमा ८३ हजार ९९० सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको शुन्य दशमलब १९ प्रतिशत हो ।

पछिल्लो एक दिनमा दश हजार ९१२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ३६ हजार २७ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ । सोही अवधिमा कोरोना महामारीबाट ३५ को मृत्यु भएको छ । यसैसँगै कोरोना महामारी शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९०० जनाभन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९६ करोड ६२ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । भारतमा कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ९४ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो डोज खोप लगाउने तयारी

डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ । सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह गर्ने सरकारी अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार झन्डै २० लाख मानिसलाई चौथो मात्रा खोप लगाउने गरी तयारी भइरहेको छ । यस पटक पनि सुरुमा स्वास्थ्यकर्मी र ५० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई खोप लगाउने व्यवस्था गर्न लागिएको छ ।

प्रधानमन्त्री मेटे फ्रेडेरिक्सनले कोरोनाविरुद्ध लड्ने अर्को चरणको प्रयासअन्तर्गत यो खोप अभियान सुरु गर्न लागिएको जानकारी दिइन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले दिएको जानकारीअनुसार आगामी सेप्टेम्बर १५ देखि चौथो मात्रा खोप लगाउन थालिने छ ।

डेनमार्कमा यही जुन २० सम्ममा ३१ लाख ५५ हजार ९७२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी छ हजार ४३२ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्याङ्क छ ।

९१ वर्षीय अर्बपतिद्वारा चौथो सम्बन्धविच्छेदको तयारी

सञ्चार जगत्का बादशाहको पहिचान बनाएका ९१ वर्षीय अर्बपति रुपर्ट मर्डोकले सम्बन्ध विच्छेदको तयारी गरेका छन् । सन् २०१६ यता विवाह बन्धनमा रहेका मर्डोक र अभिनेत्री जेरी हलले सम्बन्धविच्छेदको तयारी गरेका हुन् । यस विषयमा परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै अमेरिकी अखबार न्यूयोर्क टाइम्सले उनीहरुको सम्बन्धविच्छेदको तयारी भएको जनाएको हो ।

मर्डोकले मार्च २०१६ मा सेन्ट्रल लन्डनमा हलसँग विवाह गरेका थिए । विवाहपछि आफूले संसारकै सबैभन्दा खुसी र भाग्यमानी अनुभूति गरेको बताएका थिए । मर्डोकसँगको विवाहमा हलले फिक्का नीलो रंगको भिभियन वेस्टवुड पोसाक लगाएकी थिइन् ।

सन् २०१९ सम्म रूपर्ट र जेरीले प्रायः रातो कार्पेट कार्यक्रमहरूमा सँगै भाग लिन्थे । फक्स कर्पोरेसनका मालिक मर्डोक र ६५ वर्षी जेरीको सम्बन्ध निकै चर्चा पाएको थियो । सम्बन्धविच्छेदले मर्डोकको स्वामित्वमा रहेका व्यवसायहरूको स्वामित्व संरचनामा परिवर्तन नहुने जनाइएको छ । फोर्ब्सका अनुसार मर्डोकसँग १७ दशमलब ७ अर्ब डलर सम्पत्ति छ । मर्डोकको यो चौथो पटक सम्बन्धविच्छेद हो ।

 

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ८ : ०६ बजे

६२ प्रतिशत उजुरीको भएन सुनुवाइ, आयोगको औचित्यबारे अधिकारकर्मीले उठाए प्रश्न

कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष

बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार र प्रवर्द्धन सुरु

तनहुँ- जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन

सम्झौता अवधि सकिएपछि काममा तीव्रता

बागलुङ– कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्ड कालोपत्रका लागि गरिएको सम्झौता अवधिसकिएपछि

महिला एसिया कप : आज नेपालले भारतसँग खेल्ने

काठमाडौं– एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग