पछिल्लो समय नेपाली बजारमा जुत्ताको माग बढ्दो छ। काठमाडौं लगायतका मुख्य मुख्य शहरमा विदेशबाट जुत्ता आउने भए पनि धेरैजसो नेपाली उत्पादनका जुत्ता पनि बिक्री भइरहेका छन्। जुत्ता बिक्रीका लागि भृकुटीमण्डपमा मेला पनि चल्ने गर्छ। सो मेलाले नेपालको जुत्ता उत्पादन र बिक्रीमा पनि ठूलो सहयोग गर्दछ। यसै सन्दर्भमा नेपाली जुत्ता घर प्राइभेट लिमिटेडका अध्यक्ष होमनाथ उपाध्यायसँग गरिएको कुराकानीको सम्पादित अंशः
भृकुटीमण्डपमा लागेको बृहत् मेला कस्तो भयो ?
वार्षिक रुपमा दुई वटा बिजनेस प्रदर्शनी अर्को औद्योगिक मेला भनेर हाम्रो एउटा एसोसिएसनले कार्यक्रम बनाएको छ। त्यही क्यालेन्डर अनुसार आयोजना गरेको मेला हो। करिब २३ दिन जति निकै उत्साहजनक रुपमा मेला चल्यो। जुन निकै भव्यका साथ सम्पन्न भएको छ।
विभिन्न प्रकारका ब्रान्डका जुत्ता राख्नु भयो र कस्ता कस्ता मानिसहरु आउनु भयो त ?
प्राकृतिक रुपमा आफैँले उत्पादन गरेका जुत्तालाई समेटेका छौँ। यहाँ नेपाली ब्रान्डलाई माया गर्ने माहनुभावहरु आउनुहुन्छ, एक किसिमले राम्रो जुता सस्तो र सुलभ मूल्यमा पाइने र यो मेला एउटा क्यालेन्डर जस्तो समय समयमा हुने हुँदा धेरै मानिस आउनुहुन्छ।
वर्षमा कति ओटा र कुन कुन समयमा मेला लाग्छ ?
आधिकारिक रुपमा ३ ओटा मेला लाग्छ। कम्पनीले कतैकतै नेपाली जुत्ताको नाम लिएर मेला लगाउँछ त्यो आधिकारिक होइन। त्यो चाहिँ कुनै व्यापारीले आफ्नो व्यवसायलाई थप अगाडि लानको लागि मेला लगाउने गर्दछन्। ती मेला हाम्रो नेपाली जुत्ता व्यवसायीसँग कुनै सम्बन्ध हुँदैन।
१७ वर्ष भन्दा बढी भयो यहाँ यो पेसामा लाग्नु भएको। किन यो व्यवसाय गर्नुभयो ?
सुरुमा र अहिलेको समयमा धेरै कुराहरु राष्ट्रिय स्तरमा, राजनीतिक उद्योग सबैमा परिवर्तन आए। यो परिवर्तनसँगै हाम्रो यो व्यवसायमा पनि निकै परिवर्तन आयो त्यससँगै नयाँ डिजाइन भित्र्याउँदै अहिलेसम्म अगाडि बढेका छौँ। पहिला मानिसमा नेपालमा जुत्ता बन्छ भन्थे। तर, अहिले कुन ब्राण्डको लगाउने कुन राम्रो कुन चलेको भन्छन्। पहिला बाहिरको जुत्ता राम्रो भन्ने चलन थियो। त्यसकारणले बाहिरको ब्रण्डको नाम राख्नु पर्ने हुन्थ्यो। तर, अहिले उपभोक्ताले नै यो ब्राण्डको जुत्ता बनाइदिनु भन्नुहुन्छ, त्यसले गर्दा निकै सजिलो भएको छ। समय परिवर्तनसँगै हाम्रो कम्पनी पनि माथि पुगेको महसुस गर्न सक्छौँ।
सुरुवातका चुनौती कस्ता थिए र अहिलेका चुनौती कस्ता छन् ?
पहिले नेपाली ब्राण्ड भनेर बेच्न निकै कठिन हुन्थ्यो। तर, अहिले नेपाली ब्राण्डलाई निकै महत्त्व दिन थालिएको छ। पहिला कच्चा पदार्थ कहाँबाट ल्याउने भन्ने थियो। अहिले कच्चा पदार्थका सहायक उद्योग स्थापना भएका छन्। कतिपय कच्चा पर्दाथ सोलहरु नेपालमा बनेको नौलो प्रयोग गर्दछौँ। उपभोत्ताले पनि धेरै ब्रण्ड भएका कारणले जुन लगाए पनि छानीछानी लगाउन पाएका छन्। पहिला कसरी ब्राण्डलाई अगाडि बढाउने आफूलाई कसरी चिनाउने र कच्चा पदार्थ कहाँबाट ल्याउने भन्ने थियो, अहिले धेरै कम्पनी आएपछि एकआपसमा निकै प्रतिस्पर्धा छ। डिजाइन फेसनहरु धेरै आयो र ग्राहकको माग अनुसारको सामान बनाउनु पर्नेछ। आयातमा धेरै चोरी पैठारी हुने विदेशबाट आउने जुत्तासँग प्रतिस्पर्धा गर्नुपर्ने। तत्कालीन चुनौतीहरु यी नै हुन्।
हरेक विषयको पढाई हुन्छ त्यस्तै यो फुड वायरलाई पनि सरकारले एउटा पाठ्यक्रममा राख्नु पर्ला कि नपर्ला ?
हरेक उद्योगको एउटा पाठ्यक्रम बनाएर पढाई हुन्छ। त्यसैगरी पहिला हेर्दा बाँसबारी जुत्ता कारखानामा मात्र सामान्य पढाइ हुन्थ्यो। अहिले टेक्निकल रुपका कुनै पनि पढाइ हुँदैन। नेपालमा डिजाइनिङ र अन्य र्गामेन्टको बारेमा पढाइ हुन्छ। तर, यो फुड वेयरको कुनै पाठ्यक्रम छैन। यो हुनु आवश्यक छ।
नेपाल सरकारबाट तपाईँको काममा प्रोत्साहन गर्न के–कस्ता अभियान भएका छन् ?
अहिले नीति नियममा केही सुधार भएका छन्। कतिपय भन्सार मूल्यांकन र भन्सार दरबन्दीका कुरामा हामीले उठाएका कुराहरु सम्बोधन भएका छन्। आयातित जुत्ताको मूल्य बढाउने माग गरेका थियौँ। त्योे पनि पुरा भएको छ। भन्सारतर्फ पनि आयात गर्दा एक हजार रुपैयाँ संरक्षण हुनुपर्छ भनेको त्यो पनि सम्बोधन हुँदैछ। कार्यान्वयन चाहिँ खासै भएको छैन चोरी पैठारी भइरहेको छ।
नेपालमा उत्पादित ब्राण्डलाई कसरी विश्वव्यापीकरण गरिएको छ, विदेशका कुन–कुन ठाउँमा यो सामान भेट्न सकिन्छ ?
निर्यातको विषयमा हामी अझै पनि पछाडि नै छौं। हाम्रा उत्पादन विदेश पुग्न सकेका छैनन्। एउटा किरनसुज म्यानुफेक्चरको गोलीस्टार जुत्ता भारततर्फ ९० प्रतिशत निर्यात हुन्छ। अन्य देशमा पनि गोल्डस्टोर जुता मात्र हुन्छ। छाला जुत्ता निर्यात भएका छैनन्।
एउटा युवा भएर तपाईंले कसरी बिजनेसमा अगाडि बढ्नु भयो त ?
एउटा आफू भन्दा पछाडि आउने जेनेरेसनलाई निरन्तर सफलतामा नआत्तिनु भन्न चाहन्छु। चुनौतीहरु धेरै नै आउँछन्। त्यसबाट नआत्तिकन समस्यालाई समाधान गरेर अगाडि बढ्नुपर्छ। धेरै सामान जुटाएर यो बिजनेस सुरु हुन्छ, यसमा आत्तिनु हुँदैन।
कोभिड माहामारीको कारणले धेरै बिजनेसहरु घाटामा गए। त्यसमा तपाईंलाई सरकारी निकायबाट के कति सहयोग आयो ?
सरकारले हामीलाई कुनै पनि प्रकारको सहयोग गरेको छैन। लकडाउनमा धेरै घाटा भयो। ६ महिनासम्म कच्चा पदार्थ राख्दा बिग्रिएर फाल्नुपर्यो। धेरै जुत्ता फाल्नु पर्यो।
सरकार अभिभावक हो भनिन्छ, त्यस्तो हुँदा किन सहयोग भएन ?
सरकारले बजेट भाषण योजना बनाएको हुन्छ। तर, त्यो भाषणमा नै सीमित बनाएको छ। कुनै कार्यान्वयनमा नै ल्याएको छैन। हेर्दा सुन्दा राम्रा लिखित पेपरमा आए पनि त्यसलाई उपयुक्त रुपमा कार्यान्वयन भएको अनुभव गर्न सकेका छैनौँ।
सरकारले पनि बाहिरको सामान नलिनु नेपालमा नै बनेको सामान प्रयोग गर्नु भनेको समयमा तपाईंहरुको व्यापार कस्तो रह्यो ?
अहिले भएको तरलताको अभाव र आयातलाई प्रतिस्थापन गर्नु पर्ने नीति राखिएको छ। यसले गर्दा केही हदसम्म राम्रो र प्रतिस्पर्धामा सहज भएको छ। देशमा आयातित वस्तु कम आएपछि नेपाली वस्तु बढी खपत हुने देखिन्छ। त्यो हुँदा हाम्रो वस्तु राम्रोसंग चल्छ भनेर ढुक्क भएर बस्नु हुँदैन । बजारमा केही कमीभयो भने त्यसलाई पुरा गर्नु पर्दछ। जादाँजाँदै म यो सरकारले बजेट भाषणमा ल्याएका कुरालाई तुरुन्तै कार्यान्वयन पक्षमा ल्याइदियोस् भन्छु। आयातलाई प्रतिस्थापन गर्ने नीतिहरु केही महिनामै परिवर्तन नहोस्।
प्रतिक्रिया