दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर काँग्रेसले शहीदहरुलाई उचित सम्मान दिन नसकेको केपी ओलीको भनाइ‌, काँग्रेसले अहंकार देखाउन थालेको माधव नेपालको टिप्पणी, सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुन नसक्ने झलनाथ खनालको टिप्पणी लगायतका समाचारले मुख्य स्थान पाए ।

यी हुन् आजका प्रमुख समाचारहरूः

काँग्रेसले शहीदहरुलाई उचित सम्मान दिन सकेनः केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रजातान्त्रिक लडाइँमा शहीद भएकाहरूलाई उचित सम्मान दिन नसकेको बताएका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले राजनीतिक पूर्वाग्रहका आधारमा कांग्रेसले प्रजातान्त्रिक लडाइँमा शहीद भएकाहरूलाई उचित सम्मान दिन नसकेको बताएका हुन् ।

उनले भीमदत्त पन्त लगायत केहीलाई कांग्रेसले शहीद नमानेको तर्क गरेका छन । उनले अग्रजहरुलाई सम्मान गर्दा फराकिलो सोच राख्नुपर्ने बताए । पुष्पलालले स्थापना गरेको पार्टीका रुपमा नेकपा एमाले बलियो पार्टीको रुपमा रहेको भन्दै उनले मुलुकलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने प्रतिवद्धता जनाएका छन् ।

पुष्पलालको जीवनको चर्चा गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा उनले पुर्‍याएको योगदानको स्मरण गरेका थिए । कार्यक्रममा अन्य विभिन्न पार्टीबाट कार्यकर्तालाई ओलीले एमालेमा प्रवेश गराएका थिए भने अग्रज नेताहरुलाई सम्मान गरिएको थियो ।

काँग्रेसले अंहकार देखाउन थाल्यो: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहमा पहिलो दल बनेपछि कांग्रेसले अहंकार देखाउन थालेको बताएका छन् ।

आज काठमाडौंमा नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले आफ्नो पार्टीको मद्धतले नै स्थानीय निर्वाचनमा कांग्रेस पहिलो दल भएको भन्दै पहिलो पार्टी बनेपछि कांग्रेसले अहंकार देखाउन थालेको बताएका हुन् ।

उनले अहिले कांग्रेसले नै आफ्नो पार्टीलाई प्रयोग गरेर आफैलाई बुर्कुसी मार्ने हो कि भन्ने डर पैदा भएको समेत बताए । उनले दुई तिहाइको फुर्ती देखाएकालाई सडकमा फालेर इतिहासमा नै नयाँ किर्तिमान बनाएको जिकिर गरेका छन् ।

अध्यक्ष नेपालले गठबन्धनको डम्फु नबजाई पार्टीलाई सुदृढ बनाउने स्पष्ट पारे । त्यस्तै उनले कम्युनिष्ट पार्टी दुईतिहाईमा पुगे पनि त्यसको सही उपयोग गर्न नसकेको उल्लेख गरे ।

नेपालले केहि व्यक्तिमा अहंकार बढेको र निरंकुश प्रवृति हावी भएका कारण नै कम्युनिष्ट पार्टी विभाजित भएको तर्क गरे ।

सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुँदैन: झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुन नसक्ने स्पष्ट पारेका छन् ।

नेकपा एकीकृत समाजवादी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल हुन नसक्ने भन्दै तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने बताएका हुन् ।

कांग्रेसप्रति लक्षित गर्दै खनालले केहि दलले बहुमत आउने गरि चूनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पारे । खनालले स्थानीय तहमा जसलाई बोक्यो, उसलै आगामी निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने तर्क गरे । खनालले अहिले बाम एकताको खाँचो रहेको औँल्याए ।

उनले आगामी निर्वाचनमा सम्भव भए बामपन्थी एकता गर्नुपर्ने र यसका लागि एमालेको नेतृत्व तयार हुन्छ कि हुदैन भन्ने प्रश्न रहेको जिकिर गरेका थिए । सबै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए वामपन्थी एकता असम्भव नरहेको उनकोे भनाइ छ ।

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणा अघि सार्ने राप्रपाको बैठकको निर्णय

राप्रपाले पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेको छ ।

आज काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान शासकिय स्वरुप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन गर्नुपर्ने धरातलीय यथार्थ मध्यनजर गर्दै उक्त अवधारणा अघि सारेको हो ।

संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र सर्वधर्म समभाव,पूर्ण धार्मिक स्वतन्त्रता सहितको बैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पुनस्थापना, प्रदेशको खारेजी र बलियो स्थानीय तह रहने व्यवस्था स्थापनामा प्रतिवद्ध रहेको राप्रपाले जनाएको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रुपमा सम्पन्न गर्न निष्पक्ष चुनावी सरकार माग गर्दै राप्रपाले वर्तमान व्यवस्था अनुसारकै निर्वाचन प्रणालीमा भाग लिएर आफ्नो मुद्धा स्थापीत गर्ने समेत निर्णय गरेको छ ।

बैठकले अत्याधिक महङ्गीका कारण आम सर्वसाधारण प्रताडित भएको अवस्थामा उपभोग्य बस्तुको मूल्यबृद्धि नियन्त्रण गर्न र बजारको प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका हुन ।

विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउन, निजी अस्पतालमा पनि स्वास्थ्य बीमाको उपचार सुविधा दिन, मलखादको व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

त्यस्तै बैठकले एसपीपी फिर्ता पठाउनेबारे आफ्नै निर्णय अनुसार सरकारले अहिलेसम्म अमेरिकालाई पत्राचार नगरेकामा आपती जनाएको छ भने बैठकमा प्रस्तुत राजनीतिक कार्यपत्र, आगामी कार्ययोजना तथा प्रतिवेदनहर संशोधनसहित पारित गरेको राप्रपाले जनाएको छ ।

सद्भावना पार्टीमा सक्रिय हुने सरिता गिरीको भनाइ

पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरीले नेपाल सद्भावना पार्टीमा सक्रिय हुने बताएकी छिन् ।

आज काठमाडौंमा पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा स्वागत गरेपछि गिरीले आफू पूरानो घरमा फर्किएको भन्दै खुशी व्यक्त गरिन् ।

गिरीले आफूले कहिल्यैपनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको दावी गरेकी छिन् । गिरीले मधेश, नेपाल र संघीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गरिन् ।

उनले ढिलै भए पनि नागरिकता विद्येयक आएको भन्दै अहिलेपनि नागरिकताको नाममा महिलामाथि विभेद कायमै राखिएकोमा भने गुनासो गरिन् ।

त्यस्तै उनले आफूहरुकै नेतृत्वमा समतामूलक समाज बन्ने दाबी पनि गरेकी छिन् ।

मौद्रिक नीतिले सरकारको लक्ष्य हासिल गरेनः कमलेश अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिद्धरको लक्ष्य हाँसिल गर्न मद्दत नपुगेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले मौद्रिक नीति संकुचित भएर आएको पनि बताएका हुन् ।

निजी क्षेत्रले जहिले पनि लचिलो मौद्रिक नीतिको अपेक्षा गरेको उनकोे भनाई छ । उनले मौद्रिक नीतिले नीजि क्षेत्रलाई दिईने सहुलियत स्पष्ट नभएको धारणा राखेका छन् ।

अर्थविद् डा. डिल्लीराज खनालले मौद्रिक नीतिलाई अझै कसिलो बनाउनुपर्ने बताए । मौद्रिक नीति बढि माग पक्षबाट निर्देशित रहेको भन्दै उनले अहिलेको पोलिसी आर्थिक स्थायित्व र ब्यालेन्स अफ पेमेन्टमा राष्ट्र बैंकको नीति असफल देखिएको तर्क गरे ।

त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले मौद्रिक नीतिले आयात प्रतिस्थापन गर्नको लागि उल्लेखनीय कुरा नगरेको टिप्पणी गरे । अहिलेको आर्थिक अवस्थाको सुधारको लागि फजुल खर्च कम गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै उनले नेपालमा लगानी गर्न नीतिगत अप्ठ्यारो रहेको भन्दै त्यसतर्फ बिशेष ध्यान दिनुपर्ने बताए ।

गभर्नरको राजीनामा माग्दै आज पनि विरोध

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्ता निकट विद्यार्थीहरुले सांसदहरुलाई एसएमएस पठाएका छन् ।

आज काठमाडौंमा प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा भेला भएका नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियुका बिद्यार्थीहरुले गभर्नरलाई पदमुक्त गर्नुपर्ने माग राख्दै सांसदहरु र राज्यका विभिन्न निकायमा रहेका व्यक्तिहरुलाई एसएमएस गरेका हुन् ।

उनीहरुले राजनैतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन नसक्ने भन्दै तत्काल बर्खास्त गर्नुपर्ने जनाएका छन् । आफुहरुको मागकाबीच पनि गभर्नरलाई पदमुक्त नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपालमा थप ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८८ पीसीआर परिक्षणका क्रममा २ सय १६ जना र १ हजार ९ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ३ सय ९४ जना निको भएका छन् । हाल नेपालमा २ हजार ९ सय ७१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

महिलाको शव सडेको अवस्थामा फेला

रुकुम पश्चिममा एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ ।

जिल्लाको मुसीकोट नगरपालिका–१ गिलबाङ निपानेमा पहिचान नखुलेकी अन्दाजी ३५÷४० वर्षकी महिलाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

कार्यालयका प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार महिलाको शव सडेर टाउकोको पुरै भाग खसेको छ । शुक्रबार बेलुका गिलबाङको एक पुरानो गोठमा शव कुहिएको अवस्थामा रहेको भनि स्थानीयले खबर गरेपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

अहिले शवलाई जिल्ला अस्पताल सल्लेमा राखिएको र थप अनुसन्धान भइरहेको पनि डीएसपी सोतीले बताए ।

संखुवासभामा जीपको ठक्करबाट बालिकाको मृत्यु

संखुवासभाको खाँदबारी नगरपालिका–९ मा पर्ने तुम्लिङटारमा जीपले ठक्कर दिँदा तीन वर्षीया बालिकाकोे ज्यान गएको छ ।

आज शनिबार बिहान एघार बजे भएको दुर्घटनामा परि उनको ज्यान गएको हो । तुम्लिङटार विमानस्थल जाने ट्राफिक चोक नजिकै बा २० च ९५०२ नम्बरको जीपले पैदल यात्री भोजपुरको षडानन्द–५ की भूमिका विष्टको छोरी वर्ष ३ की

मनिषा विष्टलाई बाटो काट्ने क्रममा ठक्कर दिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी घाइते भएकी बालिकाको उपचार क्रममा मनकामना अस्पतालमा ज्यान गएको हो ।

बालिकाको टाउको तथा बायाँ हातमा चोट लागेको थियो । ड्राइभर गोविन्द श्रेष्ठ र जीप प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।

सुन्दरीजलमा एकजना बेपत्ता

काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता भएका छन् ।

साथीहरुसँग घुम्न गएका कपनमा १६ वर्षका शुभम श्री न्यौपाने खोलामा खसेर हराएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरिरहेको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।

उनका अनुसार शनिबार विहान शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा घुम्न गएको ७ जनाको टोलीका एक सदस्य प्रधान हराएका हुन् ।

तातोपानी भन्सारबाट ३ अर्ब ४२ करोड राजस्व सकंलन

चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व संकलन भएको छ ।

यो लक्ष्यभन्दा दोब्बर बढी हो । कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुद गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको हो । सामान आयात, मापदण्डको पालना र व्यवसायीलाई दिइएको प्रशिक्षण लगायतका कारणले सोचेकोभन्दा राम्रो संकलन भएको प्रमुख भन्सार अधिकृत गौतमको भनाइ छ ।

त्यस्तै भन्सारले अवलम्बन गरेको शीघ्र जाँचपासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दुरुस्त भएका कारण पनि उपलब्धिको पाटो राम्रो रहेको प्रमुख भन्सार अधिकृत गौतमको तर्क छ । संकलितमध्ये मासिक औसत ३० करोड रहेको छ ।

अघिल्लो आर्थिक वर्षको लक्ष्य चार अर्ब ५० करोड रहेकामा एक अर्ब दुई करोड उठेको थियो । आगामी वर्ष भने लक्ष्य चार अर्ब ६२ करोड रहेको उनले जानकारी दिए ।

कृषिजन्य वस्तु आयात बढी

पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा यो नाका भएर आठ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको कृषिजन्य सामग्री नेपालबाट भारतलगायत तेस्रो मूलक निर्यात भएको छ । सोही अवधिमा भारतलगायत अन्य मुलुकबाट नौ अर्ब चार करोड ९० लाख ६३ हजारको सामग्री आयात भएको छ ।

निर्यातको तुलनामा करिब रु एक अर्ब बढीको सामग्री नेपालतर्फ आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ ।

कार्यालयका बाली संरक्षण अधिकृत दविन्द्र साहुका अनुसार चामल, धानलगायतका खाद्य सामग्री एक अर्ब २१ करोड नौ लाख ४२ हजार, चना, भटमासलगायतका तेलहन एक अर्ब ३६ करोड ५८ लाख ३४ हजार, करेला, भान्टालगायत ताजा तरकारी १४ करोड ८५ लाख ९२ हजार, ताजा फलफूल ५३ करोड ५२ लाख २४ हजार, इण्डोनेसियन सुपारीलगायत मसलाजन्य सामग्री पाँच अर्ब चार करोड २५ लाख २८ हजार आयात भएको छ ।

तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु

हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ ।

आज बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले ठक्कर दिँदा उनीहरूको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । घटना आज बिहान भएको हो । पाँच जनाको घटनास्थलमा अर्का एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

हरिद्वारबाट ग्वालियर गइरहेका उनीहरूलाई ट्रकले ठक्कर दिएको हो । ट्रकका चालक फरार रहेका र उनको खोजी भइरहेको छ । ‘कन्वर यात्रा’ भगवान् शिवका भक्तहरूद्वारा गरिने वार्षिक तीर्थयात्रा हो । कन्वर यात्रीहरू हरिद्वार, गौमुख र गङ्गोत्री र बिहारको सुल्तानगञ्जबाट गङ्गाजल ल्याएर भगवान् शिवलाई चढाउँछन् ।

कोभिड–१९ का कारण बन्द भएको कन्वर यात्रा दुई वर्षपछि सुरु भएको छ । तीर्थयात्रामा कुनै अप्रिय घटना हुन नदिन विभिन्न क्षेत्रका प्रशासनले आवश्यक उपाय अपनाएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १० : १९ बजे

‘वैकल्पिक नेता’का घरझगडा बजारमा छरपस्ट !

काठमाडौं – नेपालको संसदीय राजनीतिमा उदाएका नयाँ दलहरू हुन्– राष्ट्रिय स्वतन्त्र

जलवायु न्यायको माग गर्दै युवाहरुको र्‍याली (तस्बिरहरू)

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स

इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष नेता मारिए

काठमाडौं– इजरायलले लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका एक शीर्ष नेता मारिएका

चट्याङ लागेर एकजनाको मृत्यु

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत

प्रख्यात धार्मिकस्थल कमलामाई मन्दिर (तस्बिरहरू)

सिन्धुली– सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक