युक्रेनी लडिरहेका छन्, लड्न तयार छैनन् रुसी युवा | Khabarhub Khabarhub

युक्रेनी लडिरहेका छन्, लड्न तयार छैनन् रुसी युवा

‘रुसमा सैन्य भर्ती घट्यो, पुटिनको साम्राज्य चिन्ता बढ्यो’



काठमाडौं –  रुसको सेन्ट पिटर्सबर्ग सहरनजिकै रहेको भोलोसोभो नगरका लाउडस्पिकरहरु चर्को स्वरमा चिच्याइरहेका छन् ।
रुसका धेरै सहरहरुजस्तै भोलोसोभो नगरमा पनि अग्ला अग्ला पोलमा लाउडस्पिकर राखिएका छन् । पहिले यी लाउडस्पिकरमा राष्ट्रिय विदाका दिन देशभक्तीपूर्ण गीत बज्दथे । आजकल यी लाउडस्पिकरको काम फेरिएको छ ।

‘दुई वटा स्वयंसेवी तोपखाना गण स्थापना हुँदैछन् । हामी १८ देखि ६० वर्षका मानिसहरुलाई भर्ती हुन निम्ता गर्छौँ’ लाउडस्पिकर चिच्याउँछन् । यस्ता सन्देश अहिले रुसभर सुन्न पाइन्छ । सामाजिक सञ्जाल, टेलिभिजन, होडिङ बोर्ड जताततै । यस्ता सन्देशले छोटो समयका लागि युक्रेनमा गएर लड्न मानिसहरुलाई आवेदन दिन आह्वान गरिरहेका छन् ।

युक्रेनमा जारी युद्धका कारण उल्लेख्य सैनिक जनशक्ति गुमाएको रुसले भर्ती अभियानलाई निकै तीव्र पारेको छ । मैले भोलोसोभोमा एक जना मानिसलाई रोकेर स्वयंसेवीलाई युक्रेनमा लड्न पठाउने सन्देशबारे उनको विचार बुझ्न चाहेँ ।

‘अवश्य पनि ! यदी म तन्नेरी हुन्थेँ भने जान्थेँ, तर म बुढो भइसकेँ’ मुठ्ठी कस्दै उनले भने, ‘हामीले उनीहरुलाई बम हान्नु पर्छ’
तर, अधिकांश मानिसहरु भने उनीजति उत्साहित देखिएनन् । ‘(यो युद्ध) व्यक्त गर्न समेत पीडादायी छ । एक जना महिलाले भनिन्, ‘आफ्नै भाइलाई मार्नु गलत हो ।’

उनका कोही आफन्त भर्ती हुन चाहन्छन् कि भन्ने मेरो जिज्ञासा थियो । ‘किन जाने ? उनीहरुको शरीरमात्रै फर्केर आउँछ ।’ उनले भनिन् । उनी गलत छैनन् । युक्रेनमा लड्न गएका धेरै रुसी सैनिकहरुको मृत शरीर रुस फर्किरहेका छन् ।

रुसले यसबारे स्पष्ट तथ्यांक सार्वजनिक त गरेको छैन । यद्यपि पश्चिमा मुलुकका अधिकारीहरु भने ६ महिनाअघि रुसले युक्रेनमा आक्रमण गरेयता ७० देखि ८० हजार रुसी सैनिकहरु हताहत भएको बताउने गरेका छन् ।

नयाँ सैनिक भर्ती गर्न अधिकारीहरुले धेरै पैसा, जग्गा, प्रतिष्ठित रुसी विद्यालयमा केटाकेटीको पढाई जस्ता प्रलोभन दिने गरेका छन् ।

केही केही अवस्थामा त सेनामा भर्ती गराउने सैनिक अधिकारीहरु रुसी जेलमा पुगेर समेत रिहाई र पैसा दिइने प्रलोभन दिएर बन्दीहरुलाई भर्ती हुन आग्रह गरिरहेका छन् ।

खोज पत्रकार रोमन डोब्रोखोटोभ भने जारी भर्ती अभियानलाई रुसी सैनिक अधिकारीहरुको व्यग्रताको संकेत मान्छन् । ‘यस्ता सैनिकहरु विजयी युद्धका लागि चाहिने होइनन् । गुणस्तरलाई परिमाणले जित्छ भन्ने पनि क्रेमलिनको अपेक्षा छ । उनीहरु ऋणमा डुबेका लाखौँ व्यग्र मानिसहरुलाई द्वन्द्वग्रस्त क्षेत्रमा होमिरहेका छन् ।’

भर्ती हुनेले ठूलो परिमाणमा पैसा (५ हजार ७ सय अमेरिकी डलर, झण्डै ७ लाख ३० हजार नेपाली रुपैयाँ प्रतिमहिना) पाउने बताइएपनि यथार्थ भने बिल्कुल फरक रहेको रोमन बताउँछन् ।

‘मानिसहरु यो पैसा मात्रै हेर्दैनन्’ उनी भन्छन्, ‘उनीहरु (युक्रेनबाट) फर्किरहेका छन् र आफूहरुलाई झुक्याइएको भनी हामी पत्रकारहरुलाई भनिरहेका छन् । यसले यहाँको अवस्थालाई पनि प्रभावित बनाइरहेको छ, यो सरकारप्रतिको अविश्वासलाई, त्यसैले मलाई यो रणनीति सफल होला जस्तो लाग्दैन ।’ तर केही मानिसहरु भने भर्ती हुन उत्साहित पनि छन् ।

उत्तरी करेलिया क्षेत्रमा बसोबास गर्ने निना चुबार्नियाका छोरा येभ्गेनीले पनि स्वयंसेवी गणमा भर्ती हुन गाउँ छाडेका थिए । निनाका अनुसार कुनै सैनिक अनुभव नभएका येभ्गेनीलाई बन्दुक दिइएर सोझै युक्रेन पठाइएको थियो । त्यसको केही दिनपछि उनको मृत्यु भयो । उनी २४ वर्षका थिए ।

मस्को नजिकैको एउटा पार्कमा भेट्न निना राजी भइन् । यहाँ उनी पाउरोटी कारखानामा ‘पार्ट टाइम’ काम गर्छिन् । पाउरोटीका टुक्रा प्याक गर्ने एकोहोरो कामले आफ्नो छोराको सम्झना नआउने सुनाउँछिन् ।

आफूले छोरालाई युक्रेन नजान आग्रह गरेको पनि उनी सम्झन्छिन् । ‘मैले उसलाई त्यहाँ नजान कति सम्झाउने प्रयास गरेँ । म रोएँ पनि । मैले उसलाई युद्धमा मारिएलास् सम्म भनेँ । तर उसले सबै ठिकै हुन्छ भन्यो’ उनी सुनाउँछिन् ।

अधिकारीहरुले स्वयंसेवीहरुलाई भर्ती गरी युक्रेनमा लड्न पठाउने यस्तो व्यवस्था निनालाई पनि चित्त बुझेको छैन । ‘उनीहरुले लाटा कुखुरा जस्तै गरी मानिसहरुलाई पठाइरहेका छन् । उनीहरुले त यसअघि राम्रोसँग बन्दुक पनि चलाउन पाएका हुँदैनन् । उनीहरुलाई तोपको गोला खान पठाइएको हो ।’ उनी भन्छिन् ।

तर, सेनामा भर्ती हुन सबैजना येभ्गेनीजस्तो उत्साहित भने छैनन् । यो मुलुकको भ्रमण गर्दा रुसी जनताहरु क्रेमलिनले भन्ने गरेको युक्रेनमा ‘विशेष सैन्य अभियान’ को पक्षमा देखिँदैनन् । रुसी सडकमा युक्रेनमा जारी युद्धमा रुसको समर्थन गर्ने संकेत चिन्ह ‘जेड’ पोतिएका कारहरु तुलनात्मक रुपमा कम मात्रै देख्न सकिन्छ । विज्ञहरु स्वयंसेवी रुपमा भर्ती हुनेहरुको संख्या न्यून रहेको विश्वास गर्छन् ।

सैनिक विश्लेषक पाभेल जुजिनका अनुसार राष्ट्रपति पुटिनका लागि रुसी मानिसहरु बलिदान दिन तयार छैनन् । ‘क्रेमलिनका लागि समस्या यो छ कि, अधिकांश रुसी जनताहरु पुटिन वा महान् साम्राज्य पुनस्थापनाका लागि ज्यान दिन चाहँदैनन्’ उनले भने, ‘जारी युद्धमा जनता खुशी छैनन्, त्यसैले वर्तमान अवस्थामा भर्ती सम्भव छैन ।’

तर किभमा ठीक उल्टो छ । उनीहरु रुसी साम्राज्यबाट आफ्नो देश र अस्तित्व जोगाउन रुसी सेनालाई मार्न तयार छन् । युद्धमा आफू मारिन पनि तयार छन् । तर उनी रुसी सेनाको मनोबल बुझेर भन्दैछन् ‘रुसी सेनालाई युक्रेनसँग तुलना नगरौँ । युक्रेनीहरु लड्न तयार छन् । तर रुसी युवाहरु छैनन् ।’

यसले युक्रेनलाई गाभेर रुसलाई साम्राज्य बनाउने पुटिनको चिन्ता बढाएको छ । पछिल्लो समय सैन्य भर्ती केन्द्र घट्दा युक्रेनसँगको युद्ध हारिएला भन्ने चिन्ता रुसलाई छ । त्योभन्दा ठूलो कुरा पुटिनले पश्चिमासँगको लडाई जित्न पुटिनलाई सहज मात्रै छैन, चीनको मात्रै बलमा असम्भव पनि छ ।

(मिडियाजोनाकी अल्ला कोन्स्टान्टिनोभाको सहयोगमा बीबीसीका वेल भेर्नोनले पश्चिमी रुसको भोलोसोभो नगरबाट रुसी सेनाको पछिल्लो मनोबल र युक्रेनसँगको युद्धको बारेमा तयार पारेको रिपोर्ट)

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : १२ बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक