कञ्चनपुर बाढी : बाढी पीडितको अझै जङ्गलको बास « Khabarhub

कञ्चनपुर बाढी : बाढी पीडितको अझै जङ्गलको बास


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन्। अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ।

बाढीले प्रभावित भएपछि जङ्गलमा त्रिपाल टाँगेर ओत बसेको एकान्त टोलका मेघु बोहरा बताए। ‘घरभित्रको सामान पूरै बाढीले लग्यो, घरका खम्बा मात्रै बाँकी छन्’, उनले भने, ‘घरभरी माटो नै माटो भएको छ, लत्ताकपडा सबै बाढीले लग्यो।’

शुक्रबार राति वनहरा नदीमा आएको बाढीले आफूहरुको बिचल्ली भएको उनको गुनासो छ। ‘यतिका दिन भयो, आजसम्म जङ्गलमै त्रिपाल टाँगेर बसेका छौँ, घर कसरी फर्किने त्यहाँ बाढीले केही राखेको छैन’, उनले भने, ‘ओढ्न, बिछ्यान केही छैन, खानका लागि एक कट्ठा चामल पाएका थियौँ, त्यो सकिएपछि के खाने भन्ने चिन्ता छ।’

जङ्गलमा त्रिपालमुनि बिछ्याउने कपडा नहुँदा समस्या भएको हरिकृष्ण भट्टको गुनासो छ। ‘घर बस्न लायक नै छैन, फेरि के पो हुन्छ भन्ने डरले त्यहाँ गएका छैनौँ’, उनले भने, ‘वर्षभरी खाने खेतको अन्नसमेत माटोमा मिसिएको छ, अब कसरी परिवार पाल्ने, अनिकाल लाग्ने भयो।’

एकान्त टोलमा १५ कट्ठा जग्गामा लगाएको उनको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पुर्‍याएको छ। ‘धानसँगै बदाम, मास र तिल पनि बाढीले ल्याएको बालुवाले पुरियो, २०६४ सालयता यस्तो बाढी हामीले कहिल्यै देखेनौँ’, उनले भने।

बाढी प्रभावित शुक्लाफाँटा नगरपालिका–११ वनहरा शिविरका सुकुम्बासी पनि बिचल्लीमा परेका छन्। त्यहाँका ३० परिवार पनि नजिकैको जङ्गलमा त्रिपालमुनि रात काटिरहेका छन्। बर्सेनि बाढीको पीडा झेल्दै आए पनि अहिलेसम्म सरकारले आफूहरूलाई नहेरेको वनहराका सुकुम्बासीको गुनासो छ। ‘नदीले उताबाट धकेल्छ, यताबाट वनले धपाउँछ, प्रशासनले बाँच्नुहोस् भन्छ, कहाँ जाने हामी’, स्थानीयबहादुर कामीले भने।

बाढीले घरभित्र माटो भरिएकाले बस्तीमा बस्नै नसकिने अवस्था रहेको मानध्वज लुहार बताए। ‘चामल पाएका छौँ, पकाउनलाई भाँडा छैनन्, कहाँ पकाउने ? कसरी पकाउने ? बस्तीमा पानी पनि छैन’, उनले दुखेसो पोखे। बर्सेनि बाढीले दुःख दिँदै आए पनि अहिलेसम्म यसको दिगो व्यवस्थापन हुन नसक्दा पीडा खेप्नुपरेको देवकी विष्ट बताए।

‘राति एक्कासी बाढी आयो, बालबच्चा काखमा च्यापेर भागे, सरसमान जोगाउन सकिएन’, उनले भने, ‘बाख्रा, लत्ताकपडा कहाँ पुगे, अहिले जङ्गलमा बस्नुपरेको छ, खानलाई अन्न छैन।’

बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारिएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिए। ‘बाढीपछिको अवस्थालाई सामान्य बनाउने प्रयास गरिरहेका छौँ, प्रभावितलाई सुरक्षित स्थानमा राखेका छौँ’, उनले भने, ‘उनीहरूको खाने, बस्ने व्यवस्था पनि मिलाएका छौँ।’ बाढी प्रभावितलाई राहत तथा क्षतिपूर्तिका लागि प्रदेश तथा सङ्घ सरकारलेसमेत सहयोग गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १२ : १८ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग