तिहारमा फूलको व्यापार : सयपत्री प्रतिथुङ्गा चार रुपैयाँमा बिक्री « Khabarhub

तिहारमा फूलको व्यापार : सयपत्री प्रतिथुङ्गा चार रुपैयाँमा बिक्री


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गरिन्। तिहारका समयमा उनलाई मागअनुसारको फूल पुर्‍याउन धौधौ भयो। परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उनमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो।

‘गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्‍याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ’, उनले भनिन्, ‘माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएको छु।’

उनले आफ्नै निजी दुई रोपनी जग्गामा यो वर्ष व्यावसायिकरूपमा सयपत्री फूलखेती गरेकी छन्। विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उनले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताइन्।

‘हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो’, उनले भनिन्, ‘फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ।’

फूलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने श्रेष्ठको माग छ। ‘गाउँघरमा जग्गा बाँझै छन्, त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ सरकारले सहयोग गर्नुपर्छ’, उनले भनिन्।

तिहारका बेला फूलको माग बढी हुने गरेको र पुर्‍याउन मुस्किल पर्ने श्रेष्ठको अनुभव छ। ‘तिहार सुरु हुन लागिसक्यो, अब माग आउन थाल्छ, तिहारका लागि बजारको समस्या छैन’, श्रेष्ठले थपिन्, ‘तिहार सकिएपछि पनि यसको बजारका लागि समस्या छ।’

गाउँघरमा हुने सहकारीका कार्यक्रम, अन्य सङ्घसंस्थाका कार्यक्रममा माला बिक्री हुने गरेको छ। ‘यो वर्ष तिहार छिटो परेकाले फूल उत्पादन हुनै बाँकी छ, तिहारमा समस्या हुँदैन, तिहारपछि भने फूलको बजार खोज्नुपर्ने अवस्था छ’, किसान श्रेष्ठले भनेका छन्।

उनले प्रतिथुङ्गा रु चारमा फूल बिक्री गर्दै आएका छन्। फूलखेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचार–प्रसार गर्दै आएको उनले सुनाए। ‘मेरो फूलखेतीका बारेमा त्यति धेरै प्रचार–प्रसार भएको छैन, वडा कार्यालयले पनि सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरिदिएको छ’, उनले भने।

सरकारले केही दिन अगाडि भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ। तिहारमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादन धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेको छ।

सरकारको यो निर्णयप्रति श्रेष्ठले समर्थन गर्दै भने, ‘विदेशी फूललाई प्रतिबन्ध लगाउने सरकारको निर्णय सकारात्मक छ। नेपाललाई फूलमा आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ।’ भिमाद नगरपालिका–८ भागरमा तीन युवाले तीन रोपनी क्षेत्रफलमा सामूहिकरूपमा फूलखेती लगाएका छन्। तिहार नजिकिँदै गरेको ७० प्रतिशतमात्र फूल फुलेकाले लक्ष्यअनुसारको फूल बिक्री नहुने हो कि भन्ने चिन्ता लागेको सागर विकले बताए। विकले भने, ‘बजारमा बिक्री केन्द्र राख्ने ठाउँसमेत पाउन मुस्किल परेकाले स्थानीय कृषकको समस्या समाधानमा सरोकारवालाले ध्यान पुर्‍याउनुपर्छ।’

वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर फूलखेतीमा लाग्नुभएका विकसहित विष्णु राना र अमृत कुमालले स्थानीय सरकारले प्रोत्साहन नगरेको बताए। फूल उत्पादनका लागि सहयोग गर्न वडा र नगरपालिकामा मौखिक निवेदन दिए पनि सकरात्मक प्रतिक्रिया नपाएको विष्णु रानाले बताए।

सोही ठाउँका गोविन्द अधिकारीले विगत केही वर्षदेखि फूलखेती गर्दै आएका छन्। स्थानीयस्तरमा आयोजना कार्यक्रममा न्यून सङ्ख्यामा माला खपत भए पनि फूलको बजारमा समस्या रहँदै आएको उनको गुनासो छ। तिहारका बेलामा बजारको समस्या नभए पनि तिहारपछिको बजारमा भने समस्या हुँदै आएको उनी बताउँछन्।

-रासस

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : ४० बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट