युक्रेनको रणनीतिक शहर मारिओपोल भग्नावशेषमा परिणत हुँदै (भिडियोरिपोर्ट) | Khabarhub Khabarhub

युक्रेनको रणनीतिक शहर मारिओपोल भग्नावशेषमा परिणत हुँदै (भिडियोरिपोर्ट)

मारिओपोल शहरमाथि नियन्त्रण गरी रुस जीतको सन्देश दिन चाहन्छ



एक महिनादेखिको रुसी भीषण आक्रमणको सामना गरिरहेको युक्रेनको रणनीतिक शहर मारिओपोल भग्नावशेषमा परिणत हुन थालेको छ । रुसी सेनाको निरन्तर र भयानकगोलाबारी खेपिरहेको मारिओपोल शहरको नियन्त्रणलाई रुसले प्रतिष्ठाको विषय समेत बनाएको छ।

मारिओपोल शहर युक्रेनको सबैभन्दा महत्वपूर्ण रणनीतिक बन्दरगाह पनि हो । भौगोलिक रुपमा महत्वपूर्ण रणनीतिक अवस्थितीमा रहेको यो शहरलाई पूर्ण रुपमा नियन्त्रणमा लिएपछि यस क्षेत्रको युद्धबाट मुक्त भएका हजारौं सैनिकलाई युक्रेनका अन्य शहरमा तैनाथ गर्ने रुसको योजना छ ।

मारिओपोल शहरलाई एक महिनासम्म पनि नियन्त्रणमा लिन नसक्दा रुसले लगातार ठूला हतियारहरू, रकेट र क्षेप्यास्त्र प्रहार गरि सहरका ९० प्रतिशत संरचनामा क्षति पुर्‍याईदिएको छ । रुसी आक्रमणका कारण शहरको विद्युत्, खानेपानी, स्वास्थ्य सामग्री लगायत सम्पूर्ण आपूर्ति बन्द भइसकेको छ तैपनि रुसी फौजले शहरलाई आफ्नो नियन्त्रणमा लिन सफल भएका छैनन् ।

रुसले धेरैपटक आत्मसमर्पण गर्न गरेको आग्रहलाई युक्रेनी सैनिकले अस्वीकार गर्दै आएका छन् । रुसले एक महिनादेखि लगातार सैनिक आक्रमण जारी राखेपनि युक्रेनीको सशक्त प्रतिकारका कारण कुनैपनि ठूला शहर नियन्त्रणमा लिन सकेको छैन।

मारिओपोलको रणनीतिक महत्व

मारिओपोल शहरलाई पूर्ण रुपमा नियन्त्रणमा लिनु रुसका लागि रणनीतिक रुपमा निकै महत्वपूर्ण छ। यो शहर नियन्त्रणमा लिन सफल भए रुसले सन् २०१४ मा नियन्त्रणमा लिएको क्राइमियासँग रुसी पृथकतावादी रहेको डोन्बाससँग जोड्ने बाटो सहजै बनाउँन सक्छ र अन्य युक्रेनी शाहहरूमाथि घेराबन्दी गर्न सक्छ ।

रुसले युद्ध घोषणा गरेको पहिलो दिनदेखि नै बन्दरगाह सहरलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयास गरिरहे पनि युक्रेनी सैनिक र स्वयंसेवक सेवकहरु डटेर लडिरहेका छन्। यो शहर नियन्त्रणमा लिएपछि रुसले युक्रेनीको मनोबल घटाउन सक्छ र युद्धमा स्पष्ट विजयी भएको सन्देश दिनसक्छ। रुसले यो सहर कब्जा गर्ने युद्धको सबैभन्दा पहिलो रणनीतिक उद्देश्य रहेपनि युक्रेनीको सशक्त प्रतिरोधका कारण अहिलेसम्म शहर नियन्त्रणमा लिन नसकेपछि निराश बनेको छ।

ठूलो सैन्य तैनाथी गर्दा समेत शहर कब्जा गर्न नसकेपछि रुसले भारी हतियार प्रयोग गरी शहर नै खरानी बनाउने र घेराबन्दी गर्दै त्यहाँ रहेका सैनिकहरूलाई भोकमरीमा पार्ने रणनीति प्रयोग गरिरहेको छ।

मारिओपोल शहरमाथि नियन्त्रण लिए रुसले त्यहाँ खटाएका आफ्ना हजारौं सैनिकहरू युक्रेनविरुद्धको अन्य युद्ध मोर्चाहरूमा तैनाथ गर्न सक्छ। मारिओपोल शहरमा रुसले अतिवादी र नवनाजीहरू भन्ने युक्रेनको अतिराष्ट्रवादी ‘एजोभ बटालियन’ को गृहक्षेत्र समेत रहेकाले रुसका लागि यो शहर प्रतिष्ठाको विषय समेत बनेको छ ।

एजोभ बटालियन सानो लडाकु समूह भएपनि निकै शक्तिशाली रहेको छ र रुसले यो समूहलाई नवनाजीको रुपमा प्रचार गरिरहेको छ। रुसका लागि एउटै गोली प्रहार नगरी क्राइमियालाई आफ्नो नियन्त्रणमा लिएजस्तो मारिओपोल सहजै आफ्नो नियन्त्रणमा नआउनुमा एजोभ बटालियनको भूमिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु बताउँछन् ।

सेनाको कुनै अंग नरहेपनि एजोभ बटालियन अन्तिम गोली रहेसम्म रुससँग युद्ध लड्ने भन्दै यो मोर्चामा खटिएको छ। रुस ती लडाकुहरूलाई मार्ने र पक्राउ गर्ने गरी आफ्ना सफलता देखाउन चाहन्छ। यदि एजोभ बटालियनका लडाकुहरू जीवितै पक्राउ गर्न सके रुसका लागि ठूलो प्रोपागान्डा हतियार हुनसक्छ।

रुसले युक्रेनमाथि हमला गरेको एक महीनासम्म कुनैपनि ठूला शहर कब्जा गर्न नसकेकाले मारिओपोल कब्जा गर्नु उस्को ठूलो प्राथमिकता छ। यो शहर खरानीनै बनाएर भएपनि कब्जा गर्नु पुटिनका लागि प्रतिष्ठाको विषय बनेको छ। यो शहर कब्जामा लिइ रुस युक्रेनलाई परास्त गरेको भन्ने मनोवैज्ञानिक प्रभाव पार्न चाहन्छ र ठूलो क्षतिका कारण निराश भएका आफ्ना फौजको मनोबल बढाउन चाहन्छ।

मारिओपोल एजोभ सागरको सबैभन्दा ठूलो बन्दरगाहमात्र नभएर युक्रेनको अर्थतन्त्रको केन्द्र पनि हो। यो शहरमा युक्रेनको सबैभन्दा ठूला स्टिल कारखानाहरु, फलाम, स्पात, कोइला, गहूँ लगायतका सामान निर्यात गर्ने मुख्य क्षेत्र पनि हो । मारिओपोल ठूला कारखाना, जहाज मर्मतदेखि विभिन्न महत्वपूर्ण धातु पाइने केन्द्रपनि हो । यहा क्षति पुराएर रुले युक्रेनको अर्थतन्त्र ध्वस्त पार्ने उद्देश्य पनि राखेको छ ।

प्रतिकात्मक मात्र भएपनि बिजयका लागि मारिओपोल कब्जा गर्ने रुसी प्रयासले शहर लगभग ध्वस्त बनिसकेको छ। शहर कब्जा गर्न आएका रुसी सैनिकहरुको पटक पटकको प्रयास युक्रेनीले असफल बनाइदिएपछि रुसले यो शहरमा भारी हमला जारी राखेको छ। एक महिनादेखि प्रयास गरिरहेको रुसले सेनाले शहर नियन्त्रणमा लिन नसकेपछि ठूला हतियारहरु प्रयोग गरी शहर नै ध्वस्त बनाइदिएको छ ।
(द गार्जियन, बीबीसी र सीएनएन लगायत एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ४ : ११ बजे

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव काठमाडौंमा हुने

काठमाडौं– नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु