नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित) | Khabarhub Khabarhub

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 8 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

गठबन्धनलाई बचाउनुपर्ने आवश्यकता छ: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गरे ।

उनले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्दै स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्ने भनाई राखे । त्यस्तै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलनमा तनहुँको भूमिका सदैव उच्च रहेको बताए ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटका लागि एमालेद्वारा ६ मापदण्ड तय
नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा गर्न कार्यदल गठन गरेको छ । आज काठमाडौँमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलले चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा केन्द्रीय सचिवालय समक्ष बुझाउने छ ।त्यस्तै घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । त्यस्तै बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ । एमालेले उम्मेद्वार चयनका लागि ६ वटा मापदण्ड पारित गरेको रिजालले बताए ।

समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्छः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने बताएका छन् । आज काठमाडौँमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीद्वारा लिखित पुस्तक ‘दिशाबोध’को विमोचनका साथै पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य नै समाजवादको गन्तव्य भएको भन्दै यसलाई एमालेलेमात्र अघि बढाउन सक्ने बताए ।

त्यस्तै उनले समाजवादको गन्तव्यमा पुग्न एमालेले आवश्यक नीति बनाउने धारणा राखे । कसैप्रतिको द्वेष र कसैप्रतिको आग्रहले कुनै राजनीतिक नीति नवनाउने उनको भनाइ छ ।

निर्वाचन आयोगकै कारण एमाले पार्टी अस्तित्वमा छः दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगकै कारण एमाले पार्टी रहेको बताएका छन् । चितवनको माडीमा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै दाहालले निर्वाचन आयोगले समयमा सनाखत नगरेकै कारण एमाले पार्टी अस्तित्वमा आएको दाबी गरे ।

उनले केपी ओलीलाई समेत आफूहरूले पार्टीविहीन बनाएको तर आयोगका कारण यो अवस्था आएको बताए । आज पनि त्यो शक्तिले षड्यन्त्र जारी राखेको दाहालको भनाई थियो । आफूहरूले केपी ओली प्रवृत्तिलाई परास्त गरेको समेत दावी गरे ।

निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित
सरकारले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । आज बसेको सुरक्षा समितिको बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नीतिले सहयोग पुग्ने उनको भनाइ छ ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा रणनीतिबारे धारणा राखेका थिए । सुरक्षा समितिको बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीको शुक्रबारबाट हुन लागेको तीन दिने नेपाल भ्रमणको सुरक्षा व्यवस्थापनबारे पनि छलफल भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनका लागि करिव २ करोड मतपत्र छापिने
निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि करिव २ करोड मतपत्र छापिने जनाएको छ । निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कुल मतदाता भन्दा १० प्रतिशत बढि अर्थात करिव २ करोड मतपत्र छापिने जानकारी दिए ।

त्यस्तै आयोगले मतदाता नामावली, मतदाता परिचय पत्र, निर्वाचनसँग सम्बन्धित निर्देशिकालगायतका सामग्री छपाईका लागि विभिन्न ६ वटा प्याकेको बोलपत्र स्वीकृत गरी आपूर्तिकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको जनाएको छ ।त्यस्तै सहप्रवक्ता अर्यालले निर्वाचन आचारसंहितामा उम्मेदवारले राजीनामा दिनुपर्ने बुँदामा अदालतको आदेश भएका त्यसबाहेकका अन्य आचारसंहिता लागू हुने जानकारी दिए ।

पर्यटनमन्त्री आले एकदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज भारतको एक दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका मन्त्री आलेका प्रशासन सहायक भक्तबहादुर आलेले जानकारी दिए ।

पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेका नायक पूर्णविक्रम शाह भनिने पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीश हरिशचन्द्र ढुंगानाले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरिएको बताए । अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटी बुझाएर साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

मोरङ घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याऊः मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोगले मोरङ घटनाका दोषीको पहिचान गरी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ । मोरङको लेटाङ्स्थित शिक्षा विकास मा.वि.मा अध्ययनरत एक बालिकालाई शिक्षकले दुव्र्यवहार गरेको भनिएको घटनाको विषयलाई लिएर गत शुक्रबार भएको छलफलको क्रममा आक्रोशित स्थानीयको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घटनामा आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

सो घटनामा परी अन्य १४ जना प्रहरीहरु, विद्यार्थी, शिक्षक तथा आन्दोलनकारीहरू घाइते भएका थिए । आयोगका प्रवक्ता टिकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै हिंसात्मक कार्यमा संलग्न दोषीहरुलाई प्रभावकारी अनुसन्धानमार्फत पहिचान गरी कानूनी दायरामा ल्याउन र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न माग गरेका छन् ।

बिद्युत् आयातमा समस्या देखिएपनि लोडसेडिङ हुँदैनः घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट बिद्युत आयातमा समस्या देखिएपनि लोडसेडिङ नहुने स्पष्ट पारेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै घिसिङले भारतमा विद्युतको मूल्य उच्च भएकाले खरिद नगर्दा केही समस्या देखिएपनि लोडसेडिङ नहुने स्पष्ट पारे ।

उनले केही दिनभित्रै समस्या समाधान हुने बताए । घिसिङले सुख्खा मौसममा देखिएको संकट टार्न भारतसँग विजुली किन्न खोज्दा अत्यधिक महँगो परेको बताए । भारतबाट महँगोमा बिजुली किन्दा ३५ दिनमै करिब ८ अर्ब रुपैयाँ बराबर घाटा हुने उनले जानकारी दिए ।

तमोर जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राख्न माग
चिनिया विदेशमन्त्री वाङ यी को नेपाल भ्रमणका समयमा तमोर जलाशययुक्त आयोजनाको विषयलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइएको छ । आयोजना प्रभावित क्षेत्रका जनताको तर्फबाट प्रतिनिधिसभाका सांसदहरु योगेश भट्टराई, विजय सुब्बा, भवानी प्रसाद खापुङ, वसन्त नेम्वाङ र राजेन्द्र राईले आज परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ध्यानाकर्षण पत्र बुझाए ।

ज्ञापनपत्र बुझाउँदै एमाले नेता तथा प्रतिनिधिसभाका ताप्लेजुङका सांसद योगेश भट्टराईले यसअघिको सरकारलाई पनि उक्त आयोजना अघि बढाउन ध्यानाकर्षण गर्दै आएपनि सोचेअनुरूप काम अघि बढ्न नसकेकाले पुन ध्यानाकर्षण गरिएको जानकारी दिए । उनले उक्त आयोजना निर्माण भए प्रदेश १ का साथै सिंगो मुलुकको आर्थिक सम्बृद्धिका लागि दीर्घकालीन रूपमा ढोका खुल्ने बताए ।

पूर्वडीआईजी कोइरालाको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइरालाविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजलासमा डेढ वर्षपछि आज सुनुवाइका लागि मुद्दाको पेसी तोकिएको थियो । कर्तव्य ज्यान मुद्दाको सुनुवाइ गर्ने क्रममा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो ।

१५ असार २०७७ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले श्रीमती गीता ढकालको हत्यासम्बन्धी मुद्दामा रञ्जनको कैद सजाय घटाएको थियो । त्यसपछि महान्यायाधिवक्ताको कार्यालयले १४ साउन २०७७ मा आदेशप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकन निवेदन सर्वोच्चमा दिएको थियो ।

यौनजन्य हिंसासम्बन्धी कार्यक्रम समावेश गर्न सबैले पहल गर्नुपर्छः मन्त्री रेग्मी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा यौनजन्य हिंसासम्बन्धी कार्यक्रम समावेश गर्न सबैले पहल गर्नुपर्ने बताइकी छन् । महिला, कानुन र विकास मञ्चले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल सुरु भइसकेको भन्दै यौनजन्य हिंसासम्बन्धी कार्यक्रम समावेश गर्न सबैले पहल गर्नुपर्ने बताइन् ।

जनसङ्ख्याको ७५ प्रतिशतको प्रतिनिधित्व गर्ने मन्त्रालयमा बजेट धेरै न्यून रहेको उल्लेख गर्नुहुँदै उनले चालु आर्थिक वर्षमा मात्र रु एक अर्बभन्दा बढी पु¥याउन सफल भएको जानकारी दिइन् ।

मानव अधिकार उल्लंघनकर्तालाई टिकट नदेऊ: आयोग
राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लंघनमा दोषी किटान भई नाम सार्वजनिक भएका नेता तथा कार्यकर्तालाई उम्मेदवार नबनाउन आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले सोलुखुम्बु, ओखलढुंगा र खोटाङका राजनीतिक दललाई पत्राचार गर्दै आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान भएका नेता तथा कार्यकर्तालाई टिकट नदिन सचेत गराएको हो ।

आयोगले स्थानीय तहको निर्वाचनलाई मानव अधिकार मैत्री बनाउन राजनीतिक दल, निर्वाचनमा खटिने कर्मचारी, अनुगमन तथा पर्यवेक्षक र मतदातालाई आग्रह गरेका छन् ।

कक्षा ११ र १२ का विद्यार्थीको रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनःथप
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनःथप गरेको छ । यसअघि बोर्डले गत माघ ७ गतेसम्म म्याद राखेकोमा छुट भएकालाई माघ मसान्तसम्म म्याद थप गरेको थियो । बोर्डले दोस्रो पटक म्याद थप गर्दै चैत १६ भित्र दोब्बर शुल्कमा रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउन सक्ने जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३५ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ८ सय ८१ पिसिआर परिक्षणका क्रममा ३२ जना र १ हजार ३ सय ८७ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज २ सय ६६ जना संक्रमणमुक्त भएका छन् । देशभर २ हजार २ सय १९ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

समाजको भावनालाई बुझेर पिर गीतबाट विवादित दृश्य हटाएको हुँः गायक सपूत
कलाकार प्रकाश सपूतले समाजको भावनालाई बुझेर पीर गीतबाट विवादित दृश्य हटाएको बताएका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रम उहाँले पिर गीतमा रहेको देहव्यापारसम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताए ।

आफू समाजबाट परिचालित भएको भन्दै अन्य कुनै शक्तिले आफूलाई परिचालित नगरेको उनले बताए । त्यस्तै सोहि पेशामा आधारित मानिसहरूलाई झनै पिर परेको भन्दै गीतबाट केही दृश्य हटाउनु परेको प्रष्टीकरण पनि जानकारी दिए । सोही गीतकी अभिनेत्री सुरक्षा पन्तले दृश्य हटाउने कुरा गायक सपूतको नितान्त व्यक्तिगत कुरा भएको बताइन् ।

प्रवेश पत्र नआएको भन्दै पूर्वाञ्चल क्याम्पस धरानका विद्यार्थीहरू आन्दोलित
क्याम्पस प्रशासनको लापरबाहीका कारण सातजना विद्यार्थीको प्रवेशपत्र नआएको भन्दै पूर्वाञ्चल क्याम्पस धरानका विद्यार्थीहरु आन्दोलित भएका छन् । इञ्जिनियरिङ अध्ययन संस्थान (आइओएम)अन्तर्गत रहेको क्याम्पसमा विद्यार्थीहरुले क्याम्पस प्रशासनमा ताला लगाएका छन् भने क्याम्पस प्रमुखको कुर्सीसमेत जलाएका छन् ।

बैंकमा पैसा जम्मा गरेर अनलाइन परीक्षा फारम भरेपनि प्रवेश पत्र नआएकोले विद्यार्थीहरू परीक्षाबाट बञ्चित हुने भएपछि डीन कार्यालय पुल्चोकमा निवेदन पठाउनुको साथै प्रशासनसँग छलफल गर्न खोज्दा पनि वेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको विद्यार्थी आभास शर्माले बताए ।

प्रदेश १ मा काङ्ग्रेस प्रमुख सचेतकमा राई नियुक्त
नेपाली काँग्रेस प्रदेश १ प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन् । प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेपछि प्रमुख सचेतक पद रिक्त थियो । आज काङ्ग्रेस प्रदेश १ संसदीय दलले राईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।

राई यसअघि संसदीय दलको सचेतक थिए । काङ्ग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले राईलाई दलको विधान अनुसार प्रमुख सचेतक नियुक्त गरिएको जानकारी दिए ।

सर्केगाड गाउँपालिकाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसनधान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका–३ का वडाध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । औषधि खरिदका लागि आएको रकम हिनामिना गरेको आरोपमा वडाध्यक्ष गजबहादुर रावतसहित ४ जना विरुद्ध अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

वडाध्यक्ष रावतले औषधि खरिदका लागि आएको रकममध्ये केही रकमको औषधि खरिद गरेको र बाँकी रकम हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे, स्वास्थ्य संयोजक सन्तोष धामी र तत्कालिन लेखापाल सुरतबहादुर रेग्मीको समेत संलग्न देखिएकोले उनीहरुविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले बताएको छ ।

भूपू सैनिकलाई विदेश जाने सोच त्याग्न प्रधान सेनापतिको आग्रह
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका सङ्गठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गरेका छन् । धनगढीस्थित भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्र र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने भएकाले परिश्रम र देशभक्तिको ज्ञान अरुलाई सिकाएर सहयोग पु¥याउनुपर्ने बताए ।

सम्मेलनका क्रममा १०६ वर्षीया एकल महिला भद्रकाली कठायत र ९३ वर्षीय खड्गजीत खत्रीलाई ज्येष्ठ भूपू तथा एकल महिलाको सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा प्रधानसेनापति शर्माले भूपू सैनिक र उनका परिवारसँग अन्तरक्रिया समेत गरेका थिए ।

दाङमा १ ग्राम ५१० मिलिग्राम लागुऔषधसहित तीनजना पक्राउ
दाङमा लागूऔषध १ ग्राम ५१० मिलिग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका– १५ काठेकोलका विक्रम चौधरी, वडा नं १७ का सुशिल विश्वकर्मा र वडा नं–१४ का शुशिल एरी रहेका छन् ।

उनीहरूलाई घोराही उपमहानगरपालिका–१५ स्थित पार्वती रेष्टुरेन्ट नास्ता पसलबाट १ ग्राम ५१० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो । यिनीहरूमाथि थप अनुसन्धान भइरहेको दाङ प्रहरीले बताएको छ ।

सेयर परिसूचक घट्यो, कारोबार बढ्यो
कारोबारको अन्तिम सेयर बजार परिसूचक नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । नेप्से आज १६. ६९ अंकले घटेर २६१३ अंकमा कायम भएको छ । कुल ३ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसअघि बुधबार जम्मा २ अर्ब ४ करोडको मात्रै कारोबार भएको थियो ।

अब चोभारबाट भन्सार जाँचपास
व्यवसायीले आयात गरेका बस्तु अब काठमाडौँको चोभारस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने भएका छन् । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर यस्तो व्यवस्था लागू गरेको हो ।

सीमास्थित भन्सार कार्यालयमा पैठारीको लागि ल्याइएका मालवस्तु सो कार्यालयबाट जाँचपास नगराई बन्दरगाह भन्सारमा लगी जाँचपास गराउन चाहेमा मालवस्तु बन्दरगाह भन्सारसम्म महानिर्देशकले तोके बमोजिमको सडक मार्गबाट लैजान आन्तरिक परिवहनको सुविधा दिइने प्रकाशित सूचनामा भनिएको छ । सुबिधा लिन चाहने पैठारीकर्ताले प्रणालीबाटै फारम मुद्रण गरी सीमास्थित भन्सार कार्यालयका अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ९ : ४५ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले