यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्:

आज वैशाख ११, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

राष्ट्रपतीय निर्वाचन अन्तर्गत फ्रान्समा दोश्रो चरणको मतदान जारी

फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत दोश्रो चरणको मतदान जारी छ । स्थानीय समयअनुसार बिहान ८ बजे शुरु भएको मतदान १२ घण्टासम्म चल्ने बीबीसीले जनाएको छ ।

फ्रान्समा मतदानका लागि ४ करोड ८७ लाख मतदाता योग्य रहेको फ्रान्सेली टेलिभिजन च्यानल फ्रान्स २४ ले जनाएको छ । दोश्रो चरणमा वर्तमान राष्ट्रपति इम्मानुएल म्याक्रोँ र दक्षिणपन्थी उम्मेद्वार मरीँ ले पेनबीच प्रतिस्पर्धा भइरहेको हो ।

यसअघि गत अप्रिल १० मा भएको पहिलो चरणको मतदानमा म्याक्रोंले २७ दशमलब ८ तथा ले पेनले २३ दशमलब १ प्रतिशत मत प्राप्त गरेका थिए ।

पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत प्राप्त गर्न नसके दोश्रो चरणको मतदान हुने प्रावधानअनुसार मतदान भइरहेको हो ।

सर्वेक्षणहरूले म्याक्रोंले चुनाव जित्ने नतिजा देखाए पनि ले पेनको पराजयलाई अस्वीकार गरिहाल्न नसकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उर्जा एवम् खाद्यान्न जस्ता अत्यावश्यक वस्तुको मूल्यवृद्धि, मुद्रास्फीति, युक्रेनमा जारी रुसी आक्रमण लगायतका मुद्दा यो चुनावका प्रमुख मुद्दा रहेको बताइएको छ ।

मतदान सकिएको केही समयपछि फ्रान्सेली टेलिभिजनले नतिजा सार्वजनिक गर्ने फ्रान्स २४ ले जनाएको छ । चुनावको नतिजा जस्तो आएपनि राष्ट्रपति म्याक्रोंले आइतबार अबेर पेरिसको आइफेल टावरबाट सम्बधोन गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।

जापानमा डुङ्गा बेपत्ता, १० जनाको मृत्यु भएको पुष्टि

उत्तरी जापानमा हराइरहेको डुङ्गाका १० जनाको मृत्यु भएको पुष्टि भएको छ । जापानी उद्धारकर्ताहरुलाई उद्धृत गर्दै समाचार संस्था एपीले १० जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

होक्काइदो टापुस्थित शिरेतोको प्रायद्वीपको तटपारी डुङ्गा बेपत्ता भएको बीबीसीले जनाएको छ । मारिनेमध्ये सातजना पुरुष तथा तीनजना महिला रहेको जनाइएको छ ।

२६ जना बोकेको काजु १ नामक पर्यटकीय डुङ्गा शनिबार अपराह्न १ बजेबाट हराइरहेको जापानी अधिकारीले जनाएका छन् । उक्त डुङ्गामा २४ यात्रु र चालक दलका २ सदस्य रहेको बीबीसीले जनाएको छ । यात्रुमध्ये दुई जना बालबालिका रहेको बताइएको छ ।

उक्त डुङ्गा अस्थिर समुद्र र चट्टानी तटका कारण डुबेको हुनसक्ने अनुमान गरिएको छ । होक्काइदो टापुको शिरेतोको प्रायद्वीपमा ह्वेल माछा, सि लायन, खैरो भालु र अन्य आकर्षक स्थानको भ्रमण गर्नका लागि ठूलो सङ्ख्यामा पर्यटक आउने बताइन्छ ।

हराइरहेका बाँकी २६ जनाको खोजी कार्य जारी छ । यता जापानको यातायात मन्त्रालयले भने घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

खराब मौसमका बावजुद उक्त डुङ्गा सञ्चालकलाई कसरी डुङ्गा चलाउन दिइयो भन्नेबारे छानबिन भइरहेको यातायात मन्त्रालयलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

गत वर्ष शिरेतोको प्लेजर क्रुज नामक डुङ्गा सञ्चालक कम्पनीले दुई वटा दुर्घटना व्यहोरेको एपीले जनाएको छ ।

नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा १ सय भन्दा धेरैको मृत्यु

नाइजेरियाको दक्षिण राज्यमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा सय जना भन्दा धेरैको ज्यान गएको छ ।

नाइजेरियाका अधिकारीहरुका अनुसार सो तेल प्रशोधन केन्द्र विधिवत रुपमा दर्ता नै नभई अवैध रुपमा सञ्चालन भइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

इमो राज्यका प्रहरी प्रमुखले दिएको जानकारीअनुसार उक्त प्रशोधन केन्द्रमा विष्फोट हुँदा काममा खटिएका सय जना भन्दा धेरै कर्मचारीको ज्यान गएको छ ।

उक्त प्रशोधन केन्द्रमा काम गरिरहेका बखत अकस्मात् आगलागी भएको र लगत्तै विस्फोट भएको जनाइएको छ । विष्फोटमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् ।

उक्त केन्द्र प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बताइएको छ । अवैध रुपमा सञ्चालन गरिएको सो तेल प्रशोधन केन्द्रमा आवश्यक सुरक्षा मापदण्ड पनि नअपनाइएकाले यो दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

ओदेसामा रुसले क्षेप्यास्त्र आक्रमण गर्दा तीन महिने शिशु र आमासहित ८ जनाको मृत्यु

रुसी फौजले दक्षिणी युक्रेनको ओदेसा शहरमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ । ओदेसा शहरमा रहेको सैन्य पूर्वाधारलाई लक्षित गरी रुसी क्षेप्यास्त्र आक्रमण भएको बीबीसीले जनाएको छ ।

यद्यपि आक्रमणका क्रममा दुई आवासीय भवन पनि क्षतिग्रस्त भएको बताइएको छ । मारिनेमा तीन महिने शिशु र उनकी आमा समेत रहेको बीबीसीले जनाएको छ ।

मारिने आमाको नाम भलेरिया र उनकी शिशु छोरीको नाम किरा रहेको बीबीसी युक्रेनी सेवाकी पत्रकार मिरोस्लाभा पेस्ताले जानकारी दिएकी छिन् ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओदेसामा भएको क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको बीबीसीले जनाएको छ ।‘यो एकदमै आतंक हो‘ उनीहरुलाई मतलब नै छैन ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मारिओपोलका अन्तिम रक्षकहरु मारिए रुससँगको शान्ति वार्ता रद्ध हुने जेलेन्स्कीको चेतवानी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिओपोल सहरका अन्तिम रक्षकहरू मारिएमा रूससँगको शान्ति वार्ता रद्ध गर्ने चेतावनी दिएका छन् ।

रणनीतिक रूपमा महत्वपूर्ण उक्त सहरलाई रुसले ध्वस्त पारेको छ । सहर कब्जा गरेपछि त्यहाँ रहेका युक्रेनी सुरक्षाकर्मीलाई रुसी सेनाले घेराबन्दी गरेका विवरण सार्वजनिक भएका छन् ।

यसअघि सार्वजनिक भएको एउटा भिडियोमा महिला र बालबालिकाहरू स्टिल कारखाना मुनिको बंकरमा आश्रय लिइरहेका र अन्तिम रक्षकहरू कारखाना बाहिर रहेका देखिन्छन् ।

तीव्र गोलाबारीका कारण त्यहाँ सर्वसाधारणको उद्धार प्रभावित भएको अधिकारीहरूले बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी बन्दरगाह सहर मारिओपोललाई युक्रेनबाट मुक्त गरिएको बताउँदै आफ्ना सेनाको प्रशंसा गरेका छन् ।

लेबनानमा डुङ्गा डुब्यो

लेबनानको उत्तरी सहर त्रिपोली नजिक समुद्रमा ६० जना बोकेको डुङ्गा डुबेको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै लेबनानको रेडक्रसले त्रिपोली शहरको तटपारी यात्रुवाहक डुङ्गा डुबेको जानकारी दिएको हो ।

हावाहुरीका साथै समुद्रमा आएको उच्च छालका कारण डुङ्गा डुबेको अनुमान गरिएको छ । उक्त डुङ्गामा लेबनान छाडेर विदेश जान चाहने आप्रवासी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर यस दुर्घटनाको अनुसन्धान सुरु भएको र अहिले नै के कारणले यो डुंगा डुबेको हो भन्ने बारेमा पत्ता नलागिसकेको लेबनानको रेडक्रसका अधिकारीहरुले जनाएका छन् ।

उक्त रेडक्रसले सो क्षेत्रमा उद्धारका लागि सात ओटा एम्बुलेन्स पठाइएको जनाइएको छ । डुङ्गा दुर्घटनामा परी एक जनाको मृत्यु भएको अरु ४५ जनाको उद्धार गरिएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

रुस र युक्रेन जानुअघि संयुक्त राष्ट्रसंघका महासचिवले टर्कीको भ्रमण गर्ने

युक्रेनमा जारी रुसी आक्रमण अन्त्यको पहलस्वरुप रुस र युक्रेनको भ्रमणमा जान लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले टर्कीको पनि भ्रमण गर्ने भएका छन् ।

उनले रुस र युक्रेन जानुअघि टर्कीको भ्रमण गर्ने संयुक्त राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनी सोमबार टर्कीको राजधानी अंकारा पुग्ने बीबीसीले जनाएको छ ।

त्यहाँ उनले राष्ट्रपति रेजेप तैयप एर्दोगानसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यसपछि मंगलबार उनी रुस पुगी त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन तथा विदेशमन्त्री सर्गेई लाभ्रोभसँग भेटवार्ता गर्नेछन् ।

त्यस्तै, बुधबार उनी युक्रेनको राजधानी किभ जाने बताइएको छ । त्यहाँ उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा विदेशमन्त्री दिमित्रो कुलेबासँग पनि भेटवार्ता गर्नेछन् ।

टर्कीले रुस र युक्रेनबीच मध्यस्थकर्ताको भूमिका निभाउँदै आएको छ । केही समयअघि दुई मुलुकका वार्ता टोलीले टर्कीको इस्तानबुल शहरमा शान्ति वार्ता गरेका थिए ।

रुसी गोलाबारीमा लुहान्स्कमा ८ जनाको मृत्यु

पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रुसी गोलाबारीमा ८ जनाको मृत्यु भएको छ । लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइदाइले सामाजिक सञ्जाल टेलिग्राममा पोष्ट गर्दै रुसी आक्रमणमा ८ जना मारिएको जानकारी दिएका हुन् ।

टेलिग्राममा उनले गोलाबारीका क्रममा हिर्स्के र जोलोटे शहरमा ६ जनाको मृत्यु भएको बताए । त्यस्तै, पोपास्ना शहरमा अरु दुई महिलाको शव फेला परेको उनको भनाइ छ ।

उनले लुहान्स्क क्षेत्रको सेभेरोडोनेत्स्क शहरमा रहेको प्रहरी चौकी पनि ध्वस्त भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले राजधानी किभ कब्जा गर्ने रणनीतिका साथ युक्रेनमाथि आक्रमण गरेपनि उक्त योजना असफल भएपछि रुसी सेनाले हाल पूर्वी युक्रेनमाथि आफ्नो आक्रमण केन्द्रित गरिरहेको छ ।

पुटिनसँग भेट्न नडराउने जेलेन्स्कीको भनाइ

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटका लागि आफू तयार रहेको दोहो¥याएका छन् ।

राजधानी किभको भूमिगत रेल स्टेशनमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले पुटिनसँग भेट गर्न आफू तयार रहेको बताएका हुन् ।

‘मेरो विचारमा जसले यो युद्ध शुरु गरेको हो, उसले यसको अन्त्य पनि गर्न सक्छ ।’ उनले भने ।

रुस र युक्रेनबीच शान्ति स्थापन हुने भए पुटिनसँग भेट गर्न आफू नडराउने उनले बताए । ‘शुरुदेखि नै मैले रुसी राष्ट्रपतिसँग कुरा गर्न चाहिरहेको छु ।’ उनलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

‘उनीसँग भेट गर्नु मेरो चाहना होइन, म उनीसँग भेट गर्न चाहन्छु ता कि यो द्वन्द्व कूटनीतिक माध्यमबाट समाधान होस् ।’ उनले भने, ‘हामीलाई साझेदारहरुप्रति भरोसा छ तर रुसप्रति कुनै भरोसा छैन ।’

युक्रेनले रुसी कमाण्ड पोस्टमा आक्रमण गर्दा रुसका दुई जर्नेल मारिए

युक्रेनी सेनाले रुसी सैनिक कमाण्ड पोस्टलाई लक्षित गरी आक्रमण गर्दा दुई वरिष्ठ रुसी सैनिक अधिकारी मारिएका छन् ।

युक्रेनबाट रुसले कब्जामा लिएको दक्षिणी शहर खेर्सनमा रहेको रुसी सैनिक कमाण्ड पोस्टलाई लक्षित गरी आक्रमण गरिएको युक्रेनी सेनाले जनाएको हो ।

आक्रमणका क्रममा रुसी सेनाका दुई जर्नेलहरु मारिएको बताइएको छ । समाचार संस्था एपीका अनुसार युक्रेनी सेनाले आक्रमणका क्रममा अर्का एक जर्नेल घाइते भएको दाबी गरिएको छ । हताहत भएको भनिएका जर्नेलहरुको पहिचान हुन सकेको छैन ।

आक्रमणका बेला उक्त कमाण्ड पोस्टमा ५० भन्दा धेरै वरिष्ठ रुसी सैनिक अधिकारीहरु रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सेई एरेस्तोभिचले जनाएका छन् ।

उनीहरूको अवस्था अज्ञात रहेको उनको भनाइ छ । यसबारे रुसी पक्षबाट कुनै टिप्पणी नआएको एपीले जनाएको छ ।

रुसबाट सिरिया जाने रुसी विमानका लागि टर्कि आकाश बन्द

टर्कीले रुसबाट सिरिया जाने सैनिक तथा नागरिक उडानका लागि आफ्नो आकाशको प्रयोगमा प्रतिबन्ध लगाएको छ । टर्कीका विदेशमन्त्री मेल्भत चाभुसोग्लुले यसबारे जानकारी दिएका हुन् ।

‘हामीले हाम्रो आकाशलाई रुसका सैनिक विमानहरुका लागि – नागरिक विमानका लागि पनि – सिरियातर्फ जान बन्द गरेका छौँ ।’ चाभुसोग्लेलाई उद्धृत गर्दै टर्किस सञ्चारमाध्यमले जनाएका छन्, ‘उनीहरुसँग अप्रिलसम्मको समय थियो र हामीले मार्चमा यसबारे सोधेका थियौँ ।’

यसबारे रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई जानकारी गराइएको र विदेशमन्त्री लाभ्रोभले यस जानकारीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसम्म पु¥याउने चाभुसोग्लुले जनाएका छन् ।

‘एक वा दुई दिनपछि उनीहरुले भने– पुटिनले आदेश जारी गरेका छन्, हामी उडान भर्दैनौँ ।’ ल्याटिन अमेरिकी मुलुक उरुग्वे जानेक्रममा टर्किस विदेशमन्त्रीले भने ।

उनका अनुसार यस प्रतिबन्ध तीन महिनासम्म चल्नेछ । यसबारे रुसी पक्षबाट कुनै प्रतिक्रिया नआएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

रुसले सिरियाली विद्रोहीविरुद्ध राष्ट्रपति बसार अल असदको सत्तालाई सैनिक सहयोग गर्दै आएको छ भने टर्कीले सिरियाली राष्ट्रपतिविरुद्ध लड्दै आएका विद्रोहीहरूलाई समर्थन गर्दै आएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : १३ बजे

उत्पादक र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

गण्डकी– पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । अहिले

नेपालमा गोताखोरको सङ्ख्या एक सय १० पुग्यो

मुग्लिन– सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा

रास्वपामा कसरी एक्लिए मुकुल ढकाल ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा

हिलाम्मे खेतजस्तै सडकको अवस्था, स्थानीयलाई सास्ती 

बलेवा– राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको