काठमाडौँ – आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनको तयारीमा दलहरूले तयारी थालिसकेका छन्। वि.सं. २०७४ को निर्वाचनमा जनताले कम्युनिस्ट दललाई स्थायी सरकार बनाउने गरी भोट दिए पनि दलहरुबीचको आन्तरिक द्वन्द्व र किचलोले पुनः पार्टी फुट्दा काँग्रेस नेतृत्वको गठबन्धन दलको सरकार छ । अहिले सोही गठबन्धन दलले मिलेर जाने चुनावी तयारी थालेको छ भने अर्कातिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक्लै चुनाव लड्ने तयारी थालेको छ । स्वतन्त्र उम्मेदवारहरुले पनि विभिन्न स्थानबाट निर्वाचन लड्ने घोषणा गरिरहेका छन् । आगामी निर्वाचनपछि देशमा कसको सरकार बन्ला, स्वतन्त्र उम्मेदवारहरुको सम्भावना कस्तो छ लगायतका विषयमा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसँग खबरहबका लागि चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीः
धरानका मेयर हर्क साम्पाङले काठमाडौं आएर तपाईँलाई भेटे, उनी धरान फर्किएपछि काठमाडौंका मेयरसँग सामाजिक सञ्जालमा ब्याटलै भयो, यसलाई कसरी लिनुभएको छ ?
स्वतन्त्र भनेको कुनै राजनीतिक या प्राकृतिक हैन । एउटा प्रतिक्रियात्मक कुरा मात्र हो । प्रतिक्रियात्मक रूपमा कुनै पनि मान्छे जिम्मेवार पदमा पुग्छ भने उसले आफ्नो जे हैसियत छ, त्यो देखाउँछ । त्यही अनुसार उनीहरूले ब्याटलको कुरा ल्याएका छन् त्यो कुनै मान्छेले मन भित्र जे छ त्यो बाहिर ओकल्छन् ।
स्थानीय तहमा जनताले निर्वाचित गरेर मेयरजस्तो पद लिएपछि उनीहरूले गरेको देखाएको क्रियाकलापहरू यो परिपक्वता हो कि काँचोपन हो कि के सन्देश दिनुहुन्छ तपाईँले ?
उनीहरू यो कुराहरू सिक्दै छन् । त्यो अनुसारको राम्रो कुराहरू सिके भने माथि पुग्छन् नभए राजनीतिबाट बिलाउँछन्।
हर्क साम्पाङ आएर तपाईंसँग भेट भएपछि के के कुरा भयो त ?
हर्क साम्पाङ भनेको एउटा जनजातिबाट आएको एउटा निश्चल मेयर हो । जनजाति पृष्ठभूमिको मान्छेहरूमा जुन किसिमको मानसिकता हुन्छ र जुन किसिमको छलकपट हुन्छ, त्यो मैले हर्क साम्पाङमा देखेको छैन ।
हर्क साम्पाङ र बालेन्द्र शाहमध्ये परिपक्वता र कामका हिसाबले को अब्बल छन् त ?
दलहरुले गरेका क्रियाकलापहरुलाई देखेर जनताहरूमा जुन आक्रोश थियो, त्यो उनीहरूले प्रतिक्रियाविरुद्ध व्यक्त गरेका हुन् । विजयी पनि भए हर्क साम्पाङ सामुदायिक जगबाट उभिएका छन् त्यसैले उनको खुट्टा बलियो लाग्छ । बालेन्द्र शाह हौवाको भरमा चुनाव जिते । त्यसकारण कमजोर धरातलमा उभिएका छन् । अझै एक वर्ष दुवैलाई निरन्तर काम गर्न दिनुपर्छ । कुनै अवरोध गर्नुहुँदैन ।
पछिल्लो समय स्वतन्त्रले यो देशलाई के गर्ने हुन् भन्ने डर व्याप्त छ, यो कार्यकालले स्वतन्त्रहरूको भविष्य र आगामी स्वतन्त्र रुपमा उठ्ने उम्मेदवारहरूलाई उनीहरुले के सन्देश दिएका छन् ?
सन्देश दिनेभन्दा पनि कामद्वारा नै सबैको मन जित्नेको अहिले उनीहरूले कामद्वारा मन जित्ने अवसर छैन । किनभने उनीहरूसँग अहिले उचित पूर्वाधारहरू छैनन् । दलहरूले असहज गराएका छन् ।
त्यसलाई चिरेर उनीहरूले अगाडि बढे भने राम्रो हुन्छ । उनीहरूले धेरै काम गर्न खोजेका छन् । काठमाडौँमा बालेन्द्र शाहले फोहोरको कुराहरू गरेका छन् । विवाद थपिएको छ । अलमल नै छन् । र हर्क साम्पाङले पानीका कुरा वृक्षारोपणका कुराहरू गरेर जनतामा आशाका किरणहरू देखाएका छन् ।
अहिले स्वतन्त्रबाट उम्मेदवारी दिइरहेका छन्, निर्वाचित स्वतन्त्र मेयरहरूको यो कार्यशैलीले कस्तो प्रभाव पारेको छ त ?
यसले नकारात्मकता नै सिर्जना गर्दछ जस्तो लाग्छ मलाई । किनभने उनीहरूले गरेको विवादको भुमरीमा नै रोम लिएका छन् । अहिले आएका पात्र उनीहरूले एउटा समाजले स्वामित्व ग्रहण गर्ने खालको व्यक्तित्व पस्केको भन्ने मलाई लाग्दैन।
पहिले त उनीहरुले वैचारिक र सैद्धान्तिक अवधारणा प्रष्ट पार्नुपर्छ । उनीहरुका बीचमा एउटा बृहत् एलाइन्स पनि बन्न जरुरी छ । अर्थात् स्वतन्त्रहरुको आफ्नै एउटा टिम । यसरी दुवैजना मिलेर समाजमा गए भने मात्र सफलता हासिल गर्न सक्छन् ।
मङ्सिर ४ गतेको चुनावी मूल एजेन्डा बनाएर अलिकति त्यता लर्केको जनसमर्थनलाई फेरि ब्याकअप गरेर दलीय राजनीतिमा नै तान्ने षड्यन्त्र गरेर जानाजान हामीलाई असफल बनाए भन्छन् नि त, त्यो हो कि हैन ?
त्यो हो भने राजनीतिमा ठूलो चुनौती हो, त्यसलाई पन्छाएर अगाडि बढ्नुपर्छ ।
रवि लामिछानेको एक दुई महिनाको क्रियाकलापलाई हेर्दा उनी कत्तिको पाको राजनीति गर्ने पात्र ठान्नुभयो त ?
रवि छामिछाने राजनीतिक रूपमा सक्रिय भएजस्तो मलाई लाग्दैन । जति गरे पनि जनता कता जान्छन् भन्नेमा भर पर्दछ । त्यो सबै कुरालाई जनताले निर्णय गर्ने कुरा हो । एउटा धक्का मात्र हो कि, विकासको लहर ल्याउँछ भनेर आउँदै गरेको निर्वाचनमा भर पर्दछ । पछि आउने मतपेटिकाका आधारमा भर पर्दछ । यो एउटा प्रतिक्रिया हो । दलहरूले गलत गरेका छन्, त्यसमा हाम्रो समर्थन छैन भन्ने संकेत मतादाताहरूले दिएका छन् ।
यो गठबन्धन चुनावसम्म टिक्ला कि न टिक्ला के देख्नुहुन्छ ?
गठबन्धन टिक्छ जस्तो लाग्छ मलाई । किनभने यो स्वार्थी र अवसरवादीहरूले बनाएको सरकार हो । आफ्नो स्वार्थ पूरा गर्नका लागि लक्ष्यसम्म पुर्याउन सक्छन् । स्वार्थ अहिलेसम्म ठूल्ठूला उपलब्धिहरू हासिल गरेका छन् । जनताहरूले यो हामीलाई मान्छे छैनौँ भनेर भने भने यो हट्ला नभए यो अगाडि जान्छ ।
मङ्सिर ४ सम्म जाँदा एउटा गठबन्धन र अरू एक्लो पार्टीका रूपमा देख्न हुन्छ ?
गठबन्धनको विकल्प गठबन्धन नै हुनु स्वभाविक हो । बाँकी रहेका शक्तिहरूलाई एकै ठाउँमा राखेर एमालेले एउटा भरपर्दो गठबन्धन गर्नुपर्छ । एमालेले अब बाँकी दलहरूसँग एकता गरेर अगाडि बढ्छ ।
अब एमालेले बचेका राजनीतिक दलहरूसँग एकता गर्छ र अगाडि बढ्छ जस्तो मलाई लाग्छ । फोहोरी नै फोहोरी राजनीतिक दलहरूमध्ये कम फोहोरीमा बाध्य भएर मतदान गर्नुपर्ने अवस्थामा नेपालका राजनीतिक शक्ति र जनताहरू छन् ।
यो ठूलो गुण्डा र सानो गुण्डाबीचको युद्ध हो । त्यसमा पनि अलि भ्रष्ट्राचार नगर्ने र देश नबेच्नेलाई जनताले भोट हाल्नुपर्यो।
आउँदो चुनावमा जनताले गुण्डालाई भोट हाल्नुपर्ने भएको हो ?
शेरबहादुर देउवालाई भोट नहाली हुँदैन । केपी ओलीलाई पनि भोट नहाली हुँदैन । प्रचण्डलाई नहाली हुँदैन । जसरी पनि जिताई हाल्छन् । यसपटक छोरीलाई कसरी जिताए भन्ने त सबैलाई थाहै छ । यसमा न अदालतले केही गर्न सक्यो न निर्वाचन आयोगले केही गर्न सक्यो ।
फेरि पनि मुलुक अस्थिर राजनीतिले रगडिने देखियो हैन त ?
त्यो हो । किनभने एमालेले नै जित्यो भने पनि सग्रतामा मात्र हाबी गर्ने हो बहुमत ल्याउने हैन गठबन्धन दलले बहुमत नै ल्याए पनि त्यो गठबन्धनको मात्र बहुमत हुन्छ । दलको हुँदैन ।
हिन्दू धर्म राज्य र संघीयताको विषयलाई मङ्सिर ४ सम्म कुनै दलले खुला रूपमा उठाउलान् कि नउठाउलान् ? तपाईंको विष्लेषण के छ ?
गर्न सक्छन् । किनभने यिनीहरू अवसरवादी हुन् कति बेला आफूलाई कहाँ पुर्याउँछन् थाहा हुँदैन । कति बेला दल बदल्छ, कति बेला गुट बदल्छ, त्यो कसैलाई थाहा हुँदैन त्यसैले नेपालका राजनीतिक दलहरू भनेका प्राय अवसरवादीहरू नै हुन् । कति बेला धर्मको कुरा गर्छन् भन्न सकिँदैन ।
वामदेव गौतम र बाबुराम भट्टराई प्रचण्डसँग नै आए भन्न मिल्ला यो दृश्यले के भन्छ, उनीहरूको भविष्य कत्तिको सुनिश्चित देख्नुहुन्छ ?
त्यो जनताको हातमा छ । बाबुराम आफूभन्दा पनि छोरीलाई अगाडि बढाउने प्रयासमा छन् भन्ने सुनिन्छ । यिनीहरू फोहोरी राजनीतिक दलहरू हुन् । यिनीहरूले राजनीतिलाई अड्कली अड्कली आफ्नो पोल्टामा हाल्छन् । वामदेवको हकमा पनि श्रीमती हाउसमा नै होलिन् । त्यसैले यो कुनै विषय हुँदैन ।
प्रधानमन्त्रीको कुरामा काँग्रेसले पहिला तोकेर अगाडि जाला कि प्रचण्ड फेरि प्रधानमन्त्री बन्छु भनेका छन्, अब मुलुकको नेतृत्व कसले सम्हाल्ला मङ्सिरपछि ?
प्रधानमन्त्रीमा अग्रता हुनुपर्ने अब पालो प्रचण्डको हो । तर अब नेपालमा खुट्टा टेक्न नसक्ने, भिजन नभएको, ल्याँगे किसिमका मन्त्री प्रधानमन्त्री हुने अभ्यास छ । त्यसकारण शेरबहादुर देउवा पनि बन्न सक्छन् । र भित्रबाट उनले बिस्तारै आफ्नो तयारी गरेका होलान् ।
यो सबै कुरा जनताबाट निर्धारण हुन्छ । अहिलेको प्रधानमन्त्री हुनेभन्दा पनि कसलाई रोक्ने भन्ने ठाउँलाई बलियो बनाउनु पर्दछ ।
आन्तरिक कुराले प्रधानमन्त्री बन्ने हो कि हाम्रो रिमोट बाहिर छ भनेर बाहिरी शक्तिले नै बनाउने हो ?
राजनीतिमा बाहिरी सहायक जस्तो हुन्छ । भोट हाल्ने त जनताहरू नै हुन् । राजनीतिमा मुख्य तत्त्व आन्तरिक कुराले हुन्छ तर नेपालको कुरामा बाहिरी शक्तिले पनि नेतृत्व आदि गर्दछ ।
प्रचण्ड, देउवा र केपी ओलीमध्ये तपाईँको दृष्टिकोणमा इमान्दार र देशप्रेमी नेता को जस्तो लाग्छ ?
यी तीनजना नै उस्तै हुन् तर त्यसमा अलिकति गतिशील प्रचण्ड छन् ।
प्रस्तुति: पुष्पाञ्जली बस्नेत
प्रतिक्रिया