अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ :  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

. जलविद्युत आयोजना निर्माणमा देखिएको समस्या समाधान गर्न निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँको जलविद्युत आयोजना र म्याग्दीको रघुगंगा जलविद्युत आयोजना निर्माणमा लागि देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  सिंहदरबारमा  आज  बसेको समिति बैठकले दुई जलविद्युत आयोजना निर्माणका क्रममा विविध जटिलता देखिएको भन्दै आन्तरिक समन्वयमार्फत सवै समस्यालाई समाधान गर्दै निर्माणमा देखिएको समस्या हटाउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकमा सो आयोजनाहरूको निर्माण अवस्थाका बारेमा अध्ययन गर्न गठित अनुगमन समितिले प्रतिवेदन बुझाएको थियो । आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको निस्कर्ष र सुझावहरूमा समावेश विषयहरूलाई यथाशीघ्र कार्यान्वयन गर्नको लागि सम्बन्धित अन्तर मन्त्रालयहरूलाई निर्देशन दिइएको समिति सभापति पूर्ण कुमारी सुवेदीले जानकारी  दिए ।

बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले सो आयोजनाहरू समयमा नै सुरु हुन नसक्दा लागत नै महङ्गो पर्ने देखिएको  बताए ।  बिभिन्न समस्या समाधानका प्रयास हुँदा पनि  सो आयोजनाहरू निर्माण गर्न निकै कठिन भएको उनको  भनाई छ । त्यस्तै सांसदहरुले आयोजनाहरू निर्माणमा ढिलाई भएका कारणहरूलाई राज्यले गम्भीर रुपमा लिनुपर्ने धारणा राखेका   थिए । 

 २. समृद्धि र व्यवस्था रक्षाका लागि म सङ्घर्षरत छु : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू सङ्घर्षरत रहेको बताएका छन् ।  निर्वाचन क्षेत्र चितवनको  माडीमा  आज आयोजित भेटघाट कार्यक्रममा  अध्यक्ष   दाहालले राजनीतिक स्थायित्वका लागि आफ्नो सङ्घर्ष कायम रहेको  बताए ।

कम्युनिष्ट पार्टी एकता र विघटनका कारण निर्वाचन क्षेत्रमा सोचे जति काम हुन नसकेको भन्दै उनले पछिल्लो समय विकासका काम तीव्र गतिमा अघि बढेको बताए  । माडीको विकास र समृद्धि बिना आफूले लिएको लक्ष्य पूरा हुन नसक्ने जनाउँदै उनले चितवनलाई देशकै विकासको मोडेल बनाएर लागू गर्ने सङ्कल्प आफ्नो रहेको बताए ।

बाँदरझुला र माडीका भूमिहीन सुकुम्बासीको जग्गा नाप्ने काम तीन दिनभित्र सुरु हुने उनको भनाइ छ । नापजाँच सकिएसँगै जग्गाधनी पुर्जा वितरण गरिने उनले  बताए । उनले  माडी नगरपालिका वडा नं ५ र ६ जोड्ने रतनी खोला पुलको उद्घाटन, १२ किलोमिटर लामो बरुवा बजार–भैरवपुर–पर्साचोक–बैदार सिम्रेनी–गङ्गटे सडक शिलान्यास, टम्टा खोला तटबन्धको शिलान्यास  गरे ।

३ . बाम एकता सम्भव हुने नेता गुरुङको भनाई 

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा एक/दुई दिनभित्रै सिट बाँडफाँड टुंगो लाग्ने दावी गरेका छन् रिपोटर्स क्लब नेपालले  आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले अहिले पनि सिट बाँडफाँडका लागि गठबन्धनका शीर्ष नेताहरूबीच छलफल चलिरहेको जानकारी दिए ।

गुरुङले मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेको संकटलाई सबै दलबीचको सहकार्यले पार लगाउनुपर्नेमा जोड दिए ।  महासचिव गुरुङले एमाले पनि विगतका गल्ती कमजोरी पुनर्विचार गर्न तयार भयो भने वाम घटकहरू सहकार्य गरेर जान सकिने तर वाम घटकमा संकीर्णता भने देखिएको बताए ।

फरक प्रसङ्गमा उनले पार्टीका पदाधिकारी समावेशी नभएको बताए केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चितता गरेको भएपनि पदाधिकारीको सवालमा त्यसो हुन नसकेको उनले  तर्क गरे ।

४. न्याय निरूपणमा तीन तहको  उत्तिकै भूमिका हुन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरूप तीन तहको  उत्तिकै महत्वपूर्ण भूमिका हुने बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाडौँ महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा आज आयोजित समीक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले अपराध अनुसन्धानमा प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताएका हुन् ।

कार्यक्रममा मन्त्री खाणले बद्लिदो अपराधको स्वरूपलाई नियन्त्रण गर्न नेपाल प्रहरीले थप सतर्कता, सजगता र कर्तव्यनिष्ठ भई सक्रिय भइरहेको भएको उल्लेख गरे ।

जनताको जीउ धनको रक्षा ,समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण राज्यको प्रमुख दायित्व रहेको बताउँदै गृहमन्त्री खाणले सो दायित्व पुरा गर्न सुरक्षा निकायलाई अझै सबल तथ सुदृढ गर्नुका साथै सदैव तयार रहेको बताए ।

५. कर्णाली जलविद्युत् आयोजना : एक महिनाभित्रै विद्युत् खरिद सम्झौता हुने 

बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली किन्न एक महिनाभित्रै विद्युत् खरिद सम्झौता (पीपीए) हुने दाबी गरेको छ । नेपाल भ्रमणमा रहेको बङ्गलादेशको  विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमान नेतृत्वको टोलीले एक महिनाभित्रै माथिल्लो कर्णालीको प्रवर्द्धक गान्धी मल्लिकार्जुन राओ (जीएमआर)सँग पीपीए हुने दाबी गरेका हुन् ।

सहसचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेडब्लूसी) बैठक अहिले बसिरहेको छ । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकमा भाग लिन उनीसहितको नेतृत्वको टोली  हिजो  नेपाल आइपुगेको हो ।  भोलि बस्ने सचिवस्तरीय बैठकमा पनि यसबारे बंगलादेशले औपचारिक जानकारी गराउने अपेक्षा गरिएको छ ।

६. सामुदायिक विद्यालयका कर्मचारीद्धारा आज पनि धर्ना .

सामुदायिक विद्यालयका कर्मचारीले  आज पनि काठमाडौँको माइतीघर मण्डलमा धर्ना दिएका छन् । सरकारले मागबारे कुनै सुनवाई नगरेकाले धर्नालाई निरन्तरता दिन बाध्य भएको विद्यालय कर्मचारी परिषदका महासचिव शान्तिनाथ योगीले बताए । माग पूरा नभए आइतबारदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता सम्म बन्द गर्ने चेतावनी परिषद्ले दिएको छ  ।

देशभरका सामुदायिक विद्यालयमा कार्यरत लेखापाल, कार्यालय सहयोगीसहित बालविकास कक्षाका सहयोगी कार्यकर्ता (ईसीडी शिक्षक) ले सरकारले निर्धारण गरेबमोजिम १५ हजार न्यूनतम मासिक पारिश्रमिक पनि  नपाएको उनीहरूले गुनासो गरेका छन् ।

देशभर करिब ४० हजार विद्यालय कर्मचारी कार्यरत छन् । ३० हजारभन्दा बढी सामुदायिक विद्यालयमा बालविकास कक्षा सञ्चालनमा छन् र त्यहाँ बालविकास शिक्षक कार्यरत छन् ।

७. थाइल्याण्डका प्रधानमन्त्री प्रयुत संवैधानिक अदालतद्वारा निलम्बन  

थाइल्याण्डका प्रधानमन्त्री प्रयुतचानलाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ ।  विपक्षी दलहरूले उहाँका विरुद्धमा  गत सोमबार दिएको मुद्दाका आधारमा अदालतले  आज प्रधानमन्त्री प्रयुतलाई निलम्बन गर्ने फैसला गरेको हो । अर्को आदेश नआएसम्मका लागि प्रधानमन्त्री प्रयुतलाई निलम्बन गरिएको अदातलको आदेशमा भनिएको छ  ।

उनको ठाउँमा उपप्रधानमन्त्री प्रवीत वोङसुवानले अन्तरिम नेताको पदभार ग्रहण गर्ने अपेक्षा गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  ।  विपक्षीहरुले  प्रधानमन्त्री प्रयुतको कार्यकाल सन् २०१४ को अगस्ट देखि नै गणना गर्दा ८ वर्षे कार्यकाल समाप्त भइसकेको  दाबी सहित निवेदन दिएका थिए  । .

उनी थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रधानमन्त्री  पदमा रहेका  छन् । यता प्रधानमन्त्री प्रयुत र सत्तारुढ दलले भने सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उहाँको कार्यकाल गणना हुने तर्क गरेका छन् । त्यो भन्दा अगाडि उनी अन्तरिम प्रधानमन्त्रीका रुपमा रहेको उनीहरूको भनाई छ ।

८. नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कुपोषणका बालबालिकाको संख्या बढ्दो 

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कुपोषणका बालबालिकाको संख्या विगतका तुलनामा बढेको संयुक्त राष्टसंघले पुष्टि गरेको छ ।  सो क्षेत्रमा उपचारका साथै आवश्यक पोषण तत्वको उपलब्धताका लागि संयुक्त राष्टसंघले आग्रह गरेको छ ।

सन् २०२१ को यो अवधिका तुलनामा यस वर्षको सुरुका सात महिनामा कुपोषित हुने बालबालिकाको संख्या निकै ठूलो सङ्ख्यामा बढेको पाइएको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जानकारी दिएको छ ।

सो क्षेत्रमा अहिले नै कम्तीमा पनि ४० लाख मानिसलाई खाद्यान्नको अभाव भएको छ । साथै यो वर्षभरिमा सो क्षेत्रमा ८० लाख मानिसलाई खाद्यान्न अभाव हुने अनुमान गरिएको पनि बताइएको छ ।

९. बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि टोली घोषणा  

 मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्   । प्रशिक्षक केसीले  आज  २५ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

प्रतियोगिताका लागि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ । सेप्टेम्बर १० देखि १८ सम्म हुने छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै राष्ट्रिय यू–२० टोली छनोट भएको छ ।

नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ । 

१०.  भुटानको राष्ट्रिय फुटबल टोली भोलि नेपाल आइपुग्ने

महिला साफ फुटबल प्रतियोगितामा सहभागी हुन भुटानको राष्ट्रिय फुटबल टोली भोलि ( नेपाल आइपुग्ने भएको छ । भुटानी टोली बिहान ९ बजे ड्रक एअरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले  जनाएको हो । साफ खेल्न नेपाल आउने भुटान पहिलो टिम हो ।

भुटान समूह ‘बी’ मा रहेको टोली हो । यो समुहमा श्रीलंका र नेपाल रहेका छन् । भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ काठमाडौंमा सुरु हुँदैछ ।प्रतियोगितामा नेपाल सहित ७ टिमले प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । 

 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ४ : ४५ बजे

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं – नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको

उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

पोर्ट सुडान – सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र

भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक

ओखलढुङ्गा – यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।