विद्यार्थीको हातमा ‘हामी र हाम्रो वीरेन्द्रनगर’ « Khabarhub

विद्यार्थीको हातमा ‘हामी र हाम्रो वीरेन्द्रनगर’


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– वीरेन्द्रनगर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयले स्थानीय पाठ्यक्रममा आधारित ‘हामी र हाम्रो वीरेन्द्रनगर’ पुस्तकको पठनपाठन सुरु गरेका छन् । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा प्रकाशित पाठ्यपुस्तक यस वर्षदेखि कक्षा १ देखि ३ सम्म पढाउन थालिएको हो । 

नगर प्रमुख मोहनमाया ढकालले आज पदमपुरस्थित जनजागृति प्राथमिक विद्यालयका विद्यार्थीलाई पुस्तक वितरण गरे । उनले आगामी वर्ष पाठ्यक्रम र पाठ्यवस्तुलाई थप परिस्कृत गर्दै माथिल्ला कक्षामा पनि पठनपाठनको व्यवस्था मिलाइने बताए । ‘आगामी वर्ष कक्षा ८ सम्म पढाउने गरी पाठ्यक्रम निर्माण कार्यलाई निरन्तरता दिनेछौँ’, नगर प्रमुख ढकालले भने , ‘स्थानीय पाठ्यक्रमबाट विद्यार्थीलाई आफ्नो ठाउँको बारेमा ज्ञान प्राप्त गर्नुका साथै समाजप्रति जिम्मेवार हुन मद्दत पुग्नेछ ।’

संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार तथा दायित्व स्थानीय तहलाई दिएको छ । स्थानीय पाठ्यक्रममा आधारित उक्त पुस्तकले लोकतन्त्रका मूल्यमान्यता अवलम्बन गर्न, असल, उदाहरणीय व्यक्तित्व निर्माण गर्न, मौलिक पहिचान र विविधताप्रति गर्व गर्न सहयोग पुर्‍याउने उनको विश्वास छ ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले कक्षा १ देखि ३ कक्षासम्मका लागि पाँच घण्टाको भारसहित स्थानीय विषयको प्रबन्ध गरेको छ । स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन, २०७६ बमोजिम वीरेन्द्रनगर नगरपालिकाले आधारभूत तहका लागि स्थानीय सरोकारवालाको सहभागितामा स्थानीय विषयको पाठ्यक्रम एकीकृत ढाँचाको विकास गरी शैक्षिक सत्र २०७८ देखि लागू गरेको थियो । 

नगरपालिकाले सबै सामुदायिक विद्यालयमा पुस्तक पठाइसकेको जनाएको छ । नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख धीरेन्द्रप्रसाद शर्माले मुख्य सात वटा ‘थिम’ मा आधारित रहेर पुस्तक प्रकाशन गरिएको जानकारी दिए । 

उनका अनुसार ‘हाम्रो वीरेन्द्रनगर’, ‘हाम्रो बाल संसार’, ‘खुसीका लागि शिक्षा’, ‘वातावरण संरक्षण र हरित विद्यालय’, ‘हाम्रो सम्पदा’, ‘हाम्रो पेसा, व्यवसाय र प्रविधि’, ‘विपद् व्यवस्थापन’ एकाइ छन् । पुस्तकमा वीरेन्द्रनगरको भूगोल, कला संस्कृति, जातजाति, भाषा, धर्म, पर्यटकीयस्थल, हावापानी, सामाजिक, राजनीतिक, आर्थिक अवस्था समेटिएका विषयसूची समावेश छन् । 

नगरपालिकाले पाठ्यक्रम निर्माणका लागि गत आर्थिक वर्ष १० लाख खर्च गरेको थियो । विज्ञहरुबाट तयार पारिएको पाठ्यक्रमअनुसार नगरपालिकाले पाठ्यपुस्तक प्रकाशन गरेको हो । जनजागृति प्राथमिक विद्यालयका प्रधानाध्यापक ज्ञानुकुमारी गैरेले पाठ्यपुस्तकले विद्यार्थीमा स्थानीय वस्तुस्थितिको स्पष्ट जानकारी हुने विश्वास व्यक्त गरे । 

‘स्थानीय विषयवस्तु सुन्न र पाठ्यक्रममा भएका विषयमा जानकारी लिँदा यसको प्रभावकारिता बढ्छ’, उनले भने, ‘बालबालिकाले बोलीचालीका क्रममा केही सुनेका र देखेका हुन्छन्, किताबमै पढ्दा उनीहरूमा ज्ञान बढ्छ ।’ 

वीरेन्द्रनगर नगरपालिकामा ६० सामुदायिक तथा ८८ संस्थागत विद्यालय छन् । हाल सामुदायिक विद्यालयमा लागू गर्ने र क्रमिकरूपले संस्थागत विद्यालयमा पनि पाठ्यक्रम कार्यान्वयन गर्ने गृहकार्यमा रहेको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । नगरपालिकाले नगर शिक्षा ऐन, २०७४ जारी गरी यही ऐनमार्फत शिक्षा प्रशासन सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ६ : ४८ बजे

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

बागमती– सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया

झापामा ‘स्विप अपरेसन’ एक सय अट्ठाइस जना पक्राउ

झापा– लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा

भूकम्पको एक दशक : राहतका घरमा ताला ठोकेर स्थानीय सहरतिर, गाउँ रित्तै

दोलखा – २०७२ साल वैशाख १२ गते अर्थात त्यो कालो

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध