काठमाडौँ – पर्यटन पत्रकारिताको क्षेत्रमा केही काम गरेको नाताले मेरो सबै भन्दा बढी ध्यान केन्द्रित भएको विषय प्रकृति हो। हाम्रो पर्यटन सुरु भएको प्रकृतिबाट हो। हामीले राम्रो होटेल बनाएर पर्यटक आएका होइनन्। हाम्रा हिमालयहरू हेर्न पर्यटक आउने हुन्।
महाकवि कालिदासले कयौँ वर्ष पहिला नै हिमालयको बारेमा रघुवंश काव्यमा उल्लेख गर्नु भएको थियो। पृथ्वीको महान् दण्डको रूपमा पूर्व पश्चिम फैलिएको हिमालय पर्व छ। जो देवताहरूको आत्मा हो। यस्तो भनिएको चिजलाई हामी केही नबुझी फोहोर फाल्ने, फोटो खिच्ने, चढ्ने, नाम राख्ने, झन्डा राख्ने हो भनेर आफ्नो नाम राख्ने निहुँमा निकै प्रकृतिमाथि आक्रमण भएको छ। जे जस्तो प्रकृति देखेर मान्छे आउँथे त्यो अहिले छैन।
पश्चिमाहरूले अहिले पहिलाको जस्तो राख्ने हिमाल पग्लिँदै गएका छन्। राम्रो झरना छैन भन्न थालिसके र पनि हामी पर्यटन र प्रवर्धनका कुराहरू गरिरहन्छौँ। हामी पूर्वाधार विकास भन्छौँ तर, कहाँ पूर्वाधारको विकास गर्ने, पर्यटन विकास कहाँ गर्ने ? त्यो हामीलाई थाहा नै छैन। हामीले हिमाल पहाड सबैका साझा हुन् भनेर सबैमाथि आक्रमणका साथसाथै फोहोर गरेका छौँ।
पहाडमा कस्तो विकास गर्ने त्यो एउटा कोर कुरा हुन्छ। हिमालको एउटा सीमितता हुन्छ। पर्यटकीय क्षेत्र घोषणा गरेर, निकुञ्ज घोषणा गरेर मात्र हुँदैन। त्यहाँ एउटा छुट्टै सीमितता भएको कुरालाई बुझ्नुपर्छ। हिमाल संरक्षणका लागि मापदण्ड बनाउनुपर्छ। यो रेखदेख निकुञ्जले गर्ने हो कि, वनले गर्ने हो कि, पर्यटन मन्त्रालयले गर्ने हो की यसो भएको कारण हामीले जसलाई भने पनि यो कसैले विकास गन सक्दैन,किन कि यो संरचना धेरै पहिलादेखि नै बिग्रिँदै आएको छ।
त्यसैले पर्यटकीय विकासको लागि आवश्यक चोखो मार्ग हामीले पत्ता लगाउन सकेका छैनौँ। यसका लागि हामीले पर्यटकीय क्षेत्रहरूलाई छुट्टाउनु पर्यो र त्यहाँ अरु गतिविधि गर्नु भएन। कुनै प्राकृतिक क्षेत्र छ भने भौतिक निर्माण कहाँ सम्म गर्ने हो ? बस्ती बसाल्ने, होटेल निर्माण गर्ने पनि मापदण्ड आवश्यक छ। फोक्सुन्डोमा नै गाडी लैजाने ?
स्वर्गद्वारीमाथि ढोकामा नै मोटर चढेर जाने, अलि ठूलो मान्छे आयो भने हल्ला गर्ने त्यहाँ त सबैको लागि समान हुन पर्यो। हिँडेर नै जानु पर्यो। रारा तालमा जान कहाँसम्म बसमा जाने सीमा छुट्टाउनु पर्दछ। त्यहाँको प्राकृतिक वन किन मासियो ? यी कुराहरूलाई राज्यले सोच्नु पर्ने स्थिति छ।
हामी हिमाल धेरै चढिसक्यौ। अब बढ्न दिनु हुँदैन। टाढाबाट नै हेरेर पनि हामी आनन्द लिन सक्छौ नि ? हिमालमा हामी फोहोर र लासहरू थुपारेर बस्छौँ। त्यो तलको पानी सफा भनेर हामी कसरी बेच्न सक्छौँ ? भुटानले महँगोमा हिमाल बेच्छ पर्यटनलाई र कुनै हिमालमा आरोहण गर्न दिँदैन। उसकोमा सबै भन्दा महँगो पर्यटकीय गतिविधि चलिरहेको छ। हामीसँग विश्वको सबै भन्दा संवेदनशील डाँडाहरू आठ हजार माथिका नै ७ देखि ८ वटा छन्। त्यसमा अरूले प्रतिस्पर्धा गर्न सक्दैन निकै पर बसेर हेर्न पनि निकै महँगोमा पाउनु पर्ने हुन्छ।
पोखरा हिमालय पर्वतको सबै भन्दा नजिकको सहर हो। हिमालय पर्वतको जम्मा ३० किलो मिटरको दुरीमा छ। त्यो विश्वको सबै भन्दा महँगो हुनु पर्दछ। हामी उच्चताको कुरा गर्दछौँ त्यसको मूल्य पनि सही बनाउनु पर्यो नि ?
सगरमाथा विश्व सम्पदा सूचीमा पर्यो भन्छौँ हामी। तर, त्यसको संवेदनशीलता बुझेको खोइ नेपालीले ? त्यसलाई सरसफाइ गरेको खोइ त्यहाँ आउँदा पर्यटकहरू रमाउने विषयहरू खोइ ? त्यसैले हामी सबैले प्रकृति मैत्री काम गरौँ। सबै भन्दा पहिला हामीले कलेज, विश्व विद्यालयमा प्राकृतिक सुन्दरताको विषयमा पनि पाठ्यक्रम राखौँ, प्रकृतिलाई पहिलो प्राथमिकतामा राखौँ। बसहरू हेलिकप्टरहरू लैजाँदा त त्यहाँको प्रकृति बिग्रियो नि ?
हामी अनेक खर्च गरेर फोटो राखेर विज्ञापन गर्नु पर्दैन सफा राखौँ त्यो आफै विज्ञापन हुन्छ। पर्यटकहरू अहिले महँगो भएर कम भएका होइनन्। फोहोर भएर कम भएका हुन्। त्यसैले पर्यटन विकासको लागि हामीले पहिलो प्राथमिकतामा प्रकृतिको संरक्षणलाई राख्नु पर्दछ।
प्रकृतिसँगै अर्को छ संस्कृति। अरु देशहरूमा सम्पदा छन् तर संस्कृति टुटेको छ। भारतको प्रणकाको मन्दिर भनेर जाँदा धेरै ठूलो ७ वटा पाङ्गा माथि सूर्यको मन्दिर बनाएर राखिएको छ। तर, त्यहाँ पूजा आज सबै अवरुद्ध भएको छ। हाम्रो यहाँ त्यस्तो छैन। हाम्रा जीवन्त सम्पदाहरूलाई सम्मान गर्नु पर्दछ। हामी हाम्रो संस्कृतिलाई आफै गिज्याएर बोल्छौ।
हामी गरिब भन्छौ। हामी सांस्कृतिक रूपमा धेरै गरिब छौँ। त्यहाँ देवी छन्, महादेव छन्, मन्दिर छन् लामाहरू छन् रिम्पोचेको ध्यान गर्ने गुफाहरू छन्। हरेक ताल कुण्डमा स्नान गर्ने ठाउँहरू छन्। त्यो प्राकृतिक क्षेत्रसँग संस्कृति छन्। त्यसले प्रकृतिलाई सफा राखेका छन् त्यो मन्दिर हो वरपर थुक्न हुँदैन, पिसाब फेर्न हुँदैन भनिन्छ।
त्यसैले कहाँ खाना बनाउने त्यसको लागि क्षेत्र छुट्टाउनु पर्दछ। संस्कृतिलाई हामीले सम्मान गरेर त्यो प्रकृतिलाई पूजा गर्नु पर्दछ। तब मात्र पर्यटन विकास हुन्छ। पर्यटन जोखिम पूर्ण नै हुनु पर्दछ। हरेक हिमालमा देवी देवता छन् तिनको संरक्षण गर्नु पर्दछ।
(खबरहबले आयोजना गरेको ‘नेपालमा पर्यटन विकास बहस’ कार्यक्रममा नेपाल पर्यटन पत्रकार संघका अध्यक्ष नारायण भण्डारीले राखेको धारणाको सम्पादित अंश)
[प्रस्तुति : पुष्पाञ्जली बस्नेत]
प्रतिक्रिया