कुकुर तिहार : सहरमा रहर, गाउँमा गोठालाका भर « Khabarhub

कुकुर तिहार : सहरमा रहर, गाउँमा गोठालाका भर


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

बेनी– प्रायः सहरी क्षेत्रमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिकरूपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् । परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथी बन्ने गरेका छन् । अनकन्टार जङ्गल, पहाड र हिमालका बुकीसम्म नै घुम्तीरुपमा गरिने भेडापालन र गाईभैँसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रुपमा पाल्ने गरिन्छ । 

अन्नपूर्ण गाउँपालिका-५ का भेडापालक युवा प्रकाश पुनले भेडीगोठमा रहेका भेडाको हेरालु र गोठको सुरक्षाका लागि कुकुर पालिएको बताए । ‘हामी पनि गोठमा हुन्छौँ, तर कहिलेकाहीँ जङ्गली जनावरले गोठमा रहेका भेडामाथि आक्रमण गर्नसक्ने जोखिम रहन्छ, जङ्गली जनावरको आक्रमणमा प्रतिकार गर्न र पशुधनको रक्षा गर्न कुकुरले ठूलो सहयोग पुग्ने गरेको छ’, उनले भने ।

खोप्रा र खयर क्षेत्रमा व्यावसायिक भेडापालन गरेका हरेक गोठमा ‘भोटे’ जातका कुकुर रहेका छन् । अधिकांश समय जङ्गलमै बिताउनुपर्ने भएकाले कुकुरको सुन्ने र सुँधेर पत्ता लगाउन सक्ने शक्ति बढी हुने भएकाले गोठमा गोठाला र गोठका भेडाबाख्राको सुरक्षामा कुकुरलाई द्वारपालकको रुपमा लिने गरिन्छ ।

खासगरी पहाडी क्षेत्रमा घुम्ती चरनमा लैजाने गरी राखिने गोठका गाईभैँसीपालन र भेडाबाख्रासँगै गोठमा रहेका गोठाला र हेरालुका समेत सारथी र साथी कुकुर नै हुन् । चरन क्षेत्रको लागि गोठको दूरी टाढा-टाढा राख्ने भएकाले गोठमा सुरक्षाको भरोसा कुकुरमै निर्भर हुने गरेको धौलागिरि गाउँपालिका–५ मल्कबाङका भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताए । जङ्गलका बाघ, चितुवा, भालुलगायतका हिंस्रक जनावरको आक्रमणले भेडाबाख्रामा पार्ने क्षति न्यूनीकरण गर्न कुकुरले महत्वपूर्ण भूमिका खेल्ने गरेको उनले सुनाए । 

‘गोठदेखि जङ्गलमा चरन क्षेत्रसम्म नै कुकुरले भेडाबाख्रालाई घुमीघुमी रेखदेख गर्छन्, जङ्गली जनावरको आवाज र सङ्केत पनि कुकुरले नै छिटो थाहा पाउने भएकाले ठूलो स्वरमा भुकेर भगाउने गर्छन्, हामीगोठमा कुकुरकै भरमा हुन्छौँ’, उनले भने। करिब छ सय बढी भेडापालन गर्नुभएका छन्त्यालको गोठमा दुई जना हेरालु र चार कुकुरले भेडीगोठ धानेका छन् ।

चरन क्षेत्रमा समेत कुकुरले नै भेडाबाख्रालाई जोखिमपूर्ण ठाउँमा जानबाट रोक्ने र साँझ गोठतर्फ भेडाबाख्रा ल्याउन सहयोग गर्ने गरेको विगत ६० वर्षदेखि नै भेडापालनमा सक्रिय रहनुभएका अन्नपूर्ण गाउँपालिका-५ का ७८ वर्षीय लालवीर तिलिजा बताए  ।गोठका सारथी बनेका कुकुरलाई जङ्गली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाइदिने गरिन्छ ।

जिल्लाको लेकाली क्षेत्र समेटिएको क्षेत्रमा घुम्ती गोठ राखेर पशुपालन गर्ने प्रचलन रहेको छ । घरपालुवा गुनिलो र आज्ञापालक तथा सुरक्षामा भरपर्दो जनावरको रुपमा चिनिने कुकुरको महत्वलाई तिहारको अवसरमा गरिने कुकुर तिहारको पूजा आराधानाले थप बढाउने गरेको छ ।

यमपञ्चक अर्थात् दीपावली पर्वको कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक मान्यता छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १० : ५७ बजे

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि‍‍‍…

जुम्ला – यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक

फेरि बजारमा एकपटक कमेडीको लहर

काठमाडौँ – ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति