अन्तर्वार्ता

जोर्नी दुख्नु मात्र बाथ होइन, यसले अपाङ्ग बनाउन सक्छ

By विना न्यौपाने

December 24, 2022

काठमाडौँ – जाडो मौसम सुरु भएसँगै विभिन्न रोगको असर देखिन थाल्छ। नेपालमा १० लाखभन्दा बढी बाथ रोगी भएको अनुमान गरिन्छ। बाथ रोगका प्रकारअनुसार यसको जोखिम फरक–फरक भए पनि पीडित उपचार गर्न अस्पताल जाने गरेको पाइँदैन। बाथलाई सामान्य रोग ठानेर उपचारमा लापरबाही गर्दा रोगीको आयु घट्ने चिकित्सकले बताएका छन्। नेपालीको जीवनशैलीमा आएको परिवर्तनसँगै बाथ रोगले अन्य रोगको दाँजोमा दिनानुदिन बढीभन्दा बढी व्यक्तिलाई ग्रसित पार्दै आएकोमा चिकित्सकले चिन्ता व्यक्त गरेका छन्। पुरुषको दाँजोमा महिला अझ बढी यस रोगको सिकार हुने गरेको तथ्याङ्कले देखाएको छ। यसै विषयमा आधारित भएर बाथ रोग विशेषज्ञ डा. विनय रेग्मीसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

बाथ रोगलाई हामीले कसरी बुझ्ने ? यसलाई बुझ्ने कारण धेरै हुन्छन्। साधारणतया बाथ भनेको युरिक एसिड भएकोलाई भन्छौ। तर युरिक एसिड हुने एउटा कारण हुन्छ। बाथ रोग हुने सयौँ कारण हुन्छन्। जसले जोर्नी दुखाउने गर्दछ।

अरू कारण के के हुन् ? रोगको हिसाबले युरिक एसिड, महिलामा बढी हुने इसएलए, बच्चा जन्माउने उमेरका महिलामा हुन्छ। यसलाई कसैले मासुको बाथ वा नशाको बाथ पनि भन्छन्। ढाँडको बाथमा ढाँड दुख्ने हुन्छ। राति सुतेको बेला धेरै दुख्ने र बिहान कक्रक्क भए दुख्ने हुन्छ। बुढाबुढीको ढाँड दुखाइ र यो ढाँड दुखाईमा फरक छ। बुढाबुढीको ढाँड दुखाइ राति कम हुन्छ। तर ढाँडको बाथमा आराम गर्दा झन् बल्झिने हुन्छ। बरु काम गर्दा कम हुन्छ। मुख सुख्खा हुने, घाउ आउने, आँखा सुख्खा हुने, तारनतार गर्भ नरहने हुन्छ। अझ भएको गर्भ पनि १० हप्ता भएपछि खस्दै जाने हुन्छ। नशामा रगत जमेर निलो हुने हुन्छ।

बाथका लक्षण के के हुन्छन् ? जोर्नी दुख्ने मात्र बाथ होइन। युरिक एसिडको बाथमा खुट्टाको बुढी औँलाबाट दुख्छ र सुनिन्छ। यसरी दुख्छ कि मान्छे रुन्छ। मांसपेशीहरू दुख्ने हुन्छ। लामो समय ज्वरो आउने पनि बाथ हुनसक्छ। त्यसैले लामो समयसम्म ज्वरो आयो भने पनि बाथ रोग सम्बन्धित डाक्टरलाई भेट्नुपर्दछ। मसल काठ जस्तो सार्हाे हुँदै जाने हुन्छ। कसैलाई धेरै टाउका दुख्यो र आँखाको ज्योती गयो भने पनि बाथ हुनसक्छ। रगतको नशा त्यसमा इन्फेक्सन भयो त्यसलाई भास्कुलाइटिस भनिन्छ। त्यस्तोमा अचानक हात खुट्टा निलो भएर काटेर फाल्नु पर्ने हुनसक्छ। बाथ भनेको आउट इम्युनडिजिज हो। हाम्रो शरीरमा भएको रोग प्रतिरोधात्मक शक्तिमा गढबढ भएपछि यसको असर देखिन्छ।

बाथ उपचारपछि पूर्ण रूपमा सन्चो हुन्छ ? बाथ भनेको बल्झिने रोग हो। औषधि खाएसम्म सन्चो हुन्छ। औषधि खान छोडेपछि फेरि दुख्छ। बालबच्चामा विस्तारै हट्दै जान्छ। जस्तो शरीरमा पिसाब पोल्ने, डायरिया भयो वा शरीरमा इन्फेक्सन भयो भने त्यसको एक हप्तापछि जोर्नी दुख्न सक्छ। यस्तो बाथपछि निको भएर जान्छ। त्यसैले हामीले बिरामीलाई एक महिना अगाडिसम्म केके भएको भनेर सोध्नुपर्ने हुन्छ।

बाथ रोग लागेपछि औषधि खाएर निको हुन्छ कि अप्रेसन नै गर्नुपर्छ ? बाथ रोग लागेपछि अप्रेसन नै गर्नु पर्दैन। कम्मरको जोर्नी दुखाईको अप्रेसन गर्न सकिन्छ। औषधि नियमित रूपमा खाने र डाक्टरले बोलाएको समयमा अस्पताल जाने गर्नुपर्छ। तर हाम्रो देशमा विभिन्न प्रकारका औषधि बेचेको पाइन्छ त्यस्तो औषधि खाएपछि मिर्गौला बिग्रिन्छ। त्यसपछि अस्पतालमा आउनेको संख्या पनि ठूलो छ। त्यसैले जथाभाबी औषधिको सेवन गर्नु हुँदैन।

घुँडाको बाथमा पानी किन निकालिन्छ ? बाथले गर्दा र घुँडाको हड्डी खिइएको छ भने पानी जम्छ। हड्डी खिइएको छ भने एक पटक पानी निकालेपछि फेरि जम्मा हुन्छ। त्यसैले के कारणले पानी जमेको हो त्यो पत्ता लगाउनु पर्दछ। बाथ रोगले अपाङ्ग बनाउन पनि सक्छ त्यसैले बेलैमा औषधि खानु पर्दछ। उमेर अनुसार वृद्धमा धेरै घुँडा दुख्ने समस्या हुन्छ। महिनावारी रोकिएपछि महिलाले क्याल्सियम खानु पर्दछ। किनभने विस्तारै हड्डीहरु खिइँदै जान्छ। हातका जोर्नी ढाँडका सबै हड्डी खिइन सक्छन्। त्यसैले बेला बेलामा क्याल्सियम खाने, धेरै उकालो ओरालो नहिड्ने, निहुरीएर लामो समय काम नगर्ने, नियमित व्यायाम गर्ने गर्नुपर्छ।

ग्रामीण भेगमा धेरै समस्या छ ? ग्रामीण भेगका मानिस एकै पटक जोर्नी दुखेर कुजिएपछि मात्र उपचारमा आउनु हुन्छ। हामीले औषधि दिएर पठाउँछौँ। पछि फलोअपमा बोलाउँछौँ त्यसमा पनि आउनु हुन्न। बाथ रोगका डाक्टर पनि सहरमा मात्र छन्। यसले ग्रामीण क्षेत्रमा यो समस्या बढी नै देखिन्छ।

बाथ रोकको रोकथाम कसरी गर्ने त ? सामान्यतया बाथ रोग हुने कारण खोज्ने, वंशाणुगत रूपमा छ भनेपछि अरूलाई पनि हुनसक्छ त्यसैले कति बेला हुन्छ र कसलाई हुन्छ भन्ने थाहा हुँदैन। त्यसैले रोकथाममा आहार बिहार, पादक पदार्थ नखाने, फोहोरमैलामा नजाने, कुनै बाथ घाममा बस्दा पनि बढी दुख्ने हुन्छ त्यसैले घामा नबस्ने गर्नुपर्छ। युरिक एसिड छ भने धेरै खसीको मासु खानु हुँदैन। पानी प्रशस्त मात्रामा पिउनुपर्छ।

-प्रस्तुति : पुष्पाञ्जली बस्नेत