तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

तालिबानको शासनमा अफगानिस्तानमा अवैध लागूऔषधको कारोबार बढ्यो

By खबरहब

December 24, 2022

काठमाडौँ- तालिबानको शासनमा अफगानिस्तानमा अवैध लागूऔषधको कारोबार बढेको पाइएको छ । अफगानिस्तानको खामा प्रेसले मुलुकमा लागूऔषधको कारोबार बढेको जनाएको हो ।

गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको शासन सम्हालेपछि तालिबानले मुलुकमा अवैध लागूऔषधको उत्पादन, प्रशोधन र तस्करीमाथि प्रतिबन्ध लगाएको थियो । यद्यपि लागूऔषधमाथि प्रतिबन्ध लगाउन तालिबानले गरेको व्यवस्थाको कार्यान्वयन भने नभएको खामा प्रेसले जनाएको छ ।

तालिबानलेसत्ता सम्हालेपछि अफगानिस्तानको अर्थतन्त्र संकटमा परेको छ भने बेरोजगारी पनि उत्कर्षमा पुगेको छ । मुलुकमा व्याप्त मानवीय संकट अहिले अफगानिस्तानमा शासन गरिरहेको सरकारले अघि सारेको वृहत रणनीतिको क्षमताभन्दा बाहिर रहेको खामा प्रेसले जनाएको छ ।

अन्तर्राष्ट्रिय समुदायको आँखा छल्नमात्रै तालिबानले अफगानिस्तानमा लागूऔषधमाथि प्रतिबन्ध लगाएको आलोचकहरुले बताउने गरेका छन् ।

लागूऔषध अफिम उत्पादनको हिसाबमा अफगानिस्तान विश्वकै सबैभन्दा ठूलो मुलुक हो । अफगानिस्तानबाट हरेक वर्ष १.५ अर्बदेखि ३ अर्ब अमेरिकी डलर बराबरको अफिम र हेरोइनको तस्करी हुने अनुमान गरिएको छ ।