विद्युतीय धरापमा गिद्ध « Khabarhub

विद्युतीय धरापमा गिद्ध

विद्युतीय तारमा परि गिद्ध मर्न थालेपछि स्थानीय चिन्तित



तनहुँ– गिद्ध संरक्षणका दृष्टिले नेपाल नमूना देश हो । गिद्ध जोगाउन नेपालले निर्वाह गरेको भूमिका विश्व समुदायका लागि अनुशरणीय छ । हिन्दू धर्म, संस्कृति र वातावरणीय रुपमा पनि यो पंक्षी महत्वपूर्ण मानिन्छ । गिद्धको महत्व बुझाउन र यसको सुरक्षा गर्ने उद्देश्यले विभिन्न अभियान सञ्चालन नभएका भने होइनन् ।

गिद्धको संरक्षण र यसको बहुपक्षीय विशेषता उजागर गर्ने लक्ष्यले नेपालमा सन् २००६ देखि सचेतनामूलक अभियान अघि बढाइएको छ । तर, अभियान चलिरहँदा तनहुँमा भने दिनहुँजसो गिद्ध मर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।

तनहुँको व्यास नगरपालिका–१० सिसुवा भतेरीमा विगत तीन वर्षदेखि गौ संरक्षण केन्द्र सञ्चालन गरिएको छ । छाडा पशुचौपायलाई व्यवस्थित गर्न गौशाला बनाइएसँगै यस क्षेत्रमा गिद्धको संख्या पनि क्रमशः बढ्न थालेको थियो । केन्द्रमा राखिएका वृद्ध गाई मरेपछि सिनो खान ठूलो संख्यामा गिद्ध भेला हुन थालेका थिए । तर, गौशालासँगै रहेको मिदिम हाइड्रोपावरको भोर्लेटार–दमौली ३३ केभी प्रशारण लाइन भने गिद्धका लागि अहिले ‘पासो’ थापे झैँ भएको व्यास–१०, दुम्सीका स्थानीय नरिश्वर सापकोटाको बुझाई छ ।

तनहुँ व्यास–१०, दुम्सीका मानबहादुर दर मिदिम हाइड्रोपावरको विद्युत प्रशारण लाइन विस्तारपछि करेन्ट लागेर अहिलेसम्म एकसय भन्दा बढी गिद्ध मरिसकेका बताउँछन् । अर्का स्थानीय रामप्रसाद सापकोटाका अनुसार गौशाला वरिपरि ठूला रुखहरु नहुँदा र सिनो खाएपछि गिद्धहरु उडेर जाने क्रममा विद्युतको पोल र तारमा बस्न खोज्दा करेन्ट लागेर मर्ने गरेका हुन् । तारमा पखेटाले छुँदा र पोलमा बस्दा गत सोमबार मात्रै तीनवटा गिद्ध मरेका थिए ।

वातावरण प्रदूषण, दुर्गन्ध र रोग मुक्त बनाउन गिद्धले खेल्दै आएको भूमिका महत्वपूर्ण छ । वातावरणलाई स्वच्छ र हराभरा राख्न मद्दत गर्ने भएकै कारण यो पंक्षीले प्राकृतिक कुचिकारको रुपमा पहिचान स्थापित गरेको छ । गिद्धको अभावमा सिनो जथाभावी छरिँदा झाडापखाला, रेविज, प्लेग, हैजा, आउँलगायत रोगले मानव स्वास्थ्य जोखिममा परेको छ । त्यस्तै, पशु चौपायहरूमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता विभिन्न रोगको संक्रमण फैलने विज्ञहरुको भनाइ छ । नयाँ पुस्तालाई गिद्धका बारेमा बुझ्न, अध्ययन र अवलोकन गर्ने वातावरण समेत बनेको स्थानीय प्रजापति सापकोटा बताउँछन् ।

तनहुँ व्यास नगरपालिका–१० सिशुवाभतेरीमा विद्युतको पोलमा करेन्ट लागेर मृत गिद्ध । तस्विरः नारायण खड्का

व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटा गिद्ध धमाधम मर्न थालेपछि मादीनदी किनारसँगै रहेको गौ संरक्षण केन्द्र नदी कटानको जोखिममा परेको बताउँछन् । वडा कार्यालयले गौशालासँगै जटायो रेष्टुरेन्ट र गिद्धका लागि सुरक्षित रुपमा आराम गर्ने स्थल बनाउने योजना निर्माण गरी दीर्घकालीन कार्यान्वयनको लक्ष्य लिएको छ । यस्तै, गौशाला नजिकै रहेका सामुदायिक बनमा सिमलका रुखहरु कटान गर्न नदिन डिभिजन वन कार्यालय तनहुँलाई अनुरोध समेत गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।

गौशालाका कारण गिद्धको संरक्षणसँगै संख्यामा वृद्धि भएपनि विद्युत प्रशारण लाइनलाई व्यवस्थित नबनाइँदा करेन्ट लागेर गिद्धले अकालमै ज्यान गुमाउने गरेका छन् । वडा कार्यालय र स्थानीयले विद्युत प्रशारण लाइनलाई सुरक्षित बनाइदिन मिदिम हाइड्रोपावर र विद्युत प्राधिकरणलाई आग्रह गर्दै आएपनि सुनुवाई हुनसकेको छैन ।

सिनो व्यवस्थापनको मूल्य तोक्ने हो भने एउटा गिद्धले करिब ११ हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग पुर्याउने एक अध्ययनले देखाएको छ । अरू चरा प्रजाति जस्तै गिद्धको पनि भाले र पोथी सजिलै छुट्याउन सकिँदैन । गिद्धको जोडी आजीवन सँगै हुन्छन्, गुँड बनाउनेदेखि बच्चा कोरल्ने र हुर्काउने काम सबै सँगै–सँगै गर्छन् । नेपालमा गिद्धको घना बासस्थान पश्चिम नेपालको तराई र मध्यपहाडी बनमा रहेको पाइन्छ । गिद्ध धेरैजसो अग्लो, ठूलो सिमलको रूखमा बस्न रुचाउने पंक्षी हो ।

तनहुँ व्यास नगरपालिका–१० सिशुवाभतेरीमा विद्युतको पोलमा करेन्ट लागेर मृत गिद्ध । तस्विरः नारायण खड्का

यसले वातावरणको सरसफाइ गर्ने भएकाले झाडापखाला, हैजा, आउँ, रेविज, क्षयरोग, प्लेगलगायत संक्रामक रोगहरूको महामारीबाट जोगाउने वातावरणविद्हरु बताउँछन् । नेपालमा सन् १९९० को दशकमा झण्डै १६ लाख गिद्ध रहेको तथ्याङ्क रहेपनि यो संख्या दिनानुदिन ओरालो झर्ने क्रम नरोकिएपछि संरक्षणको अभियान थालिएको थियो । सन् २००४ मा काठमाडौँमा गिद्ध संरक्षण सम्बन्धी शिखर सम्मेलननै आयोजना गरी लोपोन्मुख गिद्धको संख्या बढाउने विभिन्न विषयहरु पारित गरिएको थियो ।

९ प्रजातिका गिद्ध पाइने नेपालले गिद्धको संरक्षणमा हासिल गरेको सफलतालाई अन्तर्राष्ट्रियस्तरमा उदाहरणीय मानिएको छ । नेपालले सन् २००६ देखि व्यवस्थित रुपमै गिद्ध संरक्षण अभियान सुरु गरेको थियो । देशका विभिन्न जिल्लामा अहिलेपनि भल्चर सेभ जोन या गिद्ध सुरक्षित क्षेत्र बनाएर गिद्धको संरक्षण गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ । डाइक्लोफेनेकको प्रयोगलाई बन्देज लगाई गिद्धको संरक्षणमा नीतिगतरुपमै निर्णय गर्ने अग्रणी देश नेपाल नै हो । नेपालले सन् २००८ मा गिद्ध संरक्षण गर्ने हेतुले पञ्चवर्षीय ‘गिद्ध संरक्षण कार्ययोजना २००९–२०१३’ स्वीकृत गर्दै नीतिगत र व्यवहारिक कार्यक्रमहरु अगाडि बढाएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  २ : ०२ बजे

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा

बिनु यादवलाई महिलामन्त्रीले भनिन्- आवश्यक सहयोग गर्छु

काठमाडौं– सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु

पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

काठमाडौं– पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाइ जात्रा मनाइएको छ ।  मंगलबार पशुपतिनाथ