श्रीलङ्काली चिकित्सक भन्छन्- ‘औषधि अभावले बिरामीलाई मृत्युदण्ड दिएको छ’ | Khabarhub Khabarhub

श्रीलङ्काली चिकित्सक भन्छन्- ‘औषधि अभावले बिरामीलाई मृत्युदण्ड दिएको छ’


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पुर्‍याउन सक्ने चिकित्सकले बताएका छन् ।

अत्यावश्यक जीवनदायी औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको उनीहरूले जनाएका छन् ।

श्रीलङ्काले  ८० प्रतिशतभन्दा बढी औषधिको आपूर्ति विदेशबाट हुने आयातबाट गर्दै आएको भए पनि सङ्कटका कारण विदेशी मुद्रा सञ्चिति सकिएको छ । औषधि भण्डार र पसल रित्तिएका छन् भने स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुने अवस्थामा पुगेको छ । 

राजधानी कोलम्बोको बाहिरी भागमा रहेको ९५० शय्याको एपेक्षा क्यान्सर अस्पतालमा परीक्षण र शल्यक्रियालगायत प्रक्रिया स्थगन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ भने औषधि अभावका कारण बिरामी, तिनका आफन्त र चिकित्सक असहाय महसुस गरिरहेका छन् । क्यान्सरका बिरामीका लागि यो स्थिति ज्यादै जटिल भएको डा. रोशन अमरतुङ्गा बताउँछन् । 

‘कहिलेकाहीँ हामी शल्यक्रियाको लागि योजना बनाउँछौँ तर त्यो दिन शल्यक्रिया गर्न असमर्थ हुन्छौँ… किनकि त्यहाँ औषधिको आपूर्ति छैन’ औषधिको चरम अभावले बिरामीको ज्यान जोखिममा परेको पीडादायी परिस्थितिको वर्णन गर्दै उनी भन्छन् । 

भारत, जापानलगायत बहुपक्षीय दाताले औषधि आपूर्तिमा मद्दत गरिरहेको भए पनि  अस्पतालमा ती जीवनदायी औषधि आउन चार महिना लाग्नसक्ने उनी बताउँछन् । सरकारले पनि स्वदेश र विदेशमा रहेका निजी दातालाई सहयोगको लागि आह्वान गरेको उनले बताए । यदि स्थितिमा शीघ्र सुधार भएन भने धेरै बिरामीले मृत्युदण्डको सामना गर्नुपर्ने उनले बताए ।

सन् १९४८ मा श्रीलङ्का स्वतन्त्र भएपछि सबैभन्दा ठूाले आर्थिक सङ्कटको सामना गरिरहेको छ । कोभिड–१९ का कारण पर्यटन–निर्भर अर्थतन्त्रमा नराम्रो असर मात्र परेन पछिल्लो समय तेलको मूल्यमा वृद्धि, लोकप्रिय कर कटौती र रासायनिक मलको आयातमा गरिएको प्रतिबन्धले कृषि क्षेत्रलाई पनि तहसनहस पारेको छ ।

स्वास्थ्य सामग्री खरिदमा काम गर्ने एक सरकारी अधिकारीले डायलाइसिसका बिरामीका लागि सुई, प्रत्यारोपण गरेका बिरामीका लागि औषधि र क्यान्सरका केही औषधिलगायत करिब १८० औषधि क्रमशः सकिँदै गएको बताएका छन् । अवस्थाको गम्भीर्य र परिणामबारे सचेत भएकाले चिकित्सकहरू बिरामी वा उनीहरूका आफन्तभन्दा बढी चिन्तित भएका छन् । 

पेट्रोल र खाना पकाउने ग्यासको लागि सर्वव्यापी लामलाई उल्लेख गर्दै सरकारी चिकित्सक सङ्घका प्रवक्ता डा वासन रत्नसिङ्गमले उपचारको पर्खाइमा रहेकाको स्थिति भयावह भएको बताएका छन् । 

यदि बिरामी औषधिका लागि लाइनमा छन् भने तिनीहरूले आफ्नो ज्यान गुमाउने अवस्था आएको उनले  बताए । 

आफ्नी चार वर्षीया छोरी बिनुली बिमसराको रक्तसम्बन्धी जटिल रोगको उपचार गराइरहेकी आमाले आफू र श्रीमान् भयभीत भएको बताइन् ।

‘पहिले हामीसँग कम्तीमा केही आशा थियो किनभने हामीसँग औषधि थियो तर अहिले हामी ठूलो डरमा बाँचिरहेका छौंँ । हामी साँच्चै असहाय छौँ, औषधिको अभाव भएको सुन्दा हाम्रो भविष्य साँच्चै अन्धकार छ । छोराछोरीलाई उपचारका लागि विदेश लैजान हामीसँग पैसा छैन’ बिमसराकी आमाले भनिन् ।

भारतले हालै २५ टन औषधिसहितका चिकित्सा सामग्री आपूर्ति गर्नुका साथै अन्य सहायता उपलव्ध गराएको थियो ।

‘भारतले यो हदसम्म कुनै पनि अन्य देशलाई सहयोग गरेको छैन, हामी भारतप्रति आभारी छौँ’- श्रीलङ्काका विदेशमन्त्री जीएल पेरिसले कोलम्बोको बन्दरगाहमा चिकित्सा सामग्री हजारौँ बोरा बोरा बोकेको जहाजको छेउमा उभिएर भनेका थिए ।

श्रीलङ्काले स्वतन्त्रता प्राप्त गरेपछि सामना गर्नुपरेको यो सबैभन्दा कठिन संकट हो ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १ : २४ बजे

इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमान्डर सम्मानित

एजेन्सी– इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि इरानले वायु सेनाका कमान्डरलाई

दक्षिणकाली र सिस्नेरीका बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौँको दक्षिणकाली नगरपालिका र

म्याग्दीमा व्यावसायिक अकबरे खुर्सानी खेती, प्रतिकिलो २५० का दरले बिक्री

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे (डल्ले)

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

गलकोट– बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने

घोराही – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग