दयाहाङ भन्छन्- 'कबड्डी काजीको प्रेम यात्रा हो' | Khabarhub Khabarhub

दयाहाङ भन्छन्- ‘कबड्डी काजीको प्रेम यात्रा हो’



काठमाडौँ- नेपालमा थोरै यस्ता फिल्म छन्, जसलाई दर्शकले ‘ब्राण्ड’ बनाइदिएका छन् । अर्थात् ती फिल्म प्रति दर्शकको औधि आकर्षण छ । फिल्मको नामले नै एक किसिमका दर्शक हलको टिकेट काउन्टरसम्म आइपुग्ने गर्छन्। यस्तै फिल्ममा पर्छ ‘कबड्डी’ सिरिज । सानो सुरुवातबाट फिल्म यतिबेला नेपालको एउटा ब्राण्ड बनिसकेको छ । फिल्मको घोषणासँगै यसलाई दर्शकले पर्खिरहेका हुन्छन् । ‘कबड्डी’ भन्ने बितीकै सबैले सम्झिने पात्र हो , ‘काजी’ ।

काजीले मैया अर्थात् आफ्नो सोल्टिनी प्राप्तिको लागि गर्ने संघर्षलाई निर्देशक रामबाबु गुरुङले मुस्ताङको स्वादमा ‘कबड्डी’ सिरिजमा पस्किने गरेका छन् । र , उनलाई लेखनमा साथ दिएका छन् उपेन्द्र सुब्बाले । फिल्मको पात्र र उसले बोल्ने संवादको कारण पनि यो सिरिज दर्शकमाँझ लोकप्रिय छ । यसैको चौथो सिरिज ‘कबड्डी : द फाइनल म्याच’ यसै साता प्रदर्शनमा आउँदैछ ।

रिलिजपूर्व नै खोलिएको बुकिङमा देखिएको दर्शकको चापले फिल्मले राम्रो व्यापार गर्ने संकेत गरिसकेको छ । दर्शकले फिल्मको प्रतीक्षा गर्दै गर्दा हामीले काजीको उदय र कबड्डी निर्माणको सुरुवाती चरणलाई केलाउने कोसिस गरेका छन् । यसका मुख्य पात्र काजी अर्थात् दयाहाङ राईले ‘कबड्डी यात्रा’ लाई खबरहबसँग साटेका छन् ।

कबड्डीको सुरुवात

फिल्म ‘कबड्डी’ बन्ने समयमा टिम नै नयाँ थियो । दया ‘लूट’ मार्फत चिनिएका थिए । यद्यपि अन्य टिमलाई फिल्म पर्दासम्म ल्याउन सहज थिएन । निर्देशक रामबाबु गुरुङ नयाँ थिए । उनले ‘अनागरिक’ निर्देशक त गरिसकेका थिए तर यसको जानकारी दर्शकलाई थिएन ।

फिल्मको आइडिया राम्रो भएकाले बनाउने मन त थियो तर समस्या ‘लगानी’ को अभाव । तात्कालिन समयमा रामबाबु , दया र निश्चल बस्नेत प्राय समय मण्डलामा बिताउने गर्थे । एक प्रकारको त्यो ‘जक्सन’ नै थियो । निश्चल र दयाहाङलाई लुटले चिनाएको थियो भने रामबाबु पनि दर्शकलाई नयाँ टेस्टको फिल्म दिन चाहन्थे । तर , एक समयमा पुगेर फिल्म झन्डै बन्द हुने अवस्था थियो ।

दया भन्छन् ‘त्यो बेलामा हामीलाई फाइनान्सको समस्या त थियो नै साथै लगानी कर्ताको लगानी फिर्ता गर्न सकिन्छ कि सकिदैन भन्ने डर पनि ।’ एक समयमा पुगेर त फिल्मको स्क्रिप्ट नै चित्तबुझ्दो भएन । ‘हामीले एक जना साथीलाई लेख्न दिएका थियौ तर उँहाले जागर चलाउनु भएन र झन्डै सात महिना स्टोरीलाई स्क्रिप्ट बनाउन सकिएन’ दयाले भने । त्यो समयमा फिल्म बन्दैन भन्ने पनि लागेको थियो । तर, रामबाबुले उपेन्द्र सुब्बासँग मिलेर स्क्रिप्ट तयार गरे । अब लगानी कर्ताको विश्वासलाई कसरी बचाउने भन्ने चिन्ता बढ्यो । किनकी लगानी मुनाफामा परिणत गर्ने दायित्व टिमले निर्वाह गर्नु पर्ने थियो । ‘हामीलाई दबाब थिएन तर हाम्रो टिमको विश्वासमा लगानी डुब्यो भने डर चाही थियो’ दयाले सुनाए ।

त्यसै बेला निश्चलले सल्लाह दिए ‘मण्डला जसरि बनाउनु भयो कबड्डी पनि त्यसरी नै बनाउ’ । निश्चलको सल्लाहमा सबै सहमत । झन्डै दुइ वर्षको गृहकार्यलाई फिल्मको रुप दिने तय भयो । तर पनि विविध कारणले फिल्म प्राविधिक रुपमा अब्बल बनाउन सकेन टिमले । ‘हामीले कोसिस गर्‍यौं तर अन्तिममा जे सक्यौं त्यहि गर्‍यौं ’ दयाले भने । केही प्राविधिकको पारिश्रमिक समेत टिमले रिलिज पश्चात दिने शर्तमा काम गरेको थियो । रिलिजपछि भने फिल्मले लगानीकै दोब्बर मुनाफा कमायो ।

काजीको उदय

फिल्मको स्क्रिप्टसँगै पात्रा काजीको पनि त्यति नै छलफल भयो । दया काजीको पात्रमा थिए । हरेक भेटमा काजीको सोचाई र भोगाईको चर्चा हुन्थ्यो । चर्चा हुन्थ्यो ‘काजी यस्तो हुन्छ , त्यस्तो हुन्छ ।’ दयाले त्यो पल सम्झिदै भने ‘काजी प्रेमी हो तर एकोहोरो किनकी उ हक पनि खोज्दैछ अनि माया पनि ।’ काजीले आफ्नो सोल्टिनीमा हक लाग्ने त सोचेको छ नै साथै मायाको पनि अपेक्षा गरेको दया बताउँछन् ।

काजी दयालु छ , मनकारी छ , सोझो छ , निश्चल माया गर्छ तर अनपढ छ अनि एकोहोरो छ जसले मैया अर्थात् सोल्टिनीको भावना भने बुझेन । ‘काजी एकोहोरो छ अनि उसले हकदावी गरिरहेको छ किनकी कल्चर नै त्यस्तै छ’ दयाले पात्रको ब्याख्या गरे । काजी कसरि जन्मियो त ? दया भन्छन् त्यो हाम्रो कथामै थियो । उनले काजी सोचले मात्र बलियो भएको समेत बताए । ‘काजीको परिवार शक्तिशाली भएकै उसको सोच बलियो छ तर यथार्थ फरक छ’ दयाले भने ।

त्यसलाई डेभलप् गर्दै बढ्यौ तर रामबाबु रामबाबु लोकेसन हेर्न जादा त्यस्तै मान्छे भेटेका रहेछन् । ‘मैले त फोटो समेत हेरिन तर उ काजी जस्तै थियो रे’ दयाले भने । तर , क्यारेक्टरको स्वभाव भने सोच नै भएको उनले बताए । रामबाबुले भेटेको काजी र फिल्मको काजीमा धेरै समानता छ । कबड्डी एक प्रकारले काजीको यात्रा रहेको दया बताउँछन् । किनकी उसको जीवन र भोगाईसँगै फिल्मको सिरिज अगाडि बढेको छ ।

कबड्डी प्रेम कथा हो

‘कबड्डी विशुद्ध प्रेम कथा हो’ दयाले भने । ‘काजीको प्रेम यात्रा नै कबड्डी हो । काजीको स्वभाव दर्शकलाई कमेडी लाग्न सक्छ । तर , यो उसको निस्वार्थ प्रेममा बुनिएको कथा हो’ दयाले भने । उनले यसकिसिमको प्रेम रियल लाइफमा भएपनि रिल लाइफमा कमै हुने बताए । ‘प्रेम कथा भन्ने बितिक्कै हामी कहाँ नाच्ने र गाउने शैली छ । त्यो मात्र होइन , प्रेम गर्ने तरिका हरेकको फरक हुन्छ’ उनले भने ।

काजीले माया गर्छ तर मैयाले ‘नजिकको तिर्थ , हेला’ गर्छिन् । तर पनि काजी हार मान्दैन । आखिर किन हरेक सिरिजमा काजीले चेत खाएपनि आफुलाई परिवर्तन गर्दैन त ? यस जिज्ञाषामा दया भन्छन् ‘मायामा परेपछि थोरै भाव देखियो भने पनि आश पलाउछ त्यसमाथि कहिँ त एकोहोरो प्रेमी ,’ उनले थपे ‘सोल्टिनीले आफ्नो माया बुझ्छे भन्ने आशमा छ काजी ।’ तर काजी र मैयाको विचमा विभिन्न अड्चन आउने गरेका छन् । जस्तै, बम काजी वा अन्य तेस्रो पात्र ।

मैया पनि काजी भन्दा तेस्रो व्यक्तिमा आकर्षित हुन्छिन् । ‘सोल्टिनीले काजीको माया बुझ्दिनन् किनकी काजीले त मायासँगै हकदावी पनि गर्ने गरेको छ । अनि जालझेल नजान्ने भएकोले सिधा छ नि’ दया भन्छन् ,’तर जालझेल गर्नेको जालमा सोल्टिनी छिटै फस्छिन् ।’

सिरिजनै किन ?

दयाको भनाइलाई आधार मान्ने हो भने उनिसँगै उनको टिम सिक्वेल वा सिरिजको पक्षमा छैन । ‘कबड्डीमा अन्य कथा पनि भेटिन्छन वा हामीले अर्को कथा पनि भन्न सक्थ्यौ होला तर टिमको निर्णयले नै सिरिज मार्फत कथा भनेका हौ’ दयाले भने । उनले यसलाई आर्थिक मजबुतीसँगै दर्शकको अपेक्षाको रुपमा पनि लिने गरेका छन् । ‘हामीले सुरुवाती दिनमा गरेको लगानी , मेहनतको फल नै होला कबड्डीको सिरिज’ दया भन्छन् ‘तर यसमा दर्शकको चाहना र पर्खाइ पनि कारक छ ।’ यदपि यसपटक कबड्डी ४ लाई फाइनल म्याच भनिएको छ ।

के आउँदा दिनमा काजी पात्रलाई पर्दामा देख्न सकिन्न ? दया भन्छन् , ‘सकिन्छ । तर, उसको जीवनको प्रेमको पाटो भने अब सकियो होला । अन्य पाटोलाई नदेखाउने भन्न सकिन्न ।’ उनले ‘काजीको प्रेम यात्रा’ लाई यसैबाट रोक्ने संकेत गरे । किनकी एउटा पात्रले यत्रो समय एउटै सोचलाई बोकिरहेको छ । ‘सिक्वेलको पात्र डेभलप गर्दा समयसँगै उसले सोच्ने शैली, बुझ्ने जीवन, देख्ने संसार सबैलाई जोडेर अगाडि बढाउनु पर्छ । त्यसैले अब काजी प्रेमलाई कति पर्खिन्छ वा त्यहिँ बाटोमा कति हिंड्छ भन्ने हो’ दयाले भने ।

मित्रताको कथामा आओस् भन्ने चाहना छ 

दयाले कबड्डीमा प्रेमसँगै अगाडि बढिरहेको मित्रताको कथालाई जोड्न सकिने संकेत गरे । फिल्ममा दयासँगै विजय बराल र बुद्धि तामाङको मित्रता पनि देखिएको छ । उनीहरूले एक आपसमा हरेक सुख दुखमा सघाउने गरेका छन् । उनीहरु आफ्नो परिवार झैँ एक अर्काको सारथी बनेका छन् । दया काजीलाई प्रेमीसँगै साथी पनि देख्छन । सम्पन्न परिवारको भएकोले काजीले साथीलाई सहयोग पनि गर्ने गरेको छ ।

‘कबड्डीमा काजीको मित्रतालाई देखाउ भन्ने लागेको छ । यद्यपि त्यो अहिले होइन । दशकपछि मसँगै विजय र बुद्धिको पात्रलाई पर्दामा ल्याइयोस् भन्ने लागेको छ’ दयाले भने । उनले तीन पात्र र उसले भोगेको समयलाई दशकपछि पर्दामा देखाउदा छुटै आनन्द आउन सक्ने बताए ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  २ : ४८ बजे

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति तय गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक