म्याग्दीमा २१६ पहिरोका कारण बस्ती जोखिममा « Khabarhub

म्याग्दीमा २१६ पहिरोका कारण बस्ती जोखिममा


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् भने स्थानीयले आफ्नो जिउधनको सुरक्षा नभएको गुनासो गरेका छन् ।

उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २१६ पहिरा रहेका र ती पहिराका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिराको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको गाउँपालिकाले जनाएको छ ।

‘गाउँपालिकाभित्र २१६ वटा पहिराको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएका छौँ’, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘कुइनेमङ्गले–८ मा रहेको चौरखानी, चिमखोलाको–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामको लागि मुख्य प्राथमिकतामा रहेको छ ।’

यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौरलगायतका बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका र ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गरेर कार्य अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सधैँ आश्वासन मात्रै बाड्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जन बढी बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका स्थानीयवासीसमेत रहेका नेकपा एमाले म्याग्दीका युवा नेता दीपक कार्कीले बताए । कार्कीले भने, ‘बर्खा सुरू भएपछि बाढी र पहिरोका कारण सधैँ त्रसित र भयभित रहने यहाँका बासिन्दा रातमा राम्रोसँग निदाउन पनि नपाउने समस्या रहेको छ, गाउँपालिका सधैँ आश्वासन बाँड्छ काम गर्दैन ।’

यसैगरी ५२ घर रहेको रघुगङ्गा ८ चौरखानीमा हाल ३० परिवारको बसोबास छ । पहिरोको त्रासकै कारण आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौँलगायतका ठाउँमा गएर बसेका छन् । गत वर्ष गाउँको बीचमा ठाडो चिरा परेर गएको पहिराले चौरखानीमा समुदायिक भवन र एउटा घर भत्केका वडासदस्य यामकुमारी घर्तीले बताइन् ।

दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ । पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रैमान छन्त्यालले जानकारी दिए ।

यस्तै रघुगङ्गा ३ स्थित गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापर्बाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो । बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीय मिम थकालीले बताए । बर्सात हुने बित्तिकै यहाँका बासिन्दा राति सुत्न पाउँदैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थाकथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन् ।

कमजोर भ–ूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षणका पर्खाल र नाली समयममा नबन्दा पूरै पाखो खस्न थालेको छ । वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था आउन लागेको छ । यहाँका कतिपय बासिन्दा घर छोडेर गलेश्वर बजारमा भाडामा कोठा लिएर बसेका स्थानीयवासी तिलबहादुर पुनले बताए ।

दुई वर्ष अघिदेखि बस्तीमाथिको जमिन चर्किएर पहिरो खस्न थालेको थियो । हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । वर्षासँगै आउने बाढीले बाटो बन्द हुँदा खाद्यान्नलगायतका सामग्री भरिया लगाएर लानुपर्दा गाउँमा खाद्यान्न सामान महंगो हुँदै गएको छ । बिरामी बोकेर आएका एम्बुलेन्स तथा सवारी साधन भसिने गर्दै आएका छन् ।

सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसकेका कारण बस्ती जोखिममा छ । बेनीदेखि उत्तरी क्षेत्रको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङको सीधा यातायातलाई बगिरहने पहिरोले अवरोध बनाउँदै आएको छ । निर्माण व्यवसायीको लापर्बाहीले उत्तरी भेगका जनताले सास्ती खेप्नुपरेको छ ।

यसैगरी रघुगङ्गा गाउँपालिका–३ पिप्ले गलेश्वरका २१ घर जोखिममा परेका छन् । भिरालो पाखोमा सडक खनेपछि पहिरो जाँदा ती घर जोखिममा परेका हुन् । गलेश्वर–भगवती–बेग सडक कालोपत्र गर्ने क्रममा भिरालो पाखोमा सडक खनिएको थियो। दुई किलोमिटर सडकखण्ड खनिएको सतीपहरादेखि च्युडीस्वारासम्मको क्षेत्रमा भूक्षय हुन थालेपछि बस्ती जोखिममा परेको हो।

चुडीस्वाँरामा दुई वर्षअघिसम्म गाडी गुड्ने सडक थियो तर अहिले त्यसको कुनै नामोनिसान देखिन्न। निर्माणको दुई वर्षसम्म पनि नियामक पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनीले पहिरो रोकथाममा कुनै काम नगर्दा असुरक्षा बढेको स्थानीयले बताएका छन् ।

गाउँपालिकाभित्र रहेका सबै २१६ वटा पहिरोको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको र स्थानीय तहले पनि पहिरो नियन्त्रण तथा रोकथामका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ६ : ५७ बजे

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार