सत्तामा जान सफल, शक्ति आर्जन गर्न असफल | Khabarhub Khabarhub

नेकपा समाजवादीको एक वर्ष

सत्तामा जान सफल, शक्ति आर्जन गर्न असफल

माओवादीसँग एकता गरेर एमालेलाई झन कमजोर बनाउने रणनीति


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले फुटाएर माधव कुमार नेपाल र झलनाथ खनालले नयाँ पार्टी दर्ता गराउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘माओवादीको शरणमा लम्पसार हुन एमाले फुटाए । प्रचण्डको कार्यकर्ता बन्न माधव नेपालहरु पार्टी छाडेर हिँडे ।’

ओलीको यो अभिव्यक्तिलाई त्यतिखेर धेरैले पार्टी फुटको आक्रोशको रूपमा अर्थ्याए । अरूमाथि अनेकन आरोप लगाएर आफ्ना गल्तीहरू ढाकछोप गर्न खोजेको टिप्पणी गरे । तर, घटनाक्रमले ओलीको त्यो कुण्ठा मात्रै थिएन भन्ने कुरा पुष्टि हुँदै गएको छ ।

प्रचण्ड र माधव नेपालको निकटता र घोषणाले ओलीले भनेजस्तै गरी दुई नेता एउटै पार्टीको छानामा ओत लाग्ने सम्भावना यथार्थमा परिणत हुन लागेको छ । आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन एउटै घोषणा पत्रमा लड्न र निर्वाचनपछि दुई पार्टीलाई एक बनाउन प्रचण्ड र माधव नेपाल सहमत भएका छन् ।

ओलीले गरेको त्यो बेलाको अड्कललाई पुष्टि गर्दै माधव नेपाल प्रचण्डको शरणमा पुगेका छन् । त्यसो त पार्टी गठन भएदेखि नै एक्लै हिँड्ने आँट गर्न नसकेका नेता नेपालले गठबन्धनको फेरो समातेर राजनीतिक दुनो सोझ्याइरहेका थिए । तर, गठबन्धन गर्दा पनि स्थानीय निर्वाचनमा हालत खराब भएपछि उनी ओलीले भनेजस्तै गरी प्रचण्डको शरणमा पुगेका छन् । अर्थात् संसदीय निर्वाचन माओवादीकै घोषणा पत्रबाट लड्ने र चुनावपछि माओवादीसँग एकता गर्ने मोटामोटी सहमति गरेका छन् ।

सोमबार माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साक्षी राखेर ललितपुरमा बसेको प्रचण्ड र नेपालको बैठकले यस विषयमा निर्णय नै गरेको छ । बैठकले माओवादी र एकीकृत समाजवादी पार्टीबीच एकता गर्न एकता संयोजन समिति गठन गर्ने र चुनावी घोषणापत्र एउटै बनाउनेबारे निर्णय गरेको थियो ।

माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार केही दिनभित्रै पार्टी एकताका लागि एकता संयोजन समिति बनिसक्नेछ । नेकपा एकीकृत समाजवादीले भने यसअघि नै बनाइसकेको छ ।

एकीकृत पार्टीको घोषणा निर्वाचनपछि हुने बताउँदै श्रेष्ठले पार्टी एकताको मोडालिटी तयार गर्नका लागि एकता संयोजनलाई जिम्मेवारी दिने बताएका छन् । २०७४ सालको निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्र एउटै घोषणापत्र लिएर निर्वाचनमा गएजस्तै गरी यसपटक माओवादी र एकीकृत समाजवादी त्यही बाटोमा हिँड्न खोज्दै छन् ।

कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले ध्रुवीकृत र एकता गर्ने तथा वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिलाई एकताबद्ध गर्ने र देशमा समाजवादको आधार निर्माण गर्दै लैजाने उनीहरूको दाबी छ । त्यसैअनुरूप चुनावपछि पार्टी एकताको सम्भावनालाई समेत दुवै दलले बलियो बनाउँदै लगेका छन् ।

ओलीको पुरानै रिसले प्रचण्डसँग पार्टी एकता !
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने एमालेसँग सहकार्य गर्नुपर्नेमा जोड दिँदै आएका थिए । उनले एमालेका केही नेतासँग यो विषयमा छलफल समेत गरेका थिए ।

विगतका कमीकमजोरी सच्याउँदै आत्मालोचना गरेर अघि बढ्नु पर्ने उनको मत थियो । मूल पार्टी एमाले भएकाले तालमेल हुँदै सोही पार्टीमा फर्किनु पर्ने र पुनः नेकपा ब्युँताउने अभियान चलाउनु पर्नेमा नेता खनालको जोडबल थियो । उनले ओलीलाई धेरै गाली गर्न नहुने पनि बताउँदै आएका थिए ।

तर, उनको प्रस्ताव ओली अस्वीकार गरेपछि झलनाथ खनाल फेरि समाजवादीमा माधव नेपाल तथा प्रचण्डकै कित्तामा उभिन बाध्य भएका छन् । एमालेसँग सहकार्य गर्ने प्रस्तावबाट खनाल ब्याक भएपछि नै अध्यक्ष नेपालले माओवादीसँग चुनावमा सहकार्य र चुनावपछि एकता गर्ने गरी छलफल अघि बढाएका हुन् । जुन छलफलले करिब मूर्त रूप पाएको छ ।

रातारात कुनै बद्लाव नआए चुनावपछि एकीकृत समाजवादी र माओवादी एउटै पार्टी हुनेछ । यसमा बाबुराम भट्टराई र बामदेव मिसिए भने कुनै अनौठो नमाने हुन्छ । किनकि राजनीतिक रूपमा अत्यन्त कमजोर देखिएका यी दुवै नेताहरू एउटा समूहमा सीमित भएका छन् ।

उनीहरू आफ्नो टिठलाग्दो अवस्था बिसाउने थलो वाम–एकतालाई बनाउन खोजिरहेका छन् । कम्युनिष्ट पार्टीहरू एकै ठाउँमा उभिनु पर्ने तर्क गर्दै आएका उनीहरूले माओवादी र एकीकृत समाजवादीको एकतालाई मौकाका रूपमा प्रयोग गर्ने तयारी गरिरहेका छन् । बाबुराम र वामदेवले त माओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने निर्णय नै गरिसकेका छन् ।

एमालेबाट फुटेपछि मुख्यमन्त्री र मन्त्री पद उपहार
तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई पटक संसद् विघटन गरेपछि उत्पन्न टकराव बढ्दै गएपछि माधव नेपाल र झलनाथ खनालसहितका नेताहरूले एमालेबाट विद्रोह गरेका थिए ।

नेपाल र खनालको विद्रोह यस्तो मोड बन्यो, जसले एमालेलाई सम्पूर्ण रूपमा सत्ताबाट बाहिर पठाउन सम्भव भयो । त्यही विद्रोहले अहिलेको पाँचदलीय गठबन्धनको आधार पनि तयार पार्‍यो ।

त्यसो त उनीहरूको विद्रोहलाई साकार पार्न शेरबहादुर देउवा नेतृत्वको सरकारले २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पार्टी विभाजन गर्न सक्ने व्यवस्थासहितको अध्यादेश नै जारी गरिदियो ।

सो अध्यादेशको बलमा एमाले फुटाएर नेपाल र खनालले २०७८ भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराए । नयाँ पार्टी गठनलाई ठूलो उपलब्धि ठानेको एकीकृत समाजवादीले एक वर्षको बिचमा राम्रै राजनीतिक लाभ लिएको छ । नेकपा एसकै बलमा देउवा नेतृत्वमा सरकार बन्न सम्भव भएकाले नै गठबन्धनका दलहरूले पनि शक्तिको हिसाबमा सानै भए पनि लाभ राम्रै दिएका थिए ।

एकीकृत समाजवादीले केन्द्रमा ९ जनालाई मन्त्री बनाइ सकेको छ भने प्रदेशमा दुई जना मुख्यमन्त्री उसकै पार्टीका छन् । प्रदेश १ मा राजेन्द्र कुमार राई र बागमती प्रदेशमा राजेन्द्र पाण्डेले सत्ताको बागडोर सम्हालिरहेका छन् । त्यसो त एकीकृत समाजवादीसँग हाल प्रतिनिधिसभामा २३ सांसद छन् भने राष्ट्रिय सभामा स्वतन्त्र एकसहित नौ सांसद छन् । सात वटै प्रदेशसभामा गरेर उसका ५४ प्रदेश सभा सांसद छन् ।

गएको स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट महानगरपालिका प्रमुख एक, उपमहानगरपालिका प्रमुख एक, नगरपालिका प्रमुख १०, गाउँपालिका अध्यक्ष आठ, नगरपालिका उपप्रमुख ११, गाउँपालिका उपाध्यक्ष १२, वडाध्यक्ष एक सय ९० जना छन् । यस्तै महिला सदस्य एक सय ८४, दलित महिला सदस्य एक सय ८० र खुला सदस्य तीन सय ८९ गरी जम्मा नौ सय ८६ स्थानमा विजयी भएका छन् । राजनीतिक नियुक्तिमा पनि एकीकृत समाजवादीले राम्रै लाभ लिएको छ । ओलीले एउटा समूह भने पनि राज्यसत्तामा उसले राम्रै उपस्थिति देखाएको छ ।

स्थानीय तहको चुनावले बढाएको चिन्ता
एमालेबाट विद्रोह गरेर पार्टी गठन गरेको एक वर्षमा एकीकृत समाजवादीले सत्ता राजनीतिमा चमत्कारपूर्ण उपलब्धि हासिल गरेको छ । गठबन्धन गरेर राज्य सत्तामा राम्रै लाभ लिएको छ ।

तर, यसरी पार्टी फुटाउँदै एमालेलाई सत्ताबाट लखेटेर आफू सत्तामा चढेपछिको एक वर्ष वित्दै गर्दा एकिकृत समाजवादी पार्टीमा निराशा र अन्यौलता बढ्दै गएको छ । स्थानीय निर्वाचनमा गठबन्धनको बलमा केहि स्थान जिते पनि सोचेजस्तो नतिजा नआएपछि, नेताहरुमै विचलन देखिएपछि अध्यक्ष माधवकुमार नेपाल थकित बन्दै गएका छन् ।

मन्त्री बन्नकै लागि नेताहरुले देखाएको रमिता, बन्न नसकेको दर्बिलो संगठन र कयौं नेताहरु एमालेमा फर्किनसक्ने खतराका कारण उनी चिन्तित देखिन्छन् । चुनावसम्म गठबन्धन चलेपनि त्यसपछि आफ्नो पार्टीको हालत खराव हुनसक्ने आँकलनसहित उनी माओवादीसँग एकता गरेर जानु पर्नेमा जोड दिन थालेका छन् ।

माओवादीसँग मिलेर प्रचण्ड समक्ष आफ्नो भारी बिसाउने योजना बुनिरहेका छन् । एमालेबाहेकका कम्युनिष्ट पार्टी एक ठाउँमा उभिदा एमाले र कांग्रेस दुबैलाई दबाब पुग्ने निष्कर्षसहित उनीहरु पार्टीको एउटै छानो बनाउने आधारहरु खोजिरहेका छन् ।

कमजोर बन्दै गएको माओवादी पनि यसलाई अवसरका रुपमा प्रयोग गर्ने र एमालेलाई टक्कर दिने मनस्थितिमा छ । जसरी हुन्छ एमालेलाई कमजोर बनाउने माधव नेपाल र प्रचण्डको स्वार्थले उनीहरु नजिक मात्रै भएका छैनन, एउटै पार्टी बनाउने मार्गमा समेत अग्रसर भएका छन् । त्यसो त हिजो नेकपा हुँदा एकै ठाउँ बसेका उनीहरु त्यसकै जगमा आज शक्ति बढाउन एकता गर्ने निष्कर्षमा पुगेका हुन् ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १ : १३ बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान