काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१. १६५ क्षेत्रकै प्रतिवेदन तयार पार्न कार्यदललाई निर्देशन
सत्तारुढ गठबन्धनले १६५ निर्वाचन क्षेत्रकै अवस्थाको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धनको बैठकले देशभरका निर्वाचन क्षेत्रको अवस्थाबारे अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदललाई अहिलेको परिस्थितिमा १६५ निर्वाचन क्षेत्रको अवस्था के-कस्तो छ, त्यसको बारेमा विस्तृत प्रतिवेदन बनाएर पेस गर्ने निर्देशन कार्यदललाई प्राप्त भएको जानकारी दिए ।
२. पूर्वजर्नेलहरुसँगको परामर्श संविधानविपरीतः बाबुराम
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग परामर्श गरेको बताएका छन् । आफूकहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई संसद्मा फिर्ता पठाएको र संसदबाट फेरि पास भएर जस्ताको तस्तै आउने भएपछि राष्ट्रपति भण्डारीले परामर्श र छलफललाई तीव्रता दिएकी छन् ।
सोही क्रममा हिजो उनले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग छलफल गरेकी थिइन् । तर, उनको सो छलफल संविधानविपरीत रहेको डा. भट्टराईको दाबी छ ।
३. माओवादीले माग्यो केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण
नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयले सदस्यहरूलाई पत्राचार नै गरेर एक साताभित्र सम्पत्ति विवरण पठाउन सूचित गरेको हो ।
केन्द्रले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५३ को प्रयोजनको लागि पार्टी केन्द्रीय सदस्यहरूले आफ्नो चल अचल सम्पत्तिको विवरण पार्टी केन्द्रीय कार्यालयमा खाम बन्दी गरी हप्ता दिन पठाई दिन निर्देशन दिएको हो ।
सम्पत्ति विवरणमा केन्द्रीय सदस्यको सम्पूर्ण विवरणसहित घर तथा जग्गा धनीको नाम कित्ता नम्बर, वर्गमिटर, प्राप्तिको स्रोत, खरिद गरेको भए खरिद मूल्य खुलाउन भनिएको छ ।
४. विमलेन्द्र निधि भारत प्रस्थान
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । आज बिहान कांग्रेस पूर्व उपसभापति निधि एक साताका लागि भारत प्रस्थान गरेका हुन् । उनी भारतबाट फर्किएको एक महिना नपुग्दै पुनः भ्रमणमा निस्किएका हुन् ।
साउनमा भएको भारत भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए । यो प्रस्ताव राममन्दिर पुनर्निर्माण समितिले विदेश मन्त्रालयमा पठाएकाले छलफलका लागि उनी भारत गएको बुझिएको छ ।
५. एमाले पोलिटब्युरो बैठक जारी
प्रमुख प्रतिपक्षी दल एमालेको पोलिटब्युरो बैठक जारी रहेको छ । ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केही बेर अघि बैठक सुरु भएको हो । बैठकमा एमाले अध्यक्ष केपी ओलीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई छलफलको एजेन्डा बनाएका छन् ।
६. मधेश प्रदेशमा मुख्यमन्त्रीदेखि सांसदसम्मको तलबभत्तामा वृद्धि
मधेश प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री र सांसदहरूको तलब तथा सेवासुविधा वृद्धि गरेको छ । मधेशका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को अनुसूचीलाई हेरफेर गरेर प्रदेश सरकारले सेवासुविधामा वृद्धि गरेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बहालवाला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, सांसद र प्रदेश नीति आयोगका उपाध्यक्ष तथा सदस्यको तलब दुई हजार रुपैयाँका दरले वृद्धि गरिएको छ ।
७. शंखमूल क्षेत्रमा रहेको बर्गर हाउस हटाउन निर्देशन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शंखमूलस्थित एक व्यावसायिक भवनको पार्किङमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिनुभएको छ ।
महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न निस्किनुभएका शाहले पार्किङका लागि बनाइएको बेसमेन्टमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिएका हुन् ।
एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले ३५ दिने सूचना निकालेको थियो ।
८. मदिरा बनाउने कारखानामा छापा
भक्तपुरमा नक्कली मदिरा बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । भक्तपुरको दुवाकोटमा सञ्चालित कारखानामा छापा मारेर उल्लेख्य परिमाणमा नक्कली मदिरा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए ।
दोलखाको भीमेश्वर घर भएका भगवान बस्नेतसहित दुई जनाले चलाएको कारखानामा प्रहरीले छापा मारेको हो ।
९. पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा उपस्थित हुने
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज इस्लामाबादस्थित आतंकवाद विरोधी अदालतमा उपस्थित हुनेछन् । यसभन्दा पहिला २२ अगस्टमा धम्काएको आरोपमा अदालतले तीन दिनको जमानत दिँदै २५ अगस्टमा उपस्थित हुन आदेश जारी गरेको थियो।
इमरान खानमाथि पछिल्लो दिनमा एक र्यालीका दौरान प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लागेको छ ।
उनले आफ्नो पार्टीका सहयोगी शहबाज गिललाई हिरासतमा लिएको र दुर्व्यवहार गरेको भन्दै इस्लामावादको प्रहरी प्रमुख र एक महिला न्यायाधीशको निन्दा गरेका थिए।
१०. महिला साफ खेल्न भुटानी टोली नेपालमा
महिला साफ फुटबल च्याम्पियनसिपमा सहभागी हुन भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेकाे छ। भुटानको टोली आज बिहान भुटान एअरलाइन्सको विमानबाट नेपाल आईपुगेकाे हाे ।
भुटानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए । महिला साफ खेल्न नेपाल आउने भुटान पहिलो टिम हो । भुटान समूह ‘बी’ मा रहेको टोली हो । यो समूहमा श्रीलंका र नेपाल रहेका छन् ।
भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया