विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज असोज ९ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २५, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ ।

दक्षिण कोरियाली सेना प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुद्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका हुन् ।

उत्तर कोरियाली उत्तरी प्रान्त तायचोनको सामुन्द्रिक पानीमा स्थानीय समय अनुसार आइतबार बिहान ६ः५३ बजे सो क्षेप्यास्त्र हानेको दक्षिण कोरियाली सेना प्रमुखले आइतबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका हुन् ।

दक्षिण कोरिया उत्तरबाट हुन सक्ने यस्तो आक्रमणको प्रतिकार गर्न सक्ने पूर्ण क्षमताका साथ अमेरिकाको समन्वयमा पूर्ण तयारीका साथ रहेको जानकारी पनि सो विज्ञप्तिमा दिइएको छ ।

दक्षिण कोरियाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी एक सैनिक समूह दक्षिण कोरियाली बुसान सहरमा आएको दुई दिनपछि उत्तर कोरियाले यो क्षेप्यास्त्र परीक्षण गरेको हो ।

यसै महिना दक्षिण कोरियाली र अमेरिकी सैनिकले संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेको बुझिएको छ । सोही तयारीको समयमा उता उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको बताइएको छ ।

यस अघि पनि उत्तर कोरियाले पटक पटक छोटो दुरीका यस्ता ब्यालेस्टिक क्षेप्यास्त्रहरु प्रहार गर्ने गरेको छ । यसै वर्ष पनि उत्तर कोरियाले कैयौँ पटक यस्ता क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।

बन्दोबस्तीको फितलो व्यवस्थापन गरेको भन्दै रुसी जर्नेल बर्खास्त

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसी सेनाको बन्दोबस्तीको फितलो व्यवस्थापन गरेको आरोपमा जनरललाई बर्खास्त गरेका छन् ।

उपरक्षामन्त्री जनरल दिमित्री बुल्गाकोभलाई शनिबार उनको भूमिकाबाट हटाइएको रक्षा मन्त्रालयले जनाएको छ ।

जनरल बुल्गाकोभले सन् २००८ देखि सेनाको लजिस्टिक अपरेसन चलाउँदै आएका थिए । सन् २०१५ मा सिरियामा रुसी सेनाको तैनाथीपछि आपूर्ति गर्ने जिम्मेवारी उनी नै थिए ।

मन्त्रालयले ६७ वर्षीय बुल्गाकोभलाई नयाँ भूमिकामा सरुवा गरिएको जनाइएको छ । उनको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ हुनेछन्, जसले बन्दरगाह सहर मारिउपोलमा मस्कोको क्रुर घेराबन्दीको व्यवस्थापन गरेका थिए ।

भेनेजुएलामा आएको बाढीका कारण ७ जनाको मृत्यु

भेनेजुएलाको पश्चिमी भागमा भारी वर्षाका कारण धार्मिक जमघटमा सहभागीहरुको एक समूहलाई बगाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । मुलुकको ताचिरा राज्यमा घटना भएको भेनेजुएलाका गभर्नरले बताएका छन् ।

प्रोटेस्टेन्ट धार्मिक सम्प्रदाय मेथोडिस्ट चर्चका करिब ४० जना सदस्य भेला भएका बेला भारी वर्षाका कारण अचानक बाढी आएको गभर्नर फ्रेडी बर्नालले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

वर्षा कम भएपछि नदीमा नुहाउने क्रममा केहीलाई एक्कासी पानीको सतह बढेर आउँदा बगाएको बर्नालले बताए ।

उनले भने, ’अहिलेसम्म सात वटा शव निकालिएको छ, जसमध्ये चार जनाको पहिचान हुन सकेको छैन, हामीले पहिचान हुन नसकेका शवका अफन्तको खोजी जारी राखेका छौं ।

कोलम्बियाको सिमानामा पर्ने पर्यटकहरूको लागि लोकप्रिय एन्डीज पर्वतमालाको क्षेत्रमा बाढी आएको हो । यस वर्ष भेनेजुएलामा औसतभन्दा बढी वर्षा भएको छ, जसका कारण धेरै क्षेत्रमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।

सरकारका प्रवक्ताले भारी वर्षालाई ‘ला नीना’ नामक मौसमी घटनासँग सम्बन्धित रहेको जनाएका छन् । प्रशान्त महासागरको भूमध्यरेखीय सतहको पानीमा तापक्रमको उतारचढावका कारण यस्तो हुने बताइन्छ ।

अफगान पाठ्यक्रमलाई मुस्लिम कानून अनुसार परिमार्जन गर्ने तालिबानको तयारी

अफगानिस्तानको पाठ्यक्रमलाई मुस्लिम कानुन अनुसार परिमार्जन गरिने भएको छ । अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि मुस्लिम कानुनलाई प्राथमिकता दिदै आएकाले पाठ्यक्रम पनि त्यही अनुसार परिमार्जन गर्न लागिएको हो ।

पाठ्यक्रम परिमार्जन गर्दा मुस्लिम संस्कृति, परम्परा, मूल्य मान्यतालाई सकेसम्म धेरै समेट्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउने उनीहरूको भनाई छ ।

तालिवान सरकारको उच्च शिक्षा मन्त्रालयका प्रवक्ता अहमद ताक्विले ३५ ओटा पाठ्यक्रम परिमार्जनको अन्तिम चरणमा पुगेको जानकारी दिए। अरु केही पाठ्यक्रम परिमार्जनको गृहकार्य भइरहेको उनले बताए ।

परिमार्जनको अन्तिम चरणमा रहेका ३५ मध्ये २० ओटा स्नातक तहका र १५ ओटा स्नातकोत्तर तहका रहेका छन् ।

अफगानिस्तानमा अहिले १६५ ओटा फरक फरक शैक्षिक पाठ्यक्रम देशभरी लागू अवस्थामा रहेको पनि उनले जानकारी दिए ।

अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि छात्रालाई विद्यालयमा पठन पाठनका लागि प्रतिवन्ध लगाइएको छ । उनीहरूलाई रोजगारी गर्न समेत निषेध गरिएको छ ।

त्यसैगरी महिलाहरूलाई घर बाहिर जानु परेमा बुर्का लगाएर र कम्तीमा एक जना आफन्तलाई सँगै लिएर मात्रै जान आदेश दिइएको छ ।

छात्रालाई पठन पाठन गर्न नदिने र रोजगारी गर्न नपाउने आदेशका विरुद्ध निरन्तर आन्दोलन भइरहेपनि सरकारले वेवास्ता गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय समुदायबाट समेत यस बारेमा दवाव आउँदा छात्रालाई पढ्न र रोजगारी गर्न पाउने व्यवस्था गरिने आश्वासन तालिवान सरकारले दिने गरेपनि व्यवहारमा अस्वीकार गर्दै आएको छ ।

आर्थिक सुधारका योजना पारित गर्ने म्याक्रोँको प्रयासमा विपक्षीको चुनौति

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो दोस्रो कार्यकालमा आर्थिक सुधार एजेन्डाविरुद्ध सार्वजनिक प्रतिरोधको सामना गर्नुपर्ने देखिएको छ ।

यसै साताका लागि फ्रान्समा राष्ट्रव्यापी हडतालको आह्वान गरिएको छ । म्याक्रोँ गत अप्रिल महिनामा पुनः निर्वाचित भएपछि फ्रान्समा पहिलो पटक राष्ट्रव्यापी हड्तालको आह्वान गरिएको हो ।

४४ वर्षीय राष्ट्रपतिले आफ्नो पाँच वर्षको पहिलो कार्यकालमा आलोचित बनेको अवकाशको उमेर बढाउने प्रतिबद्धता पुनः व्यक्त गरिसकेका छन् ।

तर गत जुनमा संसदीय बहुमत गुमाएपछि व्यवसायी पक्षधर मध्यमार्गी संसदले कानून पारित गर्न गम्भीर कठिनाइको सामना गर्नुपरेको छ ।

सरकारका सहयोगीहरूले असफलताको जोखिमबारे चेतावनी दिए पनि म्याक्रोँले आफ्नो सरकारलाई सेवानिवृत्तिको उमेर ६२ बाट बढाएर ६४ वा ६५ पु¥याउने जिम्मेवारी दिएका छन् ।

“सरकार र संसदले के गर्छ भन्नेबारे मैले पूर्व तयारी गरिरहेको छैन, तर म विश्वस्त छु कि यो आवश्यक छ,” म्याक्रोँले गत बिहीबार बीएफएम समाचार च्यानलसँग भनेका थिए ।

घाटा बढ्दै गएको र सार्वजनिक ऋण ऐतिहासिक उचाईमा पुगेको अवस्थामा सेवानिवृत्तिको उमेर बढाउनु र धेरै भन्दा धेरै मानिसहरूलाई जागिरमा लगाउनु नै राज्यले कर नबढाई राजस्व उठाउन सक्ने एक मात्र तरिका रहेको पूर्व बैंकरसमेत रहेका म्याक्रोँको तर्क छ ।

वामपन्थी राजनीतिक दलहरूद्वारा समर्थित फ्रान्सको उग्र वामपन्थी सीजीटी युनियनले बिहीबार हडतालको आयोजना गरेको छ । फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार यो एक महिना लामो संघर्षको पहिलो चरण हो ।

सुरुमा ज्याला वृद्धिको माग गर्दै विरोध प्रदर्शनको योजना बनाइएको भए तापनि अहिले सरकारी योजनाको व्यापक विरोधको सङ्केत दिने उद्देश्यले प्रदर्शन गरिएको हो ।

सीजीटीका प्रमुख फिलिप मार्टिनेजले गत साता एलसीआई प्रसारकसँग भने, “हामी सेवानिवृत्तिको उमेर बढाउने विषयको विपक्षमा छौं । सरकारका तर्कहरू थुप्रिन सक्दैनन् ।”

सन् २०२० मा विरोध प्रदर्शन र कोभिड–१९ का कारण रद्द गरिएको सुधारमा म्याक्रोँ सफल हुन्छन् कि हुँदैनन् भनेर निर्धारण गर्न पेन्सन सुधार र हडतालप्रति जनमत निर्णायक हुने सम्भावना छ ।

ओडोक्सा समूहले गत साता गरेको जनमत सर्वेक्षणमा ५५ प्रतिशत उत्तरदाताले सुधार नचाहेको र ६७ प्रतिशतले यसको विरोधमा भइरहेको प्रदर्शनलाई समर्थन गर्न तयार रहेको बताएका थिए ।

तर इलाबे समूहको एउटा छुट्टै सर्वेक्षणले अझ सूक्ष्म चित्र प्रस्तुत गरेको छ । सर्वेक्षणमा २१ प्रतिशतले मात्र अवकाशको उमेर बढाउन चाहेको तर ५६ प्रतिशतले वर्तमान प्रणालीले काम गर्न नसक्ने र ६० प्रतिशतले यो आर्थिक रुपमा अस्थिर भएको बताएका छन् ।

म्याक्रोँनिकट एक मन्त्रीले नाम नबताउने शर्तमा गत साता एएफपीसँग भनेका थिए, “मलाई बुढ्यौलीमा लामो समयसम्म कसैले काम गर्न चाहन्छ जस्तो लाग्दैन । यो पनि सत्य हो कि मैले लामो समयसम्म काम गर्न चाहँन्न भन्ने कसैलाई भेटेको पनि छैन ।”

“सायद म गलत छु तर युनियन र एलएफआईले आशा गरेजति ठूलो सङ्ख्यामा मानिसहरु सहभागिता हुनेछन् भन्ने मलाई विश्वास छैन,” वामपन्थी फ्रान्स अनबोड (एलएफआई) राजनीतिक समूहलाई सङ्केत गर्दै ती मन्त्रीले भने ।

बहुमतभन्दा करिब ४० सिट कम भएको अवस्थामा म्याक्रोँको सरकारले संसद्मा कसरी सुधारको प्रस्ताव ल्याउँछ भन्ने दोस्रो निर्णायक पक्ष हुनेछ ।

केही भने यस प्रस्तावलाई अक्टोबरमा मतदान हुने भनिएको सामाजिक सुरक्षा बजेट विधेयकमा ढाल्ने पक्षमा छन् । यस कदमलाई आलोचकहरूले लुकीछिपी अघि बढाइएको कदमका रूपमा विरोध जनाएका छन् ।

यसका लागि ट्रेड युनियन र विपक्षी दलसँग परामर्श गर्न थप समय लिनुपर्छ भन्ने कतिपयको ठम्याइ छ । यद्यपि ट्रेड युनियनहरु सरकारसँग काम गर्न तयार नभएको बताइएको छ ।

नाम नबताउने शर्तमा एक वरिष्ठ सांसदले एएफपीलाई भने, “म्याक्रोँले दूतमार्गको विकल्प रोज्नुहुनेछ ।”

यी दुवै परिदृश्यमा सरकारले ‘धारा ४९.३’ भनिने विवादास्पद संवैधानिक संयन्त्रको सहारा लिने पर्यवेक्षकहरूले अपेक्षा गरेका छन्, जसले कार्यपालिकालाई मतदानबिना नै संसदमार्फत कानुन निर्माण गर्न अनुमति दिन्छ ।

यदि विपक्षी दल यो कदमविरुद्ध एकजुट भए वा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याए भने उनीहरूले नयाँ निर्वाचन गराउन सक्नेछन् । म्याक्रोँका एक सहयोगीले गत साता फ्रान्सेली सञ्चारमाध्यमसँग ‘यो सुधार योजना साहसिक तर खतरनाक’ भएको बताएका थिए ।

पेन्सन सुधारको सफलता र बेरोजगारी लाभ प्रणालीमा छुट्टाछुट्टै परिवर्तनले राष्ट्रपतिलाई सुधारकको रूपमा आफ्नो छवि पुनः स्थापित गर्न मद्दत गर्ने विज्ञहरूले बताएका छन् ।

गत अप्रिलमा ऐतिहासिक दोस्रो कार्यकाल जितेपछि उनी युक्रेनमा जारी युद्धको सङ्कटमा फसेका छन् भने जुनमा भएको संसदीय चुनावमा पाएको पराजयले उनलाई विचलित र निराश बनाएको टिप्पणी गरिएको छ ।

राजधानी पेरिसमा रहेको साइन्स पो युनिभर्सिटीका अनुसन्धानकर्ता तथा राजनीतिशास्त्री ब्रुनो काउट्रेसले हालै एएफपीसँग भने, “हामीले म्याक्रोँवादको कथालाई केही हदसम्म गुमाइसकेका छौं ।”

पेरिस द्वितीय विश्वविद्यालयका बेन्जामिन मोरेलले भने, “लामो इतिहास नभएको म्याक्रोँवादको सार भनेकै नेता र कार्यक्रम हो ।”

सन् २०१७ मा फ्रान्सको सबैभन्दा कान्छो राष्ट्रपतिमा निर्वाचित भएयता म्याक्रोँले सामाजिक सुरक्षा र कार्यस्थलको नियमनलाई आफ्नो राजनीतिकको भिन्न परिचयको हिस्सा बनाएका छन् ।

मोरेलले भने, “इमानुएल म्याक्रोँ सुधारबाट सजिलै पछि हट्न सक्दैनन् किनभने सुधारलाई त्याग्नु भनेको आफैलाई अस्वीकार गर्नु जस्तै हो ।’

उडानका क्रममा हवाई जहाजमै यात्रुले परिचरमाथि आक्रमण गरेपछि…

उडानका समयमा एक यात्रुले परिचरलाई आक्रमण गरेका छन् । मेक्सिकोको लस क्याबोसबाट लस एन्जलसका लागि उडेको एक अमेरिकी एयरलाइन्सका यात्रुले परिचलाई आक्रमण गरेका हुन् ।

आक्रमण गर्ने यात्रुलाई आजीवन प्रतिबन्ध लगाइएको छ । बुधबार अमेरिकन एयरलाइन्सको उडान ३७७ मा उक्त घटना भएको हो । आक्रमणको भिडियो अर्का यात्रुले खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त भिडियो अहिले भाइरल भएको छ ।

वासिंगटन पोस्टका अनुसार स्थानीय समयअनुसार दिउँसो साढे तीन बेज उक्त विमान एल एन्जलस विमानस्थलमा अवतरण गरेको थियो ।

अवतरणपछि ती यात्रुलाई संघीय अनुसन्धान ब्यूरोका अधिकारीले हटाएका थिए । ट्वीटरमा सेयर गरिएको ३३ सेकेन्ड लामो भिडियो क्लिपमा विमानका पुरुष परिचरले यात्रुलाई ‘तपाइँले मलाई धम्की दिएको हो ?’ भनेको सुन्न सकिन्छ । त्यति भनेर उनी अगाडि बढ्दा पछाडिबाट सुन्तला रंगको सर्ट लगाएका यात्रु पछाडिबाट दौडिएर मुड्कीले परिचरको टाउकोमा हिर्काउछन् ।

अन्य यात्रुले ‘ओ माइ गड’ भनेको आवाज पनि भिडियोमा सुन्न सकिन्छ । एक यात्रुले तपाइँले के गरेको हो ?’ भनेर ती व्यक्तिलाई झपारेका देखिन्छ । कुटाइ खाएका परिचरको उद्दार गर्न एयर होस्टेस आएको पनि भिडियोमा देख्न सकिन्छ । बाँकी उडानभर ती व्यक्तिलाई विमानका अन्य यात्रुले नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ७ : ५९ बजे

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा