औपचारिकतामा सीमित हुँदै तिहार | Khabarhub Khabarhub

औपचारिकतामा सीमित हुँदै तिहार


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– चारैतिर शरद्ऋतुको उल्लासमय वातावरण छ । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैंँ सिँगारिदिएको छन् । बिजुलीबत्तीको झिलिमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर, प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । 

युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएका संस्कृतिविद् बताउँछन् । नेपालीका लागि दसैँंपछिको दोस्रो ठूलो चाड तिहार पशुपक्षी, प्रकृति र पुरुष  पूजा गरिने चाड हो । हिन्दु संस्कृतिका अध्येता पं भीमनाथ पराजुलीका अनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्यलाई खुसी बनाउने चाड हो तर, पछिल्लो समय यो चाडमा विकृति भित्रिएकाले यसको सांस्कृतिक पहिचान  ओझेलमा पर्दै जान थालेको छ ।

‘अरु बेला वास्ता नगरिने पशुपक्षीलाई पनि तिहारमा पूजा गरिन्छ,’ पराजुलीले भने,’यसले सबै प्राणीबीच सम-दृष्टिकोण राख्नुपर्दछ भन्ने सन्देश दिन्छ । काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाइलाई तिहारमा पूजा गरेर सुख, शान्ति र ऐश्वर्यको कामना गरिने यो पर्व अहिले केवल औपचारिकतामा सीमित भएको छ ।’

माटाको दियो र अमिलाको पातमा बत्ती बालेर फाल्ने चलन अहिले हराएको छ । घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मठ, धनसार, गोठ, जुठेल्नो जतातलै बत्ती बालेर जिम फाल्ने चलन थियो तर, अहिले  जतातलै बिजुली बत्ती बालेर उज्यालो बनाइन्छ । बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद शर्माले भने,’यसबाट मनोरञ्जन त प्राप्त हुन्छ तर, जिम फाल्ने विधान र तिहारको मौलिकता हुँदैन ।’

आजभोलि माटोको पाला पूजाकोठामा सीमित छ । माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ ।

हराउँदैछ तेलको धार

यमराजलाई बाटो छेक्न विशाल नदीको प्रतीकका रुपमा घरको मूल ढोकामा हालिने तेलको धारले प्रतीकात्मक अर्थ दिन्थ्यो । दाजुभाइलाई यमराजबाट सुरक्षित राख्न दिदीबहिनीले मूलढोकामा तेलको धार हालेर बाटो छेक्ने प्रचलन पछिल्लो समय हराउँदै गएको शर्माले बताए । ‘ओखर फोरिन्थ्यो, तेलको धार हालिन्थ्यो, देउसी भैलो खेलिन्थ्यो, साथीभाइ एकै ठाउँमा भएर जुवातास खेली रमाइलो गरिन्थ्यो’, शर्माले भने,’अब ती सबै कुरा हराइसके । तिहार केवल औपचारिकतामा सीमित हुन थालिसकेको छ ।’

भाइमसला बजारको 

सूचना र प्रविधिले विश्वलाई नै साँघुरो बनाइदिए पनि अपनत्व र सौहार्दतालाई भने निकै टाढा पुर्‍याइदिएको छ । मोबाइल र इन्टरनेटको बढ्दो प्रभाव र प्रयोगका कारण मानिस यति व्यस्त भएका छन् कि उनीहरूलाई आफ्नो नजिकैको मान्छेले के गर्दै छ र के भन्दै छ भन्ने कुराको समेत पत्तो हुँदैन । युवा पुस्ताका दिदीबहिनी पनि सूचना प्रविधिको यो प्रभावबाट मुक्त हुने कुरै भएन । सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभावका कारण दिदीबहिनी पनि बेफुर्सदिला हुने गरेका छन् भने झण्झटिला कामप्रति उनीहरूको रुचि घट्दै गएको छ ।

फूल खोज्ने, माला गाँस्ने, भाइमसला बनाउने, खानाका परिकार तयार गर्ने र समग्रमा तिहारको रौनक बढाउने प्रमुख भूमिका दिदीबहिनीको नै हुने गर्छ । तर, उनीहरु पनि बेफुर्सदिला बनिदिँदा तिहारको मौलिकतामा पनि असर गरेको छ भने अर्मनका खडानन्द सापकोटा । सापकोटाका अनुसार अहिले बजारमा प्याक गरेर राखिएका भाइमसलामै दिदीबहिनीले काम चलाउने गरेका छन् । सापकोटाको भनाइसँग सहमत छन् अर्मनकै रसिला जैसी पनि । ‘पहिला पहिला दिदीबहिनी भेला भएर तिहार सुरु हुनेवित्तिकै भाइमसलाको खोजी गथ्र्यौँं, ओखरदेखि लिएर सम्पूर्ण सामग्रीको जोहो गरेर भाइमसला बनाउँथ्यौँ,’ ६३ वर्षीया जैसीले भने ‘अहिले त कसैलाई कामले फुर्सद छैन, कसैलाई मोबाइलले ।’

देउसी, भौलो पैसामुखी

तिहारको आकर्षणमध्येको एक मानिएको देउसी भैलो हिजोआज आशिष दिने, मनोरञ्जन लिने र साथीभाइसँग रमाउने माध्यम नभइ पैसा असुल्ने माध्यम बन्दै गएको आरोप लाग्न थालेको छ । केही सामाजिक सङ्घ संस्था र व्यक्तिले मेमोरीमा रेकर्ड गरिएका गीतको सहयोग लिई नृत्य देखाउँदै देउसी भैलोलाई पैसा असुल्ने माध्यम बनाइरहेका स्थानीय व्यापारीले बताएका छन् ।

हुन पनि हिजोआज गाइने देउसी भैलो र देखाइने नृत्यमा कुनै पनि मौलिकता देखिँदैन । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीत एवं एल्बममा राखिएका देउसी भैलो गीतमा नाच्छन् । न उनीहरूले मादल बोकेका हुन्छन् न मुरली र खैजडी नै । ठूलाठुला आवाजमा गीत घन्काउँदै हल्ला गर्दै देउसी भैलो समूह हिँडेका देखिएका छन् । 

बेनीका वयोवृद्ध नैनकुमार श्रेष्ठले भने, ‘पहिलेका भैली आउँदा स्थानीय लोकबाजा र गीत देख्न सुन्न पाइन्थ्यो तर, आजभोलि आयातित गीत सुन्न पर्दा वाक्क लाग्छ । पहिले आफैं भट्याएर देउसी खेल्दा छुट्टै मज्जा आउथ्यो अनि हेर्नेलाई पनि रमाइलो लाग्थ्यो । आजभोलिका भैली खेल्ने उफ्रिने र कराउने मात्र गर्छन् ।’  केही वर्षपछि लोकबाजा र भैलिकै मौलिकता हराउन सक्ने चिन्ता उनी व्यक्त गर्छन् ।

बेनीका ज्येष्ठ नागरिक डम्मरबहादुर कार्कीका अनुसार पहिला पहिला देउसी भैलो खेल्दा सबैले लोकगित आफैले गाउने, मुरली, मादल, खैजडी, झ्याली, ट्याम्कोलगायतका मौलिक बाजा बजाउने गर्थे  ।’अब ती सबै कुरा एकादेशका कथा भए,’ उनले भने।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : ५१ बजे

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर

खोटाङ – खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको

देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका

बाँझो जमिनमा रोपियो २८ सय सुन्तलाका विरुवा

बागलुङ – गाउँमामा बसाइँसराइको दर बढ्दो छ । बसाइँसराइले उजाडिदै

बाबुरामको कटाक्ष : प्रचण्डलाई देखेर लेनिनले के भन्दा हुन् ?

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिबारे सर्वोच्चले दियो अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रियाबारे अगाडि