खानेपानीको मूलमा पहिराले क्षति भएपछि नागरिक समस्यामा « Khabarhub

खानेपानीको मूलमा पहिराले क्षति भएपछि नागरिक समस्यामा


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कर्णाली– गत असोज १९ गतेदेखि २४ गतेसम्मको अविरल वर्षापछि आएको पहिराले मूलमा क्षति भएपछि नागरिकलाई खानेपानीको समस्या भएको छ । बाढी र वर्षाका कारण माथिल्लो कर्णालीका विशेष गरी कालीकोट, जुम्ला, मुगु र हुम्ला गएको पहिरोले खानेपानीका मूलमा क्षति पुगेको छ भने कतै मुहान नै बाढीले बगाएर लगेको छ । 

पहिराले मूल नै बन्द भएपछि यहाँका नागरिक खोलाको फोहर पानी खान बाध्य भएका छन् । यसले आउँ पर्ने, झाडापखालालगायतका विभिन्न रोग लाग्ने समस्याको खतरा पनि बढ्दै गएको छ । ‘पहिरोले कतै मूल ढाकेको छ त कतै खानेपानीको ट्याङ्की नै बगाएर लगेको छ’, तिला गाउँपालिका–९ जुम्लाका वडाध्यक्ष धनबहादुर रावतले भने, ‘मानिस फोहर भए पनि अहिले खानेपानी लिन खोलामा नै जान्छन् ।’ खानेपानीको विकल्प नहुँदा त्यही फोहर पानी खानुपर्ने बाध्यता रहेको उनले बताए । विकट बस्तीका नामले चिनिने उक्त वडाका राँसा, मालापानी, ढिपु र खोप्री गाउँवासीले पानीको समस्या खेप्नुपरेको उनको भनाइ थियो ।

यो समस्या तिला गाउँपालिकाको १-९ वडासम्म रहेको छ । सोही पालिकाको वडा नं ४ रावतवाडा, नुवाकोट र साँपुल्ली गाउँमा अझ बढी छ । अविरल वर्षापछि भेरी खोलामा आएको भीषण बाढीले खानेपानीको पाइप, ट्याङ्की र आवतजावत गर्ने काठको साँघु नै बगाएर लगेको रावतवाडा गाउँका स्थानीय मागेनाथ योगीले बताए । 

‘कोदो, मकै, सिमी, धान भित्र्याउन हामीले काठको साँघु तर्नुपर्यो’, योगीले भने, ‘भेरी खोला तर्ने एकमात्र माध्यम त्यही काठको साँघु बाढीले लगेपछि अहिले हाम्रो आवतजावत बन्द भएको छ ।’ बालीनाली भित्र्याउन एक घण्टाको समय लगाएर अर्को गाउँको झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता आइलागेको उनले दुःखेसो गरे ।

खानेपानीका मुहान पहिराले पुरिने, बाढीले बगाएर लैजाने समस्या माथिल्लो कर्णालीका सबै जिल्लावासीले भोग्दै आएका छन् । सामान्य अवस्थामा क्षति भएका ठाउँमा नागरिकलाई तत्काल पाइपलगायतका आवश्यक सामग्री दिएर सहयोग गरेका छन् तर ठूलो क्षति भएका ठाउँको खानेपानी निर्माणका लागि केही समय लाग्ने खानेपानी, ऊर्जा तथा सिँचाइ कार्यालयले जनाएका छन् ।

असोजमा आएको बाढी र पहिरोले कर्णालीका पाँच जिल्लामा जनधनको अर्बौँको क्षति भएपछि नेपाल सरकारले कालीकोट, जुम्ला, मुगु र हुम्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । मानवीय क्षति, बस्ती, कृषि क्षेत्र, पशु चौपाया, विद्यालय, स्वास्थ्य संस्था, खानेपानीलगायतका क्षेत्रको क्षतिको तथ्यगत विवरण संकलन गर्ने क्रम अघि बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जिओटिक इञ्जिनियर पवनबाबु बास्तोलाले जानकारी दिए ।

मनसुनजन्य विपद्पछि कर्णालीमा आएको बाढी र पहिरोबाट क्षति भएका स्थानलाई नेपाल सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेपश्चात् ती क्षेत्रको क्षतिको प्रारम्भिक अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जुम्लामा जिओटिक इञ्जिनियर बास्तोला, हुम्लामा स्ट्रक्चरल इन्जिनियर देवराज पौडेल, मुगु र कालीकोटका निम्ति जिओटिक इञ्जिनियरद्वय हरिश पनेरु र विराश मल्लको टोलीलाई परिचालन गरेको थियो । उहाँहरू सबै प्रारम्भिक अध्ययन गरेर फर्किसकेका छन्। 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ७ : ३९ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा