एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा बहुमत प्राप्त गर्न आवश्यक सिट सङ्ख्याभन्दा पछाडि रहेको छ ।
बुधबार सार्वजनिक आंशिक मतगणनाको नतिजाअनुसार ५१.८ प्रतिशत मत गणना हुँदा नेतान्याहुको गठबन्धनले १२० सदस्यीय संसद्मा ५५ सिट प्राप्त गरेको छ । उनका प्रतिस्पर्धी गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४९ सिट प्राप्त गर्दा अरब दलहरूले १६ सिट जित्ने देखिएको छ ।
मतगणना जारी रहेकाले अन्तिम परिणाममा परिवर्तन हुन सक्ने जनाइएको छ । दुवै पक्षले बहुमत प्राप्त गर्ने स्पष्ट सङ्केत नदेखिए पनि सरकार गठन गर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचनमा करिब ७८ प्रतिशत मतदाताले मतदान गरेका छन् । सन् १९९९ यताकै उच्च मतदान भएको यो निर्वाचनलाई नेतान्याहुको नेतृत्व र इजरायलको पछिल्लो राजनीतिक दिशाबारे जनमत सङ्ग्रहका रूपमा हेरिएको छ ।
इजरायलका सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका ७७ वर्षीय नेतान्याहुले देशलाई दक्षिणपन्थी दिशातर्फ अघि बढाएका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि उनले गाजासहित विभिन्न क्षेत्रमा सैन्य कारबाहीलाई तीव्रता दिएका थिए ।
निर्वाचनको प्रारम्भिक नतिजाले अरब दलहरूको उल्लेख्य सुधार देखाएको छ । नेतान्याहुको विपक्षी गठबन्धनले अरब दलहरूको समर्थन प्राप्त गरेमा संसद्मा बहुमत पुर्याउन सक्ने देखिएको छ । तर, आइजेनकोटले चुनावी अभियानका क्रममा अरब सांसदहरूलाई समेटेर सरकार नबनाउने बताएका थिए । नेतान्याहुले पनि अरब दलहरूको समर्थनमा बन्ने सरकारको वैधतामाथि प्रश्न उठाउँदै आएका छन् ।
यद्यपि, अरब सांसदहरूले सरकारमा सहभागी नभई संसदीय मतदानमा विपक्षी गठबन्धनलाई समर्थन गर्न सक्ने सम्भावना पनि छ ।
सरकार गठनका लागि कुनै पनि पक्षले स्पष्ट बहुमत प्राप्त नगरेमा गठबन्धन निर्माणका लागि लामो वार्ता हुन सक्नेछ । वार्ता असफल भएमा पुनः निर्वाचनको सम्भावनासमेत रहन्छ । नयाँ सरकार गठन नभएसम्म नेतान्याहु कामचलाउ प्रधानमन्त्रीका रूपमा कायम रहनेछन् ।
बुधबार बिहान तेल अभिभमा समर्थकहरूलाई सम्बोधन गर्दै ६६ वर्षीय आइजेनकोटले नेतान्याहुलाई राजनीतिक स्वार्थका लागि देशको सुरक्षालाई प्रयोग नगर्न चेतावनी दिए । उनले नेतान्याहुलाई जनताको विश्वास र स्पष्ट जनादेश गुमाइसकेको कामचलाउ प्रधानमन्त्रीको संज्ञा दिए ।
‘जनताले परिवर्तनका पक्षमा मतदान गरेका छन्,’ उनले भने । जनताको अविश्वासको मत स्वीकार गर्दै नेतान्याहुले राजनीतिबाट अवकाश लिनुपर्ने उनको भनाइ थियो ।
यता, बुधबार बिहान जेरुसेलममा समर्थकहरूलाई सम्बोधन गर्दै नेतान्याहुले दक्षिणपन्थी शक्तिहरू एकजुट भएर बलियो सरकार बनाउनुपर्ने बताए । उनले आफूले प्रत्यक्ष रूपमा विजयको दाबी भने गरेनन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बुधबार पत्रकारहरूसँग कुरा गर्दै नेतान्याहुलाई दिएको समर्थनले उनलाई निर्वाचनमा ठूलो सहयोग पुगेको बताएका छन् ।
गाजामा जारी सैन्य कारबाही, इरानसँगको युद्ध, पश्चिम किनारमा यहुदी बस्ती विस्तार र प्यालेस्टिनीमाथिको हिंसाका कारण इजरायल अन्तर्राष्ट्रिय रूपमा थप दबाबमा रहेका बेला यो निर्वाचन भएको हो ।
आइजेनकोटले पनि नेतान्याहुसँग मिल्दोजुल्दो सुरक्षा नीति अपनाउँदै गाजामा सैन्य कारबाहीलाई समर्थन गरेका छन् । तर, उनले इजरायलभित्र सबै समुदायलाई समेट्ने वातावरण निर्माण गर्ने र पश्चिम किनारमा हिंसात्मक गतिविधिमा संलग्न यहुदी बस्तीका बासिन्दालाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचनको पूर्ण नतिजा बिहीबार साँझ वा शुक्रबार बिहानसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया