युनेस्कोले नेपालमा गरेका महत्वपूर्ण काम | Khabarhub Khabarhub

अर्को ५० वर्ष परियोजना

युनेस्कोले नेपालमा गरेका महत्वपूर्ण काम

पर्यटन संरक्षणसँगै सरकार, युवा, शिक्षा र सूचना प्रविधिमा सहयोग



काठमाडौँ : नेपालमा युनेस्कोले ‘नेक्स्ट ५०’ अर्थात अर्को ५० वर्ष परियोजना अन्तर्गत महत्वपूर्ण काम गरेको छ । जसमा पर्यटन संरक्षणसँगै शिक्षा, युवा र सुचना प्रविधि लगायत क्षेत्रका काममा केन्द्रित भएर महत्वपूर्ण छलफल, बहस तथा विभिन्न व्यक्तित्वसँग अन्तरक्रिया लगायत गतिविधि पनि युनेस्कोले सार्वजनिक गरेको छ ।

अर्को ५० वर्ष परियोजना अन्तर्गत युनेस्कोले पर्यटनमा केही महत्वपूर्ण काम गरेको छ । जसमा नेपालबाट विश्व सम्पदा सूचिमा समेटिएका १० वटा विभिन्न पर्यटकीय क्षेत्रको संरक्षणका लागि छलफल, बहसका साथै त्यस क्षेत्रको पछिल्लो अवस्थाबारे पनि अध्ययन गरेको छ ।

यसबीचमा २० वटा सेसन चलाएको युनेस्कोले २९२ जनालाई सहभागी गराएको थियो । सन् १९७२ देखि नेपालमा काम सुरु गरेको युनेस्कोले काठमाडौँ उपत्यकामा रहेका पर्यटकीय क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्जमा केन्द्रित भएर काम गरिरहेको छ ।

विश्व सम्पदा सूचिमा रहेका यी क्षेत्रबारे व्यापक छलफल तथा संरक्षका लागि सरकार र सरोकारवालासँग निरन्तर छलफल तथा बहस चलाएको युनेस्कोले विश्व सम्पदा सूचिमा रहेका पर्यटकीय क्षेत्रको संरक्षणबारे पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

५० वर्षको समयमा युनेस्कोले विश्व सम्पदा सूचिमा रहेका पर्यटकीय क्षेत्रमा मात्रै ५० वटा विभिन्न गतिविधि गरेको छ । यसबीचमा दुई हजार दुई ७१ विद्यार्थीसँग विभिन्न किसीमका अन्तरक्रिया गरेको युनेस्कोले त्यसबाट भएका एक सयभन्दा धेरै सिकाई र सिफारिस सम्बन्धित निकाय तथा सरोकारवालालाई हस्तान्तरण पनि गरेको छ ।

यसका साथै ९७ वटा विद्यालयमै पुगेर प्रत्यक्ष छलफल, बहस तथा अध्ययनको काम गरेको युनेस्कोले १५ वटा स्वयंमसेवकका साथै ८९ जना शिक्षकलाई प्रत्यक्ष तालिम तथा क्षमता अभिवृद्धिको काम गरेको युनेस्कोको कार्यक्रम संयोजक सोफिया पाण्डेले जानकारी दिइन् ।

‘नेपालमा युनेस्कोले पर्यटन संरक्षण, शिक्षा, युवा सिकाई, सुचना प्रविधि, वातावरण लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेका छौँ’ काठमाडौको मेरियट होटलमा डिसेम्बर दोस्रो हप्ता आयोजित कार्यक्रममा ‘दे नेक्स्ट ५०’ परियोजना संयोजक पाण्डेले भनिन्, ‘विगतमा गरेका राम्रो कामसँगै आगामी ५० वर्षमा पनि हामी थप नयाँ र विशेष काम गर्न चाहन्छौँ ।’

युनेस्कोले पर्यटन संरक्षणमा गरेका महत्वपूर्ण काम
नेपालबाट विश्व सम्पदा सूचिमा १० वटा महत्वपूर्ण पर्यटकीय क्षेत्र परेका छन् । विश्व सम्पदा सूचिमा समेटेर नेपालको पर्यटकीय क्षेत्रलाई ऐतिहासिक र विशेष महत्वको बनाएको युनेस्कोले प्रत्यक्ष रुपमा निगरानी राख्दै त्यसको संरक्षणमा पनि काम गर्दै आएको छ ।

नेपालमा युनेस्कोले विश्व सम्पदा सूचिमा रहेका पर्यटकीय क्षेत्रको पहिचान, प्रवद्र्धन र संरक्षणका लागि मुख्य काम गरेको छ । खासगरी युनेस्कोले नेपालमा रहेका विश्व सम्पदा सूचिकृत पर्यटकीय क्षेत्रको वास्तविक संरचना र मौलिक निर्माणलाई मुख्य ध्यानमा राखेर त्यसबारे सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

ऐतिहासिक पर्यटकीय क्षेत्रको महत्व नै त्यसको वास्तविक स्वरुप र मौलिक संरचना भएकाले त्यसलाई जोगाइराख्नुपर्ने युनेस्कोको जोड छ ।
त्यसबाहेक ऐतिहासिक पर्यटकीय क्षेत्र विशेष रहेका स्रोतको खोजी, स्थानीयहरुको सहभागिता तथा संरक्षणका लागि गरेको पहल तथा मौलिक संरचनाको प्रयोग गरेर निर्माण गर्ने सवालमा पनि युनेस्कोले विशेष ध्यान दिदैँ आएको छ ।

यस्तै ऐतिहासिक पर्यटकीय क्षेत्रमा निर्माणको काम गर्दा प्रत्यक्ष सहभागिता जनाउने युनेस्कोले पर्यटकीय क्षेत्रको पुनर्निर्माण र मर्मतमा पनि सहयोग गर्दै आएको युनेस्कोकी कार्यक्रम सहायक मोनिका लामाले बताइन् ।

यस्तै विश्व सम्पदा सूचिमा सूचीकृत पर्यटकीय क्षेत्रमा बादर व्यवस्थापनदेखि क्षेत्र संरक्षणमा स्थानीयको सहभागिता तथा सचेतना कार्यक्रम पनि गर्दै आएको छ । विश्व सम्पदा सूचिमा सूचीकृत पर्यटकीय क्षेत्रको संरक्षणमा लापरबाही र बेवास्ता गरेको खण्डमा युनेस्कोले विश्व सम्पदा सूचिबाट हट्न सक्ने चेतावनी पनि दिँदै आएको छ ।

शिक्षा र वातवारण संरक्षणमा गरेका काम
युनेस्कोले पर्यटकीय क्षेत्रको संरक्षणसँगै शिक्षा तथा वातवारण संरक्षका लागि पनि महत्वपूर्ण काम गरेको छ । विद्यालयमै पुगेर युनेस्कोले बालबालिकालाई विश्व सम्पदा सूचिमा रहेका पर्यटकीय क्षेत्रको संरक्षणका लागि तालिम दिदँै आएको छ । यसका साथै वातावरण सरंक्षणका लागि पनि युनेस्कोले काम गर्दै आएको छ ।

शिक्षामा विद्यालयका विद्यार्थीलाई मौलिक पर्यटकीय क्षेत्रको ज्ञान र त्यसको महत्वका बारेमा एक अर्कामा सिकाई आदान प्रदान गर्दै आएको छ । शिक्षक र विद्यार्थीबीचमा पर्यटकीय क्षेत्र तथा वातावरण संरक्षणका लागि तालिम दिएर त्यसको प्रसार विद्यालयका अरु विद्यार्थी तथा स्थानीयमा पनि युनेस्कोले फैलाएको छ ।

यस्तै युनेस्कोले पाठ्यक्रममा पर्यटकीय क्षेत्रमा प्रयोग भएको मौलिक संरचना र त्यसले शिक्षामा ल्याउन सक्ने सचेतना र संरक्षणका विषयमा पनि पाठ्यक्रम विकास केन्द्रलाई सहयोग गर्दै आएको छ ।

पाठ्यक्रममा पर्यटकीय क्षेत्रमा मौलिक संरचनाको प्रयोग र संरक्षणका विषयमा समेट्न पनि युनेस्कोले सहयोग गर्दै आएको छ । त्यसका साथै पर्यटकीय क्षेत्रको निर्माणमा स्थानीयले गरेको सीपको प्रयोग र त्यसको संरक्षणका लागि पनि युनेस्कोले पहल गर्दै आएको छ । साथै विश्व सम्पदा सूचिमा सूचीकृत पर्यटकीय क्षेत्रको महत्वका बारेमा पनि युनेस्कोले शिक्षक तथा विद्यार्थीलाई तालिम प्रदान गरेर जानकारी दिएको परियोजना सहायक लामाले जानकारी दिइन् ।

‘हामीले पर्यटकीय क्षेत्रको महत्व र त्यसमा प्रयोग भएका सामग्रीको ऐतिहासिक पृष्ठभूमिका बारेमा विद्यालय, शिक्षक, विद्यार्थी र स्थानीयलाई तालिम नै दिएर त्यसको महत्व दर्शाएका छौँ’ उनले युनेस्कोको ५० वर्षका उपलब्धी र आगामी योजनाबारे भनिन् ।

यस्तै वातावरण संरक्षणमा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्जमा जैविक विविधता, वन्युजन्तु संरक्षण, स्थानीय तथा पर्यटन व्यवसायीलाई गाइडलाइनदेखि प्लाष्टिक हटाउन र प्रदूषण घटाउन पनि सरकार, सरोकारवाला र सम्बन्धित निकायलाई युनेस्कोले सहयोग गर्दै आएको छ ।

सरकारलाई गरेको सहयोग
युनेस्कोले नेपालमा सबैभन्दा धेरै सहयोग सरकारलाई गरेको छ । खासगरी सरकारी अधिकारी र सरोकारवाला निकाय तथा सम्बन्धित निकायलाई पनि युनेस्कोले सहयोग गर्दै आएको छ ।

सरकारी अधिकारी तथा सरोकारवाला एवं निजी क्षेत्रका व्यक्तित्वलाई युनेस्कोले विभिन्न छलफल तथा अन्तरक्रियामार्फत जलवायु परिवर्तन र त्यसले गर्ने असरका विषयमा सचेतना गरेको छ ।

सरकारी अधिकारीलाई पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन र स्थानीयलाई सचेत गराउन पहल गराउने भूमिका पनि युनेस्कोले खेल्दै आएको छ । यस्तै स्थानीयको सांस्कृतिक पर्व तथा त्यसको संरक्षण र प्रवद्र्धनका लागि युनेस्कोले सहयोग गर्दै आएको छ ।

पर्यटकीय क्षेत्रबारे लामो समय अध्ययन गरेर त्यसको वास्तविक तथ्यांक र सरकारसँग भएका केही अन्योलपूर्ण तथ्यलाई सच्याउन पनि युनेस्कोको भूमिका महत्वपूर्ण छ ।

यस्तै युनेस्कोले सरकारका विभिन्न निकायलाई अनुदान दिनेदेखि पर्यटकीय क्षेत्रको संख्यात्मकभन्दा गुणस्तुर सुधार एवं विकासका लागि पनि काम गर्दै आएको छ । यस्तै परम्परागत सीप, सामग्री तथा पर्यटकीय महत्वका सम्पतिलाई सरंक्षण गर्न पनि युनेस्कोले सहयोग गर्दै आएको छ ।

सूचना र प्रविधिमा क्षेत्रको योगदानमा भूमिका
युनेस्कोले नेपालमा सूचना र प्रविधि क्षेत्रमा पनि महत्वपूर्ण भूमिका प्रदान गर्दै आएको छ । सूचना र प्रविधिका क्षेत्रमा युनेस्कोले युवाहरुलाई डिजिटल मिडियादेखि विभिन्न सूचना तथा सामग्रीलाई दृश्यांकन गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

युवाहलाई भिडियोमार्फत ‘स्टोरीटेलिङ’मा सघाइरहेको युनेस्कोले सामाजिक र मानसिक रुपमा हानी गर्न सक्ने नकारात्मक समाचार तथा सूचनालाई बेवास्ता गर्न पनि सचेतना दिँदै आएको छ ।

त्यसबाहेक युवाहरुलाई डिजिटल प्लार्टफर्मको सदुपयोग गरेर आफ्नो प्रतिभा प्रष्फूटन गर्न र आगामी दिनमा यसको सचेतनाका लागि विद्यालय शिक्षादेखि नै जोड दिनुपर्ने विषयमा युनेस्कोले युवाहरुमार्फत सचेतना अभियान नै चलाउँदै आएको छ ।

सही सूचना लिनका लागि आधिकारिक सूचना तथा समाचारको स्रोतमाथि विश्वास र पहिचान गर्न पनि युनेस्कोले आह्वान गर्दै आएको छ । यस्तै युवाहरुलाई व्यावसायिक क्षेत्रमा स्थापित हुनका लागि सुरुवाती समयमा तालिम दिनेदेखि पर्यटन तथा वातवारण संरक्षणका लागि युवाको क्षमता तथा प्रविधि र संस्कृतिबीचको पुलको काम पनि युनेस्कोले गर्दै आएको छ ।

यस्तै नयाँ नयाँ प्रविधिको सफ्टवेर र त्यसको उपादेयताबारे पनि युनेस्कोले युवाहरुलाई सचेतना दिदै आएको छ । यसले युवाहरुलाई नेपालको पर्यटकीय क्षेत्रको संरक्षण, वातावरण तथा वन्यजन्तु संरक्षण एवं शिक्षा तथा सरकारलाई सहयोग गर्न प्रोत्साहन दिँदै आएको छ ।

नेपालमा युनेस्कोले गरेको काम विशेष र ऐतिहासिक रहेको भन्दै आगामी दिनमा तीन तहका सरकारको समन्वय, भूमिका र आपसी समझ्दारीमा धेरै काम गर्नुपर्ने कार्यक्रममा सहभागी सरकारी निकायका व्यक्तित्वको भनाइ थियो ।

युनेस्को नेपाल प्रमुख माइकल क्रोफ्टले विगत वर्षमा राम्रा काम र केही महत्वपूर्ण उपलब्धी भएको भन्दै आगामी दिनमा त्यसलाई निरन्तरता दिन सबैको भूमिका आवश्यक रहेको बताए ।

कार्यक्रममा युनेस्कोका अधिकारी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, पर्यटन मन्त्रालय, पर्यटन विभाग र पर्यटन बोर्ड, वातावरण विभाग लगायत निकायका कर्मचारी तथा सरोकारवालाको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १ : ३२ बजे

नर्तकी खुसी पार्न अलेक्जेण्डरले शहरमा झोसेको आगो !

अलेक्जेण्डरले इरानमा विजयध्वजा फहराए। त्यसबेला उनको सेनाले इरान सोत्तर बनाइसकेको

स्याङ्जामा पहिरोमा परी आमा–छोरीको मृत्यु

स्याङ्जा- स्याङ्जामा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

बागलुङ पहिरो अपडेट : दुईजनाको मृत्यु, दुई घाइते

बागलुङ– बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ

गुल्मीमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु, दुईजना बेपत्ता

गुल्मी– गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै

‘यश कुमार अब अमर छ’

काठमाडौं – यश कुमार बहुप्रतिभाशाली कलाकार हुन् । उनले गायक, संगीतकार,