सुकुम्बासीलाई जग्गा वितरण : चुनावको मुखमा नापी सुरु | Khabarhub Khabarhub

सुकुम्बासीलाई जग्गा वितरण : चुनावको मुखमा नापी सुरु

स्थानीय भन्छन्- फेरि धोका नहोस्’



अत्तरिया- करिब ४५ वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गर्न नाप जाँच सुरु भएपछि बलराम ढोली दमाई खुसी देखिन्थे। कैलालीको गोदावरी नगरपालिका– ५ बरबट्टामा उनको परिवार २०२३ सालदेखि बस्दै आएको छ। तर, जग्गाको लालपुर्जा भने उनले पाउन सकेका छैनन्।

बुधबार गोदावरी नगरपालिकाले लालपुर्जा वितरण गर्ने भन्दै जग्गा नाप जाँच सुरु गरेपछि भने लालपुर्जा पाउनेमा उनी आशावादी देखिएका छन। तर, उनी ढुक्क भने हुन सकेका छैनन्। २ कट्ठा जग्गा भोगचल गर्दै आएका बलरामले लालपुर्जा भने कहिले पाइन्छ भन्ने आफूलाई जानकारी नभएको बताए।

स्थानीय सिद्ध लुहारले नापी सुरु भए पनि पहिलेको जस्तै धोका हुने हो कि भन्ने आशंका व्यक्त गरेका छन्। ‘नापी त सुरु भयो तर, पहिलेको जस्तै ढिलासुस्ती गर्ने हुन कि। चुनावका लागि हल्लाखल्ला मात्र गरेका हुन् कि !’, उनले भने, ‘फेरि धोका नहोस्।’

स्थानीय बद्रीसिंह दमाईले २०४२ सालदेखि बरबट्टामा बस्दै आएको बताए। उनले यसअघि पनि २०५४ सालमा पनि नापी आएपछि लालपुर्जा पाउन नसकेको बताए। ‘अहिले भोगचलन गरे अनुसारको जग्गा दिने भनिएको छ। यो राम्रो हो’, उनले भने, ‘लालपुर्जा पाएपछि भने ढुक्क भएर बस्न पाइन्छ।’ उनले पटकपटक ठगिएकाले जग्गा नापी भएपनि लालपुर्जा पाइन्छ कि भन्नेमा ढुक्क छैनन्।

 स्थानीय मदन नेपाली २ पुस्तादेखि बरबट्टामा बस्दै आएको भएपनि लालपुर्जा पाउनेमा भने अझै ढुक्क हुन नसकेको बताए।

‘लालपुर्जाका लागि धेरै पटक फारम भर्दै आयौँ। धेरै सरकार परिवर्तन भए’, उनले भने ‘चुनावी माहोलको लागि मात्रै हो कि भन्ने कुरामा अझै शंका छ।’ उनले दलित समुदायको बसोबास भएको बरबट्टा आर्थिक रुपमा निकै पछाडि परेको बताए। उनले कुनै व्यवसाय गर्नका लागि पनि लालपुर्जा नहुँदा ऋण लिन समस्या हुने गरेको बताए।

स्थानीय ममता नेपालीले लालपुर्जा नपाउँदा आफूहरु निकै दुःखी भएको बताइन्। ‘अहिले खुसी लागेको छ। तर, अझै लालपुर्जा पाइने हो की होइन भन्ने चिन्ता उस्तै छ’, उनले भनिन्, ‘लालपुर्जा पाएपछि लोन लिएर कुनै व्यवसाय गर्न पाइन्थ्योकी भन्ने आशा छ।’

सरकार बदलिदा काम लम्बियो
गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिह साउदले पहिलो चरणमै आफूहरुले लालपुर्जा वितरण गर्ने भने पनि केन्द्रमा सरकार परिवर्तन भएर आयोग खारेज हुँदा काम गर्न नसकेको बताए।

‘त्योबेला हामीले लगत संकलन गरेर ४ जना सर्वेक्षक र ४ जना अमिन राखेर काम सुरु गर्ने तयारी गरेका थियाँै। तर, बिडम्बना केन्द्रमा सरकार नै परिवर्तन हुन पुग्यो’ उनले भने ‘उतीबेला हामीले १२ वटै वडामा एकैचोटी काम सुरु गर्ने सोचेका थियौं। माघ महिना भित्र लालपुर्जा दिने उद्देश्य थियो। सरकार परिवर्तले आयोग नै विगठन भएपछि काम लम्बियो।’ उनले हाल दोस्रो आयोगसँग पनि सम्झौता गरेर काम अगाडि बढाएको भएपनि हाल दक्ष जनशक्तिको अभाव भएको बताए।

‘अहिले हामीले आफ्नो कार्यकाल भित्र १२ वटै वडामा जग्गा नाप्ने प्रयास गर्ने भनेका छाँै। अहिले हामीले थप सर्वेक्षक पायौ भने अरु वडामा पनि टिमलाई परिचालन गर्ने छौं’, नगरप्रमुख साउद भन्नुहुन्छ, ‘अहिले ढिलाई हुनुको मुख्य कारण प्राविधिक कारण हो।’ उनले कर्मचारी पाएमा अरु वडामा पनि काम सुरु गरिने बताए।

नापी टोलीलाई सहयोग गर्न आग्रह
गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गरिन्। ‘जग्गाधनी समयमा आएनन्। विवाद भयो भने काममा ढिलाई हुनसक्छ’, उनले भनिन्, ‘अब चुनाव नजिक आउदै छ। काम ढिलाभयो भने लालपुर्जा पाउने काममा पनि ढिलाई हुनसक्छ।’ उनले दोस्रो चरणमा भएको कामलाई समयमा सम्पन्न गर्नको लागि सबैले टिममा मिलेर काम गर्न आवश्यक रहेको बताइन्। उनले कुनै काममा समस्या आए आफूलगायत जनप्रतिनिधि, कर्मचारी मिलेर समस्या सामाधान गर्न तयार रहेको बताइन्।

वडा नम्बर ५ का अध्यक्ष कर्ण सिंह बोहराले आफ्नो जग्गा आफ्नै नाममा गर्ने गरी काम अगाडि बढाइएकाले जग्गा नापीमा सहयोग गर्न आग्रह गरे। उनले गोदावरीमा जग्गा नापीका लागि पहिलो चरणमा वडा नम्बर ५ छनोट गरेकोमा धन्यावादसमेत दिएका छन्।

नापीका लागि कन्ट्रोल पोइन्ट
गोदावरी नगरपालिकामा सर्वेक्षकका रुपमा कार्यरत वीरेन्द्र सिंहले नापीका लागि आफू लगायत २ जना सर्वेक्षक र ९ जना अमिन परिचालन गरिएको बताए। उनले हाल नगरपालिकामा जग्गा नापीका लागि ३ वटा मेसिन रहेको बताए। उनले १ महिनामा १० देखि ३० हेक्टर जग्गा नापी गर्न सकिने बताए।

‘हामीले जग्गा नाप्ने मात्रै नभएर जग्गा नापीका कागजात पनि तयार गर्नुपर्छ’, उनले भने ‘आजदेखि हामी पोइन्ट राख्ने काम सुरु गर्छौ। यस क्षेत्रमा ९ वटा पोइन्ट राख्नु पर्ने देखिएको छ। कन्ट्रोल पोइन्ट राख्नको लागि ४/५ दिन लाग्छ। अनी नापीको काम सुरु हुन्छ।’

उनले नाप नक्सा सकिएपछि ३५ दिने सूचना निकालेर छुटफुटको सूचना जारी गरिने बताए। उनले नापीका लागि डिजिटल प्रविधि प्रयोग गरिएको बताए। उनले एक टोलीमा एक जना टोली प्रमुख, एक जना सर्वेक्षक, ३ जना अमिन आवश्यक पर्ने बताए। ‘नगरपालिकासंग भएका ३ मेसिन प्रयोग गर्न अन्य जनशक्ति भएपनि एक जना सर्वेक्षकको भने अभाव छ’, उनले भने।

नापीका लागि ३ टोली परिचालन
गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम् गोदावरी नगरपालिकाको भूमी सम्बन्धी समस्या सामाधान एकाइका संयोजक बसन्तकुमार खत्रीले नापीका लागि ३ टोली परिचालन गरिने बताए। उनले बुधबारदेखि वडा नम्बर ५ मा नाप जाँचको काम सुरु भएको र त्यस लगत्तै वडा नम्बर २ बाट काम सुरु गरिने बताए।

‘जग्गा नापीका लागि तत्कालै हामी वडा नम्बर २ मा पनि टोली पठाउछौं। त्यसका लागि जिपिएस कोडिनेटमार्फत कन्ट्रोल पोइन्ट लिने क्रममा छौँ’, उनले भने ‘वडा नम्बर २ मा काम सुरु गरेपछि एक अन्य वडामा पनि काम सुरु हुन्छ।’

उनले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्दा राजश्व नलाग्ने र अव्यवस्थित बसोबासीको हकमा भने मापदण्ड अनुसार राजश्व लाग्ने बताए। उनले नापीका क्रममा कुनै शुल्क नलाग्ने प्रष्ट पारेका छन्।

उनले नापीको काम कहिले सकिन्छ भन्ने बारेमा भने अहिले नै भन्न नसकिने बताए। ‘अहिले हामीसँग ३ वटा जग्गा नाप्ने मेसिन छन। ३ वटै मेसिन चलाउनको लागि २ जना मात्रै सर्वेक्षक छन्’, उनले भने,‘एक जना सर्वेक्षक केन्द्रबाट पठाउने कुरा भएको छ। सर्वेक्षक आएमा नापीको काम छिटो हुन्छ।’ उनले लालपुर्जा वितरण पनि कहिलेदेखि सुरु हुन्छ भन्ने बारेमा अहिले नै भन्न नसकिने बताए।

हाल नगरपालिका भित्र १८ हजार ६४ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन्। भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्न कैलालीको गोदावरी नगरपालिका र राष्ट्रिय भूमि आयोगको पुस २४ गते सम्झौता भएको थियो।

यसअघि देविप्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोगसँग भएको सम्झौताको १ वर्षपछि पुनः वर्तमान सरकारले गठन गरेको आयोगसँग सम्झौता भएको थियो।

भूमिसम्बन्धी समस्या समाधान आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट साउन १९ गते खारेज गरेको थियो। भदौ २९ गते मन्त्रिपरिद्को बैठकबाट राष्ट्रिय भूमि आयोग गठन गरेर अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेपछि गोदावरीमा पुनः सम्झौता गरेर भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने काम अगाडि बढेको हो।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : ०३ बजे

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज