काठमाडौं- भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ ।
मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि बिहारलाई ‘सुक्खा राज्य’ को रूपमा चर्चा गरिँदै आइएको छ ।
तर छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नतामा अवैध मदिराको कारोबार भइरहेको बताइएको छ ।
मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको यकिन संख्या भने बताउन अस्वीकार गरेका छन् ।
धेरै जसो पीडितहरूले बान्ता हुने, पेट दुख्ने र कम दृश्यताको अनुभव गरेको बताइएको छ । ‘छिमेकी राज्य झारखण्डबाट ल्याइएको मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा बिक्री गरिएको’ भारतकाे जी न्युजले उल्लेख गरेको छ ।
यसैबीच भारतको राष्ट्रिय मानव अधिकार आयोगले बिहारमा भएको सो घटनाबारे सरकारलाई नोटिस पठाएको जनाएको छ।
प्रतिक्रिया